Comments Add Comment

मनोज गजुरेलको जनै अनुभवः कुहिनाबाट झरेर हैरान

हास्यव्यंग्य कलाकार मनोज गजुरेलले आज बिहानै गुहेश्वरी मन्दिरमा पुगेर जनै फेरे । १२ वर्षको उमेरमा व्रतवन्ध गरेका उनी हरेक जनै पूर्णिमामा नयाँ जनै धारण गर्छन् तर वर्षभरी त्यो जनै टिक्दैन ।

‘जनैका विषयमा म कट्टर छैन,’ गजुरेल भन्छन्, ‘सकेसम्म लगाउँछु, तर नियमभित्र भने बस्दिनँ ।’ गजुरेलले आफ्नो ‘जनै अनुभव’ अनलाइनखबरलाई यसरी सुनाएका छन्:

म धार्मिक परिवारमा हुर्केको हुँ । मेरो हजुरबुवा १ सय दुई वर्ष बाँचेर ३ वर्ष अगाडि बित्नुभयो । उहाँ एक ज्योतिष र पण्डित हुनुहुन्थ्यो । मृत्यू हुनुभन्दा एक महिना अगाडिसम्म पनि चिना बनाउँदै हुनुहुन्थ्यो । मेरो बुवा पनि पुरेत हुनुहुन्थ्यो, तर म सानै हुँदा बित्नुभयो ।
मेरो १२ वर्षको उमेरमा ब्रतवन्ध भएको हो । झापाको कन्काई माईमा योगी नरहरीनाथले गरेको कोटिहोमका क्रममा हजारौं बटुकहरुको ब्रतवन्ध गरिएको थियो । म पनि त्यसमा सामेल थिएँ ।

ब्रतवन्धपछि आफ्नो आचरणमा सामान्य बदलाव त आयो, तर कडिकडाउरुपमा कुनै नियम मानेर भने बसिनँ । जनै लगाउँथेँ, तर यसका नियमहरु खासै पालना गरिनँ । मेरो हजुरबुवाले पनि यसमा कुनै दवाव दिनु भएन । कुनै पनि धार्मिक मान्यता आफूले बुझेर मात्रै पालना गर्नुपर्छ, जबरजस्तिमा होइन भन्ने उहाँको विश्वास थियो । उहाँ आफू पूर्णरुपमा नियमभित्र रहनुहुन्थ्यो, तर मलाई त्यो थोपर्नुभएन ।

जनै लगाएको मान्छेले महिनावारी भएका महिलाहरुलाई छुनु हुँदैन भन्ने मान्यता अहिलेसम्म पनि गाउँघरमा छ । तर, मैले सानैदेखि यसलाई पालन गरिनँ । मेरो दृष्टिकोणमा यो मान्यता न विज्ञानसम्मत छ, न तकंसंगत । यो केवल एउटा अन्धविश्वास हो ।

गाउँमा हुँदासम्म मेरो शरीरबाट जनै उत्रिएको थिएन, तर काठमाडौ आएपछि यो क्रम टुट्यो । कहिले चुँडिएर जान्थ्यो । कहिले लुगा फुकाल्दा निस्किन्थ्यो । फेर्नलाई अर्को जनै हुन्नथ्यो । खोजी गरेर पनि लाइन्नथ्यो ।

तर, हरेक जनै पूर्णिमामा जनै फेर्छु । त्यसैगरी श्राद्ध तथा विभिन्न धार्मिक अनुष्ठानहरुमा पनि जनै लगाउनुपर्ने हुन्छ । यी कुराहरु पालना गर्छु । अरु बेला भने जनै आफूलाई अनिवार्य गरेको छैन । शरीरबाट आफैंले खोलेर फालेको पनि छैन । .

मेरो छोराको हकमा पनि मैले कुनै कुरा लाद्न चाहिँन । उसले पनि जनै पूर्णिमामा जनै फेर्छ । अरु बेला मतलब गर्दैन । लाउनैपर्छ वा लाउनै हुँदैन भन्ने कट्टरता मेरो परिवारमा छैन । जनैले एउटा झण्झट चाहिँ के हुन्छ, भने हातफ सर्ट वजा टिसर्ट लगाएको बेला बारम्बार कुहिनाबाट तल झरेर बाहिर देखिन्छ । नत्र अरु अप्ठेरो केही हुने होइन ।

व्रतवन्धको बेला सुनाइएको गायत्री मन्त्र म अहिले ध्यान गर्दा प्रयोग गर्छु । संस्कृतका अन्य मन्त्रहरु पनि मलाई धेरै याद छन् । सबै मन्त्रहरुमा सकारात्मक भावहरु हुन्छन् । तिनीहरुलाई बुझेर प्रयोग गर्नुपर्छ भन्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment