Comments Add Comment

छोडपत्र गरेको श्रीमानसँग सहवास हुन थाल्यो, के गरौं ?

करुणाजी, म ३१ वर्षीय एकल महिला हुँ । मैले २४ वर्षको उमेरमा एकजना सञ्चारकर्मीसँग विवाह गरेकी थिएँ । डेढ वर्षपछि नै हाम्रो सम्बन्धमा विभिन्न समस्या आउन थाल्यो । हाम्रो सम्बन्ध बिग्रनुमा श्रीमान्को मात्र गल्ती थियो भन्ने होइन । यही कारण सम्बन्ध सुधार्न सकिन्छ कि भनेर हामीले निकै प्रयास पनि गर्‍याैं । तैपनि हामी दुईको विचारधारा, जीवनशैली एवं उठबस मिल्दै नमिलेपछि सहमतिमै अलग हुने निर्णय गर्‍याैं । पाँच वर्षअघि हामीले विधिवत् पारपाचुके गर्‍याैं ।

मेरो समस्या अब सुरु भएको छ । एक वर्षयता बेलाबेलामा हाम्रो भेट हुन्छ । हामीबीच शारीरिक सम्बन्धसमेत हुन थालेको छ । म दोहोर्‍याएर जीवनलाई त्यही मार्गमा हिँडाउन चाहन्न । मलाई आप्mना पूर्वश्रीमान् अर्को सम्बन्धमा छन् भन्ने कुरा पनि थाहा छ । यति हुँदाहुँदै पनि मैले आफूलाई उनको प्रेम र यौनसम्बन्धबाट मुक्त गर्न सकेकी छैन । वास्तवमा मेरै आग्रहमा उनी मसँग भेटघाट गर्न आउँछन्, मेरा समस्या समाधान गर्न सघाउँछन् । उनीसँग सम्बन्ध सुरु भएयता पुराना केही अप्ठ्यारा पनि समाधान भएका छन् ।

तर, पारपाचुकेपछि पुनः पहिलेजस्तै जीवन सुरु गर्नु सहज हुँदो रहेनछ । समाजमा कुनै बेला उनलाई मैले खराब भन्दै हिँडेकै हुँ । उनले पनि मलाई आफ्ना सञ्चारकर्मी मित्रलाई गलत भएकी कारण मैले पारपाचुके गरेँ भन्ने गरेकै थिए । अहिले पुनः उनैलाई राम्रो भन्न गाह«ो हुनु स्वाभाविक हो । जब उनी जान्छन्, तब मलाई मैले यही मानिसँग किन त्यही कुरा दोहोर्‍याइरहेकी छु भनेर ग्लानि हुन्छ । म यो सम्बन्धबाट उम्कन चाहन्छु तर समर्थ हुन सकिरहेकी छैन । मैले के गर्दा राम्रो हुन्छ भन्ने उपाय बताइदिनुभए आभारी हुने थिएँ । के पुनः त्यही व्यक्तिसँग नयाँ जीवन सुरु गर्न मिल्छ ?

जतिसक्दो चाँडो टुङ्ग्याउनु राम्रो

तपाईंको समस्या आधुनिक पुस्तामा धेरै हुने समस्या मध्ये पर्दछ । केहीअघि यस्ता समस्या युरोप–अमेरिकामा मात्र देखिन्थ्यो । सञ्चारमाध्यमको सजिलो पहुँच, उच्च शिक्षा एवं आत्मनिर्भरताले महिला र पुरुषको फरक सोच बाहिर आउन सघायो । अहिले नेपालजस्ता मुलुकमा पनि महिलाहरू आफ्नो छुट्टै अस्तित्व स्वीकार गर्न थालेका छन् । महिलाहरू आत्मनिर्भर हुन थालेपछि घरमा हुने असमान व्यवहार, मन नमिलेको अवस्थाजस्ता कुरा महसुस हुनेबित्तिकै आफ्नो अस्तित्वको खोजी गर्न थाल्छन् । केही जोडीहरू फरक अस्तित्व स्वीकार गर्दै उनीहरूलाई थप सहयोग पुर्‍याउँछन् र प्रेम दरिलो बनाउँछन् । केही जोडीले भने अलग हुने निर्णय गर्छन् ।

नेपालजस्तो मुलुकमा महिलाहरूले अलग हुने निर्णण त्योबेला मात्रै गर्छन्, जब उनीहरू श्रीमान् वा परिवारसँग बस्नै नसक्ने अवस्थामा पुग्छन् । तपाईंको प्रश्न पढ्दा तपाईंहरू दुवै शिक्षित एवं आत्मनिर्भर हुनुहुन्छ भन्ने देखिन्छ । दुवैको मन नमिलेको, सँगै समस्याको समाधानको प्रयास गरेको र, अन्ततः छुट्टै बस्नु नै उपयुक्त भएको महसुस गर्दै पारपाचुके गरेकोजस्ता कुराबाट यी कुरा बुझ्न सकिन्छ । यसो गर्दा तपाईंहरूले धेरै समझदारी अपनाएको देखिन्छ । आवेशमा छुट्टिनेहरू पछि पछुताउँछन्, तपाईंहरू आवेशमा होइन, समझदारीमै छुट्टिनुभएको देखिन्छ ।

लामो समय अलग भएपछि पनि तपाईंहरूबीच पुनः सम्बन्ध कायम हुनु निश्चय नै चिन्ताको कुरा हो । मुख्यतः त्यो बेला जब तपाईंका पूर्व श्रीमान्को सम्बन्ध अरूसँग हुन थालेको कुरा स्वयं उनले नै बताइसकेपछि । तपाईं दुःखी हुनुको मुख्य कारण पनि त्यही हो । तपाईं अझै पनि उनलाई काल्पनिक प्रेम गर्नुहुन्छ । अथार्थ त्योभन्दा कठोर छ तर के गर्ने भनेर कन्फ्युज हुनुहुन्छ । उनी भने तपाईंलाई केवल सहानुभूति राख्छन् भन्ने तपाईंको प्रश्नबाटै बुझिन्छ ।

हिजो जुन समस्याबाट बच्न तपाईं श्रीमानबाट छुट्टिनुभएको थियो, त्यो समस्या अझै बढ्दै जाने देखिन्छ । यसलाई जतिसक्दो चाँडो टुङ्ग्याउनु नै तपाईंका लागि लाभदायी हुन्छ । जबसम्म यो बन्धनबाट मुक्त हुनुहुन्न तपाईंको नयाँ जीवन सुरु हुन सक्तैन । यसले तपाईंको नयाँ क्यारियरलाई मात्रै अवरोध गर्दैन, नयाँ सम्बन्ध पनि विस्तार हुन सक्तैन । नोस्टाल्जियामा बाँच्नु रमाइलो त होला, तर जीवनलाई अघि बढ्न मद्दत पुर्‍याउँदैन । ३१ वर्षको उमेर धेरै होइन । अझै तपाईंका अघि लामो जीवन बाँच्न बाँकी नै छ । एकपटक असफल भइसकेको जीवनतर्फ फर्केर हेर्नु भन्दा त्यसलाई सपना ठानेर अघि बढ्नु नै बुद्धिमानी हुन्छ ।

यसका लागि तपाईंले पूर्व श्रीमान्सँग हामी के कारणले अलग भयौं, त्यसको कारण खोतेलेर वास्तविक बुँदाबारे छलफल गर्न सक्नुपर्छ । ती बुँदाकै कारण तपाईंहरू अलग हुनु भयो भने अब फेरि यसरी नजिकिनु कुनै कारण छैन भन्ने निष्कर्ष फेरि पनि निस्कन्छ । त्यसपछि तपाईंहरू अब कहिल्यै नभेट्ने गरी अघि बढ्नुपर्छ । आफू कमजोर भएर उनलाई आफ्नो समस्याको समाधान खोज्न आग्रह गर्नुले तपाईंलाई थप कमजोर मात्र बनाउँदैन, थप शोषण हुने बाटो खोलिदिन्छ । यसले तपाईंलाई नयाँ बाटो खोज्न झन् ठूलो बाधा दिन्छ ।

तपाईंलाई आर्थिक एवं अन्य सहयोग परेको खण्डमा सहयोग गर्ने अरू पनि साथीभाइ, माइतीका सदस्य वा शुभेच्छुक हुन सक्छन् भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । यसले तपाईंलाई त्यो बन्धनबाट मुक्त हुन सहयोग गर्नेछ । तपाईं पढेलेखेकी महिला हुनुहुन्छ । पारपाचुके गर्ने निर्णय गर्दा पक्कै पनि तपाईंले जीवनलाई यसरी अघि बढाउँछु भन्ने सोच बनाउनुभएको थियो होला, अहिले त्यो सोचलाई कमजोर बन्न दिनुहुँदैन ।

तर, सत्यको पाटो अर्को पनि छ । प्रश्न अनुसार तपाईंको पूर्व श्रीमान् कुनै युवतीसँग सम्बन्धमा रहे पनि विवाह भइसकेको छैन । यस अर्थमा तपाईंहरू दुईबीच पुनःविवाह हुँदैन भन्ने कुरा के छ र ? यो सम्बन्धमा पनि विचार गर्न सकिन्छ । यद्यपि मैले भेटेका सयौं जोडीहरूमा यो पक्ष भने कमजोर रहेको पाएकी छु तर असम्भव भने छैन । एकपल्ट अन्तिम प्रयास भने गर्नुहोला ।

यति गर्दा पनि तपाईं त्यो बन्धनबाट मुक्त हुन सक्नुहुन्न भने एकपटक मनोविज्ञसँग परामर्श गर्नुहोला । तपाईंका पूर्वश्रीमानले तपाईंलाई साँच्चै नै सघाउन चाहन्छन् भने उनलाई पनि मनोविज्ञकहाँ लिएर जानु उपयुक्त हुन्छ ।

जे भए पनि अहिलेको जीवनबाट मुक्त हुनुहोस् र नयाँ जीवन सुरु गर्नुहोस्, अहिलेलाई मेरोतर्फबाट शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment