+
+
Shares

मुख्यमन्त्री पौडेल छाता ओढेर निस्किए अस्पताल निरीक्षणमा

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १६ गते १९:१८

१६ साउन, हेटौंडा । नौ महिनाअघि ठेक्का सम्झौता भएको हेटौंडा अस्पताको नयाँ भवन निर्माणको काम सुरु नै नभएपछि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल छाता ओढेरै निरीक्षणमा पुगे ।

पुरानो भवन भएको स्थानमा ठूलो लगानीमा निर्माण हुने भनिएको अस्पतालको साढे २ तल्लाको सुविधा सम्पन्न भवन निर्माणमा ढिला भएपछि मुख्यमन्त्री पौडेलले अस्पतालको निरीक्षण गरेका हुन् ।

प्रदेश सरकारले मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्न खोजेको नयाँ भवन निर्माणमा ढिलाइ भएपछि मुख्यमन्त्री पौडेल र सामाजिक विकास मन्त्री युवराज दुलाल निरीक्षणमा अस्पताल पुगेका थिए ।

७० शैय्याको क्षमता भएको नयाँ भवन निर्माणमा ढिलासुस्ती भएपछि मुख्यमन्त्रीसहितको टोली अस्पताल पुगेको हो ।

अस्पताल निरीक्षणको लागि पुगेको मुख्यमन्त्रीसहितको टोलीलाई डा. कमल दवाडीले नयाँ भवन निर्माण गर्दा अन्य भवनहरु भत्काउनुपर्ने र अस्पताल परिसरभित्र भएका केही रुख काट्न कानुनी जटिलताको कारण समस्या भएको बताएका थिए ।

यसैगरी अस्पतालका पुराना भवनहरु भत्काउनुपर्ने हुँदा स्टोर र डाक्टरहरुको आवासको वैकल्पिक व्यवस्था हुन नसक्दा भवन निर्माण हुन नसकेको बताए ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले व्यवस्थित अस्पताल बनाउने अभियानमा रहे पनि विभिन्न कारणले रोकिनु सकारात्मक नभएको बताए । उनले डाक्टरहरुको लागि आवास र स्टोरको व्यवस्था गर्न अस्पताल व्यवस्थापनलाई निर्देशन दिए ।

अस्पताल परिसरमा रहेका रुख काटेरै भए पनि निर्माण कार्य अगाडि बढाउन निर्देशन दिए । पुरानै मानसिकताबाट अगाडि बढे सफलता नमिल्ने बताउँदै मुख्यमन्त्री पौडेलले सबैले आफ्नो जिम्मेवारी पूरा गरे समृद्धि मिल्ने बताए ।

यसैगरी सामाजिक विकास मन्त्री युवराज दुलालले पनि निर्माण कार्य चाँडो भन्दा चाँडो सिध्याउन ठेकेदार कम्पनी र अस्पताल व्यवस्थापन पक्षलाई निर्देशन दिएका छन् ।

हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्नेगरी प्रदेश सरकरले बजेट विनियोजन गरेको भन्दै मन्त्री दुलालले भवन निर्माणमा देखिएका समस्यालाई तत्काल समाधान गरी निर्माण कार्य अघि बढाउन निर्देशन दिए ।

हेटौंडा अस्पतालमा ७० शैय्याको साढे दुईतल्ले भवन निर्माणको लागि आशिष एण्ड डीएस जेभीले गत मंसिर ३ गते ठेक्का सम्झौता गरेको थियो । २८ करोड १६ लाख रुपैयाँमा ठेक्का लिएको निर्माण कम्पनीले ३० महिनामा अस्पतालको भवन निर्माण सम्पन्न गर्ने सम्झौता गरेको छ ।

निर्माणको जिम्मा लिएका कम्पनीका सञ्चालक ध्रुव कार्कीले भवन निर्माणको लागि अस्पतालले जमिन खाली नगर्दा काम सुरु गर्न नसकेको बताए ।

अस्पतालले जमिन खाली गरे भवन निर्माणको कामले गति लिने र तोकिएको समयमा सकिने बताए । अस्पतालको विकासका क्रममा कुनै समस्या आए प्रदेश सरकारसमक्ष राख्न मन्त्रीले अस्पतालका कर्मचारीलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?