१४ भदौ, विराटनगर । विराटनगरस्थित प्राइम सहकारी बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणले बचत गरेको करोडौं रुपैयाँ अपचलन गरेको भन्दै प्रबन्धकसहित ९ जनाविरुद्ध ठगी मुद्दा दर्ता भएको छ ।
सहकारीका प्रमुख विराटनगरका ६८ वर्षका इन्द्रलाल श्रेष्ठ, प्रबन्धक तथा सचिव विराटनगरका ३४ वर्षका ईश्वर श्रेष्ठ र उपाध्यक्ष विराटनगर ३ का ४० वर्षका विष्णुप्रसाद सुवेदीसहित ९ जनाविरुद्ध बिहीबार जिल्ला अदालतमा ठगी मुद्दा दर्ता भएको हो ।
प्रहरीले ठगी आरोपमा अनुसन्धान गर्न तीन जनालाई पक्राउ गरिसकेको छ भने अन्य ६ जना फरार रहेका छन् । सरकारी वकिलको कार्यालयले पक्राउ परेका तीन जनासहित अन्य ९ जनाविरुद्ध मुद्दा दायर गरेको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।
लामो समयदेखि विराटनगर-९ बाटारोडमा सञ्चालनमा रहेको सहकारीले २ सय ६८ जना बचतकर्ताको जाहेरीमा ३ करोड ९७ लाख ९५ हजार ३ सय ३३ रुपैयाँ बिगो माग दाबी गर्दै जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए ।
सहकारीमा एक जना बचतकर्ताले २२ लाख रुपैयाँ भन्दा बढी जम्मा गरेको पाइएको छ ।
प्रतिक्रिया 4