Comments Add Comment

विराटनगर महानगरमा विस्फोटः सीसी टिभीको रेकर्ड नै भेटिएन

३० साउन, विराटनगर । दुई दिनअघि विराटनगर महानगरपालिकाको कार्यालयमा भएको बम विष्फोटको घटना रहस्यमय बनेको छ । कार्यालयको सीसी टिभीमा बम विष्फोट हुनुअघिको रेकर्ड नै फेला नपरेपछि घटना रहस्यमय बनेको हो ।

महानगरको कार्यालयमा बम विष्फोट भएपछि प्रहरीले अनुसन्धानका लागि सीसी म्यामेराको रेर्कड हेर्न हार्डडिक्स लगेको थियो । तर, सीसी टिभीमा घटना पूर्वका कुनै फुटेजहरु नगरेको प्रहरीले बताएको छ ।

‘घटनाको अनुसन्धानका लागि सीसी टिभीको हार्डडिक्स ल्याएको छौ,’ मोरङका प्रहरी उपरीक्षक मनोज केसीले भने, ‘सीसी टिभीको फुटेजमा कुनै दृश्य कैद भएको फेला परेन ।’ सीसी टिभीमा रेकर्ड नभेटिएपछि अनुसन्धान असहज भएको छ ।

प्रहरी उपरीक्षक केसीले रेकर्ड मुडमा कुनै भिडियो फेला नपरेपछि हार्डडिक्सलाई रि-स्टोर गरेर पुनः हेर्ने काम पनि भइरहेको जानकारी दिए ।

उनले घटना पश्चात ९ जनालाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेपनि उपलब्धी नभएको बताए ।

सीसी क्यामेरा चलिरहेको थियोः मेयर पराजुली

यता महानगरका मेयर भीम पराजुलीले कार्यलयको मुख्यद्वारमा राखिएको सीसी टिभीको क्यामेरा सञ्चालनमै नै रहेको दावी गरे ।

‘प्रहरीले भने जस्तो सीसी टिभी बन्द अबस्थामा छैन र थिएन पनि,’ मेयर पराजुलीले भने, ‘केही दिनअघि मात्र म आफैले डिस्प्लेमा सीसी टिभीको रेकर्डेट फुटेज हेरेको थिए ।’

मेयर पराजुलीले बम विष्फोटको घटनाको अनुसन्धान दुई दिन वित्न लाग्दापनि नजिक पुग्नु नसक्नुले थप त्रास उत्पादन गरेको बताए ।

‘हामीले पटकपटक प्रहरीलाई घटनाको अनुसन्धान कहाँ पुग्यो कसरी हुँदैछ भनेर जानकारी मागिरहेका छौ तर प्रहरीले अनुसन्धान प्रक्रिया चलिरहेको मात्र जवाफ दिदै आएको छ ।’ मेयर पराजुलीले भने ।

गत आइतवार कार्यालय समयमा महानगरको माथिल्लो तलामा रहेको प्रमुखको कार्यकक्ष अगाडिको सेवाग्राही बस्ने स्थानमा अज्ञात समूहले बम विष्फोट गराएको थियो ।

विस्फोटबाट त्यहाँका फर्निचर, झ्यालका सिसा र आगनमा पार्किङ गरिएको प्रमुख चढने गाडीको सिसामा क्षती भएको थियो ।

लगतै महानगरले नगरको उचित सुरक्षा प्रबन्ध मिलाउन स्थानीय सुरक्षा संयन्त्रसमक्ष लिखित माग गरेको छ ।

प्रमुख पराजुलीका अनुसार प्रमुख र उपप्रमुखको व्यक्तिगत सुरक्षा मागपनि गरिएको छ ।

तराई जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी)ले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै बिस्फोटको जिम्मेवारी लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment