Comments Add Comment

महाभारत युद्धमा हातहतियारको ठेकेदार युयुत्सु, यस्तो छ रोचक कथा

गान्धारी गर्भवती भएका समयमा धृतराष्ट्रको सेवा आदि कार्य गर्नका लागि एक वणिक वर्गकी दासी नियुक्त थिइन् ।

धृतराष्ट्रले ती दासीलाई पनि बाँकी राखेनन्, उनले ती दासीसँग सहवास गरे । फलस्वरुप ती दासी गर्भवती भइन् । दासीले समय पुगेपछि एक पुत्र जन्माइन् जसको नाम युयुत्सु राखियो । धृतराष्ट्रको पुत्र भएका हुनाले युयुत्सुलाई पनि राजकुमारजस्तै सम्मान, शिक्षा र अधिकार दिइएको थियो ।

युद्धमा किन पक्ष बदले युयुत्सुले ?

युयुत्सु धर्मात्मा थिए, यसकारण दुर्योधनको अनुचित चेष्टालाई एकजात मन पराउँदैनथे, र गलत कार्यका लागि उनको विरोध पनि गर्थे । यसैकारण दुर्योधन तथा उनका अन्य भाइ युयुत्सुलाई त्यति महत्व दिँदैनथे, हँसीमजाक गर्थे, खिल्ली उडाउँथे ।

युयुत्सुले महाभारत युद्ध रोक्नका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गरेका थिए तर उनको केही लाग्दैनथ्यो । जब युद्ध प्रारम्भ भयो। सुरुमा युयुत्सु कौरवहरूकै पक्षमा थिए ।

युद्ध प्रारम्भ हुनैलागेका बेला युधिष्ठिरले दुवै पक्षका सेनाका बीचमा उभिएर दुवै पक्षमा जसलाई पक्ष बदल्न मन लाग्छ, उसले अहिल्यै पक्ष बदलोस् भनी घोषणा गरे । युधिष्ठिरले आफू सत्य र धर्मको पक्षमा उभिएको कुरा समेत भन्न छुटाएनन् ।

यति सुनिसकेपछि युयुत्सुले अधर्मको साथ छाड्ने विचार गरे र आफ्ना सैनिकसहित कौरव सेना छाडेर पाण्डवको सेनामा मिसिन गए । युधिष्ठिरले अँगालो मारेर उनको स्वागत गरे ।

युयुत्सुलाई दिइएको थियो यस्तो जिम्मेवारी

आफ्नो पक्षममा आएपछि युधिष्ठिरले एक विशेष रणनीतिअनुसार युयुत्सुलाई सीधै युद्धको मैदानमा उतारेनन् बरु अर्कै महत्वपूर्ण काममा लगाए ।

युधिष्ठिरलाई के थाहा थियो भने उनी यस कार्यका लागि सबैभन्दा योग्य छन् । युधिष्ठिरले युयुत्सुको योग्यता विचार गरेर उनलाई योद्धाहरूका लागि हतियार एवं रसद आपूर्ति व्यवस्था मिलाउनका लागि प्रबन्धक नियुक्त गरे । पाण्डवहरूतर्फ ७ अक्षौहिणी सेना थिए ।

युयुत्सुले आफ्नो दायित्वलाई जिम्मेवारीपूर्वक निर्वाह गरे अनि अभावहरू हुँदाहुँदै पनि पाण्डव पक्षलाई  हातहतियार तथा रसदपानी कम हुन दिएनन् । यहाँनेर उल्लेखनीय के छ भने पाण्डव पक्षमा भोजनको व्यवस्था उडुपीको राजालाई दिइएको थियो ।

यस्तो थियो भोजन तथा उपचारको व्यवस्था

महाभारत युद्ध सुरु हुनुअघि पाण्डवहरूले आफ्नो सेनाको आधार शिविर कुरुक्षेत्रको पश्चिमी क्षेत्रमा सरस्वती नदीको दक्षिणी तटमा पर्ने समन्त पञ्चक तीर्थनजिक हिरण्यवती नदी (सरस्वती नदीको सहायक नदी) को किनारमा स्थापित गरेका थिए ।

कौरवहरूले कुरुक्षेत्रको पूर्वी भागमा त्यहाँबाट केही योजन टाढा रहेको एक समथर मैदानमा आफ्नो शिविर राखेका थिए ।

दुवैतर्फको शिविरमा सैनिकहरूका लागि भोजन तथा घाइतेहरूका लागि उपचारको राम्रो व्यवस्था थियो । हात्ती, घोडा र रथ आदिको छुट्टै व्यवस्था थियो । आधार शिविरस्थित हजारौं आश्रयस्थलहरू प्रत्येकमा प्रचुर मात्रामा खाद्य सामग्री, अस्त्रशस्त्र, यन्त्र एवं थुप्रै वैद्य तथा शिल्पीलाई तलब दिएर राखिएको थियो ।

दुवै सेनाका बीचमा युद्धका लागि छ योजन अर्थात् करिब ४५ किलोमिटरको घेरा अर्थात् ४५ वर्गकिलोमिटर क्षेत्र निर्धारण गरिएको थियो ।

युद्धपछि जीवित १८ योद्धा

युद्धपछि बाँचेका १८ योद्धाहरूमध्ये युयुत्सु पनि एक थिए । युद्ध सकिएपछि महाराजा युधिष्ठिरले उनलाई  आप\mनो मन्त्री बनाए । पाण्डवहरू सशरीर स्वर्ग जाने यात्रामा लाग्नुअघि उनीहरूले अर्जुनका नाति परीक्षितलाई राजा तथा युयुत्सुलाई राजाको संरक्षक बनाइदिए ।

धृतराष्ट्रको मृत्युपश्चात् युयुत्सुले नै दागबत्ती दिएर पुत्र धर्म निर्वाह गरे । वर्तमान समयमा भारत उत्तर प्रदेशको पश्चिमी तथा राजस्थानको पूर्वी भागमा बसोबास गर्ने जाट जातिका मानिसलाई युयुत्सुको वंशज मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment