+
+
Shares

साइकलिङको माध्यमबाट सम्पदा पुनर्निर्माणमा हातेमालो

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २४ गते ८:४९

२४ साउन, काठमाडौं । भुइँचालोबाट प्रभावित सम्पदा क्षेत्र काष्ठमण्डप, बुङ्मती र खोकनाको पुनर्निर्माणमा साइक्लिङका माध्यमबाट हातेमालो गर्ने उद्देश्यले ‘राइड काष्ठमण्डप टु खोकना’ यस वर्ष पनि हुने भएको छ ।

गाईजात्राको छेकोमा हरेक वर्ष साइकल र्‍याली गरिन्छ । यस वर्ष आउँदो शनिबार अर्थात २६ साउनमा यसको चौथो संस्करण आयोजना गर्न लागिएको हो । साइकलिङमा करिब दुई सय जना माउण्टेन बाइकसहित सहभागी हुने आयोजक कन्सेप्ट नेपालका संयोजक पवन शाक्यले बताए ।

यसमा सहभागी हुन पाँच सय रुपैयाँ तिर्नु पर्छ । त्यो रकमले टिसर्ट र लन्च सुविधा पाइने शाक्यले जानकारी दिए ।

साइकलिङ यात्रामा खोकना र बुङ्मती घुम्न पाइन्छ । काठमाडौंको काष्ठमण्डपबाट कालीमाटी, बल्खु, चोभार, चाल्नाखेल, बुङ्मती हुँदै खोकनासम्म करिब २० किलोमिटरको दुरी छ । यसलाई ‘हेरिटेज राइड’का नाउँमा कन्सेप्ट नेपालले ब्राण्डिङ गरेको छ । उसले खोकना पुनर्निर्माण तथा पुनःस्थापना समितिसँगको सहकार्यमा ०७२ देखि साइक्लिङ इभेन्ट गर्दै आएको छ ।

साइक्लिङका लागि खोकना राम्रो गन्तव्य मानिन्छ । प्राचीन नेवार बस्ती र खेतीबालीका हरियाली हेर्दै साइकल कुदाउँदा बेग्लै आनन्द मिल्छ ।

खोकनामा नेवार र कन्टिनेन्टल परिकार पाक्ने खाजा घरहरु छन् । होटल तथा होमस्टे सुविधा भने छैन । बुङ्मतीमा चाहिँ होमस्टे गराइन्छ ।

‘अचेल विदेशीहरु पनि माउन्टेन बाइकमा खोकना आउन थालेका छन्,’, समितिका अध्यक्ष श्याम महर्जन भन्छन्, ‘त्यसैले पर्यटनबाट बढी भन्दा बढी फाइदा लिन हामी खोकनामा होमस्टे गराउने तयारीमा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?