+
+
यात्रा संस्मरण :

भियतनामः नीलो ड्रागनको देशमा डुल्दा

होचि मिन्हको देशबाट नेपालले के सिक्न सक्ला ?

मिलन मनुवा दाहाल मिलन मनुवा दाहाल
२०७५ असार ३० गते १९:३१

चिनियाँ किंवदन्तीमा मुखबाट आगो निकाल्दै उड्ने सर्पजस्तो जन्तुलाई ड्रागन भनिन्छ । दक्षिणपूर्वी एशियाली मान्यताअनुसार ड्रागनलाई शक्ति र भाग्यको प्रतिक मानिन्छ । भियतनाम अहिले द्रुत आर्थिक प्रगतिमा अघि बढेकाले यसलाई ‘नीलो ड्रागन’को देश भन्न थालिएको छ ।

भियतनामको नक्शा पनि सर्पजस्तो लामो, उत्तर-दक्षिण तेर्सिएकोे छ । उत्तरमा हनोइ शहर छ भने दक्षिणमा सैगोन । सैगोनलाई होचि मिन्ह सिटी पनि भनिन्छ ।

भियतनामको भ्रमण हनोइबाट शुरु गरौं कि सैगोनबाट भन्ने मलाई अन्योल थियो । अन्ततः मैले सैगोनबाट यात्रा शुरु गर्ने योजना बनाएँ । त्यसैअनुसार काठमाडौंस्थित भियतनामी कन्सुलेटबाट नेपाली ४ हजार रुपैयाँ बुझाएर भिसा लेटर लिएको थिएँ । तान सोन नात अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएपछि अध्यागमनको लाइनमा बसेँ । अर्को एउटा फाराम भरेर २५ डलर बुझाएपछि भियतनामको भिसा लाग्यो ।

ह्याप्पी न्यु इयर, अर्थात घुस !

अध्यागमनको चालामाला त्यति ठीक थिएन । जेहोस, भिसा लागेको पासपोर्ट पाएपछि इन्ट्री छाप लगाएर बाहिर निस्कन अघि बढेँ । त्यहाँ म त्यहाँ फन्दामा परिहालेँ ।

छाप लगाउने बर्दीधारी कर्मचारी ‘हयापी न्यू ईयर’ दोर्‍याई दोर्‍याई भन्छ । चाइनिज न्यू ईयर आउँदै गरेको थाहा थियो । शायद भियतनामीको पनि न्यू ईयर होला भनेर मैले प्रत्यूत्तरमा हयापी न्यू ईयर भनेँ ।

त्यसले पैसाको नोट देखाउँदै फेरि ‘हयाप्पी न्यू ईयर’ भन्यो । अनि पो यसले घुस मागेको रहेछ भनेर मैले बुझेँ ।

त्यो घुस्याहा अफिसरका अगाडि म बलीको बोकोजस्तै निरीह हुनुपर्‍यो । मैले नम्र भएर उताको काउन्टरमा २५ डलर बुझाई सकेको भन्दा उसले रिसाएर आँखा तर्‍यो । म नबोली उभिइरहेँ । उसले पासपोर्ट मेरो हातबाट थुत्दै छाप लगाएर हुर्‍याइदियो । मैले पासपोर्ट टिपेर उसको मुखतिर पुलुक्क हेर्दा भागी हाल् भनेजस्तो ईशारा गर्‍यो ।

भियतनामी जनताको बलिदानी संघर्ष र तिनीहरुका महान नेता होचि मिन्हका बारेमा मैले स्कुले जीवनदेखि पढदै, सुन्दै आएको थिएँ । त्याग र सादा जीवनका प्रतीक होचि मिन्हप्रति मलाई अगाध श्रद्धा छ । कमरेड होचि मिन्हको भूमिमा, अझ उनकै नामको शहरमा प्रवेश गर्दा एउटा सरकारी कर्मचारीको तुच्छ व्यवहारले भने मलाई खल्लो लाग्यो ।

नेपालको त्रिभुवन विमानस्थलमा अध्यागमनका कतिपय कर्मचारीले पर्यटक पाहुनासँग यस्तै व्यवहार गर्दा होलान् । बुद्ध जन्मेको देश भनेर के गर्नु, म पनि गतिलो देशको मान्छे त होइन ।

एयरपोर्ट बाहिर निक्लेर मैले चुरोट सल्काएँ । चुरोटको सर्कोसँगै मैले मनमनै चित्त बुझाएँ ।

टेट भनिने भियतनामी नयाँ वर्ष उनीहरुको सबैभन्दा ठूलो चाड रहेछ । आफ्नै परम्परागत क्यालेन्डर अनुसार मनाइने नयाँ वर्ष जनवरी-फेब्रुअरीमा पर्ने रहेछ । यसैताका नेपालमा पनि गुरुङ्ग, तामाङ्ग, शेर्पा समुदायहरुले ल्होसार मनाउँछन् ।

सन् २०१८ फेब्रुअरी ८ तारिखमा म भियतनामको भूमिमा टेक्दै थिएँ । यसपालि भियतनामी नयाँ वर्षको दिन १६ तारिखमा परेको रहेछ । योपटक भियतनामीहरु कुकुर वर्ष मनाउँदैछन् । अस्ति भर्खर काठमाडौंको टुडीँखेलमा ल्होसार मनाउनेहरु मेरा ईष्टमित्रहरु पनि कुकुर वर्ष भन्दै थिए । मैले अहिले बुझेँ- नेपालदेखि भियतनामसम्मका मानिसहरु एउटै साँस्कृतिक सम्बन्धको डोरोमा गाँसिएका रहेछन् ।

नेपालीहरु दशैंमा घर फर्केजस्तै बाहिर बसेका भियतनामीहरु नयाँ वर्षमा घर फर्किँदा रहेछन् । त्यसैले एयरपोर्टमा निकै भीडभाड भएको रहेछ ।

बाहिर मध्यान्हको घाम छ । फेब्रुअरी महिना भए पनि अलिअलि गर्मी छ । मानिसहरु हतारमा यताउता गरिरहेका छन् । मलाई चाँहि हतार छैन । एकछिन त्यहाँको रमिता हेरेपछि शहरको मुख्य केन्द्रतिर जाने सटल बसको भेउ पाएँ । मैले अनलाइनबाट होटल बुकिङ्ग गरिसकेको छु । भिसा आवेदन गर्न पनि होटल बुकिङ्ग चाहिन्छ । मेरो होटलको ठेगानामा डिस्ट्रिक्ट नं. १ लेखिएको छ । अब मलाई डिस्ट्रिक्ट नं. १ मा पुगेर सुपे होटल फेला पार्नुछ । म सटल बस चढेर त्यता लाग्छु ।

एसी भएको आरामदायी बसबाट बाहिर शहरको दृश्य अवलोकन गर्न पाइयो । साँच्चै, शहरमा न्यू ईयरको सजिसजाउ शुरु भैसकेको रहेछ ।

डिस्ट्रिक्ट नम्बर १

फ्रेन्च शासनकालमा बसालिएको ठाउँ ठेगानाको नाम नम्बर राख्ने व्यवस्थित परिपाटी रहेछ । सडकको एकापटि जोर नम्बरको घर, अर्कोपटि बिजोर नम्बरको घर । निजी निवास होस् वा व्यवसायिक भवन, हरेकको देखिने गरी नम्बर लेखिएको हुने रहेछ । मलाई सुपे होटल पत्ता लगाउन गाहृो भएन ।

होटलको रिसेप्सनमा रजिस्ट्रेशन गर्दा सक्कल पार्सपोर्ट नै राख्नुपर्छ भन्यो । अघि एयरपोर्टमा भियतनामी इमानदारीको तुच्छ नमूना देखिसकेँ । होटल पनि त्यति गतिलो छैन । यो रिसेप्शनिस्टले मेरो पासपोर्टमा घपला गर्ने त होइन । म असमञ्जसमा परेँ । त्यो होटलमा बसूँ कि, अर्को खोजूँ । सानो चिर्कटोमा पासपोर्ट बुझाएको रिसिप दिन्छु भनेपछि म त्यही होटलमा बसेँ ।

करिब २ हजार वर्ग किलोमिटरमा फैलिएको होचि मिन्ह सिटीको मुख्य केन्द्रमा डिस्ट्रिक्ट नं. १ अवस्थित रहेछ । महत्वपूर्ण सरकारी भवन, व्यापारिक प्रतिष्ठान लगायत पर्यटकीय आकर्षणहरु यही सेरोफेरोमा रहेको पनि थाहा पाइयो ।

अलि गर्मी कम भएपछि साँझतिर घुम्न निस्किएँ । गोरा पर्यटकहरु बाक्लै थिए । मेरो होटल भएको बुई भेन भन्ने ठाउँ काठमाडौंको ठमेलजस्तै रहेछ । पर्यटकका लागि सस्ता होटल, रेस्टुरेन्ट, बार, डान्स क्लब, कोसेली सामग्रीका पसल, ट्राभलटुर्सका अफिसले भरिभराऊ । मसाज पार्लरहरु पनि बग्रेल्ती रहेछन् ।

जब अँध्यारो भयो, रात छिप्पिन थाल्यो, नाइटलाइफको रमझम शुरु भयो । सडकमा मानिसको भीड उर्लिएको छ । सवारी साधनको आवागमन बन्द छ । सडकमा मान्छे हिँड्ने ठाउँ छैन । पर्यटक मात्र होइन, प्रशस्त भियतनामी युवायुवतीहरु पनि रमाइलो गर्न त्यहाँ आउँदा रहेछन् । आसन्न नयाँ वर्षको चाडले स्थानीय मानिसहरु रमाइलो गर्ने मुडमा थिए । त्यहाँ चर्को संगीत, प्रकाशको झिलीमिली, मानिसको कोलाहलले वातावरण भकभक उम्लिएजस्तो देखिन्थ्यो । कुटाकुट झगडा परेको पनि देखियो । तर, एकैछिनमा साम्य भएर वातावरण फेरि उस्तै ।

मसाज पार्लरका अर्धनग्न युवतीहरु ग्राहक बोलाउन व्यस्त छन् । गोरा पर्यटकलाई अनेक हाउभाउले लोभ्याउन खोज्छन् । मसाज पार्लरमा बाहिरबाट देखिने गरी मानिसहरु साँच्चैको मसाज पनि लिइरहेका छन् । तर, त्यहाँभित्र ग्राहकको यौन चाहना पूरा गरिदिने गोप्य स्थान हुँदोरहेछ ।

भियतनाममा कम्युनिस्ट पार्टीको एकतन्त्रीय शासन छ । कम्युनिस्टको कडा शासनमा पनि यहाँ प्रहरी प्रशासनले वेश्यावृत्तितिर आँखा चिम्लेको रहेछ । त्यसैले होला, अफ्रिकी मूलका युवतीहरु पनि वेश्यावृत्तिका लागि यहाँ आइपुग्दा रहेछन् ।

डिस्ट्रिक्ट नं. १ को बुई भेनमा म तीन रात बसेँ । एक साँझ त्यहाँको सडकमा उभिएकी एउटी कालीसँग आँखा जुध्दा ऊ मतिर लम्किएर आई । त्यो काली कन्यासँग बोलेको मात्र के थिएँ, ऊ त मसँग टाँसिई । पैसाको पर्स जोगाउन पाइन्टको खल्तीमा हात घुसारेँ । ऊ पाइन्ट बाहिरबाट छामछुम गर्न थाली । मलाई पिछा छुटाउन निकै हम्मे पर्‍यो ।

ठमेलमा रिक्साले पछाडि यात्रु राखेर अगाडिबाट मान्छेले तान्छ । यता यात्रुलाई अगाडि राखेर मान्छेले पछाडिबाट चलाउने रहेछ । पर्यटकहरु रमाइलो मान्दै यस्तो रिक्सामा चढेर घुम्दा रहेछन् । कोलकाताको जस्तै सैगोनमा पनि मान्छेले पैदल हिँडेर तान्ने दुई चक्के रिक्सा हुन्थ्यो अरे । जनावरले जस्तै मान्छेले रिक्सा तानेको फ्रेन्च शासकलाई अमानवीय लागेर तीनचक्के रिक्शाको शुरुआत भएको रहेछ । यस्ता रिक्सा अहिले प्रयोजनहीन भैसके पनि डिस्ट्रिक्ट नं. १ को पर्यटकीय क्षेत्रमा चल्ती रहेछ । पर्यटक देखेपछि निकै कर गर्दै रिक्सावालाले चढाउने, तर चढिसकेपछि ठग्न माहिर हुँदा रहेछन् ।

भियतनाम युद्ध

भियतनाम युद्धका बारेमा सबैले धेरथोर सुनेका होलान् । तर भियतनाम युद्धलाई यहाँ भ्रमण गरेपछि मात्र राम्ररी बुझन, महशुस गर्न सकिने रहेछ । भियतनाम युद्धको उल्लेख नगरी आधुनिक विश्वको इतिहास अपुरो हुन्छ ।

दोश्रो विश्वयुद्ध पश्चात अमेरिका र सोभियत संघबीच शीतयुद्धको प्रारम्भ भयो । बीसौं शताब्दीमा दुई महाशक्ति बीच चलेको त्यही शीतयुद्धको प्रकट रुप भियतनाम युद्ध थियो ।

भियतनामको इतिहास पल्टाउँदा विदेशी अतिक्रमण र स्वतन्त्रता संग्रामको लामो श्रृंखला भेटिन्छ । मध्यकालमा चिनियाँ शासकहरुको थिचोमिचो सहेको भियतनाम, उन्नाइसौं शताब्दीमा फ्रान्सको उपनिवेश बन्न पुग्यो । दोश्रो विश्वयुद्ध चम्किएका बेला सन् १९४० देखि १९४५ सम्म भियतनाममा जापानको नियन्त्रण रह्यो । विश्वयुद्धमा जापान परास्त भएपछि फ्रान्सले फेरि भियतनाममा प्रभुत्व कायम गर्न खोज्यो । होचि मिन्हको नेतृत्वमा कम्युनिस्ट पार्टीले मुक्ति आन्दोलन शुरु गर्‍यो । जुन युद्धमा परिणत भयो । अन्ततः सन १९५४ मा शान्ति सम्झौताबाट फ्रेन्च उपनिवेश समाप्त भयो । र, इन्डोचाइना भनिने फ्रेन्चको उपनिवेश क्षेत्रमा तीन राष्ट्रहरु भियतनाम, लाओस र कम्बोडियाको स्वतन्त्र अस्तित्व कायम भयो ।

तर लगत्तै राजनीतिक गोलमाल शुरु भयो । भियतनाम उत्तर र दक्षिण दुई अलग देशहरुमा टुक्रियो । दक्षिण भियतनाम गैरकम्युनिस्ट सरकारको पकडमा थियो । दक्षिण भियतनामी सरकारलाई सहयोग गर्न अमेरिका अघि सर्‍यो । जसले भियतनाम युद्ध शुरु गरायो । सन् १९५५ देखि १९७५ सम्म चलेको भियतनाम युद्धमा उत्तरको जीत भएपछि भियतनाम एउटै देश बन्यो ।

भियतनाम युद्धमा अमेरिकाले आफ्ना हजारौं सेना, अत्याधुनिक हातहतियार, टयांक, हेलिकप्टर, बमबर्षक विमानदेखि विषालु रसायनसम्म प्रयोग गर्‍यो । उत्तर भियतनामको गुरिल्ला फौजले प्रतिरोध युद्ध लडयो । उत्तर भियतनामलाई सोभियत संघ र चीनको सहयोग प्राप्त थियो । आधुनिक हातहतियारले सुसज्जित भए पनि बिरानो भूमिमा त्यहाँको भूगोल, हावापानीसँग अपरिचित हुँदा अमेरिकी सेनाले सफलता हात पार्न सकेन । अन्ठाउन्न हजार अमेरिकी सैनिकले भियतनाम युद्धमा ज्यान गुमाए । लाओस र कम्बोडियाको भूमिमा समेत युद्ध फैलिएको थियो ।

भियतनाम युद्धमा अमेरिकी संग्लनताको विश्वव्यापी आलोचना भैरहेको थियो । अमेरिकी सेनातर्फ क्षति बढदै गएपछि अमेरिकी जनताबाट नै विरोध हुन थाल्यो । अमेरिकी सेनाले गाउँ घेरा हालेर नरसंहार गरेको फोटो पत्रिकामा आइरहेको थियो । कुनै लेनादेना नभएको गरिब, निर्दोष भियतनामी जनतासँग लड्न हामी किन जाने भनेर अमेरिकी युवाले प्रदर्शन गर्न थाले । अन्ततः सन् १९७३ मा अमेरिकी सरकारलाई भियतनाम युद्धमा अब सकिँदैन भन्ने महशुस गरेर पछि हट्न थाल्यो । दक्षिण भियतनामी कठपुतली सरकारको मनोबल गिर्‍यो । सन् १९७५ अपि्रल ३० तारिखको दिन उत्तर भियतनामको सेनाले सैगोन शहर प्रवेश गरेर राष्ट्रपति भवन कब्जा गरेपछि भियतनाम युद्ध समाप्त भयो ।

अहिले त्यो राष्ट्रपति भवनलाई संग्रहालय बनाइएको छ । पराजित राष्ट्रपतिले प्रयोग गरेका सामग्रीहरु जस्ताको तस्तै प्रदर्शनीमा राखिएको छ । इन्डेपन्डेन्स प्यालेस भनिने यस भवनको नजिकै भियतनाम युद्धको स्मृतिमा अर्को संग्रहालय छ । यस संग्रहालयमा भियतनाम युद्धको फोटो, बम, बन्दूक, गोलीलगायत विभिन्न सामग्रीहरु राखिएको छ । बाहिर परिसरमा युद्धमा प्रयोग भएका टयांक, युद्धक विमान, हेलिकप्टर समेत राखिएको छ । परिसरभित्रै युद्धकालीन जेलको नमूना र राजनीतिक बन्दीलाई दिइने यातनासम्बन्धी प्रदर्शनी हेर्न पाइन्छ । फ्रेन्चहरुले उपनिवेशकालमा प्रयोग गरेको मृत्युदण्ड दिन टाउको छिनाल्ने गिलोटिन यन्त्र पनि त्यहाँ रहेछ ।

ती संग्रहालय घुम्दा भियतनाम युद्धको त्रासदी अनुभूति गर्न सकिन्छ । संग्रहालयको भित्तोमा लेखिएको एउटा विवरण अनुसार भियतनाम युद्धमा ३० लाख मानिसको मृत्यु, २० लाख घाइते र ३ लाख बेपत्ता भएका थिए । सैनिकभन्दा सर्वसाधारण मानिस धेरै मरेका थिए ।

जंगलका रुख विरुवासमेत सुकाएर सखाप पार्न अमेरिकी विमानले रसायन छर्किएको रहेछ । एजेन्ट ओरेन्ज भनिने अर्को ८ करोड लिटर विषालु रसायन भियतनामका २६ हजार गाउँहरुमाथि विमानबाट खन्याइएको रहेछ । त्यसको असरले अहिले पनि विकलाङ्ग बच्चाहरु जन्मिरहेका रहेछन् ।

पक्राउ परेका मानिसलाई यातना दिएको, क्षतविक्षत लासहरुको तस्वीरले मलाई जीउ नै सिरिङ्ग भयो । वार म्यूजियम घुमेर बाहिर निस्कँदा मेरो मन विक्षिप्त भएको भयो ।

फरेष्ट सिटी

सिमलजस्तै एकप्रकार रुखको नाम रहेछ- सैगोन । जुन रुख शहरभित्र प्रशस्त पाइन्छ । यही रुखबाट शहरको नाम सैगोन रहेको थाहा पाइयो ।

सत्रौं शताब्दीसम्म दक्षिण भियतनामी भूभाग खमेर अर्थात हालको कम्बोडिया अधिराज्यअन्तर्गत पर्दोरहेछ । उत्तरतिरबाट भियतनामी जाति उर्वर दक्षिण भूभागमा बसाईं सरेर कालान्तरमा भियतनामी जातिको बाहुल्य बढेको र भियतनामको भूभाग बन्न पुगेको रहेछ । खमेरको आधिपत्य हुँदा सैगोनको नाम प्रे नकर रहेछ, अर्थात खमेर भाषामा वन नगर ।

हाल आधिकारिक रुपमा होचि मिन्ह सिटी भनेर नामाकरण गरिए पनि, जनसंख्या करिब ८५ लाख पुगे पनि यो शहरमा यति हरियाली छ, सैगोनलाई वन नगर वा फरेस्ट सिटी नै भन्दा फरक नपर्ला ।

व्यस्त सडकको किनारामा दुबैपट्टि अग्ला रुखहरु छन् । शहरभित्र खुला स्थानहरु जताजतै राखिएको छ, जहाँ रुखविरुवाको हरियालीले ढाकेको छ । त्यो हरियालीमा रमाउँदै, ठाउँठाउँ बस्दै मैले शहर घुमें । भियतनामका राष्ट्रपिता होचि मिन्हको विशाल शालिक अगाडि उभिएर फोटो खिचें ।

त्यहाँबाट अलि अगाडि बढदा नास्त्रेदमसको क्याथेड्रल (गिर्जाघर) भेटिन्छ । फ्रेन्चहरुले सम्पूर्ण निर्माण सामग्री फ्रान्सबाट झिकाएर यो क्याथेड्रल बनाएका अरे । सौन्दर्यका पारखी फ्रेन्चहरुले बनाएको स्मारक सुन्दर नहुने कुरै भएन । तर, मर्मत सम्भार कार्य भैरहेकोले क्याथेड्रलभित्र जानचाँहि पाइएन ।

क्याथेड्रलसँगै त्यहाँ फ्रेन्च उपनिवेशकालको अर्को निशानी पोस्ट अफिस भवन छ । त्यस भवनभित्रको वास्तुकला आकर्षक छ । अहिले पनि त्यस भवनको एउटा कुनाबाट हुलाकको काम हुँदो रहेछ । भवनभित्रको ठूलो हलमा पर्यटकलाई कोशेली सामग्री बेच्ने पसलहरु खचाखच छन् । त्यो भवन अहिले कोसेली घरको रुपमा सञ्चालन गरेको पाइयो ।

त्यसैगरी उपनिवेशकालमा बनेका अन्य भवनहरुलाई पनि संरक्षण गरेर संग्रहालय, नाटकघर, सरकारी कार्यालयको रुप उपयोग गरिएको रहेछ ।

काठमाडौंमा राणाशासकले यूरोपियन शैलीमा बनाएका भवनहरु संरक्षणको पर्खाइमा छन् । हाम्रा यी ऐतिहासिक महत्वका कतिपय भवनहरु भत्किएर गइसके । काठमाडौं महानगरपालिकाले कार्यालयको रुपमा प्रयोग गरी आएको ऐतिहासिक बागदरबार सन् २०१५ को महाभूकम्पले क्षति पुगेको छ । महानगरपालिकाले बागदरबार खाली गरेर कार्यालय सारेको छ । मर्मतसंभार हुन नसक्ने प्राविधिक प्रतिवेदन देखाएर महानगरपालिका बागदरबार भत्काउन कस्सिएको छ । टुँडीखेलसँगैको चन्द्र शमसेरको पालामा बनेको सैनिक अस्पताल भवन भत्काएर त्यहाँ सपिङ्ग कम्प्लेक्स बनाइँदैछ । ऐतिहासिक महत्वका राष्ट्रिय धरोहर भत्काएर सपिङ्ग कम्प्लेक्स बनाउनु, अनि भाडा लगाएर खाने जुक्ति गर्नु राष्ट्रिय लज्जाको विषय हो । तर, जिम्मेवार निकायले नै गति छाडेपछि के लाग्छ र ?

त्यसैगरी काठमाडौंमा सडक बिस्तार गर्दा रुख काटिए । काठमाडौंबासीले हरियाली खोज्न गोदावरीतिर कि शिवपुरीतिर जानुपर्छ । काठमाडौं उपत्यका प्राचीन नगरीय सभ्यता भएको ठाउँ हो । तीब्र शहरीकरणको चपेटामा काठमाडौंको ऐतिहासिक, पुरातात्विक धरोहर मासिँदैछ ।

नेपालका अन्य शहरहरुमा पनि खुला स्थान, हरियालीलाई ध्यान दिएको पाइँदैन । भियतनामको सैगोन शहरमा पर्यटक भएर घुम्दा यस कुराले मलाई चिमोटिरहयो ।

अँध्यारो पर्यटन

कुनै स्थानमा पर्यटकलाई आकर्षण गर्न त्यहाँ मानवीय रुचिको विषय हुनुपर्छ । पर्यटन आकर्षणको लागि राम्रा कुराहरु मात्र होइन, इतिहासको कुनै कालखण्डको त्रासदीपूर्ण घटनासँग सम्बन्धित कुरा पनि पर्यटकलाई रुचिको विषय हुँदोरहेछ । भियतनाम युद्धमा कम्युनिस्ट गुरिल्ला फौजले प्रयोग गरेको कु ची टनेल त्यस्तै पर्यटकीय आकर्षणको केन्द्र रहेछ । पर्यटनका विविध रुपमध्ये यस्तो पर्यटनलाई डार्क टुरिज्म अर्थात अँध्यारो पर्यटन भनिन्छ ।

सैगोन शहरबाट आधा दिनको टुर प्याकेजमा कु ची टनेल घुम्न जान सकिने रहेछ । तर म जाउँ कि नजाउँ दोधारमा परेँ ।

कम्बोडियाको नोमपेन्हमा खमेर रुजले नरसंहार गरेको ठाउँ किलिङ्ग फिल्ड पनि यस्तै डार्क टुरिजम स्पट हो । जहाँ अघिल्लो वर्ष म घुम्न गएको थिएँ । त्यसले मलाई यस्तो मानसिक असर पार्‍यो कि सपनामा पनि डरलाग्दा दृश्य देखेँ । त्यसैले कु ची टनेल जाउँ कि नजाउँ भनेर मलाई दोधार भयो । आखिर मैले नजाने निर्णय गरेँ ।

सीमित हातहतियार र श्रोतसाधन भएको भियतनामी फौजसँग शक्तिशाली अमेरिका कसरी युद्धमा परास्त भयो भन्ने कुरा कु ची टनेलले दर्शाउँछ । आफू नघुमे पनि अन्य पर्यटकहरुबाट कु ची टनेलको वर्णन सुनेँ, फोटो हेरेँ र गुगलमा पनि खोजेँ ।

युद्धकालमा शत्रुको राजधानी सैगोनदेखि मात्र ३० किलोमिटर दुरीमा कम्युनिस्ट गुरिल्ला फौजले सुरुङ्गको जालो बनाएका रहेछन् । सरकारबाट हाल संरक्षित कु ची टनेलको त्यो जालो १२१ किलोमिटर लामो भएको थाहा पाइयो । त्यो सुरुङ्गभित्र हातहतियार, रसदपानीको भण्डारण, सैन्य ब्यारेक, हस्पिटल चलाइएको रहेछ । सुरुङ्ग बाहिर निस्कने ढक्कन पातपतिङ्गरले छोपिएको हुने रहेछ । अहिले त्यही ढक्कनबाट सुरुङ्गमा छिरेर पर्यटकहरु मनोरञ्जन लिदैँ फोटो खिचाउँछन् । पर्यटकले रमाइलोका लागि पैसा तिरेर एके-४७ राइफलबाट गोली हान्ने ठाउँ पनि छ । त्यो युद्धमैदान साँच्चै लडाईंका बेला कति डरलाग्दो थियो होला !

बाँसका तीखा भालाको धराप (बुबी ट्रयाप), शत्रु झुक्याउन हिडाईंको उल्टो छाप बस्ने चप्पलको प्रयोग लगायत अनेकौं गुरिल्ला रणनीति अपनाएर भियतनामी मुक्ति सेना लडेका रहेछन् ।

अमेरिकाले फाइटर प्लेनबाट बमबारी र हजारौं सैनिक प्रयोग गर्दा पनि कु ची टनेलमा मुक्ति सेनाले सुरक्षित आश्रय लिएको रहेछ । त्यसैकारण, अत्याधुनिक हातहतियारले लैस भएर पनि हजारौं अमेरिकी सेना भियतनाम युद्धमा परास्त भएको रहेछ ।

माओवादी सशस्त्र द्वन्दकालको अन्तिम समयतिर भारतविरुद्ध सुरुङ्ग युद्ध गर्ने कुरा सुन्नमा आएको थियो । आधार इलाकामा कतैकतै माओवादीले ट्रेन्च खने पनि सुरुङ्ग नै चाँहि खनेनन् । बरु लगत्तै माओवादीले दिल्लीमा शान्ति सम्झौता गरे । माओवादी १० वर्षे द्वन्दकालमा गुरिल्ला सेनाले प्रयोग गरेको म्याग्दीदेखि ढोरपाटन हुँदै रुकुम रोल्पा जाने पैदल मार्गलाई अहिले गुरिल्ला ट्रेकिङ्ग रुटको रुपमा अघि सारिएको छ । नेपालको माओवादी द्वन्द अन्तर्राष्ट्रिय रुपमा निकै चर्चा पाएको विषय हो । तसर्थ, डार्क टुरिजमले रोल्पा, रुकुमतिर पर्यटक तान्न सक्ने सम्भावना छ ।

झापा काण्डका बामपन्थी कार्यकर्ताहरुलाई जेल सार्ने बहानामा गोली हानी मारिएको सुखानीमा हाल शहीदहरुको शालिक स्थापना गरी त्यस ठाउँको संरक्षण गर्दा आन्तरिक पर्यटक आउन थालेका छन् । नेपालमा कतिपय ऐतिहासिक घटनासँग सम्बन्धित भौतिक अवशेषहरु जताततै छन् । त्यस्ता स्थानहरुलाई संरक्षण र प्रवर्द्धन गर्ने हो भने पर्यटकीयस्थलको रुपमा विकास गर्न सकिने रहेछ ।

ऐतिहासिक स्थलको संरक्षण र प्रवर्द्धनबाट पर्यटकीय गतिविधि मात्र होइन, त्यस स्थलसँग जोडिएको ऐतिहासिक व्यक्तित्व, समूह वा जातिको पहिचान र सम्मान हुन्छ । धरानको विजयपुर डाँडामा पुरानो शैलीको दरबार निर्माण गरेर त्यहाँको इतिहास प्रदर्शन गर्न संग्रहालय बनाउन सकिन्छ । तर विडम्बना, धरान नगरपालिकाले पुरातात्विक महत्वको विजयपुर डाँडामा खानेपानी टयांकी निर्माण गर्दैछ ।

त्यसैगरी, गोर्खाली वीरता संसारप्रसिद्ध छ । नेपाल-अंग्रेज युद्धका गढी, किल्लालाई पुननिर्माण गरेर तत्कालीन घटना झल्काउने संग्रहालय बनाउन सकिन्छ । इतिहासको कुनै कालखण्डमा घटेको राम्रा नराम्रा जस्तो कुरा भए पनि भावी पिढीँले त्यो हेर्न चाहन्छ । त्यस्ता कुरामा पर्यटकको रुचि हुन्छ ।

पर्यटनको विकास भित्तामा नारा लेखेर हुने होइन । घुम्न आउने मानिसहरुलाई भुलाउन पर्यटकीय आकर्षण गर्ने संरचना हुनुपर्छ, चाहे त्यो कु ची टनेलको डार्क टुरिजम जस्तो नै किन नहोस् ।

गियासँग पुनर्मिलन

मैले सैगोन पुगेपछि गियालाई इमेललाई लेखेको थिएँ- म तिम्रो शहरमा छु, तिमी कता छौ ? संजोगले गिया नयाँ वर्षको चाडमा घर आएको रहेछ । ऊ जर्मनीको बर्लिन शहरमा बस्छ ।  फिनलैण्डमा मास्टर्स पढदै गर्दा ऊ नेपाल घुम्न आएको थियो । सामाजिक सञ्जालबाट हामी साथी बनेका हौं । नेपाल घुम्न आउँदा उसलाई मैले आफ्नो निवासमा एक हप्ता पाहुनाको रुपमा राखेँ, भक्तपुरको पुरानो शहर र वरपरको क्षेत्र घुमाएँ । त्यसैले हामीबीच आत्मीयता थियो । मेरो इमेल पाएर गिया रमाउँदै मलाई भेटन म बसेको होटलमा साँझतिर आयो ।

सानो जिउडाल, लामो कपाल चुल्ठो बाँधेको, पावरवाला चश्मा उसको हुलिया जस्ताको तस्तै रहेछ । गिया उमेरमा चाँहि मभन्दा निकै कान्छो छ । ऊ पनि मजस्तै घुमक्कड स्वाभावको भएकाले उसको र मेरो कुरा मिल्छ । उसको पूरा नाम लि होङ्ग गिया हो । फिनलैण्डबाट वातावरण विज्ञानमा मास्टर्स डिग्री पूरा गरे पनि उसले अलि फरक पेशा रोज्यो । ऊ फोटो पत्रकारिता गर्छ । पैसा कमाउने अझ राम्रो जागिर पाउने सम्भावना हुँदाहुदैँ घुम्नकै खातिर फोटो पत्रकारितातिर लाग्यो । तिमीले वातावरण विज्ञानमा मास्टर्स गरेको त बेकार भयो नि भनेर सोध्दा उसको जवाफ थियो- अँ त्यस्तै भयो, तर म खुशी छु ।

खाँटी भियतनामी खाना खुवाउन गियाले उसको मोटरसाइकल पछाडि राखेर मलाई लग्यो । चाइनिजजस्तै भियतनामी परिकार पनि अनेकौं हुन्छ । तर, चाइनिज भन्दा अझ मसालेदार, नेपाली जिब्रोलाई मनपर्ने । भियतनामी डिनरपछि उसले मलाई बियर खुवाउन जर्मन बार पुर्‍यायो । बार भब्य भए पनि सुनसान । बार भएको भवन अगाडि निर्माण कार्यले सडक छेकिँदा ग्राहक नआएका रहेछन् ।

बारको आफ्नै मिनी ब्रुअरीमा साँच्चै जर्मन बियर बन्दोरहेछ । पानीको धाराजस्तै टुटीबाट ठूलो काँचको गिलासमा बियर थापेर पिउँदै गिया र म गफिन थाल्यौँ । रातको दश बजेपछि बार बन्द हुने जनाऊ आयो । दश बजे बन्द हुने ठाउँ त होइन, ग्राहक नभएर होला । हामीलाई बियर पुगेको थिएन, गफगाफ पनि सिद्धिएको थिएन । तर, हामीले उठ्नै पर्‍यो । बाहिर निस्कँदा गियाको पाइला अलिक लरबरिएको थियो । सानो काँटको उसको ज्यानलाई बियरले छोएछ ।

गियाको ज्यान सानो भए पनि उसको यामहा बाइक बुलेट साइजको थियो । ऊ बाइकको औधि शौखिन । भियतनामको दक्षिण छेउबाट उत्तरी छेउसम्म करिब २ हजार किलोमिटर उसले बाइकमा यात्रा गरेको कहानी नेपालमा भेट हुँदा मलाई सुनाएको थियो । तर, अहिले उसको बाइकमा पछाडि बस्न म हच्किएँ । म टैक्सीमा जान्छु भन्दा उसले मानेन । त्यसोभए बिस्तारै स्लो स्पीडमा जाउँ है मैले शर्त राखेँ । गियाले बाइक स्टार्ट गर्‍यो । जे त होला भनेर म बसेँ ।

रातको समय भए पनि सडकमा सवारी साधन दौडिरहेका थिए । मेरो होटल भएको एरिया नजिक पुग्दा नाइटलाइफको चहल पहल थियो । अगाडि गइरहेको एउटा स्कुटी अचानक मोडिँदा हाम्रो बाइकले ठोकी त हाल्यो । स्कुटीबाट दुइटी युवती पछारिए । हामी पनि लडयौं । दिउँसो भए ठूलो जात्रा हुने थियो । सैगोनमा सलह किराको बथानजस्तै सडकमा मोटरबाइक कुदछन् । अरु मोटरगाडीको भीडभाड त्यति कै हुन्छ । तर रातको समयमा वरपरका ५-७ जना मानिस जम्मा भए पनि खासै तमाशा भएन । कसैलाई पनि चोटपटक लागेको थिएन । आ-आफ्नो बाटो लाग्यौं ।

गियाले मलाई होटलमा पुरायो । म भोलि मेकङ्ग डेल्टा जाँदैछु, केही त्यस्तो पर्‍यो भने तिमीलाई फोन गर्छु नि, छुट्टिँदा मैले भनें । तर, त्यसपछि ऊसँग वार्तालाप भएन ।

मेकङ्ग डेल्टा

मेकङ्ग नदीले समुन्द्रमा मिसिनुअघि मलिलो माटो थुपारेर बनेको मैदानी भूभागलाई मेकङ्ग डेल्टा भनिन्छ । इतिहासको कुनै कालखण्डमा खमेर साम्राज्य (हालको कम्बोडिया) अन्तर्गत रहेको यस भूभाग हाल भियतनामको सबैभन्दा दक्षिणी भूभागमा पर्दछ । इतिहासलाई अझ खोतल्दा मेकङ्ग डेल्टा प्राचीनकालमा सामुन्दि्रक व्यापारिक स्थल रहेको थाहा हुन्छ ।

मेकङ्ग डेल्टाको ओ क्यो भन्ने ठाउँमा उत्खन्न गर्दा विष्णुको मूर्ति, संस्कृत भाषामा लेखिएका शिलालेखदेखि रोमन साम्राज्यको सिक्का तथा सामग्रीहरु पाइएको रहेछ । यो ठाउँ प्राचीनकालमा आजको हङ्गकङ्ग जस्तो अन्तर्राष्ट्रिय व्यापारिक केन्द्र रहेको अनुमान गर्न सकिन्छ ।

मेकङ्ग जस्तो ठूलो नदीले बनाएको डेल्टाको क्षेत्रफल पनि ठूलो छ । करिब ४० हजार वर्ग किलोमिटर क्षेत्रमा मेकङ्ग डेल्टा फैलिएको छ । यो विशाल डेल्टाको एउटा कुनामा अवस्थित बेन ट्रे भन्ने ठाउँ म घुम्न जाँदै थिएँ । सैगोनबाट करिब ९० किलोमिटर सडक दुरीमा रहेको बेन ट्रे पर्यटकीय केन्द्रको रुपमा उदाउँदो ठाउँरहेछ । भियतनामको ग्रामीण जनजीवन, खेतीपाती र मेकङ्गको फाँटिलो मैदान हेर्नलाई पर्यटक आकषिर्त हुँदा रहेछन् ।

म पनि एक पर्यटकको रुपमा बेन ट्रे जानलाई होटलबाट निक्लिएर नजिकैको ट्राभल एजेन्सीको अफिसमा पुगेँ । मैले इन्टरनेटमा सर्च गर्दा भेटेको बस टिकटको मूल्यभन्दा तीन गुणा महंगोमा बस टिकट किन्नुपर्‍यो । किन यति महंगो भनेर ट्राभल एजेन्सीकी महिलालाई सोध्दा उही हयाप्पी न्यू ईयरले गर्दा महंगो भएको रे !

बस त्यहाँ पिकअप गर्न नआउने रहेछ । ती महिलाले  मोटरबाइक टैक्सीलाई बोलाएर मलाई बसस्टेन्ड पुर्‍याउन भनिन् । बसस्टेन्ड पुग्दा यात्रुको थामिनसक्नु भीड थियो । भियतनाममा दशैं (न्यू ईयर) साँच्चै लागेको रहेछ । तर, जतिसुकै भीड भए पनि बसले सिटभन्दा बढी यात्रु हालेर नलाने रहेछ । बस निर्धारित समयमै गुड्यो ।

करिब २ घण्टाको बस यात्रापछि बेन ट्रे पुग्दा मध्यान्हको चर्को गर्मी थियो । सडक किनाराहरुमा फूल रोपेको सानो, सफा र चिटिक्क परेको बेन ट्रेले मेरो गृहनगर चन्द्रगढीको सम्झना आयो । यसरी नै चन्द्रगढीलाई सजाउन पाए कति राम्रो हुन्थ्यो- मध्यान्हको गर्मीमा शीतलमुनि बस्दै सोचिरहेँ । मोटरबाइक टैक्सीवालाहरु चाँहि मेरो वरिपरि झुम्मिरहेका थिए । उनीहरु टुटेफुटेको अंग्रेजीमा मलाई कहाँ जाने भनेर सोध्थे । आखिर दिक्क लागेर एउटालाई देखाइ दिएँ-अनलाइनबाट बुकिङ्ग गरेको होमस्टेको ठेगाना । उसले मोटरबाइक पछाडि मलाई राखेर बेन ट्रे भन्दा अझ बाहिरको ग्रामीण इलाकामा अवस्थित होमस्टे पुर्‍यायो ।

केही वर्षअगाडि बर्दिया राष्ट्रिय निकुन्ज बाहिरको थारु होमस्टेमा बसेको थिएँ । यहाँको होमस्टे पनि आधारभूत रुपमा फरक लागेन । भाषा नबुझिने तर चिरपरिचित जस्तो । म पुगेर बिसाएको एकैछिनमा ३२ जना स्पेनिश पर्यटकको हूल त्यहाँ लन्च खान आइपुग्यो । घर जस्तो भए पनि एकैपटक धेरै पाहुनालाई व्यवस्थापन गर्नसक्ने रहेछ । त्यो पर्यटक टोलीको महिला गाइडसँग खाना खाँदै म गफिएँ । उनीसमक्ष मेरा केही जिज्ञाशाहरु राख्ने मौका पाएँ ।

होमस्टेको परिवेश र नुवाईधुवाईमा अलमलिँदा साँझ पर्‍यो । त्यहाँ अन्य दुई जना गोरा पाहुनाहरु पनि बसेका रहेछन् । साँझ परेकोले नौलो ठाउँमा बाहिर घुम्न निस्कन उपयुक्त लागेन । नजिकै छिमेकमा लाउड स्पीकरबाट गीत बजिरहेको थियो । न्यू ईयर भएकोले बजाएको अरे । त्यहाँसम्म पुगुँ न त भनेर गएँ । एउटा घरको आँगनमा मानिसहरु, खासगरी युवायुवतीको जमघट रहेछ । मैले बाटोबाट उभिएर एकछिन हेरेँ । तिनीहरुले मलाई वास्ता गरेनन् । होमस्टेमा फर्केर हयामकमा झुल्दै अबेरसम्म बियर पिएँ ।

भोलिपल्ट बिहान साइकल लिएर घुम्न निस्केँ । जताततै नरिवलको बोट । पछि थाहा भयो- बेन ट्रेलाई नरिवलको राजधानी भनिदोँरहेछ । भियतनामी ग्रामिण जनजीवनलाई नजीकबाट नियाल्दै, ठाउँठाउँमा रोकिदैं, गाउँबस्तीको चोकमा भेटिने पसलहरुमा चिया खाँदै, विभिन्न फलफूल र त्यस्का परिकार चाख्दै म बिहान घाम नचर्किउनजेलसम्म डुलेँ ।

होमस्टे पुगेर १२ बज्न अगाडि चेकआउट गरेर म सैगोन फर्केँ । बाटोमा मेकङ्ग नदीमाथिको निकै लामो पुल बसले पार गर्दा मेकङ्गलाई मनमनै बाईबाई गरेँ ।

कृषिमा कमाल

भोलिपल्ट अफिस खुल्ने समय बिहान ९ बजे म त्यहाँ गएँ । नेपालबाट मरिच किन्न आएको व्यापारी भनेर रिसेप्सनको महिलालाई परिचय दिएँ । नेपाली व्यापारीले भियतनामबाट मरिच आयात गरी भारत निकासी गर्ने धन्दा शुरु भएको मैले कतै पढेको थिएँ ।

भियतनाम घुम्न जाने तय भएपछि भियतनामबारे गुगल सर्च गर्दा त्यहाँको कृषिबारे पनि मलाई रुचि जागेको थियो । धान उत्पादनमा भियतनाम अग्रणी देशहरुमध्येमा पर्छ । मलिलो माटो, सहज उपलब्ध पानी, आद्र र उष्ण हावापानीले गर्दा मेकङ्ग डेल्टामा प्रशस्त धान उत्पादन हुन्छ ।

भियतनामले धान, कफी, चिया, रबर, फलफूल, माछा लगायत धेरै कृषि उत्पादन विदेश निर्यात गर्छ । सन् २०१७ मा भियतनामले ३६ अर्ब अमेरिकी डलर बराबरको कृषि उत्पादन निर्यात गरेको रहेछ । औद्योगिकीकरणतर्फ फड्को मारिसकेको भियतनामको अर्थतन्त्रमा कृषिको योगदान घट्दो छ । अर्थात भियतनाम अब कृषिप्रधान देशबाट माथि उठिसक्यो । तर, क्षेत्रफलमा नेपालको दोब्बर भन्दा अलि ठूलो मात्र भियतनामले कसरी कृषिउपज आफू खाइवरी अरुलाई बेच्छ भन्ने कुरा म जान्न चाहन्थे । तर, बेन ट्रेको छोटो भ्रमणमा कृषिबारे खासै जान्न सकिएन ।

सैगोन फर्केपछि विश्वविद्यालय घुम्न जाउँ कि भनेको, तर न्यू ईयरले छोइसकेको थियो, शायद विदा होला । कम्युनिस्ट शासन भएको देशमा सरकारी कार्यालय जाउँ, मजस्तो फिरन्तेले प्रवेश नै नपाउला । त्यसमाथि एयरपोर्टमा भियतनामी सरकारी कर्मचारीको हयाप्पी न्यू ईयरले मेरो सातो गैसकेको थियो ।

होटलको बेडमा पल्टिदैँ काखे कम्प्यूटर खोलेर गुगलेश्वर महादेवलाई सोध्दा सैगोनमा कृषिसम्बन्धी थुप्रै कम्पनीहरु रहेको थाहा पाएँ । त्यसमध्ये एउटा कम्पनीको अफिस म बसेको होटलबाट १० मिनेट पैदल दुरीमा रहेछ । म त्यो अफिसमा हुर्रिएर पुगेँ । आइतबार भन्ने ख्याल गरिनछु, अफिस बन्द रहेछ ।

भोलिपल्ट अफिस खुल्ने समय बिहान ९ बजे म त्यहाँ गएँ । नेपालबाट मरिच किन्न आएको व्यापारी भनेर रिसेप्सनको महिलालाई परिचय दिएँ । नेपाली व्यापारीले भियतनामबाट मरिच आयात गरी भारत निकासी गर्ने धन्दा शुरु भएको मैले कतै पढेको थिएँ । मलाई त्यस कम्पनीले महत्व दिओस्, ढोकाबाटै र्फकनु नपरोस् भनेर मैले ढाँटे ।

मेनेजर अफिस नआइपुगेकाले मैले केही समय पर्खिनुपर्‍यो । तर, त्यो समयमा मैले कम्पनीको गतिविधि नियाल्न पाएँ । त्यस कम्पनीले धान, फलफूल, कफी लगायत कृषि उत्पादन निर्यात गर्दो रहेछ ।

मेनेजर आइपुगेपछि मलाई मिटिङ्ग रुममा लग्यो, चिया मगायो र हाम्रो कुराकानी शुरु भयो । मैले आफू ब्यापारी नभई घुम्न आएको पर्यटक भएको, तर आफ्नो व्यापारी साथीले मरिचसम्बन्धी बुझेर आउनु भनेको बताएर आधा झूठ सच्याएँ । यति भनेपछि मलाई अलिक सहज पनि महशुस भयो ।

उसले मरिचको क्वालिटी, दाम, भुक्तानी प्रक्रिया, डेलिभरी सबै कुराबारे बतायो । मरिचबाहेक अन्य उत्पादनहरुका बारेमा पनि सोधेँ । मैले सोधेको कुरा उसले बताउँदै गयो । मिटिङ्ग सकेर आधा-आधा किलोको दुई पोका मरिचको स्याम्पल बोकेर म निक्लिएँ । जुन मरिचको पोका घर ल्याएर श्रीमतीलाई कोसेली भनेर दिँदा खुशीले फुरुक्क भइन् । नेपाल आएपछि पो मरिच तस्करीको समाचार बाक्लै पत्रिकामा पढन पाएँ ।

जेहोस, मैले भियतनामको कृषिबारे के बुझेँ भने विदेश निर्यात गर्नेस्तरमा कृषि उत्पादन बढाउन राज्यले कम्पनी खोल्नुपर्ने रहेछ ।

म स्कूले विद्यार्थी हुँदा भद्रपुरको संगमचौकनेर नेपाल धानचामल निर्यात कम्पनी लिमिटेड भनेर लेखेको साइनबोर्ड देख्थेँ । पछि त्यो धानचामल कम्पनी बन्द भयो । धान उत्पादन घट्दै गएपछि त्यो सरकारी कम्पनीको औचित्य नभएर बन्द गरिएको मैले सुनेको थिएँ । त्यो कम्पनीलाई धान उत्पादनतर्फ पनि लगाएको भए शायद बन्द हुँदैनथ्यो कि ? भियतनाममा शहरीकरणले कृषियोग्य भूमि घटेको छ, खाने जनसँख्या बढेको छ, तर पनि आफ्नो जनतालाई भात खुवाएर वाषिर्क लाखौं टन चामल भियतनामले निकाशी गरिरहेको छ ।

किसानको उत्पादन किन्ने, किसानलाई मल बीऊ प्रविधि दिने, आफैं पनि ठूल्ठूला चक्लाबन्दीमा खेती गर्ने, कृषि उपज प्रशोधन गर्ने, बजारीकरण गर्ने कम्पनी खोल्दा कृषिको विकाश हुने हो कि ? नेपालमा कृषिसम्बन्धी सबै निकाय, संस्थाहरु छन् । तर, त्यस्तो व्यवसायिक कम्पनी बिरलै छ ।

निजीकरणको हावाहुण्डरीमा नेपाल दूग्ध विकास संस्थान धन्न जोगियो । यसले कहिलेकाँही मिल्क होलिडे गरे पनि किसानको दूध किन्दैछ । नेपाल चिया विकास निगमले साना किसानको चियापत्ति उचित मूल्यमा किनिदिने भए (भलै सरकारी अनुदान दिनुपरोस्), त्यसो गरे के हुन्थ्यो होला ? निश्चय पनि चिया खेती बिस्तार हुन्थ्यो, चिया उत्पादन बढेर निकाशी बढथ्यो, व्यापार घाटा घटथ्यो, देशको कुल ग्राहस्थ उत्पादन -जीडीपी) बढथ्यो, जमीन बाँझो रहने थिएन, रोजगारीको अवसर खुल्थ्यो आदि आदि । त्यसैगरी उखु खेतीको कुरा गर्ने हो भने, पश्चिम नेपालतिर उखु किसानहरु रोइरहेका छन् ।

नेपालमा सरकारी संस्थान, कलकारखाना निजीकरण गरेर राम्रो नराम्रो के परिणाम आयो भन्ने गहन छलफलको विषय हो । तर, कृषि क्षेत्रको उन्नतिका लागि सरकारी स्वामित्व वा संरक्षणमा व्यवसायिक संस्था वा कम्पनी आवश्यक रहेछ भन्ने मेरो भियतनाम भ्रमणको सिकाइ रहयो ।

थरीथरीका रुम पार्टनर

आफ्नै खर्चले न्यून बजेटमा घुम्न हिँडेको मजस्तो पर्यटकले विचार नपुर्‍याए यात्रामा बिखर्ची भइएला भन्ने डर । त्यसमाथि सैगोन जस्तो ठूलो शहरमा अलि महङ्गो हुने नै भयो । त्यसैले सस्तो होटल खोज्दा मेरो बसाई भयो- डोमटरी रुममा ।

यस्तो रुममा प्रायः ६ देखि १० वटा बेडहरु दुई तला गरेर राखिएको हुन्छ, स्कूले होस्टलमा जस्तै । सैगोनको बुई भेनमा पनि ९ वटा बेड भएको रुममा मेरो बसाइ थियो ।

पैसाको मजबुरीले डोमटरीको बसाई भए पनि यसको बेग्लै फाइदा पनि छ । त्यो हो- अनेक पात्रहरुसँगको जम्काभेट । आफ्नो बेडमा गएर सुत्ने, अरुलाई डिस्टर्ब नगर्ने डोमटरीको सामान्य नियम भए पनि एकआपसमा हाइहेल्लो भैहाल्छ । कहिलेकाँही त्यो हाइहेल्लो तन्किएर बाहिर लबी वा रुफटफमा गफगाफ, बियरको चुस्की हुँदै मित्रतामा पनि परिणत हुन्छ । अनुभव र ज्ञानको आदानप्रदान गर्ने अवसर पाइन्छ । डोमटरीमा अकसर युवा भेटिए पनि अधबैंसे र रिटायर्ड उमेरका रुम पार्टनर पनि भेटिन्छन् ।

यस्तै रुम पार्टनरमध्ये एकजना रसियन ठिटोले मलाई पैसा माग्यो । उसको अंगे्रजी कमजोर भएकाले मैले राम्रो नबुझी- नो भन्दिएँ । फेरि उसले कर गरेपछि बल्ल बुझेँ । उसले नेपाली करेन्सी नोट साट्न मागेको रहेछ । विभिन्न देशको नोट संकलन गर्ने उसको शौख रहेछ ।

मैले ध्यान दिएर उसको कुरा सुन्दा करेन्सी नोटसम्बन्धी घतलाग्दो जानकारी पाएँ । करेन्सी नोटमा त्यो देशको इतिहास, संस्कृति, प्राकृतिक विशेषता, जैविक विविधता इत्यादि कुरा अंकित हुन्छ -त्यो युवा रसियनले मलाई बतायो ।

नेपालमा घरबाट निक्लँदा मसँग बचेको २ हजार रुपैयाँ जतिका विभिन्न नेपाली नोटहरु झोलामा थिए । उसलाई केही नोटहरु दिन भनेर झोलामा हेर्दा गायव छ । नेपाली नोट विदेशमा कसलाई काम लाग्ला र झिक्ला भनेर हेलचक्राईं गरेको थिएँ । पैसा भनेपछि नछोडने रहेछन् । त्यो दुई हजार रुपैंयाँ हराएको भन्दा पनि, रसियन मित्रलाई नेपाली नोट दिन नपाएकोमा मलाई खिन्न लाग्यो ।

कुनै डोमटरी रुम पुरुष र महिलाका लागि अलग हुन्छन् भने, कहीँ पुरुष महिला दुबै बस्ने मिक्स रुम हुन्छ । सैगोनमा म बसेको डोमटरी रुम मिक्स थियो । डोमटरीमा महिला रुम पार्टनर भए मलाई असजिलो महशुस हुन्छ ।

त्यहाँ बसाईको अन्तिम दिन म चाँडै सुत्ने तरखरमा थिएँ, रुममा कोही थिएन, चारजना नवयुवतीहरुको प्रवेश भयो । निकै थाकेर आएजस्ता देखिने ती गोरी युवतीहरुले बोलिरहेको मैले बुझिनँ किनभने उनीहरुको भाषा अंग्रेजी थिएन । उनीहरु नुवाईधुवाई गर्न बाथरुम जानेआउने, लुगा फेर्ने, जिउमा लोशन दल्ने जस्ता क्रियाकलाप गर्दै चिरबिर हल्ला गर्न थाले । म तिनीहरु सामनेको आफ्नै बेडमा सुतेर किताब पढदैथिएँ । तिनीहरु आफ्नै धूनमा थिए । कसैको मतलबै थिएन । मैले एकलकाँटे किन हुनु भनेर तिनीहरुसँग परिचय गर्न उठेँ । तिनीहरुमध्ये एउटी नर्वे, बाँकी स्वीडेनका रहेछन् ।

म धेरै ठाउँमा होटलको यस्तो डोमटरी रुममा बसेको छु । त्यहाँ भेटिएका अनेकथरीका पात्रहरुसँग मेरो रोचक अनुभवहरु छ । ती विभिन्न अनुभवहरु मात्र समेटेर लेख्ने हो भने एउटा उपन्यास नै बन्छ होला ।

एयरपोर्टको रामकहानी

भियतनामी नयाँ वर्षले सार्वजनिक यातायातमा यात्रा सहज नहुनाले मैले सैगोनबाट उत्तरको यात्रा गरिनँ । सैगोनबाट हनोइसम्मको डेड दिन लामो रेल यात्राको ईच्छालाई मैले त्यागीदिएँ । घर र्फकने टिकट अगाडि सर्टको खल्तीमा सिउरेर म एयरपोर्ट पुगेँ । परिवारका लागि केही किनमेल गर्दा मेरो झोला थपिएको थियो । एयरपोर्टमा टिकट चेकइन गर्दा त्यो झोलाले थप पैसा तिराउने भयो । मसँग नगद धेरै बाँकी थिएन ।

कार्डबाट पैसा निकाल्न एटिएम मशिनको खोजीमा एयरपोर्टको तलमाथि, बाहिरभित्र मैले भागदौड गरेँ, कयौंलाई सोधेँ । तर, एटीएम फेला पार्न सकिन । निराश भएर झोलाबाट किताब, लुगा जुत्ता लगायत केही सामान फाल्न खोजेँ, तैपनि लगेजको तौल खासै कम भएन । समय घर्किसक्यो, फलाइटको समय हुन लाग्यो । एकछिन शान्त भएर ठण्डा दिमागले सोच्दै फेरि एटीएमको खोजी गर्दा फेला पर्‍यो र पैसा निकालेँ । कहिलेकाँही झयाप्प बत्ती निभेजस्तो मेरो दिमागले काम गर्दैन । एक्लै यात्रा गर्दा यो डरलाग्दो क्षण हो ।

थपुवा झोलाको पैसा तिरेर बोर्डिङ्ग पास लिई प्लेन चढ्न गेटमा पुग्दा एक घण्टा ढिलो  उड्ने जानकारी पाइयो । लौ एक घण्टा त हो भनेर आराम गरेर बिताइयो । फेरि दुई घण्टा ढिला हुने सूचना आयो । साथै, एयरपोर्टको रेष्टुरेनन्टमा डिनर खाने कुपन हामी यात्रुहरुलाई दिइयो ।

एयरपोर्टको माहौलमा रुपरंगले को मान्छे, कुन राष्ट्रियताको हो भनेर चिन्न सकिँदैन । रेष्टुरेन्टमा कुपन लिएर लाइन बस्दा नेपाली बोलेको सुनें । ती नेपाली बोल्ने भाइहरुको टेबलमा म पनि सामेल भएँ । सातजनाको समूहमा रहेका तिनीहरु सबै पूर्वझापाली रहेछन् । हाल अष्ट्रेलियन नागरिक बनिसकेका उनीहरु छुट्टी मनाउन घुमफिरमा निक्लेका रहेछन् । अब भने बल्ल मलाई आनन्द भयो- डिनर पनि खाइयो, झापाली भाइहरु पनि भेटियो, प्लेन जति ढिला भए पनि होस् । तर, एयरलाइन्सलाई फलाइट ढिला गर्नु रहर थिएन होला ।

एयर एशियाले मलाई होचि मिन्ह सिटीबाट क्वालालम्पुर हुँदै काठमाडौंमा भोलिपल्ट दिउँसो उतारिदियो ।

लेखकको बारेमा
मिलन मनुवा दाहाल

भ्रमणमा रुचि भएका मिलन मनुवा दाहाल प्रकृति र समाजबारे अध्ययन गर्न र लेख्न मन पराउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?