Comments Add Comment

चीन पठाउने थप दुई गैंडाको नाम ‘सोल्टी’ र ‘मितिनी’


११ साउन, चितवन । सरकारले चीन सरकारलाई उपहार दिन लागेका थप दुई गैंडाको नामाकरण गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नरेन्द्र अर्यालका अनुसार सौराहामा रहेका भालेको नाम ‘सोल्टी’ र पोथीको नाम ‘मितिनी’ राखिएको छ ।

यसअघि गत असार २८ गते दुई गैंडा ‘भद्र’ र ‘रुपसी’लाई चीन पठाइसकिएको छ । चीन पठाउन बाँकी दुई ‘सोल्टी’ र ‘मितिनी’लाई राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय सौराहामा पिटबुमा बनाएर राखिएको छ । सौराहामा रहेका ‘सोल्टी’ र ‘मितिनी’लाई चीन पठाउने मिति तय नभए पनि साउनको अन्तिमसम्ममा पठाउने तयारी भइरहेको अर्यालले बताए ।

‘मितिनी’ नाम राखिएको पोथीलाई निकुञ्जको पश्चिम सेक्टरबाट गत वैशाखमा नियन्त्रणमा लिइएको थियो । ‘सोल्टी’ नाम राखिएको भालेलाई अघिल्लो वर्षको साउनमा आएको बाढीले बगाएर भारतीय सीमा नवलपरासीको त्रिवेणी पुर्याएको थियो । पछि उद्धार गरेर सौराहमा राखिएको थियो ।

एकै आर्थिक वर्षमा एक जोडीभन्दा बढी गैंडा उपहार दिन नपाइने नियमानुसार गत आर्थिक वर्षमा ‘रुपसी’ र ‘भद्र’लाई पठाइएको थियो । नयाँ आर्थिक वर्ष लागेकोले साउन या भद्रौंको पहिलो हप्तामा थप दुई ‘मितिनी’ र ‘सोल्टी’लाई पठाउने तयारी छ । ‘रुपसी’ र ‘भद्रलाई चीनको चिमे लङसफारीमा राखिएको छ । उनीहरुको बासस्थान राम्रो भए पनि पोखरी हिलो प्रकारको नभएकोले हिलो प्रकारको प्राकृतिक जस्तो पोखरी बनाउन सुझाव दिइएको निकुञ्जका सूचना अधिकृत अर्यालले जानकारी दिए ।

दुर्लभ एक सिंगे गैंडाका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रख्यात मानिन्छ । पछिल्लो गणना अनुसार नेपालमा एकसिंगे गैंडाको संख्या ६४५ छ । तीमध्ये ६०५ चितवन राष्ट्रिय निकुञ्जमा छन् ।

यसअघि पनि नेपाल सरकारले विभिन्न मित्रराष्ट्रहरुलाई गैंडा उपहार दिएको थियो । भारतलाई ४ वटा, अमेरिकालाई ६ वटा, जर्मनी, बंगलादेश, बेलायत, जापान, अष्ट्रिया, थाइल्याण्ड, बर्मा र पाकिस्तान दुई/दुई वटाका गरी २६ वटा गैंडा सरकारले उपहार दिइसकेको छ । चीन पठार्इ सकिएका दुई र थप पठाउने दुईसहित यो संख्या ३० हुनेछ । सरकारले एकसिंगे गैंडाको संरक्षण र सम्वन्ध सुमधुर बनाउन भन्दै मित्रराष्ट्रहरुलाई समयसमयमा गैंडा उपहार दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment