Comments Add Comment

निर्मला हत्या प्रकरणः ३० बढीसँग सोधपुछ तर, भेटिएन अभियुक्त

बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि

१८ साउन, कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्या भएको भन्दै विपक्षीसँगै सत्तारुढ सांसदहरुले संसदमा प्रश्न उठाएपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले रोष्टममा उभिएर भने, ‘घटनामा संलग्न दुई जना पक्राउ परिसकेका छन् ।’

उनले नाम पनि सार्वजनिक गरे, कैलालीको मोहन्याल गाउँपालिका-५ का २२ वर्षीय जीवन घर्ती मगर र १७ वर्षीय दीपक नेगी ।

घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरुले भने यो नाम गृहमन्त्री समक्ष कसरी पुग्यो भनेर आश्र्चयचकित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता एवं डिएसपी ज्ञान सेठीले दुई जनाको नाम सार्वजनिक भएको आफूले पनि सुनेको तर, उनीहरुको संलग्नता नभेटिएको दाबी गरे । अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘केही सूचना लिनका लागि हामीले बोलाएर सोधपुछ गरेका हौं । तर, संलग्नता देखिएको छैन ।’

घटनाको जिल्ला प्रहरी कार्यालयसँगै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले अनुसन्धान गरिरहेको छ । तर, हत्याबारे कुनै महत्वपूर्ण सुराक हात पारेको छैन ।

घाँटी थिचेर हत्या !

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार हालसम्म घटनामा संलग्न भएको आशंकामा ३० जनाभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको छ ।

‘सोधपुछ गरेर कतिपयलाई छाडेका छौं भने कतिपयमाथि अनुसन्धान जारी छ’ स्रोतले भन्यो ।

भीमदत्त नगरपालिकास्थित सरस्वती माविको कक्षा १० मा अध्ययनरत् पन्त १० साउनमा हराएकी थिइन् । उनको शव भोलिपल्ट उखुबारीमा भेटिएको थियो ।

प्रहरी स्रोतका अनुसार पोष्टमार्टम रिपोर्टले उनको घाँटी थिचेर हत्या भएको पुष्टि गरेको छ । किशोरीको बलात्कारपछि हत्या भएको आशंकामा अनुसन्धान जारी छ ।

तर, स्थानीयले दाबी गरेझै सामूहिक बलात्कार हो या कुनै एक व्यक्ति मात्रै घटनामा संलग्न छन् भन्ने प्रष्ट भएको छैन । ‘त्यसका लागि डिएनए परीक्षण गर्नु जरुरी हुन्छ । हामीले प्रक्रिया थालिसकेका छौं’ स्रोतले भन्यो, ‘ रिपोर्ट आउन समय लाग्छ ।’

घटनाको अनुसन्धानका लागि सीआईबीबाट अंकुर जिसीको नेतृत्वमा ३ जनाको टोली खटिएको छ ।

हत्या विरोधमा प्रदर्शन

निर्मलाको हत्या विरोधमा कञ्चनपुरका विभिन्न विद्यालय तथा कलेजमा अध्ययरत् विद्यार्थीहरुले बिहीबार विरोध प्रदर्शन गरेका छन् । कलेजमा अध्ययनरत विद्यार्थीहरुले महेन्द्रनगर बजारमा विरोध जुलुश निकालेका हुन् ।

महेन्द्रनगरमा रहेका सनराइज, ग्लोबल, रेडियन्ट र सिद्धनाथ साईन्स क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले शान्ति सुरक्षा कायम गर, निर्मलालाई न्याय दे, हत्यारालाई पक्राउ गर लगायतका प्ले-कार्ड बोकेर जुलुस निकालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment