Comments Add Comment

निजामती सेवाभन्दा साहित्य सेवा ठूलो

२ भदौ, काठमाडौं । दामोदर पुडासैनी पेसाले नेपाल सरकारका नायब महालेखा परीक्षक अर्थात सहसचिव हुन् । तर, उनको सरकारी परिचयलाई कवि र नियात्राकार व्यक्तित्वले किच्न खोजेको हो कि जस्तो देखिन्छ । हालसम्म ७ कविता सङ्ग्रह, ५ नियात्रा सङ्ग्रह लेखेका दामोदर पुडासैनी किशोरको धर्मको ह्याङओभरनामक दर्शनशास्त्रको पुस्तकका कारण पनि भिन्न परिचय बनेको छ । यद्यपि साहित्यमा चर्चा पाउन उनले बेलाबेलामा सरकारी पदको दुरुपयोग गरेको आरोप पनि लाग्ने गर्छ ।नेपालका ७५ जिल्लाका एक हजार गाउँ र विश्वका ३५ देश घुमिसकेका पुडासैनीले आफ्नो उमेरभन्दा दोब्बर पुरस्कार र सम्मान प्राप्त गरेका छन् । आध्यात्मिक पाखण्डविरुद्ध बेलाबेला लेखेका कतिपय लेखहरुले पनि उनलाई चर्चामा ल्याउने गर्छ । यसपटक अनलाइनखबरले यिनै लेखककविलाई उनको सरकारी पदको दुरुपयोगको प्रश्न पनि नछुटाई केही दार्शनिक र साहित्यिक कुराकानीलाई गरेको छ ।

के कुरामा गौरव लाग्छ, सहसचिव जस्तो प्रभावकारी जागिर कि निरीह लेखक ?

के हिसाबले लेखकलाई निरीह भन्नुभयो, बुझ्न सकिनँ । बरु लेखकजस्तो शक्तिशाली यो देशमा कोही छ जस्तो मलाई लाग्दैन । तर लेखकले के लेख्ने, कसरी लेख्ने भन्ने कुरामा भने निकै ध्यान दिनुपर्छ । झट्ट हेर्दा सरकारी जागिर वा नेतृत्वमा बसेको मान्छे शक्तिशाली महसुस हुन्छ । तर, सच्चा लेखकका अघि उसको व्यक्तित्व सधैं कमजोर नै हुन्छ । नढाँटी भन्ने हो भने जागिर भनेको अस्थायी परिचय हो । जबकि लेखक आजीवन मात्रै होइन, मृत्युपछि पनि बाँचिरहन्छ ।

भनेपछि लेखक ठूलो हो ?

यसमा दुई मत नै छैन । मेरै कुरा गर्नुस्, नेपालमा दर्जनौं सहसचिव छन्, दर्जन बढी सचिव छन् । कसैको मानमर्दन गर्न खोजेको होइन, तर तीमध्ये कतिलाई नेपाली जनताले चिन्छन् ? मैले आफ्नो नाम भनेँ भने कताकता नाम सुनेजस्तो लाग्यो, लेख्नुहुन्छ हो ? भनेर प्रश्न गर्छन् । यसैबाटै लेखक ठूलो हो भन्ने महसुस गर्छु ।

अझ शक्तिशाली पदमा पुगेको लेखक हुनुचाहिँ राम्रो होला होइन ?

लेख्नकै लागि लेख्नेहरु पनि छन् । त्यसलाई कति लेखक मान्ने बहसको विषय हुन सक्छ । तर, मेरो विचारमा एउटा लेखकले जीवन जगतभन्दा माथि उठेर लेख्न सक्नुपर्छ । आफ्नो एउटा निश्चित जीवन दर्शन हुनुपर्छ । चाहे त्यो अरुका लागि गलत नै लागोस्, आफ्नो तर्फबाट ऊ त्यसमा खरोगरी उत्रिनु पर्छ । त्यसो हुन सक्यो भने ऊ पदमा हुनु र नहुनुमा खासै फरक पर्दैन । मेरै कुरा गर्नुहुन्छ भने मैले ३५ वर्ष लेखापरीक्षक भएर बिताएँ । यहाँ आउनुअघि पनि कवि थिएँ । भोलि यहाँबाट हट्दा पनि कवि नै रहन्छु । भोलि मेरो मूल्यांकन हुँदा म हिजो कुन पदमा थिएँ भनेर कसैले लेखाजोखा गर्दैन, मैले के लेखेँ भनेर मूल्यांकन हुन्छ ।

तपाईंलाई सरकारी जागिरको दुरुपयोग गरेर देशभरि घुमेको र त्यसकै आधारमा टीएडीए जस्ता सुविधा लिएर पुस्तकहरु निकालेको आरोप लाग्ने गर्छ, के भन्नुहुन्छ ?

मेरो काम नै जिल्ला–जिल्ला पुगेर प्रत्येक सरकारी कार्यालयको लेखापरीक्षण गर्ने हो । प्राविधिक काम भएकाले जिल्ला र गाउँहरुमा जान्न भन्न मिल्दैन । मेरो नराम्रो बानी के हो भने माथिबाट मलाई जति दुर्गममा जाने आदेश आउँछ, म त्यति खुसी हुन्छु । किनभने त्यहाँ मलाई लेख्ने विषय बस्तु प्राप्त हुन्छ । जहाँसम्म ‘टीएडीए’ जस्ता अतिरिक्त सुविधा लिने कुरा छ, यो सरकारले दिएको सुविधा हो । अरु लेखापरीक्षक र लेखक लेखापरीक्षकबीच के फरक हुन्छ भने अरु जागिरपछि कुनै भट्टीमा बसेर वा कतै गफ लडाएर समय बिताउँछन् । तर, लेखक लेखापरीक्षक गाउँका कुनै पात्रसँग बसेर विषयवस्तुको संकलन गरिरहेको हुन्छ । त्यसलाई साफी गरिरहेको हुन्छ । खासमा लेखकहरुलाई सरकारले गाउँगाउँ पुर्‍याएर त्यहाँको विषयवस्तु ल्याउन प्रोत्साहन गर्नुपर्छ । नेपालको सन्दर्भमा अहिले त्यो सम्भव छैन । म जाँडरक्सी, माछा–मासु केही खान्न । कुनै गलत काममा रुचि छैन । मैले जागिरकै बीचमा यी काम गरिरहेको छु । अब भन्नुहोस्, मैले के गल्ती गरेँ ?

तपाईंका कृतिहरुले नेपाली साहित्यलाई नयाँ कुरा दिएका छन् भन्ने लाग्छ ?

‘मायालु हुम्ला’ लेख्दा म ४५ दिन हुम्ला बसेको छु । ‘पर्खालभित्रको राजधानी’ लेख्दा ३ महिना मुस्ताङमा बिताएको छु । अब चाँडै ‘सहर बिनाको सहर’ प्रकाशन हुँदैछ । यो नियात्रा संग्रह पनि खप्तड र त्यस वरपरका विषय समेटिएको पुस्तक हो । सरकारी जागिरे नभएको भए यो सम्भव थिएन । जुन लेखकले डोल्पामा ५७ दिन, संखुवासभामा २ महिना, पाँचथरमा ५० दिन, बैतडी, दार्चुला, बझाङजस्ता जिल्लामा महिना–महिना बिताएको छ, उसले नयाँ कुरा पक्कै ल्याउँछ । आफ्नो घरको कोठामा बसेर कल्पनाको भरमा पुस्तक लेख्नु र गाउँ गाउँ पुगेर लेख्नुमा धेरै फरक हुन्छ । बाँकी कुरा मेरो पुस्तक पढ्नेले महसुस गर्ने कुरा हो ।

तपाईं विदेशी लेखकका पुस्तक पढ्ने पाठकमा पनि पर्नुहुन्छ । नेपाली साहित्य र विदेशका चर्चित साहित्यबीच के फरक पाउनुभयो ?

पश्चिमासँग संस्कृति छैन । उनीहरुको सम्पती भन्नु नै समुद्र हो, त्यही समुद्रलाई उसको गहिराई भन्दा बढ्ता गहिरो साहित्य बनाएर संसारभरि बेचेका छन् । अरब देशहरुको सम्पती भन्नु त्यहाँको तातो बालुवा, उँट र मरुभूमि हो । उनीहरुले त्यसलाई अझ तातो बनाएर संसारभरि बेचेका छन् । तर, हामीले भएका पहाड र हिमाल बेच्न सकेका छैनौं । अध्ययनको कमी भयो । लेखनमा साधना भएन । धेरैलाई लाग्न सक्छ, हाम्रा पहाड त्यतिकै अग्लो भएका हुन् । तर, त्यो अग्लो हुनुसँगै त्यसका आफ्नै कथाहरु छन् । त्यसका भेदमा बसेका बस्तीहरुका आफ्नै कथाहरु छन् ।

आँखाअघि टल्कने हिमाल त्यतिकै चिसिएको होइन, त्यसका चिस्यानका आफ्नै कथा छन् । त्यसका फेदमा बसेका बस्ती र संस्कृतिका आफ्नै कथा छन् । हाम्रा नदीहरु लाखौं वर्षदेखि त्यसै बगेका छैनन्, ती बगाइसँगै उसले लाखौं कथा बोकेर हिँडिरहेको छ । कुरा यति मात्रै हो, खै त्यसलाई हामीले संसारमा विक्री गर्न सकेको ?

संसारका साहित्य र हाम्रा साहित्यबीच म फरक केही पनि देख्दिनँ । केवल हामीले हाम्रा पहाड र हिमाल जसरी अग्लिए, त्यही स्तरमा साहित्यलाई अग्ल्याउन सकेनौं ।

तपाईंले त ७५ जिल्लाका हजार बढी गाउँ घुम्नुभयो हैन त्यहाँ विश्व साहित्यको विषय बन्न सक्ने के भेटियो ?

देशका ७७ मध्ये ७५ जिल्ला घुमेँ, दुई जिल्ला बाँकी छन् । यसरी घुम्दा मैले अनेक विषय भेटेको छु । तर, मेरा पनि आफ्ना सीमाहरु छन् । एकपल्ट डोल्पा बस्दा मैले त्यहाँको पुस्तकालयमा करिब एक सय वर्षअघि अंग्रेजीमा लेखिएको एउटा उपन्यास पढ्ने मौका पाएँ । नाम थियो–क्रिस्टल माउन्टेन । लेखक थिए हरिबहादुर गुरुङ । सानैमा कुनै अमेरिकीले छोरा बनाएर लगेको हरिबहादुर पछि नेपाल आएको बखत डोल्पामा क्रिस्टल ढुंगा भएको अनौठो हिमाल देखेछन् । नेपाली बोल्न नसक्ने भएका कारण उनी नेपालमा टिकेनन् । तर, जाँदा जाँदै उनले क्रिस्टल हिमाल र त्यस वरपरको संस्कृतिलाई विषय बनाएर त्यो उपन्यास लखेछन् । यो उपन्यास पढेर धेरै विदेशी नेपाल आएको मैले त्यो पुस्तकालयबाट जानकारी पाएँ । त्यस्तै पर्यटकले त्यहाँ यो पुस्तक छाडेका रहेछन् । जबकि धेरै कम नेपालीहरुलाई नेपालमा क्रिस्टल माउन्टेनको बारेमा जानकारी छ ।

पुस्तकले पनि पर्यटन प्रवद्र्धन गर्दोरहेछ है ?

कलात्मक र गहिरा पुस्तक र डकुमेन्ट्रीहरुले मानिसलाई त्यस्तो यात्रा गर्न उत्प्रेरणा दिन्छ । उदाहरणका लागि हामीसँगविश्वको सबैभन्दा अग्लो स्थानमा रहेको मानव बस्ती छ । ‘ध्वो उपत्यका’ र यहाँको बस्तीलाई केन्द्रमा राखेर कुनै गम्भीर उपन्यास लेख्ने हो भने यसलाई विश्वभरि मार्केटिङ् गर्न सकिन्छ । जबकि यसको सामान्य जानकारी पनि हामीले संसारलाई दिन सकेका छैनौं । आजको संसारमा कथा बिक्छ, यो कुरा हामीले बुझ्न सकेका छैनौं । नेपाल चिन्न नसक्नेले नेपाली साहित्य लेख्छु भन्नु न्यायसंगत होइन ।

तपाईंले धेरै पहाडी बस्तीको भ्रमण गर्नुभयो । हामीले लेख्नुपर्ने विषय के के पाउनुभयो त ?

जस्तो– माथिल्लो डोल्पामा हिमाली क्षेत्रमा लामा शासन चल्छ । त्यहाँ अहिले पनि अड्डा अदालतमा कानुनी छिनोफानो हुँदैन । लामा नै सर्वेसर्बा हुन् । यो तिब्बती संस्कृतिबाट प्रभावित छ । त्यही जिल्लाको केही तल धामीहरुको शासन चल्छ । जसलाई मध्य डोल्पा भन्न सकिन्छ । त्यसपछि तल्लो डोल्पामा सरकारी शासन चल्छ । एउटै जिल्लामा तीनथरि कानुन छ । यी तीनथरि कानुनका कारण कति मानिसको जीवन अनौठो तरिकाले बेरिएको छ, त्यसको अध्ययन गर्ने हो भने एउटा गतिलो पुस्तक बन्न सक्छ । त्यसैगरी पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्म अझै पनि बहुपति प्रथा छ । त्यहाँका बुढाबुढी बहुपति प्रथालाई अझै व्यवस्थित गर्ने पक्षमा छन् । बीचका पुस्ताहरु अन्योलमा छन् । जब कि नयाँ पुस्तामा बहुपति प्रथाको कमजोरीलाई आधार मानेर विद्रोह गरिरहेका छन् । यो कुरा कलात्मकरुपमा जसरी बाहिर आउनुपर्दथ्यो । त्यो आउन सकेको छैन ।

त्यस्ता पात्रहरु भेट्नुभयो ?

नभेटी कसरी थाहा हुन्छ ? एकपल्ट म हुम्लामा थिएँ । महिला विकासमा काम गर्ने निमा लामा भन्ने बहिनीले बहुपति प्रथाको विरोध गर्दै फरक तरिकाले प्रेमविवाह गरेपछि त्यहाँको समाजले बहिष्कार गरेछ । उनी आश्रय खोज्दै सदरमुकाम आएकी रहिछन् । ठीक त्यहीबेला महिला विकासमा जागिर खुलेका कारण उनीहरु अहिले सदरमुकाममा टिकिरहेका छन् । गाउँ गाउँमा यस्ता कथा धेरै भेटिन्छन् ।

यात्रामा तपाईंले भेटेको अनौठो कुराचाहिँ के लाग्यो ?

कवि मन भएका कारण हुन सक्छ, हरेक नयाँ कुरा मलाई अनौठो लाग्छ । नेपालको संस्कृति उचाइ अनुसारको संस्कृति रहेछ । पहाडहरु जति अग्लिदै जान्छन्, संस्कृति पनि फरक हुँदै जाँदो रहेछ । यही कारण नेपालको हावापानी जति परिवर्तन हुँदै जान्छ, संस्कृति पनि फरक पर्दै जाँदोरहेछ । त्यही पनि मलाई अनौठो लागेको गाउँ भनेको ‘बामा’ नामको गाउँ हो । यो गाउँ ०४४ सालमा मात्र पत्ता लागेको रहेछ । चङ्खेली गाउँ दुईवटा हिमालको खोचमा भएकाले यो गाउँका मानिसलाई पनि हामी नेपाल देशका नागरिक भन्ने थाहा रहेनछ । नेपाल सरकारलाई पनि बामा भन्ने कुनै गाउँ छ भन्ने थाहा थिएन । तपाईं कल्पना गर्नुस् त, भिन्न संसार र संस्कारमा सयौं वर्षदेखि बसिरहेका मानिसलाई अचानक सरकारी प्रकृया पूरा गर्दा उनीहरुले कस्तो महसुस गर्छन् ? लेखनका लागि यो अनौठो विषय होइन ?

तपाईं धर्मको विरोधमा किन लेख्नुहुन्छ ?

कसैको आस्थामा चोट पुर्‍याउन मैले धर्मको विरोधमा लेखेको होइन । धर्मका नाममा जुन पाखण्ड छ, जुन राजनीति छ र शोषण छ, त्यसविरुद्ध लेख्ने गरेको हो । कुनै निश्चित नामधारी बाबाहरु, कुनै निश्चित सम्प्रदाय र कुनै निश्चित धर्मका आडम्बरले समाजलाई कति क्षति पुर्‍याएको छ, त्यो अध्ययन गर्ने हो भने यस्ता व्यक्तिहरुलाई सिधै जेल हाल्नुपर्ने अवस्था छ । मैले धर्मसम्बन्धी करिब ४–५ सय पुस्तक पढेँ हुँला । सुरुमा आस्थाले पढियो । तर, अध्ययन गर्दै जाँदा एक अर्कोमा यति कुरा बाझ्दै गयो कि मैले यस विषयमा नलेखी रहनै सकिनँ ।

फेरि पनि सरकारी पदको दुरुपयोगको प्रश्न । तपाईंले दर्जनाैं सम्मान पुरस्कार प्राप्त गर्नुभएको छ । यसमा धेरैले सरकारी प्रभाव भनेका छन् । यसमा के भन्नुहुन्छ ?

कुनै व्यक्तिले मैले पाएका पुरस्कार र सम्मान मेरो पदका कारण पाएको हो भन्ने प्रमाणित गर्छ भने म त्यो पद र पुरस्कार सार्वजनिक रुपमा तुरुन्तै त्याग गर्छु ।

तपाई धेरै विदेश यात्रा गर्ने कर्मचारीमा पनि पर्नुहुन्छ नि ?

विदेशस्थित दुतावासहरुको अडिट गर्न गइरहनुपर्छ । यो जागिरले दिएको अवसर हो । म काठमाडौं, जितपुरको स्थानीय बासिन्दा । बाउबाजेले केही सम्पत्ति जोडेका कारण बाहिरबाट राजधानीमा आएका कर्मचारीजस्तो काठमाडौंमा घरजग्गा जोड्नुपर्ने दबाव छैन । सन्तान विदेशमा भएका कारण पनि विदेश यात्रा गइरहन्छु । विदेशमा बसेका बखत दुई–चार पुस्तक लेखेका कारण यस्ता आरोप लागेका हुन सक्छन् । चर्चा त्यसकै हुन्छ, जसले अलिकति नाम कमाएको छ । बाहिर आएका यी कुराहरुप्रति मेरो कुनै गुनासो छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment