+
+
Shares

गुणस्तर सुधार्न सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २२ गते ९:४९


२२ साउन, बुटवल । सामुदायिक विद्यालयका नेता शिक्षकहरुले विद्यार्थी पढाउनभन्दा दलको राजनीतिमा समय दिने गरेको कुरा लुकेको विषय होइन । यस्ता नेता शिक्षकहरु आफ्नो बाहिरको काम पर्दा स्कुलै नजाने र अर्को दिन आएर हाजिर धस्काउने परिपाटी पनि पुरानै हो ।

सामुदायिक विद्यालयको गुणस्तरमाथि उठ्न नसक्नुका कारणमध्ये शिक्षकको यो प्रवृत्तिलाई पनि एक मानिन्छ । तर अब यस्ता ठग शिक्षकलाई तह लगाउन तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी शुरु गरेको छ ।

शिक्षकहरुलाई विद्यालय समयमा स्कुलभित्रै बांधेर राख्न, विद्यार्थीको पढाइलाई प्राथमिकता दिन र शैक्षिक गुणस्तरमा सुधार ल्याउन विद्युतीय हाजिरी शुरुवात गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव हरिप्रसाद ज्ञवाली बताउँछन् ।

तिलोत्तमा नगरपालिकाले आगामी तीन वर्षभित्र सामुदायिक विद्यालयको शैक्षिक स्तर संस्थागत (बोर्डिङ) विद्यालय सरह बनाउने लक्ष्य लिएको छ । पहिलो चरणमा तिलोत्तमा–७ स्थित सेमरा बजार माविबाट विद्युतीय हाजिरी शुरु गरेको नगरपालिकाले क्रमशः सबै सामुदायिक विद्यालयमा सञ्चालनमा ल्याउने योजना रहेको नगरप्रमुख वासुदेव घिमिरेले बताए ।

‘शिक्षक तथा कर्मचारीहरुलाई थप जिम्मेवार बनाउने उद्देश्यका साथ सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी अपनाइएको हो’, नगर प्रमुख घिमिरेले भने ।

आगामी दिनमा शिक्षण सिकाइ क्रियाकालपलाई समेत प्रविधिमैत्री बनाइ सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउने लक्ष्यका साथ नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिएर बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

यो वर्षलाई शैक्षिक सुधार वर्षको रुपमा लिएको तिलोत्तमा नगरपालिकाले आउँदो तीन वर्षभित्र नगरका सबै सामुदायिक विद्यालयहरूलाई संस्थागत विद्यालयका स्तरमा पुर्याउने लक्ष्य अनुसार बाल विकास कक्षामा अध्ययन गर्ने सबै विद्यार्थीहरूलाई दिवा खाजा दिने अभियान पनि शुरू गरेको छ । यस्तै कक्षा ५ सम्मका विद्यार्थीलाई घरबाट खाजा ल्याउन टिफिनकारी समेत वितरण गरेको छ ।

नगर प्रमुख घिमिरेले आफूले प्राप्त हुने पाँच वर्षकै करिब २२ लाख रुपैयाँ पारिश्रमिक रकम पनि छात्रवृत्ति वितरण गर्ने घोषणा अनुसार दुई दिनअघि एक वर्षको पारिश्रमिक वापतको तीन लाख ८५ हजार रुपैयाँ ४४ विद्यालयका ४४ जना विपन्न विद्यार्थीलाई वितरण गरेका थिए । तिलोत्तमाले सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तर सुधारका लागि चालू आर्थिक वर्षमा सबैभन्दा बढी बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?