Comments Add Comment

बिमस्टेकमा उच्च सुरक्षा सतर्कताः हवाइ गस्तीदेखि साइबर सुरक्षासम्म

१२ भदौ, काठमाडौं । आगामी बिहीबार र शुक्रबार काठमाडौंमा हुन लागेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को शिखर सम्मेलनलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

सम्मलेनमा सहभागी हुने विशिष्ट पाहुनाहरुलाई लक्षित गरेर छुट्टै सुरक्षा रणनीति बनाएर गृह मन्त्रालयले सुरक्षा व्यवस्था मजबुत बनाएको हो । सम्मेलनलाई लक्षित गरेर बनाइएको सुरक्षा योजना अनुरुप सबै तयारी पूरा भएको समेत गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका उपसचिव एकराज अधिकारीका अनुसार भीआईपीको सुरक्षाका लागि नेपाली सेनाको नेतृत्वमा ४ वटै सुरक्षा निकाय परिचालित हुनेछन् ।

‘विशिष्ट पाहुनाको सुरक्षाका लागि भित्री तहमा नेपाली सेना खटिनेछ भने मध्यमा नेपाल प्रहरी रहनेछ’, अधिकारीले अनलाइनखबरसँग भने, ‘बाहिरी भागमा सशस्त्र प्रहरी रहनेछ ।’

उनका अनुसार सशस्त्रपछि राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर पनि रहनेछन् । उनीहरुले सूचना संकलन र सम्भावित खतराको विश्लेषण गर्नेछन् ।

त्यसका साथै भीआईपीको साथमै आएका पीएसओहरु पनि साथमै रहनेछन् ।

४ मुलुकका सुरक्षा अधिकारी काठमाडौंमा

स्रोतका अनुसार शिखर सम्मेलन सुरु हुन दुई दिन बाँकी रहँदा ४ वटा मुलुकका सुरक्षा अधिकारीहरु काठमाडौं आइसकेका छन् ।

गृह स्रोतका अनुसार भारत, म्यानमार, बंगलादेश र श्रृलंकाका सुरक्षा अधिकारीहरु काठमाडाँैं आइपुगेका हुन् ।

‘भारतबाट सेनाको १३ जना कमाण्डोको टोली आइतबार नै आइपुगेका हुन्’, गृहका एक अधिकारीले भने, ‘उनीहरु बुलेटप्रुफ कारसहित यहाँ आएका हुन् ।’

उनीहरुले काठमाडौंको सुरक्षा स्थितिको विश्लेषण र सुक्ष्म अध्ययन गरेर भारत सरकारलाई रिपोर्ट गर्नेछन् । चार मुलुकसहित अन्य देशका सुरक्षा अधिकारीहरु पनि आउने क्रम जारी छ ।

सेनाको हवाइ गस्ती

सम्मेलनका भीआईपी पाहुना काठमाडौंमा रहुञ्जेल नेपाली सेनाले हवाई गस्ती समेत गर्ने भएको छ ।

‘नेपाली सेनाको नेतृत्वमा सबै सुरक्षा निकाय भीआईपीहरुको सुरक्षाका लागि खटिनेछन्’, नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले अनलाइनखबरसँग भने, ‘उहाँहरु रहुञ्जेल आवश्यकता अनुसार हवाइ गस्ती पनि गरिनेछ ।’

भण्डारीले नेपाली सेनाको तर्फको सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको बताए । उनले सबै सुरक्षा निकायसँगको समन्वयमा सुरक्षा प्रदान गर्ने बताए ।

नेपाल प्रहरीका डिआईजी मनोज नेउपाने विमस्टेकमा जनपथ प्रहरीतर्फबाट पनि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताउँदै उच्च तहको सुरक्षा प्रदान गरिने बताउँछन् । स्रोतका अनुसार सम्मेलनको सुरक्षाका लागि १८ हजार बढी सुरक्षाकर्मी खटिनेछन् ।

नेपाली सेनाबाट ५ हजार, जनपथ प्रहरीबाट ९ हजार ७ सय, सशस्त्र प्रहरीबाट २ हजार ५ सय र राष्ट्रिय अनुसन्धान विभागबाट १ हजार प्रहरी सम्मेलनको सुरक्षार्थ खटिने स्रोतको भनाइ छ ।

प्रहरी प्रधान कार्यालय ।

नाका र होटलमा निगरानी

बिमस्टेक सम्मेलन नजिकिँदै गर्दा प्रहरीले उपत्यका छिर्ने नाकाहरुमा पनि विशेष निगरानी गरेको छ ।

मुख्य नाका नागढुंगासहित साँखु, जगाती, बालाजु, दक्षिणकाली र टोखामा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

ती क्षेत्रहरुमा सादा पोशाकका सुरक्षाकर्मीहरु खटाइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

प्रहरीले काठमाडौंका होटलहरुमा पनि निगरानी बढाएको छ । होटलमा बस्ने ग्राहकको सम्पूर्ण विवरणहरु फोटोसहित लिएर मात्र बस्न दिन प्रहरीले होटल सञ्चालकलाई निर्देशन दिएको छ ।

साइबर सुरक्षामा सतर्कता

बिमस्टेक सम्मेलनलाई लक्षित गर्दै गृह मन्त्रालयले साइबर सुरक्षा पनि विशेष सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

स्रोतका अनुसार नेपाल टेलिकम, एनसेलसहितका अन्य दुरसंचार कम्पनीहरुलाई फायरवाल बजबुत बनाउन समेत भनिएको छ ।

त्यस्तै, सरकारी वेवसाइटहरुको सुरक्षाका लागि सेवाप्रदायकसँग समन्वय भइरहेको गृह स्रोतको भनाइ छ । ‘विशेष गरी परर्राष्ट्र मन्त्रालयको वेवसाइटलाई सेक्यूड गर्ने काम भइरहेको छ’, स्रोतले भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment