+
+
Shares

सेयर बजारमा चासोः माधव नेपालदेखि रामशरण महतसम्म

रोयल आचार्य रोयल आचार्य
२०७५ साउन २७ गते १९:५४
तस्वीरहरु : एकराज ढकाल

२७ साउन, काठमाडौं । नेपाल पूँजी बजार लगानीकर्ता संघले आइतबार  राजधानीमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वअर्थमन्त्री डा. रामशरण महत, राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपाल सहभागी भए ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की, नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्तासमेत उपस्थित थिए।

पछिल्लो समय नेपाली पूँजी बजार निरन्तर ओरालो लागिरहेको छ । कुनै समय १ हजार ८ सय ८१ को विन्दुमा पुगिसकेको नेप्से परिसूचक हाल १ हजार १ सय ६३ मा झरिसकेको छ । यसबीचमा लगानीकर्ताहरुले अर्बौं रकम गुमाइसकेका छन् । तर, पूँजी बजार सुधारका लागि के-कस्ता अभ्यास गर्न सकिन्छ भन्ने विषयमा न त नियामक निकाय नै गम्भीर बनेका  छन्, न त लगानीकर्ताहरू नै  सक्रिय बने ।

शुरुमा स्थायी सरकार आए लगत्तै सेयर बजारमा हरियाली छाउने अपेक्षा गरिएको थियो । तर २ तिहाई बहुमत सहितको सरकार गठन हुँदा समेत सेयर बजार निरन्तर ओरालो लाग्दा त्यो अपेक्षा निराशामा परिणत भयो । पछि नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. युवराज खतिवडा अर्थमन्त्री बन्ने चर्चासँगै पूँजी बजारले फड्को मार्नेमा लगानीकर्ता आशावादी भए तर त्यो आशा पनि पूरा भएन । त्यसपछि आएको बजेट तथा मौद्रिक नीतिले समेत सेयर बजारमा उत्साह ल्याएन । सेयर बजार निरन्तर ओरालो लाग्ने क्रम नरोकिए पछि भने पूँजी बजारका लगानीकर्ताहरुले सक्रियता देखाएका छन् ।

पूँजी बजार सुधारका लागि नेताहरूले  भाषण गरिरहँदा नेप्से परिसूचकमा भने आइतबार भारी गिरावट देखिएको छ । आइतबार नेप्से परिसूचक १ हजार १ सय ६३ दशमलव ९४ को बिन्दुमा कायम भएको छ

पूँजी बजार सुधारका लागि नेताहरूले एकातिर भाषण गरिरहँदा नेप्से परिसूचकमा भने आइतबार भारी गिरावट देखिएको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १६ दशमलव ६९ अंकले घटेर १ हजार १ सय ६३ दशमलव ९४ को बिन्दुमा कारोबार बन्द भएको छ । यो चालु आर्थिक वर्षकै सबैभन्दा ठूलो गिरावट हो ।

कुल १ सय ६२ कम्पनीको ७ लाख ८१ हजार ५६० कित्ता शेयर खरिदबिक्री हुँदा २५ करोड २ लाख २६ हजार ४९१ रुपैयाँको कारोबार भएको छ । यस दिन सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोे भएको छ । जसको आज ३ करोड ७१ लाख ८८ हजार २९१ रुपैयाँको शेयर कारोबार भएको छ ।

आइतबारको  कार्यक्रममा बोल्ने सबै वक्ताहरुले पुँजी बजार महत्वपूर्ण भएको र यसलाई सकरात्मक दिशामा लैजानु पर्ने धारणा राखे ।

सुधारको पक्षमा छु : पूर्व प्रम नेपाल
कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले पूँजी बजार सुधारको पक्षमा आफू र आफ्नो पार्टी रहेको बताए । उनले पूँजी बजारलाई सकारात्मक दिशामा लैजाने पक्षमा आफू रहेको र आफूले सक्ने सहयोग गर्न सधै तत्पर रहेको बताए ।

कृत्रिम तरिकाले बजार घटबढ गराउने गरेका समेत आफूले सुनेको भन्दै पूँजी बजारमा हुने कृत्रिम घटबढ रोक्नुपर्ने बताए । पूँजीबजारलाई सकारात्मक दिशामा लैजान राज्यले यो क्षेत्रलाई विशेष प्राथमिकता दिनु पर्ने समेत बताए ।

पब्लिकमा जान प्रोत्साहन गरिनुपर्छ : पूर्वअर्थमन्त्री महत

पूर्वअर्थमन्त्री डा. रामशरण महतले पूँजी बजारमा धेरै विषयहरु सुधार हुनुपर्ने औंल्याए । पूँजी बजारमा सुधारका विषयमा सरकार गम्भीर नबन्दा पूँजी बजार ओरालो दिशामा गइरहेको उनले बताए ।

डा. महतले पूँजी बजार सुधारका लागि रियल सेक्टरलाई ल्याउन जोड दिनुपर्ने र पब्लिकमा जान प्रोत्साहन गर्नुपर्ने नीति सरकारले ल्याउनुपर्ने उनले बताए ।

वर्तमान सरकारले पब्लिकमा जान बाध्यात्मक व्यवस्था गरेको भन्दै त्यसले पूँजी बजारलाई सकारात्मक फाइदा नपुग्ने उनले बताए । डोनाल्ड ट्रम्पले कर छुटको नीति लिएका कारण अमेरिकामा लगानी बढेको भन्दै उनले पव्लिकमा जानका लागि कम्पनीहरुलाई कर छुटको व्यवस्था गरेर प्रोत्साहन गर्नुपर्ने बताए ।

पूँजी बजारको लगानी डुब्छ भनेर आत्तिनुपर्दैन : गभर्नर

गभर्नर डा. चिरञ्जिवी नेपालले पुँजी बजारमा गरेको लगानी कहिल्यै नडुब्ने बताए । पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागिरहेको भन्दै घट्यो भनेर आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको गभर्नर नेपालले बताए ।

पूँजी बजार भनेको आर्थिक विकासको आधार भएको भन्दै उनले पूँजीबजारलाई जुवाघरको रुपमा नहेर्न समेत आग्रह गरे ।

‘छरिएको पूँजीलाई एक ठाउँमा ल्याएर परिचालन गरिने भएकाले पनि यो क्षेत्रलाई आर्थिक विकासको आधारको रुपमा लिइन्छ’ गभर्नर नेपालले भने, ‘नीतिगत विषयलाई सुधार गर्दै लाने हो भने पूँजी बजारले मुलुकको अर्थतन्त्रलाई राम्रो फाइदा पुग्नेछ ।’

पूँजी बजारमा छिर्ने बित्तिकै नाफा भइहाल्छ भन्ने सोच्नु चाहिँ गलत भएको गभर्नर नेपालले बताए । बिना अध्ययन गरेको लगानी घाटा हुनसक्ने भन्दै अध्ययन गरेरमात्रै यो क्षेत्रमा लगानी गर्नुपर्ने गभर्नर नेपालको भनाइ थियो ।

जनचेतनाको व्यापक बनाउदै छौं : बोर्ड अध्यक्ष कार्की

नेपाल धितोपत्र बोर्डका अध्यक्षले पूँजी बजार सम्बन्धी जनचेतना व्यापक बनाउदै लगिएको जानकारी गराए । जनचेतनाककै कमीका कारण पूँजी बजारमा नागरिक धेरै आउन नसकेको भन्दै गाउँ गाउँमा जनचेतना फैलाउने अभियानमा बोर्ड लागेको अध्यक्ष कार्कीले बताए ।

मुलुकको इतिहासमै पहिलो पटक काठमाडौंमा पूँजी बजार एक्स्पो आयोजना गरिएको भन्दै जनचेतना थप व्यापक बनाउन बोर्ड छिट्टै ७ वटै प्रदेशमा पूँजी बजार एक्स्पो आयोजना गर्ने उनले बताए । के कसरी हुन्छ पूँजी बजारको विकास गर्ने आफ्नो योजना भएको भन्दै सहयोगका लागि उनले सबैसँग आग्रह गरे ।

नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले पूँजीबजार सुधारका लागि संघ सधै सक्रिय रहने बताइन् । पूँजी बजारलाई जुवाघरको रुपमा नलिन आग्रह गर्दै अध्यक्ष पोखरेलले पूँजी बजारलाई मुलुकको अर्थतन्त्रको महत्वपूर्ण हिस्साको रुपमा विकास गर्नुपर्ने बताइन् ।

कार्यक्रममा बोल्ने वक्ताहरुले पूँजी बजार मुलुकको अर्थतन्त्रको एउटा महत्वपूर्ण आधार भएको भन्दै यसको विकास गर्नुपर्ने धारण राखेका थिए ।

 

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?