Comments Add Comment

ओलीलाई डा. शेखरको सुझावः बीपीको बाटोमा आए राम्रो

'बीपी बाँचेका भए राष्ट्रियता पुनर्परिभाषित हुन्थ्यो'

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादी बाटोमा आउन सुझाव दिएका छन् ।

‘बीपीले भनेको समाजवाद प्रजातान्त्रिक समाजवाद हो, लोकतान्त्रिक समाजवाद हो । अहिले ओलीजी के भन्दै हुनुहुन्छ भने म रेल ल्याउँछु’ कांग्रेस नेता कोइरालाले अनलाइनखबरसँग भने- ‘ओलीजी र यो सरकार प्रजातान्त्रिक समाजवादको बाटोमा आए धेरै राम्रो ।’

तर, बीपीले भनेको समाजवाद र केपी ओलीले भनेको समाजवाद फरक रहेको डा. कोइरालाको तर्क छ । उनी अगाडि थप्छन्- ‘ओलीजी के भन्दै हुनुहुन्छ भने तिमीहरुले विरोध गर्न पाउँदैनौ है ! वीपी त्यसो भन्नुहुन्नथ्यो । विरोधसँगसँगै समृद्धि र विकासका कुरा गर्नुहुन्थ्यो वीपी । ओलीजी र बीपीमा यहाँ फरक छ ।’

पारिवारिक सम्बन्धले डा. शेखर बीपीका नाति हुन् । उनले बीपी कोइरालाको राजनीतिक लाइन र ओली सरकारवीचको तुलनात्मक विश्लेषण यसरी सुनाएः

‘बीपी बाँचेका भए गणतन्त्रवादी हुन्थे’

बीपी कोइरालाका लेखहरुको अध्ययन गर्दा के बुझिन्छ भने उहाँले प्रजातन्त्र, राष्ट्रियता र समाजवादलाई अंगाल्नुभएको छ । राजाको सन्दर्भमा कुरा गर्दा उहाँले संवैधानिक राजतन्त्रको कुरा गर्नुभएको छ । कस्तो राजा हुनुपर्छ भनेर पनि उहाँले एकदम स्पष्टसँग व्याख्या गर्नुभएको छ । कतिपय सन्दर्भमा त उहाँले मरिसकेको घोडालाई किन चाबुक लगाउने पनि भन्नुभएको छ ।

सुरुमा राजा महेन्द्रले ‘कु’ गरे । बीपीलाई थुने । बीपी ८ वर्षपछि जेलबाट छुट्नुभयो र भारत प्रवासमा बस्नुभयो । प्रवासमा बस्दाखेरि उहाँले धेरै अप्ठ्याराहरु झेल्नुभयो ।

प्रवासमा अप्ठ्यारो भइसकेपछि र विश्व पनि दुई ध्रुवमा बाँडिएको अवस्थामा ‘राजा र मेरो घाँटी जोडिएको छ’ भनेर ०३३ सालमा बीपी नेपाल र्फकनुभयो । त्योबेला भर्खरै रुसले अफगानिस्तानमा आक्रमण गरेको थियो । विश्व दुई ध्रुवमा विभाजित थियो । त्यस्तो अवस्थामा बीपी स्वदेश फर्कनुभयो ।

सबैभन्दा महत्वपूर्ण कुरा, बीपीले लोकतन्त्रको मात्रै कुरा गरिराख्यौं भने यो देश कसैको पोल्टोमा जान सक्छ भन्नुभयो । राष्ट्रियताको मात्रै कुरा गरिराख्यौं भने हामी निरंकुशतातिर अगाडि बढ्न सक्छौं भन्नुभयो ।

अहिले जे भइराख्या छ, ओलीजीहरुले जे गर्दैहुनुहुन्छ, राष्ट्रियताको नारा दिएर जनतालाई भ्रमित पार्नु भो । तर, राष्ट्रियता र प्रजातन्त्रलाई सँगै लग्ने हाम्रो जिम्मेवारी हो ।

त्योबेला प्रजातन्त्रमा राजालाई पनि सँगै लग्न सकिन्छ भन्ने वीपीको भनाइ थियो । तर, राजाले आफैं नमानेको हो । गिरिजाबाबुले पनि कोशिश त गर्नुभएको हो । बेबी किङ नै पनि भइहाल्छ कि भनेर गिरिजाबाबुले कोशिश त गर्नुभो ।

तर, जापानमा, इङ्ल्याण्डमा राजाहरु संयमित भएर जनताले देखाइदिएको ठाउँमा बसे । हाम्रा राजाहरु चाहिँ बस्न नचाहने । पावर आफैंले लिन खोज्ने । यसले गर्दाखेरि यो परिस्थिति आएको हो । बीपी भएको भए पनि अहिले गणतन्त्र आइसकेको हुने थियो ।

अहिले पनि कांग्रेसभित्र संवैधानिक राजतन्त्रका पक्षधरहरु छन् भन्ने जुन प्रश्न छ, यसमा म के भन्छु भने त्यो बीपीको विचारभन्दा पनि अहिले नेपालमा जुन बेथिति छ, यसले गर्दा कतिपय साथीहरुमा त्यस्तो सोचाइ आएको हुन सक्छ ।
अहिले राष्ट्रियता कमजोर भएको अवस्था छ ।

बीपी कोइराला अहिले भएको के गर्नुहुन्थ्यो भन्ने जहाँसम्म प्रश्न छ, मलाई लाग्छ, उहाँले राष्ट्रियताको परिभाषालाई अलिकति पुनर्परिभाषित गर्नुहुन्थ्यो ।

जातजातिबीचको लडाइँ अहिले सुसुप्त अवस्थामा छ, संविधान बन्ने बेलामा अलि बेसी थियो । त्यसलाई व्यवस्थापन गर्न कसैले सकिराखेको देखिँदैन । अलिअलि, कतैकतै डा. रामवरण यादव राष्ट्रपति हुँदाखेरि उहाँले प्रयास गर्नु भो । तर, अहिले त्यो प्रयास भएको मैले देखिराखेको छैन ।

हामीले सबै जातजातिलाई हामीले एकै ठाउँमा उभ्याउन सकेनौं भने देश त अराजकतातिर जान्छ । मलाई लाग्छ, यही कारणले नेपाली कांग्रेसका केही साथीहरुले संवैधानिक राजसंस्थाको कुरा गर्‍या हो कि ? किनभने बेथिति त छ नि अहिले । हामीले संविधान ल्यायौं । संविधान ठीकसँग कार्यान्वयन हुन सकिराखेको छैन । जिल्लातिर जाँदा जातीय मानसिकताहरु जान सकिरहेका छैनन् । यो अवस्थाबाट हामी गइराखेका छौं ।

तर, देश जहिले पनि अगाडि बढिराखेको हुन्छ । राष्ट्र अगाडि बढिराखेको हुन्छ । इतिहासलाई सम्झँदाखेरि इङ्ल्याण्डमा त राजा फर्किए । तर, कुनबेला भने १८ औं शताब्दिमा । अहिले त्यो अवस्था छैन ।

अब हामी सच्चिनुपर्‍यो । सम्पूर्ण वर्ण र जातिका जनतालाई सम्मान र इज्जत गर्न सक्ने हुनुपर्‍यो । उहाँहरुले भनेका कुरालाई स्वीकार गर्न सक्ने हुनुर्‍यो । तर, सरकारमा पुगेकाहरुले मै राज्य हुँ, मै सबै कुरा हुँ भन्ने दम्भ देखाएर नै यस्तो अवस्था आएको हो ।

राष्ट्रियताको पुनर्परिभाषा

वीपी कोइराला अहिले भएको के गर्नुहुन्थ्यो भन्ने जहाँसम्म प्रश्न छ, मलाई लाग्छ, उहाँले राष्ट्रियताको परिभाषालाई अलिकति पुनर्परिभाषित गर्नुहुन्थ्यो ।

एक ठाउँमा उहाँले भन्नु पनि भएको छ, हामी विभिन्न जाति, धर्म, वर्ण, लिङ्गमा विभाजित छौं । र, त्यसको एकरुपता हामीले गर्न सक्यौं र तिनीहरुको सम्मान गर्न सक्यौं भने नै राष्ट्रियताको जगेर्ना हुन्छ भनेर उहाँले राष्ट्रिय एकताको कुरा गर्दाखेरि भन्नुभएको छ ।

अहिले ठ्याक्कै त्यही स्थिति छ । हामी विभिन्न जाति, धर्म, वर्ण, क्षेत्र र लिङ्गमा विभाजित छौं । राष्ट्रको निम्ति एउटै सोच, एउटै विचार र एउटै विचार हुन सक्यो भनेमात्रै राष्ट्रियता मजबुत हुन्छ भन्ने बीपीको भनाइ थियो ।

बिराइएको समाजवादी बाटो

वीपीले भनेको सामाजवादको बाटो हामीले कताकता बिराएको हो कि भन्ने सबैलाई भान छ । बिराएकै हो कि जस्तो पनि देखिन्छ । सामाजिक न्यनयका कुराहरुमा हामी चुक्यौं कि ?

जस्तो- मैले दुईवटा कुरामा चुकेको देखिराखेको छुः एउटा औद्योगीकरणमा । नेपालमा हामीले जतिसुकै सोचे पनि औद्योगीकरण हुने छाँटकाँट मैले देखिराखेको छैन । यसको कारण म बताउँछु ।

वीपीले भनेको सामाजवादको बाटो हामीले कताकता बिराएको हो कि भन्ने सबैलाई भान छ । बिराएकै हो कि जस्तो पनि देखिन्छ । सामाजिक न्यनयका कुराहरुमा हामी चुक्यौं कि ?

उद्योग स्थापना गर्न निजी कम्पनी वा व्यक्तिले पहिले त जमिन किन्नुपर्‍यो । अनि उसले बिजुली ल्याउनुपर्‍यो । सडक आफैं बनाउनुपर्‍यो । सरकारले त बनाउँदैन । अनि त्यहाँबाट उत्पादित वस्तु महंगो त भइहाल्छ । त्यसले बेच्छ कहाँ ? न त भारतमा बेच्न सक्छ, न चीनमा जान सक्छ । न स्वदेशमा बेच्न सक्छ, न विदेशमा । नेपालको प्रोडक्ट महंगो भयो भने जनताले किन्दैनन् । हामी जहाँ पनि सस्तोमा सामान किन्न खोज्छौं ।

भारतमा के गरेको छ भने ठूलो ठूलो गाडी बनाउने कम्पनीहरुलाई तिमीहरु आऊ, हामी लिजमा जग्गा दिन्छौं, तिमीलाई विजुली दिन्छौं, तिमीलाई बाटो बनाइदिन्छौं भनेर बोलाइन्छ । त्यहाँ राज्य र निजी क्षेत्रको सहयोगमा उद्योग चल्छ ।

दोस्रो कुरा, हामी कृषिप्रधान देश हो भन्छौं । अहिले पनि कृषिमा दुई तिहाई मानिसहरुको संलग्नता भनिँदैछ । तर, जीडीपीमा योगदान हेर्नुभयो भने एकतिहाइ पनि छ कि छैन । किन भएन त ?

छिमेकमा हेर्नोस् । अमेरिकामा हेर्नोस् । त्यहाँ पुँजीवादको बिगबिगी छ, त्यहाँ पनि कृषिमा अनुदान दिइएको छ । यहाँका हाम्रा अर्थमन्त्रीहरु, अर्थविदहरुले के भन्छन् भने अनुदान दिन पाइँदैन ।

राज्यले किसानलाई सिँचाइको बन्दोबस्त गर्नुपर्‍यो । जहाँ सिँचाइ हुँदैन, त्यहाँ सस्तो बिजुली उपलब्ध गराउनुपर्‍यो । सडक पुर्‍याइदिनुपर्‍यो । उत्पादन गरिसकेपछि ढुवानी हुन सक्नुपर्‍यो । मल र बीऊहरु सस्तोमा, अनुदानमा दिनुपर्‍यो ।

तर, हाम्रा नेताहरुले लगाइदिन्छन्, यो डब्ल्युटीओ छ । यो भइरहन्छन् । आखिर अमेरिकाले त गरिराखेको छ त । अमेरिकाले भारतको कपास लिँदैन । त्यसैले हामीले पनि सहुलियत दिएर कृषिलाई अगाडि बढाउन सक्नुपर्‍यो ।

हामी १९६३/६४ सम्म हामी चामल निर्यात गथ्र्यौं, अहिले चामल आयात गर्न थालेका छौं । यस्तो अवस्थामा हामी किन छौं भन्दाखेरि हाम्रो नीति नै फेल खाएको देख्छु म ।

यही कारणले बीपीले समाजवादको कुरा गर्नुभएको हो । राज्यले उद्योगमा उत्पादित सामानलाई बजारमा पुर्‍याइदिने काम त गर्नुपर्‍यो नि । जस्तै- हेर्नुहोस् त, उखुको कथा । रोचक छ । म त उखु खेती पनि गर्छु ।

उखु खेती गर्दाखेरि किसानलाई जुन मूल्य आउँछ, चिनी बनाउने उद्योगपति र बजारको मूल्यसँग मेलै खाँदैन । चिनीको भाऊ बढिराखेको हुन्छ, अनि उखुको दाम घट्छ । विश्वमा कहाँ यस्तो हुन्छ ? के यो समाजवाद हो ? म आफैंले यो समस्या भोगिराखेको छु । मैले १०/१२ बिघा उखु खेती गरिरहेको छु ।

उखुको दाम घट्ने, चिनीको दाम बढ्ने, के यो समाजवाद हो ? यसमा कहीँ न कहीँ गडबडी छ । यस्तो कुरालाई राज्यले सम्वोधन गर्न सक्नुपर्छ । हरेकचोटि उखु उत्पादकहरुले आन्दोलन गर्नुपरिरहेको छ । यो त भएन नि ।
बीपीले सोचेको कुरा र हाम्रो पोलिसीमै तारतम्य नमिलेको जस्तो लाग्छ मलाई ।\

ओलीजी र बीपीमा यहाँ फरक छ । तर, ओलीजी र यो सरकार प्रजातान्त्रिक समाजवादको बाटोमा आए भने धेरै राम्रो ।

ओलीजी बीपीको लाइनमा आइदिए राम्रो !

मलाई लाग्दैन कि कम्युनिस्ट पार्टीको सरकारले समाजवादी नीति लागू गर्छ । किनभने, हामीले सोच नै फरक ल्याउनुपर्छ । अलिकति सामाजिक न्यायका कुराहरुमा ध्यान दिनुपर्छ ।

खाली एफडीआई भित्र्याउँ भनेर मात्रै त विदेशी लगानी भित्रिँदैन । तपाईले उनीहरुलाई सहुलियत के दिनुहुन्छ ? त्यो सहुलियत नदिइकन त विदेशी लगानी आउँदैन । यो कुरामा सरकारले ध्यान दिनुपर्‍यो ।

वीपीले भनेको समाजवाद त प्रजातान्त्रिक समाजवाद हो । लोकतान्त्रिक समाजवाद हो । अहिले ओलीजीले के भन्दै हुनुहुन्छ भने म रेल ल्याउँछु । म पानीजहाज चलाउँछु । ठूला सडक, पूर्वाधारहरु, अन्तर्राष्ट्रिय विमानस्थल बनाउँछु भन्दै हुनुहुन्छ । म त चाहन्छु, ओलीजी राम्रो गर्दै हुनुहुन्छ, गर्नोस् । छिटो गर्नोस् । अस्ति भन्नुभो- मिनरल वाटर बेचेर नेपाललाई धनी बनाउँछु । छिटो गर्नोस् । म चाहन्छु । भित्रैदेखि चाहन्छु । किनभने यसबाट नेपाल समृद्ध हुन्छ ।

तर, ओलीजी के भन्दै हुनुहुन्छ भने तिमीहरुले केही कुरामा विरोध गर्न पाउँदैनौ है । वीपी त्यो भन्नुहुन्नथ्यो । विरोधसँगसँगै समृद्धि र विकासका कुरा गर्नुहुन्थ्यो बीपी । ओलीजी र बीपीमा यहाँ फरक छ । तर, ओलीजी र यो सरकार प्रजातान्त्रिक समाजवादको बाटोमा आए भने धेरै राम्रो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment