+
+

पाठेघरको ऐजेरुः क्यान्सरको कारण बन्नसक्छ ?

डा.बालकृष्ण साह डा.बालकृष्ण साह
२०७५ साउन १३ गते ९:३८

अधिकारको हिसाबले त हामी महिला र पुरुष बराबर भन्छौं । तर, शारीरिक जटिलता र संवेदनसिलताको हिसाबले महिलाहरुले बढी भार उठाइरहेका हुन्छन् । पुरुषको तुलनामा महिलाहरुको स्वास्थ्य बढी संवेदनसिल हुन्छन् । हाम्रा दिदीबहिनी, आमा, पत्नीहरुलाई अनेक समस्यासँग जुध्नुपर्ने वाध्यता हुन्छ । उनीहरुको संवेदनसिलता र मर्मलाई हामीले बुझ्नुपर्छ ।

महिलालाई स्तन क्यान्सरको जोखिम बढी हुन्छ, पाठेघर क्यान्सरको जोखिम हुन्छ, मुत्र संक्रमण वा यौनजन्य रोगको खतरा बढी हुन्छ । र, यी सबैमा हामी पुरुष कारकको रुपमा हुन्छौं । भन्नुको अर्थ के हो भने, उनीहरु जे-जति रोगको जोखिममा पर्छन्, त्यो हाम्रो कारणले पनि हुनसक्छ । त्यसैले महिलाहरुको स्वास्थ्य संवेदनसिलतालाई हामीले बुझ्नुपर्छ ।

पाठेघरमा ऐजेरु

रिमा तिम्सीना ३५ बषिर्या गृहणी हुन् । बिगत ३ बर्ष देखि उनको महिनावारीमा अत्याधिक रक्तश्राव हुने गरेको समस्याले पिडित छिन् । उनको परिक्षण गर्दा पाठेघरमा फाईबराईड रहेछ । रिमा जस्तै धेरै महिलाहरुमा यस्तो समस्या हुने गरेको पाईन्छ ।

फाईबराईड भन्ने बित्तिकै डराउनु पर्दैन । यो पाठेघरमा हुने एक किसिमको ट्युमर हो, तर क्यान्सर होईन । यो मुख्यतया मांशपेशी तथा फाईबर तन्तुले बनेको कारणले यसलाई फाईबराईड भनिएको हो । यसलाई मायोमा वा लियोमायोमा पनि भनिन्छ । समान्य भाषामा यसलाई अैजेरु पनि भन्ने चलन छ ।

कस्ता महिला जोखिममा ?

महिलाहरुमा हुने समस्याहरु मध्ये यो पनि एक प्रमुख समस्या भन्दा फरक नपर्ला । नेपालमा मात्र होईन संसारका जुनसुकै मुलुकका महिलाहरुमा यो समस्या देखिन सक्छ । सन् २०१६ का तथ्याङ अनुसार विश्वका २१ दशमलव ४ प्रतिसत महिलाहरुमा फाईवराईड समस्या रहेको छ ।
समान्यतया उमेर बढ्दै गए पछि फाईबराईड हुने सम्भावना पनि बढ्दै जान्छ र ४० बर्ष पार गरेका ४० प्रतिसत सम्म महिलाहरुको पाठेघरमा फाईबराईड हुने गरेकोे तथ्याङ्कहरुले देखाएका छन् । अधिकाशं साना साना फाईबराईड भएका महिलाहरुमा कुनै लक्षण वा असरहरु नदेखिने गरेको पाईन्छ ।

यस्ता महिलाहरु अरु नै समस्याका कारण अल्ट्रासाउण्ड -भिडियो एक्सरे) गर्दा फाईबराइड देखिने गरेको पाईन्छ ।

के हुन्छ असर ?

फाईबराईड ठुलो भएमा वा सानो नै रहेमा पनि यसले गर्ने प्रमुख समस्या महिनावारीको गडवडी नै हो । महिनावारीमा अत्याधिक रक्तश्राव हुने, लामो समय रक्तश्राव हुने, थोरै थोरै दिनको अन्तरालमा रक्तश्राव हुने, महिनावारीमा धेरै दुखाई हुने जस्ता समस्या धेरैमा हुन सक्छ ।

फाईबराईड ठुलो भएमा पेट ठुलो हुने तथा अन्य अङ्ग जस्तै आन्द्रा, पिसाबनली आदिलाई थिचेर थप समस्या गर्न सक्छ ।

यस्तो अवस्थामा तल्लो पेट दुख्ने, कम्मर दुख्ने, पिसाबको संक्रमण गर्न सक्छ । नेपाल मेडिकल कलेज काठमाण्डौमा सन् २००१ देखि २००६ सम्म गरेको एक अध्ययनले अस्पतालमा आएका फाईबराईडका रोगीहरुको औषत उमेर ४३ दशमलव ३ बर्ष रहेको पाईयो ।

सोहि अध्ययनका अनुसार ७३ प्रतिसतमा महिनावारीमा अत्याधिक रक्तश्राव हुने देखिएको थियो । त्यस्तै ७ दशमलव ३ प्रतिसत फाईबराईडका महिलाहरुमा निःसन्तानको समस्या रहेको पनि सो अध्ययनले देखाएको छ ।

डा. वालकृष्ण शाह

अनावश्यक भय र भ्रम

फाइवराईडले क्यान्सर पनि हुन सक्छ नि भन्ने डर अधिकाशं महिलाहरुमा रहने गरेको पाईन्छ । यसै डरका कारण अधिकांश महिलाहरु आत्तिने र शल्यक्रिया गरेर भए पनि पाठेघर फाल्न हतार गरिरहेको पाईन्छ । तर वास्तविक्ता त्यस्तो होईन ।

फाईबराइड एक दम सुस्त गतिमा बढ्ने ट्युमर हो । भनिन्छ यो बढेर सुन्तलाको आकारमा आउन नि ३ बर्ष लाग्ने हुन्छ । यसबाट क्यान्सर हुने सम्भावना मात्र शुन्य दशमलव दुई प्रतिसत हुन्छ । तर कसै कसैमा फाईवराईडको बृद्धि तिब्र गतीमा हुन सक्छ, यस्तो अवस्थामा क्यान्सर हुने सम्भावना बढि रहन्छ ।

कस्तो हुन्छ उपचार ?

पाठेघरमा अैजेरु भन्ने बित्तिकै शल्यक्रिया अर्थात अप्रेसन सम्झन्छौ । तर फाईवराईडमा शल्यक्रिया गर्नै पर्छ भन्ने छैन । कुनै समस्या नगरेका फाईवराइडलाई कुनै उपचार चाहिदैन । तर महिनावारीमा अत्याधिक रक्तश्राव भएमा तुरुन्त उपचार चाहिन्छ । फाईवराईडको मुख्य तथा दिर्धकालिन उपचार शल्यक्रिया नै हो ।

शल्यक्रिया गरेर अैजेरु वा फाईवराईड मात्र निकाल्ने प्रकृयालाई मायोमेक्टोमी भनिन्छ । कम उमेर तथा पाठेघर बचाउनु पर्ने अवस्थामा मायोमेक्टोमी रोज्न सकिन्छ तर मायोमेक्टोमी गर्दा शल्यक्रियामा समस्या वा जटिल्ता आएमा पाठेघर नै निकाल्नु पर्ने हुन सक्छ । उमेर पुगेका अर्थात समान्यतया ४५ बर्ष पार गरिसकेको अवस्थामा फाईवराईड लगायत पाठेघर नै निकाल्न सकिन्छ । यस्तो शल्यक्रियालाई हेस्टेरेक्टोमी भनिन्छ ।

शल्यक्रिया बाहेक फाईबराईडमा शल्यक्रिया बाहेक अन्य औषधि उपचार छैन भन्न मिल्दैन । फाईवराईडमा उपचार गर्नु पर्ने कारण अत्याधिक वा लामो समय सम्म हुने रक्तश्राव नै हो ।

रक्तश्राव भएको छैन वा धेरै नभएको अवस्थामा कुनै उपचार नचाहिन सक्छ । तर रक्तश्राव धेरै हुन्छ र तुरुन्तै शल्यक्रिया गर्न नसकिने अवस्थामा रक्तश्राव रोक्ने र शरिरमा रगतको मात्रा बढाउनेे औषधिहरु प्रयोग गर्नु पर्ने हुन्छ ।

यस अवस्थामा तत्काल रक्तश्राव रोकिने औषधिहरु थोरै समयका लागि प्रयोग गरिन्छ । कम उमेरमा नै अैजेरु पलाए हेस्टेरेक्टोमी पनि गरिहाल्नु हुदैन ।
पाठेघर तथा अण्डासय्ले ईस्ट्रोजेन र प्रोजेष्टेरोन हर्मोन उत्पादन गर्ने र हिस्टेरेक्टोमी गरि सके पछि यस्ता हर्मोनको कमी भएर स्वास्थ्यमा समस्या आउने भएकोले कम उमेरमा हिस्टेरेक्टोमी गर्ने उपाय घातक पनि हुन सक्छ । यस अवस्थामा वा अन्य अवस्था जसमा लामो समय सम्म शल्यक्रिया नगर्ने वा गर्न नसकिने भएमा लामो समय सम्म हर्मोनल उपचार पद्दती अपनाउन सकिन्छ तर औषधिले फाईबराइड पुर्ण निको भने हुदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?