Comments Add Comment

बिहे गरेको ३ महिनामै श्रीमतीको हत्या ! श्रीमान पक्राउ

२८ साउन, बारा । आफ्नै श्रीमतीको हत्या आरोपमा बारामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

देवताल गाउँपालिका-६ रौवाहीमा आइतबार राति श्रीमतीको हत्या गरेको आरोपमा सोमबार बारा प्रहरीले स्थानीय २२ बर्षीय अनिल प्रजापतिलाई पक्राउ गरेको हो ।

१९ बर्षीया श्रीमती ममता देवी पण्डितको घाँटी थिचेर हत्या गरेको आरोपमा उनलाई पक्राउ गसिरएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए ।

आइतबार राति करिब ११ बजे पण्डितको शंकास्पद मृत्युको खबर पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीले सोधपुछका क्रममा उनको हत्या उनकै श्रीमान प्रजापतिले गरेको खुल्न आएको प्रहरी नायव उपरीक्षक राठौरले बताए ।

‘हामीले तत्काल घटनास्थल पुगेर घटनाको सुक्ष्म अनुसन्धान गर्दा श्रीमानबाटै हत्या भएको पायौं’ प्रहरी प्रवक्ता राठौरले भने ।

तीन महिनाअघि गत वैशाख २८ गते रौतहटको चन्द्रपुर नगरपालिका-१० बस्ने ममतादेवी पण्डितसंग प्रजापतिको मागी विवाह भएको थियो ।

प्रहरीका अनुसार श्रीमान् श्रीमतीबीच सामान्य बादविवादका क्रममा आवेशमा आएर घाँटी थिच्दा ममताको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

परिवारबाटै प्रहरीलाई खबर

श्रीमतीको मृत्यु भएपछि प्रजापति र उनका परिवारले अज्ञात समूहले आफूहरुमाथि आक्रमण गरेको भन्दै प्रहरीलाई खबर गरेको प्रहरीका प्रवक्ता राठौरले बताए ।

सामान्य विवादको कारण प्रजापतिले श्रीमतिको आफै हत्या गरेको स्वीकारेका छन् । घटनाको भित्री रहस्य खुल्न नसकेको प्रहरीले जनाएको छ ।

परिवारले अज्ञात समूहबाट हत्या प्रयासको क्रममा प्रजापतिलाई समेत घाइते बनाएको भन्दै प्रहरीलाई खबर गरेका थिए । तर प्रहरीको अनुसन्धानका क्रममा प्रजापतिले नै प्रहरी समक्ष श्रीमतीको हत्या आफूले गरेको स्वीकार गरिसकेका छन् ।

प्रजापतिलाई कर्तव्य ज्यान मुद्दामा सोमबार बारा जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक राठौरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment