२३ साउन, काठमाडौं । राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले सरकारले नै मुलुकलाई प्रतिक्रान्तितिर लैजान खोजेको आरोप लगाएका छन् ।
राष्ट्रियसभाको बुधबारको बैठकमा उनले सरकारको गतिविधि प्रधानमन्त्रीलाई क्रान्तिजस्तो लागे पनि त्यो प्रतिक्रान्ति भएको दावी गरे ।
‘सरकारलाई या प्रधानमन्त्रीलाई क्रान्तितिरको पाइला हो भन्ने लाग्न सक्छ तर त्यो क्रान्तितिरको पाइला नभएर त्यो भ्रान्ति हुन सक्छ र त्यसले मुलुकलाई क्रान्तितिर होइन प्रतिक्रान्तितिर लैैजान सक्छ’ उनले भने ।
सांसद देवले प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई संसदीय सुनुवाई विशेष समितिले अस्वीकार गरेको सन्दर्भ उठाउँदै उनले त्यसलाई प्रतिक्रान्तिको संज्ञा दिए ।
प्रमाणपत्रमा सन्देह छ भने त्यसलाई जाँच गर्ने निकायमा पठाउनुपर्नेमा संसदीय सुनुवाई समितिले नै प्रमाणपत्रका आधारमा अस्वीकार गर्न नहुने सांसद देवले दावी गरे । ‘संसदीय सुनुवाई समिति कसैको प्रमाणपत्र जाँच गर्ने निकाय हो कि होइन ?’ उनले भने ।
सरकारका गतिणीय दृष्टिबाट गरिएका निर्णयहरुले मुलुकलाई प्रतिक्रान्तिको बाटोमा लगेको दाबी पनि उनले गरे । ‘कतै प्रतिक्रान्तितिर सोझ्याउन खोजेको त होइन ?’ सांसद देवले भने ।
सांसद देवले संवैधानिक परिषद्को नैतिक जिम्मेबारीबारे अध्यक्षको हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई जवाफ दिनुपर्ने माग गरे । संवैधानिक परिषद्को निर्णयलाई संसदीय सुनुवाई विशेष समितिले उल्टाउने काम गरेकाले सो बारे प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4