Comments Add Comment

नेकपाका ७ प्रदेशको अध्यक्षमा क–कसको नाम सिफारिस ?


७ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सात प्रदेशमध्ये २ वटा प्रदेश कमिटी अध्यक्षको टुंगो लागेको छ । अन्य पाँच प्रदेशमा अध्यक्षका आकांक्षी धेरै भएपछि सहमतिमा साझा नाम सिफारिस गर्न कार्यदल असफल भएका छन् ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको आन्तरिक परिपत्रमा प्रदेश कमिटी तथा जिल्ला कमिटीहरु एकीकरण गर्न बनेका कार्यदललाई सम्बन्धित कमिटीमा रहने सदस्य र नेतृत्व समेत सिफारिस गर्न निर्देशन दिइएको थियो । निर्देशन बमोजिम तलदेखि माथिसम्मका सबै कमिटी सहित प्रदेश नेतृत्वको नाम सिफारिस गर्नेमा प्रदेश ७ पहिलो बनेको छ ।

प्रदेश ७ को कार्यदलले जिल्ला कमिटी, जिल्ला सचिवालय, जिल्ला कार्याल, प्रदेश कमिटी, प्रदेश सचिवालय र प्रदेश कार्यालयको समेत एकीकरण गरेको छ । त्यस्तै प्रदेश अध्यक्षमा तत्कालिन एमालेका पोलिटव्युरो सदस्य कर्णवहादुर थापा र सचिवमा तत्कालिन माओवादीका लक्ष्मीप्रसाद जोशीको नाम सिफारिस गरेको छ ।

प्रदेश र मातहत कमिटी एकीकरणमा स्थायी कमिटी सदस्यद्धय भीम रावल र लेखराज भट्टले अभिभावकीय भूमिका निर्वाह गरेकाले सबै विषय सहज रुपमा समाधान भएको अध्यक्षमा प्रस्तावित नेता थापाले बताए । अब प्रदेश इन्चार्ज र सहइन्चार्ज पार्टी केन्द्रीय कमिटीले तय गर्नेछ । प्रदेश ७ का ९ मध्ये ५ जिल्लाको नेतृत्व तत्कालिन एमाले र ४ को नेतृत्व तत्कालिन माओवादीले गर्नेछन् ।

प्रदेश नेतृत्व सिफारिस गर्नेमा प्रदेश ५ पनि परेको छ । यद्यपि प्रदेश ५ को कार्यदलले भने अध्यक्षमा तत्कालिन एमाले र तत्कालिन माओवादीबाट एक एक जनाको नाम सिफारिस गरेको छ । प्रदेश बाँडफाँड गर्दा तत्कालिन एमालेले अध्यक्ष पाएमा दलवहादुर राना मगर र माओवादीले पाएमा गणेशमान पुन बन्ने समझदारी भएको कार्यदल सदस्य मणि थापाले बताए ।

उनका अनुसार प्रदेश कमिटी अध्यक्ष कसले पाउने भन्ने तय भएपछिमात्र सचिव तय गरिनेछ । प्रदेश कमिटी इन्चार्जमा घनश्याम भुसाल, छबिलाल विश्वकर्मा र मणी थापामध्ये एक हुनेछन् । यद्यपि इन्चार्ज कार्यकारी पद नभएकाले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पनि इच्छुक रहेको स्रोतको दाबी छ ।

प्रदेश ७ र ५ बाहेक अन्य प्रदेशले अध्यक्षको नाम सिफारिस गर्न सकेका छैनन् । कतिपय प्रदेश कार्यदलमा त अध्यक्षका आकांक्षीको बारेमा छलफल समेत भएको छैन ।

७ प्रदेशमध्ये तत्कालिन एमालेले ४ र माओवादीले ३ प्रदेशको नेतृत्व पाउने समझदारी यसअघि नै भइसकेको छ । जसमध्ये एमालेले प्रदेश १, ३, कर्णाली र ७ नम्बर प्रदेशको अध्यक्ष पाउने र माओवादीले २, ४ र ५ नम्बरको नेतृत्व पाउने सम्भावना छ । सोही समझदारी बमोजिम प्रदेश ७ को अध्यक्षमा तत्कालिन एमालेका नेता कर्ण थापाको मात्र नाम सिफारिस भएको छ ।

यस्ता छन् अध्यक्षका दाबेदार

प्रदेश १ को अध्यक्ष बन्न तत्कालिन एमालेबाट मात्रै करीव आधा दर्जन नेता आकांक्षी देखिएका छन् । जगन्नाथ खतिवडा, नरेश खरेल, घनेन्द्र बस्नेत, देवराज घिमिरे, राजेन्द्र राई, राजेन्द्र गौतम प्रदेश कमिटी अध्यक्षका आकांक्षी छन् । खतिवडा लगातार दुई पटक केन्द्रीय सदस्य र पोलिटव्युरो सदस्य भइसकेका र हाल संसदीय जिम्मेवारीमा पनि नरहेका सिनियर नेता हुन् ।

नरेश खरेल केपी ओलीसँगै झापा क्रान्तिमा लागेका र २०३५ सालको नख्खु जेल ब्रेकका नेता हुन् । देवराज घिमिरे ओलीको सचिवालयमा थिए भने राजेन्द्र गौतम रक्षामन्त्री ईश्वर पोखरेल निकट नेता हुन् । राजेन्द्र राई अनेरास्ववियुका पूर्व अध्यक्ष तथा प्रदेशसभा सदस्य हुन् भने घनेन्द्र बस्नेत पुराना नेता हुन् ।

यो प्रदेशको नेतृत्वमा माओवादीले दावी गरेको छैन । माओवादीतर्फबाट सचिवका लागि सावित्रीकुमार काफ्ले, टंक आङबुहाङ, सुदन किराती लगायतका नेता दाबेदार छन् । प्रदेश कमिटी इन्चार्जमा भीम आचार्य, राम कार्कीमध्ये एकको सम्भावना छ ।

प्रदेश २ को अध्यक्षमा तत्कालिन माओवादीबाट विश्वनाथ साह र प्रभु साह प्रबल दाबेदारका रुपमा देखिएका छन् । प्रदेश एकीकरण कार्यदलमा समेत रहेका दुई मध्ये एकले अध्यक्ष पाउनेछन् । तत्कालिन एमालेबाट अध्यक्ष पाउने अवस्था हुँदा नागेन्द्र चौधरी र सत्रुघन महतो दाबेदार हुन् । तर, यो प्रदेशको अध्यक्ष माओवादीबाट बन्ने भएकाले इन्चार्जमा सत्यनानारायण मण्डलको सम्भावना छ ।

प्रदेश ३ बाट अध्यक्षमा निवर्तमान कानुनमन्त्री शेरवहादुर तामाङ दाबेदार देखिएका छन् । नेकपा एमालेबाट दुई पटक केन्द्रीय सदस्य भइसकेका तामाङसँगै काशिनाथ अधिकारी, कृष्णगोपाल श्रेष्ठदेखि आनन्द पोखरेल लगायत पनि दावेदार छन् । यो प्रदेशको नेतृत्व तत्कालिन एमालेले पाउने समझदारी शीर्ष तहमा भए पनि तत्कालिन माओवादीका नेताहरु हितमान शाक्य, नारायण दाहाल, हितबहादुर तामाग पनि अध्यक्षमा इच्छा देखाएको नेताहरु बताउँछन् । प्रदेश ३ को इन्चार्ज भने अष्टलक्ष्मी शाक्य, अग्नि सापकोटा, हरिबोल गजुरेल, रघुजी पन्त लगायतमध्येबाट तोकिने सम्भावना छ ।

प्रदेश ४ को अध्यक्ष माओवादीले पाउँदा हरि अधिकारी प्रबल दाबेदारका रुपमा देखिएका छन् । उनी गोरखाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पनि हुन् । तत्कालिन एमालेका खगराज अधिकारी, तुलबहादुर गुरुङ लगायतका नेताको पनि चर्चा छ । प्रदेश ४ को इन्चार्जमा किरण गुरुङ र देवेन्द्र पौडेलमध्ये एक हुने सम्भावना छ ।

कर्णाली प्रदेशको जिल्ला र प्रदेश कमिटी बाँडफाँड टुंगिए पनि अध्यक्ष सचिवको टुंगो लागेको छैन । प्रदेश अध्यक्ष एमालेले पाउँदा यमलाल कँडेल प्रबल दाबेदार हुन् । तत्कालिन एमालेका पोलिटव्युरो सदस्य तथा कर्णाली प्रदेश सहसंयोजक कँडेल प्रदेश संसदीय दलको नेता पनि हुन् । उनी मुख्यमन्त्रीका दाबेदार थिए ।

अर्का दाबेदार प्रकाश ज्वाला प्रदेश सरकारका मन्त्री छन् । गोरखवहादुर बोगटी अर्का दाबेदार हुन् । यो प्रदेशबाट इन्चार्जमा जनार्दन शर्माको सम्भावना छ ।

नेकपाका महासचिव बिष्णु पौडेलले कार्यदलहरुबाट प्रतिवेदन पेश गर्ने अन्तिम म्याद आजसम्म रहेकाले त्यसपछि एकीकरणको प्राबिधिक विषयमा छलफल गरिने बताए । अहिले कुन प्रदेश कसले लिने भन्दा पनि व्यक्तिको योग्यता, क्षमता, आवश्यकता र बरिष्ठता लगायतका आधारमा नेतृत्व चयन गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment