८ भदौ, काठमाडौं । नेपालका राजनीतिक दलका नेताहरुले भारतीय पूर्व प्रधानमन्त्री स्वर्गीय अटल विहारी बाजपेयीलाई नेपालको महान मित्रको रुपमा स्मरण गरेका छन् ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बाजपेयीले नेपालसँगको मित्रतालाई विशेष महत्व दिएको स्मरण गरे ।
भारतीय पूर्व प्रधानमन्त्री स्वर्गीय बाजपेयीको स्मृतिमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री देउवाले बाजपेयीलाई नेपालको महान मित्रको रुपमा चित्रण गरे । उनले बाजपेयी नेपालको लागि आवश्यक सहयोग गर्न सधैं प्रतिवद्ध रहेको आफूले पाएको पनि उल्लेख गरे ।
प्रधानमन्त्रीको रुपमा आफूले बाजपेयीलाई सार्क शिखर सम्मेलनमा भेट गरेदेखि नै बाजपेयी नेपालका लागि सबै खालको सहयोग गर्न प्रतिवद्ध महान हृदय भएका नेताका रुपमा आफूले पाएको सभापति देउवाको भनाइ छ । सभापति देउवाले भारतीय पूर्व प्रधानमन्त्री बाजपेयीको कवि व्यक्तित्वबाट आफू प्रभावित भएको पनि बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नेपालले बाजपेयीले नेपालसँगको सम्बन्धलाई विशेष महत्व दिएको स्मरण गराए । उनले बाजपेयीको व्यक्तित्व अद्भूत रहेकाले त्यसको प्रभाव आफूमा किशोर अवस्थामा हुँदा नै परेको पनि बताए ।
भारतीय पूर्व प्रधानमन्त्री स्वर्गीय बाजपेयीलाई भारत र भारतीय जनताले ‘भारत रत्न’ र ‘एशियाका महान नेता’ को उपमा दिएका छन् । कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले बाजपेयीले छिमेकी नेपालसँगको सम्बन्धलाई दिनु भएको महत्वको चर्चा गरेका थिए ।












































