Comments Add Comment

एसियन गेम्सः पौडी पनि बनेन राष्ट्रिय कीर्तिमान, अरू खेलमा के भयो ?

थ्री बाइ थ्री बास्केटबलमा नेपाल (रातो) र सिरियाबीचको खेल

८ भदौ, काठमाडौं । इन्डोनेसियमा भइरहेको १८ औं एसियाली खेलकुदमा नेपालले पौडीमा राष्ट्रिय कीर्तिमान पनि बनाउन सकेन ।

नेपालबाट ४ खेलाडी सहभागी थिए । सबैको चुनौती समाप्त भइसकेको छ । चारै खेलाडी हिट चरणबाटै बाहिरिए ।

शुक्रबार ३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । गौरिका सिंह र टीसा शाक्य ५० मिटर फ्रिस्टायलमा क्रमशः २१ औं र २३ औं स्थानमा रहे । निर्धारित दूरी गौरिकाले २८.५० तथा टीसाले २९.६१ सेकेन्डमा पूरा गरे । ३१ खेलाडीले सहभागिता जनाएका थिए ।

पुरुष ५० मिटर ब्रेस्टस्ट्रोकमा नेपालका शुभम् श्रेष्ठ सहभागी ३६ मध्ये ३२ औं भए । उनले निर्धारित दूरी तय गर्न ३२.४५ सेकेन्ड समय खर्चे ।

शिरिषको स्पर्धा यसअघि नै सम्पन्न भइसकेको छ ।

रत्नजित र विकास पराजित

ब्याडमिन्टनको पुरुष सिंगल्समा रत्नजित तामाङ र विकास श्रेष्ठ शुक्रबार पराजित भएका छन् ।

रत्नजित दक्षिण कोरियाका खेलाडीसंग २१-८ र २१-११ तथा विकास जापानका खेलाडीसंग २१-९ र २१-१० को सोझो सेटमा पराजित भए ।

महिला डबल्समा नेपालका अमिता गिरी र रशिला महर्जनको जोडीलाई दक्षिण कोरियाली जोडीले २१-७ र २१-१ ले सहजै हराए ।

नेपालले शनिबार दुई स्पर्धामा प्रतिस्पर्धा गर्नेछ । महिला सिंगल्समा नेपालकी नङशल तामाङले जापान तथा पुरुष डबल्समा नेपालका विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडीले इन्डोनेसियाका खेलाडी विरुद्ध खेल्नेछन् ।

भलिबलमा पनि हार

पुरुष भलिबलमा नेपाल पराजित भएको छ । समूह ‘सी’ को लिगमा नेपाल दक्षिण कोरियासंग २५-१६, २५-१३ र २५-१४ को सोझो सेटमा पराजित भयो । नेपाल यसअघि चाइनिज ताइपेईंसं पनि ३-० को सोझो सेटमा पराजित भएको थियो । पुरुष भलिबलमा २० राष्ट्र सहाभागी छन् ।

स्पोर्ट क्लाइम्बिङमा पनि बाहिरियो

पालेम्वाङमा भएको स्पोर्ट क्लाइम्बिङको पुरुष बोल्डरिङको छनोट चरणमा नेपालका प्रणीलमान श्रेष्ठ र पेम्बा शेर्पा बाहिरिएका छन् । दुवै खेलाडी समग्रमा २१ औं स्थानमा रहे ।

यसअघि प्रणील र पेम्बा पुरुष स्पिड्स र पुरुष कम्बाइनको छनोट चरणबाटै बाहिरिएका थिए । अब नेपालले शनिबार पुरुष कम्बाइन लिडको छनोट चरणमा प्रतिस्पर्धा गर्नेछ ।

आर्चरीको मिक्स टिममा पराजय

आर्चरीको रिकर्भ मिक्स टिम इभेन्टमा नेपाल पराजित भएको छ । नेपाल किर्गिस्तानसंग ५-४ ले पराजित भयो । नेपालबाट तिलक पुन मगर र ज्ञानु अवालेले प्रतिस्पर्धा गरेका थिए ।

नेपालले शनिबार पुरुष रिकर्भ टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछ । नेपाली टिममा तिलक पुन मगर, रोशन नगरकोटी र मिनप्रसाद गौचन छन् ।

बास्केटबलमा नेपाल चौथो

पुरुष थ्री बाइ थ्री बास्केटबलको समूह चरणको खेलमा नेपाल चौथो भएको छ । ६ राष्ट्र सहभागी समूह ‘सी’ को खेलमा शुक्रबार नेपालले १ मा वाक ओभर, १ मा जित र १ मा हारको सामना गर्‍यो ।

नेपालले माल्दिभ्सबाट वाक ओभर पायो । नेपालले जोर्डनलाई २१-१० ले पराजित गर्‍यो । नेपालको जितमा आशिष बस्नेतले सर्वाधिक १३ अंक योगदान गरे । सिरिया विरुद्ध नेपाल २१-१९ ले पछि पर्‍यो । आशिषले नै सर्वाधिक स्कोर गर्ने क्रममा ९ अंक बटुले ।

त्यसअघि नेपाल कतार र जापानसंग पराजित भएको थियो । थ्री बाइ थ्रीअन्तर्गत महिलामा नेपालले शनिबार जापान र मंगोलिया विरुद्ध खेल्नेछ ।

फेन्सिङको फोइल टिममा पराजय

फेन्सिङतर्फ पुरुष फोइल टिममा नेपालले हार व्यहोरेको छ । नेपाल फिलिपिन्संग ४५-३ को फराकिलो अन्तरले पछि पर्‍यो । नेपालबाट राजनराज खड्का, महेशप्रसाद भाट, सन्जिप लामा र शेरसिंह ऐरीले खेलेका थिए ।

गल्फमा के भयो ?

गल्फको पुरुष व्यक्तिगत स्पर्धाको दोस्रो चरणसम्म नेपालका शुक्रबहादुर राई संयुक्त रुपमा ५५ औं स्थानमा छन् । ५५औं स्थानमा सिंगापुर, बंगलादेश र कतारका खेलाडी पनि छन् ।

टंक कार्की युएई, ब्रुनाइ र बंगलादेशका खेलाडीसंगै संयुक्त रुपमा ६२ औं स्थानमा छन् । यस्तै अजित विके ७४ औं स्थानमा छन् भने पृथ्वी मल्ल संयुक्त रुपमा ७८ औं स्थानमा छन्। ७८औं स्थानमा उज्वेकिस्तानका खेलाडी पनि छन् । यो स्पर्धामा ८७ खेलाडी सहभागी छन् ।

गल्फको पुरुष टिम इभेन्टमा नेपाल १७ औं स्थानमा छ । यो स्पर्धामा २० टिमले भाग लिएका छन् । गल्फ आइतबारसम्म जारी रहनेछ ।

बक्सिङमा संगीता पराजित

बक्सिङको पहिलो दिन एक नेपाली खेलाडीले मात्र प्रतिस्पर्धा गरिन् । महिला ५७ केजीमा नेपालकी संगीता सुनारलाई ५-० ले पराजित गर्दै थाइल्यान्डकी निलावान क्वाटरफाइनलमा प्रवेश गरिन् ।

बक्सिङमा नेपालबाट ५ पुरुष र ३ महिला गरी ८ खेलाडी सहभागी छन् । शनिबार तेजबहादुर देउवाले पुरुष ४९ केजी, भुपेन्द्र गुरुङले पुरुष ६४ केजी र पुनम रावलले महिला ६० केजीमा प्रतिस्पर्धा गर्नेछन् । बक्सिङ टोली थाइल्यान्डमा ४५ दिनको वैदेशिक प्रशिक्षणपछि त्यत्तैबाट एसियाडमा सहभागी हुन इन्डोनेसिया आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment