Comments Add Comment

‘कायरा’को व्यापार न उत्साहजनक न झुर


साउनको १८ गतेको डेटलाई नेपाली चलचित्रका निर्माताले खासै आँखा लगाएका थिएनन् । चलचित्र ‘कायरा’का निर्माता समेत रहेका आर्यन सिग्देल पनि यो मितिमा चलचित्र चलाउने मुडमा थिएनन् । उनको टार्गेट पनि धेरै निर्माताको जस्तै तीज, दशैं, तिहार नै थियो ।

तर, वितरक सुनिल मानन्धरले साउन १८ गतेलाई नै लक गरेपछि आर्यनले पनि केही भन्न सकेनन् । सुनिलले चलचित्रका लागि ४७ लाख रुपैयाँ अग्रिम दिएका थिए । अहिले, धेरै निर्माताले ध्यान नदिएको साउनको झरी पर्ने सिजनले आर्यनलाई केही हदसम्म राहत दिइरहेको छ ।

साउन १८ गते गतिलो प्रतिस्पर्धी चलचित्र नपाएको ‘कायरा’ दोश्रो हप्ता पनि हलबाट उत्रिएन । कारण, हलमा चलाउनका लागि राम्रो र अपेक्षित चलचित्र साउन २५ गते पनि थिएन । जसको फाइदा उठाउँदै आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित यो चलचित्रले दोश्रो साताको शुक्रबार र शनिबार करिब २३ लाख ग्रस कलेक्शन गरेको छ ।

पहिलो सातामा यो चलचित्रले १ करोड ६० लाख ग्रस कलेक्शन गरेको वितरक सुनिल मानन्धरले जानकारी दिएका छन् । यसरी हेर्दा चलचित्रको लाइफ टाइम कलेक्शन नेपाली बक्स अफिसमा २ करोड ग्रस हुने देखिएको छ । यो न उत्साहजनक न त झुर व्यापार हो ।

यसबाट निर्माताको लगानी नेपालबाटै सुरक्षित भने हुँदैन । तर, विदेश प्रदर्शन र डिजिटल राइट्सले आर्यन सिग्देल र लक्ष्मण रिजालको लगानीलाई सुरक्षित गर्न सक्ने देखिएको छ ।

नेपालबाट चलचित्रले ७५ देखि ८० लाख रुपैयाँ निर्माताको गोजीमा पारिदिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment