Comments Add Comment

प्रधानमन्त्रीको सम्बोधन : कांग्रेसको चर्को आलोचना, डा. केसीलाई बहसको निम्तो


७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी कांग्रेसलाई देखेर दया लागेको बताएका छन् । डा. गोविन्द केसीको अनसनको त्यान्द्रो समातेर कांग्रेसले राजनीति खोजेको भन्दै उनले चर्को आलोचना गरे ।

साथै उनले डा. केसीलाई स्वास्थ्य शिक्षा क्षेत्रमा कस्तो सुधार गर्नुपर्छ भन्ने बहसमा आउन र चिकित्सा शिक्षा आयोगको अध्यक्ष आफैं बन्न आग्रह पनि गरेका छन् ।

‘स्वास्थ्य शिक्षा क्षेत्रमा कस्तो सुधार गर्नुपर्छ तर्कपूर्ण बहस गरौं । तपाई नै जिम्मा लिनुस्, आयोग चाहिन्छ भन्नुहुन्छ तपाई नै अध्यक्ष बन्नुस्’  ४० औं स्मृति दिवसको कार्यक्रममा उनले भने ।

पुष्पलाल स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेसको आलोचना गरेका हुन् ।

केही मानिसको अनसन र फुर्सदका बेला निकालेको जुलुस देशको सम्पूर्णता नभएको उनले बताए । तर, सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयकमा संशोधनका लागि प्रतिपक्षसँग कुरा गर्न सरकार तयार रहेको उनले बताए ।

मुसा खाने जस्ता कोही देखिँदैनन्

प्रधानमन्त्री ओलीले डा. केसीको अनसनको समर्थनमा प्रदर्शन गर्नेहरुप्रति पनि कटाक्ष गरेका छन् ।

उनले भने, ‘सडक हेर्नुभयो भने किसिम किसिमका मान्छेहरु छन् । कोही गेरु बस्त्रमा देखिन्छन्, कोही ठाडो चन्दन लगाएको छ । मुसा खाने जस्तो कोही देखिँदैनन् ।’

सर्वोच्च न्यायिक निकायमा बसेकाहरुले समेत निषेधाज्ञा तोड्न पुगेको भन्दै उनले कटाक्ष गरे ।

‘निषेधाज्ञा तोड्दै के भन्नुभयो भन्दा त्यो प्रधानमन्त्री सात कक्षा पढेको छैन, के बुझ्छ कानुन ?’ पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीतर्फ इंगित गर्दै उनले भने, ‘म सँग सर्टिफिकेट हेर्न आउनुभएको त थिएन । तैपनि देख्नुभएछ ।’

डाक्टरले उपचार गर्दिन भन्नु अमानवीय हो

प्रधानमन्त्री ओलीले मेडिकल एसोसिएसनका नाममा डाक्टरहरुले हुलहुज्जत गरेको आरोप लगाए ।

सरकारी जागिर खाएका डाक्टरहरुले आफ्ना स्वार्थका लागि उपचार गर्दिन भन्नु अमानवीय भएको उनले बताए । आफ्ना स्वार्थका लागि डाक्टहरुले हुलहुज्जत गर्न पाइन्छ ? यही हो लोकतन्त्र ?’ प्रधानमन्त्री ओलीले प्रश्न गरेका छन् ।

कांग्रेस देख्दा दया लाग्छ

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सम्बोधनको धेरै समय कांग्रेसको आलोचना गरे । उनले भने, ‘म कांग्रेसलाई भन्न चाहन्छु, गोविन्द केसीलाई जुम्लाबाट ल्याउन नदिएर उपद्रो मच्चाइयो । कांग्रेसले गर्न खोजेको के ?’

सरकारी टोलीले डा. केसीको स्वास्थ्य परीक्षण गर्छौं भन्दा आतंकित हुनुनपर्ने उनले बताए ।

उनले आफ्नो राजनीतिक स्वास्थ्यका अरुको जीवनमाथि खेलबाड नगर्न आग्रह गरेका छन् । कांग्रेसले डाक्टरहरुको हुलहुज्जत, अमानवीय बाटो र डा. केसीको अनसनलाई समातेर राजनीति गर्न खोजेको भन्दै उनले उनले भने, ‘यस्तै त्यान्द्रा समातेर राजनीति गर्न खोजेको हो भने कांग्रेस देख्दा दया लाग्छ ।’

हजुरआमाहरुले घाम तापेर बस्दा हामीले उमेरमा उडेका चरा पनि समाउँथ्यौं भनेर सुनाउने गरेको भन्दै प्रधानमन्त्री ओलीले भने, अहिले कांग्रेस पनि त्यस्तै भएको छ, जुरुक्क उठ्न सक्दैन तर, उडेको चरा समात्ने कुरा गर्छ ।’

डा. केसीले भने अनुसार हुनुपर्ने भन्ने कांग्रेसको अडानप्रति संकेत गर्दै उनले क-कसको हुकुम हामीले तामेल गर्नुपर्ने हो भनिदिन कांग्रेसलाई आग्रह समेत गरे ।

विवेकशील साझातर्फ संकेत गर्दै भने, ‘अरुको त अनुभव छैन । भर्खर पार्टी खोल्दैछन्, यसो गर्दा हुन्छ कि भन्ने परेको होला । कांग्रेस त पुरानै पार्टी हो, बुझ्नु पर्ने हो ।’

कांग्रेसको म्याउम्याउ नीति

प्रधानमन्त्री ओलीले कांग्रेसको म्याउम्याउ नीतिका कारण तराई डुवानमा परेको आरोप लगाए । सरकार बनाउन र टिकाउन कांग्रेसले छिमेकीसँग म्याउम्याउ नीति अन्तर्गत गरेको कामले तराई डुवानमा परेको उनले बताए ।

आफ्नो नेतृत्वको सरकारले डुवान समस्या समाधानका लागि पहल थालेको उनले बताए ।

३ वर्षमा ३० पटक गिरफ्तार भएँ

संबोधनको सुरुदेखि नै कांग्रेसप्रति आक्रामक देखिएका उनले ०४८ मा कांग्रेसले बहुमत ल्याएपछि तीन वर्षमा आफ्नो पार्टीका ३० हजार नेता कार्यकर्तामाथि मुद्दा लगाएको बताए । आफूसमेत लुकेर हिँड्नुपर्ने अवस्था आएको भन्दै उनले भने, ‘म आफैं २५/३० पटक गिरफ्तार भएँ । सडकमा हिँड्यो कि समातेर लगिहाल्छ ।’

त्यसबेला विना कारण १२२ जनाको राज्य पक्षबाट हत्या भएको ओलीले बताए ।

कठैबरी ! विवेक कहाँ बन्धकी राखेको ?

ओलीले सम्बोधनका क्रममा आफ्नो आलोचना गर्ने बुद्धिजिवीहरुलाई पनि कटाक्ष गर्न छुटाएनन् ।

सरकारले जे गर्दा पनि आलोचना गरेको भन्दै उनले वुद्धिजीविहरुलाई भने ‘ कठैबरी ! विवेक कहाँ बन्धकी राखेको ?’

‘बहसका लागि आग्रह गर्न सक्दिनँ, धेरै विद्धान हुनुहुन्छ । मैले जे भनेपछि उखान टुक्का भन्नुहुन्छ । तर उहाँहरु यदि इच्छा गर्नुहुन्छ भने बहसका लागि आउनु भए हुन्छ, हामी तयार छौं । बलजफ्ती आफ्ना कुरा माथि पार्ने होइन, कुतर्कमा होइन । हामी स्थिरता, शान्तिको पक्षमा छौं । उहाँहरु केको पक्षमा ?’

झमेला गर्न गएका होइनौं

लोकतन्त्र आफूहरुले लडेर ल्याएको भन्दै उनले त्यसप्रतिको प्रतिवद्धतामा शंका नगर्न आग्रह गरे । ‘कांग्रेसले ल्याइदिएको लोकतन्त्रमा झमेला गर्न गएका होइनौं’ उनले भने, ‘कांग्रेसका नेताहरुलाई चुनौतीका साथ भन्न चाहन्छु, संघर्षका मैदानमा उहाँहरुको योगदान र हाम्रो योगदान र नीतिहरु तुलना गरौं ।’

सरकारले लोकतन्त्रको रक्षा गर्ने भन्दै उनले कांग्रेसलाई भने, ‘अनि किन अधिनायकवादको आतंक ? यो अरु केही होइन, आफ्नो हैसियतप्रतिको आतंक हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment