+
+
Shares

प्रदेश १ मा शुक्रबारको दिन धेरै अपराध

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ११ गते १७:३६

११ साउन, विराटनगर । प्रदेश १ मा शुक्रबारको दिन र असार महिनामा अपराधका घटना बढी हुने गरेको पाइएको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरले शुक्रबार सार्वजनिक गरेको तथ्यांकको विश्लेषण गर्दा यस्तो देखिएको हो ।

यस्तै मध्यान्ह १२ बजेदेखि साँझ ७ बजेसम्मको समयमा अपराधका घटनामा बढी हुने गरेको प्रहरीको तथ्यांक छ ।

प्रदेश १ प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानरीक्षक (डीआईजी) केदार रिजाललेे आर्थिक वर्ष ०७४/०७५ मा सबैभन्दा बढी असार महिनमा ८७७ वटा अपराध जन्य क्रियाकलाप भएको जानकारी दिए । उनका अनुसार वर्षका शुक्रबार मात्रै ११२८ वटा अपराधजन्य घटना भएका छन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार साउन महिनामा ५७७, भदौ महिनामा ६ सय, असोज महिनामा ५९४, कात्तिक महिनामा ५४५, मंसिर महिनामा ५५२, पुस महिनामा ५०१, माघमा ५३७, फागुनमा ६६७ र चैतमा ६९४ वटा घटना भएका छन् ।

यस्तै वैशाखमा ६८९, जेठमा ८५० र असार महिनामा सबैभन्दा बढी एक हजार १३६ वटा अपराधका घटना भएका छन् ।

सबैभन्दा धेरै अपराध सुनसरीमा, कम तेह्रथुममा

प्रदेश १ मा आर्थिक वर्ष ०७४/७५ मा सबैभन्दा वढी सुनसरी जिल्लामा अपराधका घटना भएका छन् । सबैभन्दा कम तेह्रथुम जिल्लामा भएको प्रहरीको तथ्यांक छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार सुनसरी जिल्लामा एक वर्षमा एक हजार ९९० वटा अपराधका घटना भएका छन् ।

तेह्रथुम जिल्लामा मात्र एक सयवटा अपराधको घटना भएका छन् ।

प्रदेश १ मा कुल १४ वटा जिल्ला रहेका छन् । जसमा गएको आर्थिक वर्षमा कुल ७ हजार ६९१ वटा अपराधका घटना भएका छन् ।

कुल अपराधका घटनामध्ये झापामा एक हजार ६८७, मोरङमा एक हजार ६ सय २७, उदयपुरमा ५३५, पाँचथरमा २८१ वटा घटना भएका छन् ।

त्यसैगरी इलाम जिल्लामा २४२, संखुवासभामा २१८, ताप्लेजुङमा १६७, भोजपुरमा १६६, खोटाङमा १६०, धनकुटामा १४७, सोलुखुम्बुमा १३१ र ओखलढुङ्गा जिल्लामा १३० अपराधका घटना भएका छन् ।

यो आर्थिक वर्षमा प्रदेश प्रहरी कार्यालयमा ७ हजार ६९१ वटा अपराधका उजुरी दर्ता भएकोमा ४ हजार १५९ वटा मुद्धा फर्छ्यौट भएको कार्यालयले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष ०७३/७४ मा प्रदेश १ मा कुल ७ हजार ९५० वटा अपराधका उजुरी दर्ता भएका थिए ।

अघिल्लो वर्ष भन्दा यो वर्ष अपराधका उजुरी करिब २ सयको संख्याले कम देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?