+
+
यात्रा संस्मरण :

हात्तीको देशः भूपरिवेष्ठित लाओसमा पानीजहाज !

मिलन मनुवा दाहाल मिलन मनुवा दाहाल
२०७५ साउन ५ गते ९:५१


मेकङ्ग नदीमाथिको मितेरी पुल तरेर हुक्साई नाकाबाट लाओस प्रवेश गर्दै थिएँ । थाइल्याण्डको अध्यागमनबाट लाओसको अध्यागमन कार्यालयसम्म तीन किलोमिटर दुरीमा बसले यात्रु ओसार्नेरहेछ ।

नेपाली नागरिकले लाओसमा अनअराभइल भिसा पाउँछन् । म भिसाको लाइनमा उभिन्छु । अब के के प्रश्नको सामना गर्नुपर्ने हो भनेर मन गह्रुँगो हुन्छ । कारण, नेपाली पासपोर्टको हैसियत । देशको हैसियत नभएपछि त्यो देशले जारी गर्ने पासपोर्टको हैसियत पनि राम्रो हुने कुरै भएन । पासपोर्टकै कारण नेपालीले विदेश यात्रा गर्दा अध्यागमनमा हेपिनु पर्छ । मेरोजस्तै तीतो अनुभव अन्य नेपालीहरुका पनि होलान् ।

झ्यालभित्रबाट नाम बोलाउन थालियो । मेरो पनि नाम बोलावट भयो । मैले भिसा लागेको पासपोर्ट फिर्ता पाएँ । थ्याङ्क यु भनेर फुरुङ्ग पर्दै म अगाडि बढेँ ।

अध्यागमन कार्यालयको भवन भर्खर नयाँ बनेको जस्तो देखिन्थ्यो । भवन ठूलो, भव्य र सफा थियो । भवन बाहिर निस्कँदा साना थोत्रा गाडीहरु यात्रु पर्खिरहेका थिए । गाडी तुरुन्तै यात्रुले कोचाकोच भरिएपछि हिँड्यो । हामी अब हुक्साईको मुख्य बजार क्षेत्रतर्फ जाँदै थियौं ।

मुख्य बजारको दोबाटोमा गाडी रोकिएपछि सबै ओर्लिए । साँझ पर्न लागेको थियो । सामुन्नेको घरमा होटलको बोर्ड झुण्डिएको थियो । थाई अध्यागमन बाहिर इटालियन ठिटो लुकासँग चिनजान भएको थियो । ऊ त्यही होटलतिर छिर्‍याे । म पनि उसकै पछि लागेँ । हामी दुईजनाले आधा–आधा पैसा तिरेर रुम लियौं ।

मेकङ्गमा जलयात्रा

हिजो साँझ नै हामीले स्लोबोट (पानीजहाज) को टिकट लिएका थियौं । बिहान ७ बजे तोकिएको समयमा होटलको गाडीले हामीलाई डुङ्गा चढ्ने ठाउँतिर लग्यो । हामी भन्नाले त्यस होटलमा बास बसेका विदेशी पर्यटकहरु । म एकजना बाहेक सबैजना गोरो छाला भएका यूरोपियन पर्यटक छन् ।

फ्रान्सको उपनिवेशबाट सन् १९५४ मा स्वतन्त्र भएपछि लाओसमा संवैधानिक राजतन्त्र स्थापित भयो । तर, पाथेट लाओ भनिने कम्युनिस्ट संगठनले क्रान्ति शुरु गरेपछि देश गृहयुद्धमा फस्यो । भियतनाममा अमेरिकाको हारसँगै सन १९७५ मा लाओसमा पनि कम्युनिस्ट पार्टीले सम्पूर्ण देशको शासन सत्ता हातमा लियो । कम्युनिस्ट शासन लाओसमा आज पनि चलिरहेको छ

हुक्साईबाट लाओस देशको मध्यभागतिर अवस्थित लुङ्ग प्रभाङ्गसम्म स्लोबोटमा दुई दिन लाग्ने रहेछ । १० जना यात्रु बोक्ने तीब्र गतिमा हुँइक्ने डुङ्गामा गए एकैदिनमा पुगिने रहेछ ।

अधिकांश पर्यटकको रोजाई स्लोबोट भएको पाइयो । इञ्जिनजडित प्रतिघण्टा १५–२० किलोमिटरको गतिमा हिँड्ने डुङ्गालाई स्लोबोट भनिँदो रहेछ । स्लोबोटको बनावट हेर्दा स्थानीय श्रमसीपबाट बनाइएको प्रष्टै चिनिन्थ्यो ।

मेकङ्ग नदीमा परापूर्वकालदेखि जल यातायात सञ्चालनमा छ । तिब्बतमा उत्पत्ति भएर म्यानमार, थाइल्याण्ड, लाओस, कम्बोडिया र भियतनाम हुँदै मेकङ्ग नदी दक्षिण चीन सागरमा गएर मिसिन्छ ।

मेकङ्ग नदी संसारकै लामो नदीमा मध्यमा एक हो । यसको लम्बाई ४३५० किलोमिटर छ । मेकङ्गमा जलयात्रा गर्दै समुन्द्रसम्म पुग्न सकिन्छ । मेकङ्ग यस क्षेत्रको महत्वपूर्ण व्यापारिक जलमार्ग हो । स्थानीय यात्रु र सामान ओसार–पसार गर्न यो जलमार्ग अहिले पनि प्रयोगमा छ ।

हालैका वर्षहरुमा लाओसमा पर्यटक बढ्न थालेपछि मेकङ्गको जलयात्रा पर्यटकीय आकर्षण बनेको रहेछ । त्यसैले होला– डुङ्गा चढ्ने घाटमा विदेशी पर्यटकको ठूलो हूल छ । घाटमा साना–ठूला डुङ्गाहरुको पनि भीड छ । ८/१० जना मानिस अट्ने डुङ्गादेखि डेड/ दुई सय यात्रु बोक्ने स्लोबोट त्यहाँ छन् ।

सबै डुङ्गाहरु यात्रुको प्रतिक्षामा थिए । अब दुई दिने जलयात्रा शुरु हुँदैछ । म फुरुङ्ग छु, अरुलाई पनि फुरुङ्ग देख्छु । वरिपरिको दृश्य क्यामेरामा कैद गर्छु । मेकङ्गको पानीलाई स्पर्श गर्छु । तर, पानी अलि धमिलो छ ।

म स्लोबोटमा उक्लिन्छु । टिकटमा लेखिएको नम्बर हेर्दै आफ्नो सिट खोज्छु । लुका र मेरो सिट सँगै परेको छ । अलिअलि तालु खुइलिएको हँसिलो अनुहारको लुका मिलनसार छ । तर, ऊ कम बोल्छ । बरु बेलाबेला बुढीऔंला देखाउँदै खिस्स हाँस्छ ।

स्लोबोट यात्रुले भरिन थाल्यो । करिब १०० जति सिट होला, सबैमा विदेशी पर्यटक छन् । इञ्जिनसँगैको पछाडि कोठामा भने स्थानीय मानिसहरु झिटीझाम्टासहित भूईंमै बसेका छन् । पुरुष, महिला, बालबच्चा सबै छन् । कुनै सपरिवार बसाईं जाँदै गरेजस्ता छन् । तिनीहरुको पहिरन हेर्दा गाउँले गरिबदुःखी जस्ता देखिन्छन् । अनुहार, रुपरंग भने नेपालकै पूर्वी पहाडतिरका जस्तै ।

स्लोबोटको भित्र मात्रै नभएर छतमा पनि सामान हालिँदैछ । एउटा पर्यटक टोलीको १५ वटा जति साइकल छतमा लाइन मिलाएर बाधिँदैछ । आम्मै, यति धेरै खचाखच यात्रु र मालसामान ! कतै यो स्लोबोटले मेकङ्गमा डुबुल्की लाउने त होइन ? मनमा तर्कना उठ्छ । जलयातायात सञ्चालनमा सुरक्षा नियमको पालना गरिनु पर्ने हो । तर, यहाँ त्यस्तो देखिएन ।

नौ बज्नै लाग्दा स्लोबोटले इञ्जिन स्टार्ट गर्‍याे । इञ्जिनको कर्कश आवाज निक्कै चर्को थियो । तर, स्लोबोट हिँड्नै लागेकाले यात्रुहरु रमाए । ठीक नौ बज्दा स्लोबोट हिँड्यो ।

हेर्दाहेर्दै घाट वरिपरिका दृश्य ओझेल परे । बाटामा नयाँनयाँ दृश्यले उत्सुक बनायो । हिजो बसबाट पार गरेको फ्रेण्डसिप ब्रिज, आज त्यसको मुनिबाट पार भइयो ।

लाओस र थाइल्याण्डको सीमा नदी भएर मेकङ्ग बगेको छ । नदीको दाँया किनारामा थाईलैण्डको भूमि छ भने बाँया किनारामा लाओसको । दाहिने किनाराका थाई भूमिका गाउँबस्तीहरु राम्रा, चिटिक्क देखिन्छन् । यता देब्रे किनाराको लाओस भूमिमा झुपडीजस्ता घर देखिन्छन् । यो फरकले थाइल्याण्ड र लाओसको सम्पन्नता र विपन्नता झल्काउँछ ।

आसियन देशहरुमध्ये थाइल्याण्ड विकासशिल देश हो भने लाओस झण्डै नेपालजस्तै अविकसित देश हो । जुन यहाँ मेकङ्ग नदीका दुई किनाराका दृश्यहरुले छुट्याउँछ ।

चलचित्रजस्तै दृश्यहरु

हुक्साईबाट जलयात्रा शुरु गरेको एकघण्टा नहुँदै मेकङ्ग नदी थाई–लाओ सीमा छोडेर दक्षिणपूर्व मोडिन्छ । अब भने दुबै किनारातर्फ लाओसको भूमि दृश्यगोचर हुन्छ । स्लोबोटका प्रायः सबै यात्रुहरु फोटो खिच्न ब्यस्त छन् । म पनि उत्साहित भएर फोटो खिचिरहेको छु ।

दुबैतर्फ होचा पहाडहरुको बीचबाट मेकङ्ग नदी बगेको छ । मेकङ्गको जलप्रवाहसँगै स्लोबोट अगाडि बढिरहेको छ । स्लोबोटको छाना भए पनि भित्ता छैन । त्यसैले बसको झ्यालबाट जस्तो होइन, पूरै वरिपरि दृश्य देख्न सकिन्छ ।

चलचित्रका पर्दा झैँ क्षितिजमा भूदृश्यहरु चलायमान लाग्छन् । हरिया वनजंगल, पहाडका थुम्काथुम्की, पानीले खियाएर विभिन्न आकारका चट्टानहरु । नदी किनारमा कहीँकहीँ गाईबस्तुहरुको झुण्ड चरिरहेका देखिन्छ । फाटफूट मानिसहरु पनि देखिन्छन् । तिनीहरु आफ्नै धूनमा छन् ।

ठाउँठाउँमा गाउँबस्तीहरु दृश्यमा आउँछन् । गाउँबस्तीका नदी किनारमा दुईचार वटा डुङ्गाहरु देखिन्छन् । ती गाउँलेका ओहोर–दोहोर गर्ने, माछा मार्ने डुङ्गा होलान् ।

हाम्रो स्लोबोट ती गाउँबस्तीमा रोकिए पनि हुन्थ्यो जस्तो मलाई लाग्छ । तर, स्लोबोट एकनासले मेकङ्गको पानीमाथि सलल कुदिरहेको छ । विपरीत दिशातिर जाने डुङ्गाहरु पनि घरिघरि देखिन्छन् । निक्कैबेरपछि २/३ ठाउँमा स्थानीय यात्रु चढाउन, ओराल्न हाम्रो स्लोबोट रोकियो । एक ठाउँमा हाम्रो स्लोबोट रोकिँदा केटाकेटीको हुल यात्रुहरुलाई खुद्रे सामान बेच्न हुर्रिएर आयो । पर्यटकहरु ती केटाकेटीका सामान किन्नु भन्दा पनि फोटो खिच्न सल्बलाए ।

बाहिरका दृश्यहरु सुन्दर र रोमाञ्चक भएजस्तै स्लोबोटभित्रको माहोल पनि कम चाखलाग्दो छैन । यात्रुहरु कोही किताब पढ्दैछन् । कोही खाँदै पिउँदै छन् । कोही गफिँदै छन् त, कोही निदाएका छन् । स्लोबोटको पछाडिको भागमा खुल्ला भान्सा कोठा छ । चुरोट खाने यात्रुहरुको त्यहाँ घुइँचो भैरहन्छ । म जिउ तन्काउन, देखासिकी चुरोट खान र अन्य सहयात्रीसँग गफिन त्यहाँ पुगिरहन्छु । स्लोबोटको पछाडि भागबाट हेर्दा नदीमा पानीको डोबले पछाइरहे जस्तो लाग्छ । मेकङ्ग उपत्यकाको हरियाली भूदृश्यहरु टाढाटाढा हुँदै बिलाएर जान्छ ।

साँघुरो भान्सा कोठामा मुश्किलले १२–१५ जना अटाउने ठाउँ छ । प्रायः यहाँ चुरोट खाने र बियर तान्ने यात्रुहरु खचाखच हुन्छन् । मानौं, यो सानो बियर बार हो । ती गोरा पर्यटकको हुलमा म रुपरंगमा फरक देखिए पनि मैत्रीपूर्ण तरिकाले प्रस्तुत हुन्छु । उनीहरुसँग परिचय आदान–प्रदान गर्छु । कोही खाँदै गरेका बियरका बोतल हार्दिकतासाथ मतिर अघि बढाउँछन् । विदेशीहरु जूठोको मतलव गर्दैनन् । तर, मलाई दिङदिङ लाग्छ ।

स्लोबोटको मुख्य हलमा सानो पसल पनि छ । त्यहाँ बियरको ठूलै भण्डार रहेछ । पसले युवती बियर बेचिरहेकी छे । अर्काले खाएको मात्र कति हेर्नु भनेर मैले एउटा बियर किनें ।

स्लोबोटमा भेटिएका अनेक पात्रहरुमध्ये केहीको तस्वीर मेरो स्मृतिमा नमेटिने गरी बसेका छन् । रामोन नाम बताउने स्पेनिश नागरिक मलाई निकै आत्मीय लाग्यो । लामो कपाल पालेको रामोन मेरो उमेर हाराहारीको थियो । स्लोबोटको साँघुरो वातावरणमा ऊसँग धेरै गफगाफ चाँहि हुन सकेन । ऊ पेशाले ट्रक ड्राईभर रहेछ ।

नेपालका भू.पू. प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अनुहारसँग मिल्दोजुल्दो र त्यस्तै अग्लो, पातलो ज्यानको मानिस पनि म झल्झली सम्झिन्छु । ऊ जर्मन नागरिक रहेछ । नेपाल तीनपटक घुमिसकेको रहेछ ।

स्लोबोटमा गोरा पर्यटक दम्पतीको सानी नानीको छुनुमुनुले पनि सबैको ध्यान तान्थ्यो । तर, स्थानीय यात्रुसँग कुराकानी गर्ने, उनीहरुबारे जान्ने मेरो धोको भाषाको समस्याले अधुरै रह्यो । उनीहरु पटक्कै अंग्रेजी नबुझ्ने ।

विगतमा फ्रान्सको उपनिवेश भएकाले लाओसमा अंग्रेजीको त्यति प्रभाव रहेनछ । बीचमा एकजना युवा बौद्ध भिक्षु स्लोबोटमा चढेका थिए । मैले उनको नजिक गएर कुराकानी गर्न खोजेँ । ती भिक्षु पनि कुराकानी गर्न उत्सुक थिए । हाम्रोबीच भाषा तगारो भैदियो ।

पाकबेङ्ग भन्ने ठाउँमा स्लोबोटले पहिलो दिनको विश्राम लियो । एक रात बास बसेर भोलिपल्ट बिहान त्यसैगरी स्लोबोटबाट यात्रा शुरु भयो । मेकङ्गमा अविस्मरणीय जलयात्रा गर्दै साँझ लुङ्ग प्रभाङ्ग पुगियो ।

लुङ्ग प्रभाङ्गको अधुरो चाहना

शहर वरिपरिको गाउँहरुलाई समेत समेटेर लुङ्ग प्रभाङ्गलाई यूनेस्कोको विश्व सम्पदा सूचीमा राखिएको रहेछ । यहाँ बौद्ध बिहारहरु प्रशस्त रहेछन् । मेकङ्ग र नमखन नदीको संगमस्थलमा अवस्थित यो सानो शहर प्राकृतिक रुपमा सुन्दर छ ।

फ्रेन्च उपनिवेशकालमा बनेका सरकारी भवनहरुलाई राम्रो संरक्षण गरेर राखिएको रहेछ । फ्रेन्च शैलीका निजी घरहरुलाई चिटिक्क सिँगारेर बुटिक होटल बनाइएका छन् ।

हिउँदे याम दक्षिणपूर्वी एशियामा पर्यटकीय सिजन हो । यूरोप तथा चिसो मुलुकहरुबाट जाडो छल्न पर्यटकहरुको ओइरो लाग्छ । छिमेकी मुलुक थाइल्याण्डमा प्रतिवर्ष आउने साढे तीन करोड पर्यटकको बाढीको छाल लाओसतिर पनि पस्छ । अहिले फेब्रुअरीको पहिलो हप्ता चल्दैछ । लुङ्ग प्रभाङ्ग पर्यटकले खचाखच भरिएको छ ।

साँझ लुङ्ग प्रभाङ्ग पुगेपछि होटल रुम खोज्न निक्कै भौंतारिनुपर्‍याे । खाली पाउँदै नपाइने, पाए पनि महंगो । उच्च सिजनमा होटल रुम महंगो हुनु स्वाभाविक हो । आफू परियो न्यून बजेटमा घुम्न निस्किएको झोले टुरिस्ट । बल्लबल्ल एकठाउँ आफ्नो बजेटअनुसारको होटल फेला परेपछि झोला बिसाएँ । नुवाईधुवाई गरेर शहर घुम्न निक्लेँ ।

दक्षिणपूर्वी एशियाली देशका अन्य पर्यटकीय शहरमा जस्तै लाओसको लुङ्ग प्रभाङ्गमा पनि रात्रि बजार लाग्छ । पर्यटकलाई लक्षित गरेर रात्री बजारमा खानाका स्टल, हस्तकलाका कोसेली सामग्री, विभिन्न स्थानीय उत्पादनदेखि सानातिना खेलचटक राखिएको हुन्छ ।

मलाई बेलुकाको खाना खानुबाहेक केही किन्नु छैन । तर, रात्री बजारमा राखिएका विभिन्न सामग्रीहरु नियाल्दै, कुनैको दाम सोध्दै चक्कर लगाएँ । घुम्दै जाँदा हिजोको रुम पार्टनर लुका भेटियो । रात्री बजार घुमेर होटल आउँदा ११ बजिसकेको थियो । भोलि दिनको उज्यालोमा घुम्न त बाँकी नै छ ।

बिहान होटलको काउन्टरमा भारतीय पर्यटकजस्ता देखिने केही युवकहरु अलि हल्लाखल्ला गरिरहेका थिए । सल्लाह गर्दा पनि हल्ला गर्ने भारतीय विशेषता हो भनिन्छ । मलाईचाँहि मन पर्दैन । म तिनीहरु नजिक गएर शोले फिल्मको गब्बरसिंहको डाइलग शैलीमा बोलें– अरे हो, कितने आदमी हो ? उनीहरुले छक्क परेर मलाई हेरे । तिनीहरु त चीनमा इन्जिनियरिङ्ग पढ्दै गरेका पाकिस्तानी विद्यार्थी पो रहेछन्, छुट्टीमा घुम्न निस्केका ।

शहर घुम्दै जाँदा हात्ती संरक्षणसम्बन्धी संस्था भेटियो । लाओसलाई लाखौं हात्तीहरुको देश भनिन्छ । मेरो गृहजिल्ला झापामा हात्तीले उत्पात मच्चाएकाले मलाई हात्तीबारे चासो थियो ।

त्यस संस्थाले हात्तीको बासस्थान व्यवस्थापन र पर्यटन प्रवद्र्धन सँगसँगै अघि बढाएको रहेछ । त्यहाँ काम गर्ने फ्रेन्च महिलाले मलाई हात्तीसम्बन्धी उपयोगी जानकारी दिइन् ।

लाओसमा अहिले हात्तीको संख्या लाखौंमा होइन, एक हजार भन्दा पनि कम रहेको थाहा भयो । नेपालमा हात्ती र मानव द्वन्द्वबारे मैले जानेजति कुरा उनलाई बताएँ । नेपालमा पनि हात्तीसम्बन्धी प्रोजेक्ट चलाउन सकिएला कि भन्ने विषयमा छलफल गरेँ ।

उनले नेपालमा हात्तीसम्बन्धी प्रोजेक्टमा सहकार्य गर्न सकिने बताइन् । उनको कुराले मलाई निकै उत्साहित बनायो । त्यस संस्थाको हात्ती राखिएको ठाउँ हेर्न शहर बाहिर अलि टाढा जानुपर्ने रहेछ । तर, मलाई त्यहाँ जाने समय थिएन । मेरो ईच्छा अधुरो रह्यो ।

लुङ्ग प्रभाङ्गबाट नजिकै जलविद्युत आयोजनाहरु छन् भन्ने मलाई थाहा थियो । मलाई ती आयोजना हेर्न जाने रहर थियो । नेपाल जस्तो त होइन, तर पहाडी भूभाग र खोलानाला भएकाले लाओसमा जलविद्युतको प्रचुर सम्भावना छ ।

लाओसले जलविद्युत उत्पादनको जडित क्षमता करिब ६ हजार मेगावाट पुर्‍याइसकेको रहेछ । उसले छिमेकी मुलुकहरुमा विद्युत निर्यात गर्छ ।

गतवर्ष फिलिपिन्समा एउटा कार्यक्रममा सहभागी हुँदा लाओसको जलविद्युतमा काम गर्ने एकजनालाई चिनेको थिएँ । मैले नेपालबाट प्रस्थान गर्नु अगाडि ऊसँग इमेल आदान–प्रदान गरेको थिएँ । उसको जवाफ सकरात्मक थियो । जब मैले लाओस टेकेँ, ऊ सम्पर्कविहीन भैदियो । यसले मलाई खिन्न बनायो । अनि, जलविद्युत आयोजनाहरु घुम्ने र लाओसको अनुभवबाट सिक्ने मेरो जाँगरै मर्‍याे ।

दिनभरि पैदल घुमेर साँझ होटल फर्किदाँ लखतरान थाकेको थिएँ । काउन्टर नजिकै टेबलमा चिया पिउँदै थिएँ, एकजना फ्रेन्च महिलासँग चिनजान भयो । उमेरमा मभन्दा अलिक जेठी । लामो बिदामा एक्लै घुम्न निस्किएको रहिछिन् । कुराकानी गर्दै जाँदा हामीबीच निकटता बढ्यो ।

हल्का पानी परेकाले वातावरण पनि रोमान्टिक थियो । हामीसँगै रात्री बजार घुम्न गयौं, डिनर खायौं र अबेर होटलमा फर्कियौं ।

भोलि बिहान लुङ्ग प्रभाङ्गबाट यात्रा अघि बढाउने मेरो योजना छ । म दोधारमा पर्छु । यो शहर र यसको वरिपरि थुप्रै हेर्नलायक, चाखलाग्दा ठाउँहरु छन् । जेहोस्, अधुरा चाहनाहरुलाई लुङ्ग प्रभाङ्गमा छाडेर अघि बढ्ने निर्णय गरें ।

लाओसः बम र बारुदको भूमि

लुङ्ग प्रभाङ्गबाट बस चढेर लाओसको राजधानीतर्फ लाग्छु । पहाडी भूभाग हुँदै बस दगुरिरहेको छ । झ्याल बाहिरका दृश्यहरुबाट आँखा हटाउनै मन लाग्दैन । मेकङ्गको जलयात्रामा खेतीपाती गरिएका फाँट, गाउँबस्ती, स्थानीय जनजीवन नजिकबाट नियाल्न पाइएको थिएन । यो बस यात्रामा ती कुराहरु देख्न पाइयो ।

लाओसले युद्धका धेरै पीडाहरु भोगेको छ । संसारमा नै सबैभन्दा बढी बम खसाइएको ठाउँ हो– लाओस । भियतनाम युद्ध उसको सीमा बाहिर लाओसमा पनि फैलिएको थियो ।

फ्रान्सको उपनिवेशबाट सन् १९५४ मा स्वतन्त्र भएपछि लाओसमा संवैधानिक राजतन्त्र स्थापित भयो । तर, पाथेट लाओ भनिने कम्युनिस्ट संगठनले क्रान्ति शुरु गरेपछि देश गृहयुद्धमा फस्यो । भियतनाममा अमेरिकाको हारसँगै सन १९७५ मा लाओसमा पनि कम्युनिस्ट पार्टीले सम्पूर्ण देशको शासन सत्ता हातमा लियो । कम्युनिस्ट शासन लाओसमा आज पनि चलिरहेको छ ।

सन् १९६४ देखि १९७३ सम्म अमेरिकाले लाओसमा कार्पेट ओछ्याएर सरह बम खसालेको थियो । त्यतिखेर खसाएको बम लाओसको खेतबारी, जंगलमा यत्रतत्र छँदैछ । नपडकिएको ८ करोड जीवित बम लाओसको भूमिमा रहेको आँकडा छ । त्यसबाट अहिले पनि मानिसको साथै चौपाया मारिने तथा अङ्गभङ्ग हुने क्रम चलिरहेको छ ।

युद्ध समाप्त भए यता ४० वर्षमा करिब २० हजार निर्दोष लाओ जनताले ज्यान गुमाएका रहेछन् । यो कुरा सम्झिँदा बसको झ्याल बाहिर देखिने सुन्दर दृश्यले पनि मलाई उदाश बनाउँछ ।

हाम्रो बस उकालैउकालो बाटो हुँदै रुखबिरुवा नभएको लेकाली घाँसे फाँटमा पुग्छ । गाउँबस्ती कतै छैन । समुन्द्र सतहबाट यस ठाउँको उचाई कति छ, थाहा भएन । बाइरोडको बाटोमा पर्ने सीमभन्ज्याङ्गमा जस्तै बाक्लो कुहिरो लागेको छ । जाडोले सिउसिउ काम्न थालियो । खाजा खाने पसल, शौचालय भएको ठाउँमा बस रोकियो ।

त्यस बिसौनीबाट हिँडेपछि बस ओरालो लाग्यो । पक्की राम्रो सडक भए पनि ठाडो ओरालो र चिप्लो छ । झ्याल बाहिर डरलाग्दो भीर देखिन्छ । बसका यात्रुहरु डराउँछन् । मेरो सिट नजिक बस्ने गोरा पर्यटक म नेपाली भन्ने थाहा पाएर भन्छ– तिमी त यस्तो सडकमा यात्रा अभ्यस्त छौ होला, होइन ? म टाउको हल्लाउँछु ।

ओरालो बाटो सकिएपछि समथर मैदानी फाँटमा बस कुदिरहेको छ । अघि केहीबेर अघि सिउसिउ कमाउने जाडो, अहिले गर्मीले पसिना आउन थाल्यो । बसको झयाल बाहिर गाउँबस्ती, स–साना बजार देखिन्छ । लञ्चका लागि बस रोकियो ।

नेपालका राजमार्गमा यात्रुलाई खाना खुवाउने ठाउँ भन्दा यता लाओसमा गुणस्तरीय लाग्यो । देशले प्रगति गर्दै जाँदा त्यसको प्रभाव सबैतिर पर्ने रहेछ । प्रधानमन्त्रीले चासो लिँदा पनि नेपालमा राजमार्गका भात पसलहरु सुध्रिएनन् । यस्तै कुरा सोच्दै थिएँ, बस फेरि हिँड्यो ।

राजधानी भियनटेन भन्दा चार घण्टाको बाटो वरै भानभियाङ्गमा अपरान्ह म ओर्लिएँ । पिकनिक, पार्टीका लागि भानभियाङ्ग बिन्दास ठाउँ रहेछ । जहाँ एक रात बिताएर भोलिपल्ट भियनटैन पुगेँ ।

भ्रमण वर्ष २०१८

नेपालजस्तै भूपरिबेष्ठित लाओसको क्षेत्रफल नेपाल भन्दा करिब डेढ गुणा ठूलो छ । लाओसको जनसँख्या करिब ७० लाख छ । सन १९९० देखि विदेशी पर्यटकलाई लाओसमा खुला गरिएको थियो । लाओसले सन् २०१५ मा ४७ लाख पर्यटक भित्र्याएको तथ्याङ्क छ । तैपनि, पर्यटक घटन थाले भनेर लाओसले सन २०१८ लाई भ्रमण वर्ष मनाउँदै रहेछ ।

लाओसमा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलहरु छन् । छिमेकी देश थाइल्याण्ड, क्याम्बोडिया, भियतनाम र चीनका शहरहरुसँग सिधा बस सेवाले जोडिएको छ । अनि, लाओसमा पर्यटक किन ओइरो नलागून् त ।

लाओसमा बौद्ध मठ मन्दिरहरु छन् । नेपालमा त बुद्धको जन्मस्थल लुम्बिनी नै छ । प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधतामा नेपाल धनी छ । अहिले सूचनाको युगमा प्रचार–प्रसारको कमी पनि नहोला । नेपालको १० लाख पर्यटक भित्राउने एक दशक अगाडिको लक्ष्य सन् २०१७ मा पूरा भयो । लाओसको तुलनामा नेपाल आउने १० दश लाख पर्यटक संख्यामा ज्यादै न्यून हो । अहिलेको सरकारले २० लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ ।

श्री ३ मोहन शमसेरका पालामा काठमाडौंमा हवाईजहाज ओर्लनुपर्ने भएपछि गौचरणमा चर्दै गरेका गाईवस्तु धपाएर त्रिभुवन विमानस्थलको थालनी भयो । दशकौं बित्दामा पनि नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण थालनी गरिएन ।

वैदेशिक रोजगारीमा जाने नेपालीहरुको भीडभाडले त्रिभुवन विमानस्थल अस्तब्यस्त हुन थालेपछि अर्को अन्तर्राष्ट्रिय विमानस्थलको कुरा उठ्न थाल्यो । थाई एयरवेजसँगै जन्मिएको नेपाल एयरलाइन्सको कहानी सबैलाई थाहा छ । छिमेकी चीनतर्फ हिमालको पर्खाल छ । दक्षिणतिर भारतको बडेभैया रवैया छ । कहिले नाकाबन्दी लाउँछ, कहिले के गर्छ । पर्यटकीय पूर्वाधारको कमी त छँदैछ । सबैभन्दा ठूलो कुरा, सहज मार्ग नभएपछि नेपालमा कसरी पर्यटक आउन् ? लाओसमा पर्यटक बनेर घुम्दा मलाई यस्तै कुराले पोलिरह्यो ।

फेरि मेकङ्गको किनारमा

भियनटेनमा साँझपख मेकङ्ग नदी किनारमा घुम्न निस्किएँ । नदी किनारामा फराकिलो सडक र दाँयावाँया खुला ठाउँमा मानिसहरुको ठूलो चहल–पहल छ । घामको रातो डल्लो क्षितिजमा ओर्लँदैछ । मेकङ्गको पानीमा सिन्दुरे रंग टल्किएको छ । सूर्यास्तको फोटो खिच्न सयौं क्यामेराहरु व्यस्त छन् । सन् २०१८ फेब्रुअरी ६ तारिखको दिन अस्ताउँदो सूर्यलाई साक्षी राखेर मैले मेकङ्ग किनारमा फोटो खिचेँ ।

यहाँ मेकङ्ग नदी फेरि थाइल्याण्ड र लाओसको सीमा भएर बगेको छ । भियनटेनको पारिपट्टि थाइल्याण्डको नङ्गखई शहर छ । पारिपट्टिको झिलीमिली भियनटेनबाट देखिन्छ । मलाई भने आज यतैको झिलीमिलीमा भुल्नु छ ।

मेकङ्गको किनारैकिनार मानिसको चहलपहलमा मिसिदैँ पल्लो छेउमा पुगें । नदी किनारलाई निक्कै व्यवस्थित ढंगले विकास गरिएको रहेछ । काठमाडौंको बागमती किनारमा पनि एक ठाउँ यूएन पार्क छ । तर, त्यो साँच्चैको पार्क जस्तो कहिले बनेन । बरु फोहोरको डम्पिङ्गसाइट भएर त्यसले यूएनको बेइज्जत गरेको छ ।

साँझ म टहलिएको मेकङ्गको किनारलाई सन् २०१० मा पार्कको रुपमा विकास गरिएको रहेछ । उन्नाइसौं शताब्दीको शुरुताका भियनटेनमा राज्य गर्ने पराक्रमी राजा अनुभोङ्गको स्मृतिमा त्यो पार्क बनाइएको रहेछ । पार्कको एक छेउमा राजाको विशाल सालिक राखिएको छ ।

लाओसले विकास गर्दै जाँदा इतिहासलाई पनि स्थापित गर्दै रहेछ । मेरो गृहनगर चन्द्रगढी (भद्रपुर) मा सानो चिटिक्कको पार्क छ । त्यहाँ पार्कको बीचमा राजा महेन्द्रको सुन्दर सालिक थियो । राजतन्त्रसँगै त्यो सालिक क्षणिक आवेशमा ढालियो । एउटा कालखण्डको निशानीका रुपमा रहेको सालिक भाँच्नेहरुलाई भावी पुस्ताले धिक्कार्नेछ । मेकङ्ग नदी किनारबाट यस्तै कुरा मनमा गम्दै म होटलतिर फर्किएँ ।

फ्रेन्चको चल्ती

होटलमा एकजना फ्रेन्च बुढोसँग भेट भयो । उसले लाइब्रेरियन जागिर छाडेर उमेर ढल्केपछि पढ्न थालेको र अहिले लाओसमा हात्तीमा पीएचडी गरिरहेको बतायो । म हात्तीबारे जिज्ञाशु, लाओसमा हात्तीबारे जानकारी खोजिरहेको छु भन्ने मैले सुनाएँ । हात्तीको विषयले जँमार्कसँग म नजिकिएँं ।

भोलि बिहान पैदल हिँड्दै जँमार्कसँग नेशनल युनिभर्सिटी अफ लाओसमा गएँ । म पनि आफूलाई विद्यार्थीजस्तो महसुस गरिरहेको थिएँ । बाटोमा महत्वपूर्ण सरकारी भवनहरु पर्ने रहेछन् । सबै सरकारी कार्यालयको साइनबोर्ड लाओ अक्षरका साथै फ्रेन्च भाषामा लेखिएकाले म बुझ्दिनँ । जँमार्कले मलाई अंग्रेजीमा बताइदिए ।

यूनिभर्सिटीमा झन फ्रेन्च भाषा चल्ने रहेछ । पाका उमेरका शिक्षित लाओसियनले फरर्र फ्रेन्च बोलेको पनि सुनेँ । विद्यार्थीलाई फ्रेन्च भाषामा पढाइने रहेछ । लाओसमा फ्रान्सको उपनिवेश हटे पनि फ्रेन्च भाषाचाँहि चल्तीमा रहेको पाइयो ।

लाओसमा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलहरु छन् । छिमेकी देश थाइल्याण्ड, क्याम्बोडिया, भियतनाम र चीनका शहरहरुसँग सिधा बस सेवाले जोडिएको छ । अनि, लाओसमा पर्यटक किन ओइरो नलागून् त

इन्टरनेशनल रिसर्च एण्ड डेभलपमेन्ट भन्ने फ्रान्सको सरकारी संस्थाले यूनिभर्सिटीसँग मिलेर विभिन्न कार्यक्रम चलाएको रहेछ । जँमार्कले उसका सहकर्मी र हाकिमसँग मलाई चिनजान गराए । मैले हात्तीबारे आफ्नो रुचि र नेपालमा हात्ती समस्या समाधानका लागि के गर्न सकिएला भन्ने विषयमा कुराकानी गरेँ । उनीहरुसँग मैत्रीपूर्ण कफी पिएर म बिदा भएँ ।

शालीन सोलनिया

भियनटेनमा काठमाडौंको जस्तो अस्तब्यस्त ट्राफिक, धूलोधूवाँ, भीडभाड छैन । म्यूजियम, बौद्ध मन्दिर र पर्यटकिय आकर्षणका ठाउँहरु चहार्दै मैले पैदल भियनटेन शहर घुमें । अन्ततः म दिनभरि शहर घुमेर थकित भएँ ।

साँझ ५ बजेतिर मैले सोलनियाको प्रतिक्षा गरें । उनीसँग अफिस टाइमपछि भेटने तय भएको छ । एउटा तालिम कार्यक्रमको सिलसिलामा सोलनिया नेपाल पनि आएकी रहिछिन् । पोखरातिरको गुरुङ्गसेनीजस्ती देखिने सोलनिया आफैँ कार हाँकेर आइपुगिन् ।

लाओसमा शहरिया मध्यम वर्गको पहुँचमा निजी कार आइसकेको रहेछ । नेपालमा सरकारले कर उठाउने मुख्य श्रोत सवारी साधन हो । चर्को करले सवारी साधन महंगो हुँदा अधिकांश नेपाली मध्यम वर्ग दुई पांग्रेमा निर्भर छन् । म दुई पांग्रे हैसियतको मान्छे मख्ख पर्दै सोलनियाको कारमा बसें ।

तिमी कता घुम्छौं भनेर सोलनियाले सोध्दा तिम्रो ठाउँ, तिमी जता लान्छौं, त्यतै घुम्छु भनें । उनले मलाई त्यही मेकङ्गको किनारमा पुर्‍याइन् ।

मानिसको भीडभाडबाट अलि छलिएर मेकङ्ग नदीलाई हेर्दै म र सोलनिया गफिन थाल्यौं । भाषाको समस्याले स्थानीय मानिससँग राम्ररी कुराकानी गर्न पाएको थिइनँ । अंग्रेजी बुझ्ने होटलका कर्मचारीसँग कुरा गर्न खोज्दा दुईचार बात मारेपछि झर्किन्थे । सोलनियाजस्तो शिक्षित, शालीन र खुला दिलदिमाग भएकी युवतीसँग कुरा गर्न पाउँदा आफूलाई भाग्यमानी सम्झेँ । उनले आफ्नो व्यक्तिगत कुरादेखि लाओसको राजनीति, अर्थतन्त्र र समाजका बारेमा सविस्तार बताइन् ।

कुरा मात्रै गर्ने कि अब केही खाने पनि भनेर सोलनियाले भन्दा मैले झल्याँस सम्झेँ । भोलि म लाओसबाट भियतनामतर्फ उड्दै थिएँ । जँमार्कले बेलुकासँगै डिनर गरौं भनेको थियो । बेलुकाको आठ बज्न लागेको थियो । जँमार्क मलाई होटलमा पर्खेर बसिरहेको होला । उता नजाउँ जँमार्कले बेइमाान भन्ला, यता सोलनियाले के सोच्ली ?

मैले नलुकाई आफ्नो द्विविधा बताएँ । हामी फेरि भेटौंला नि, शायद नेपालमा । उनले समझदारी देखाइन् । सोलनियाले मलाई होटलमा पुर्‍याइदिइन् । शालीन सोलनियालाई सलाम गरेर म छुट्टिएँ । र, भोलिपल्ट लाओससँग पनि बिदाबारी भएँ ।

यो पनि पढ्नुहोस्

भियतनामः नीलो ड्रागनको देशमा डुल्दा

 

 

लेखकको बारेमा
मिलन मनुवा दाहाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?