Comments Add Comment

आमा

आमा !
तिम्रो याद आइरहन्छ बारम्बार
तरङ्गित बनिरहन्छ मन
झिल्मिझिल्मिल दोछायामा
तिम्रो स्नेहशील अनुहार
देख्छु म सिनेमाको दृश्यझैँ

आमा !
एघार वर्ष भो’
तिमी सशरीर अदृश्य भएको
यो संसाररूपी सागरबाट पर गएको
तर आमा !
तिम्रा मायालु ध्वनीहरू
स्नेहका अनेक स्पर्शहरू
असीम वात्सल्यका म्वाइहरू
जतिजति वर्ष बित्तै जान्छन्
त्यति नै ताजा हुँदै छन्
चिसो हिँउझैँ,तातो आगोझैँ
अनुभूतिको गहिराइ छोइरहने !

आमा !
तिमीले आफ्नो गाँस काटेर
हाम्रो जीवनसँग आफ्नो जीवन साटेर
दसौँ सन्तान हामीलाई
हुर्कायौ पीपल बनेर
निस्वार्थ, निर्लोभ, निविध्न
अपार माया दिएर

आमा !
थाहा छ मलाई
तिम्रो जीवनको इतिहास
तिम्रो अदम्य साहस
बारै वर्षमा जन्मघर छाडेर
कर्मघर सजाउन पुग्यौ
तिम्रो सुन्दर फूलबारीमा
हामी आयौँ पुतली बनेर
घुम्यौँ चारैतिर
डुल्यौँ फूलैफूल,
चुस्यौ रसैरस
भयौँ कृतार्थ, तिमी पाएर
आमा पाएर

आमा !
तिमी समय रहिछौँ
कुनै दिन तिमी थिइनौ
हामी थिएनौ
तिम्रा हाम्रा कोही थिएन, केही थिएन
अस्ति तिमी आयौ
समयको आँधीमा हुत्तिएर
हिजो हामी आयौँ
तिम्रो काखमा फूल बनेर
आज तिमी छैनौँ
हामी छौँ
सम्झना छ,
अनुभूति छ,
माया छ,
असीम वात्सल्यको
तातो याद छ
यद्यपि, यद्यपि, यद्यपि !!!
हामी भएर पनि अपुरा छौँ
खाली छौँ
बाँसको ढुङ्ग्रो झैँ
केही नअडिने
केवल आकार मात्र छौँ ।

आमा !
समय निठुरी हुँदोरहेछ
त्यो आफैँले आफैँलाई नपर्खने
कठोर कर्णहीन, लोचनहीन
आँधीको सहयात्री रहेछ
सधैं
उडाउँदै भत्काउँदै चारैतिर
डुलिरहने, डुलिरने, डुलिरहने !!!
असीम प्यारका खानी
हाम्रा आमाहरू खोसिरहने
त्यसैले म कराउँछु कहिलेकाही :-
ए समय !
बन्द गर् तेरो यात्रा !
फिर्ता गरिदे हाम्रा आमाहरू
फेरि भरियून्
वात्सल्यका कोटीकोटी काखहरू
खोलिदे तेरा पञ्जा
उम्कून् ती सिर्जनाका मूलहरू !
तर आमा !
त्यो (समय) निठुरी छ,
मजति कराऊँ, जति रोऊँ
त्यो झन् दृढ बन्दै जान्छ
र भन्दै जान्छ:
चुप गर् तेरो रोदन
“हेर, सृष्टिक्रम
हेर विजको जीवनचक्र”
म अवाक हुन्छु
हेर्छु बिरुवा
हेर्छु कोपिला
हेर्छु फूल
हेर्छु ग्रीष्म
हेर्दाहेर्दै ओइलाउँछ फूल
र्झछ जमिनमा
फेरि उम्रन्छ बिरुवा
सुरु हुन्छ त्यही उपक्रम
कोपिला, फूल र ग्रीष्म !

आमा !
आज म खोजिरहेछु तिमीलाई
आफैँभित्र
छामेर तिम्रा स्पर्शहरू
महसुस गरेर तिम्रो काखको न्यानो
सँगालेर तिम्रा अनुहारका भावहरू
स्मृतिको गहिरो सागरबाट
निकाल्दै तिम्रो सिङ्गो स्वरूप
र परिक्रमा गरिरहेछु तिमीलाई
असीम श्रद्धाले
अर्पण गरिरहेछु श्रद्धाञ्जलि
तिम्रो स्मृति दिवसमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment