Comments Add Comment

इलेक्ट्रिक बसको ‘युग’ प्रारम्भ गर्न होडबाजी

१६ भदौ, काठमाडौं । नेपालमा हालसम्म विद्युतीय सार्वजनिक बस चलेका छैनन् । तर, पछिल्लो समयमा काठमाडौंमा विद्युतीय बस ल्याउन विभिन्न कम्पनीले तीव्र तयारी गरिरहेका छन् ।

मयुर यातायात, साझा यातायात, सुन्दर यातायात, गोर्खा इको लगायतका कम्पनीले यसका लागि गृहकार्य गरिरहेका छन् ।

शहरी क्षेत्रमा सानाको साटो ठूला बस सञ्चालन गर्दै निजी क्षेत्रलाई प्रोत्साहित गरेको साझाले नै हो । तर, अहिले विद्युतीय बसमा भने अन्य कम्पनी साझालाई उछिन्ने योजनाका साथ तयारीमा छन्, केही निजी कम्पनी ।

साझाले विद्युतीय बस भित्र्याउन सरकारी निकाय, विभिन्न गैरसरकारी र व्यावसायिक क्षेत्रसँग छलफल थालेको लामै समय भयो । तर, अहिलेसम्म साझाले विद्युतीय बस कहिलेसम्म ल्याउँछ भन्ने टुंगो लागेको छैन ।

साझा यातायात सञ्चालक समिति सदस्य तथा वातावरणविद् भुषण तुलाधरका अनुसार चिनियाँ बस निर्माता कम्पनी बीवाईडीबाट विद्युतीय बस ल्याएर सञ्चालन गर्नेबारे छलफल भएको छ ।

सन् २०१८भित्र इलेक्टि्रक बस ल्याउने योजना भएपनि लागत महँगो हुने भएकाले लगानी जुटाउन समस्या भएको छ । सरकारले तत्परता देखाए छिट्टै इलेक्ट्रिक बस ल्याएर चलाउन सकिने विश्वास साझाको छ ।

साझाले तयारी गर्दैगर्दा निजी क्षेत्र पनि अब विद्युतीय बसका किन्नकै लागि अघि बढेका छन् ।

पछिल्लोपटक सुन्दर यातायात प्रालिले विद्युतीय बस सञ्चालनमा ल्याउने बताएको छ । केही महिनाभित्र तीनवटा इलेक्ट्रिक बस ल्याएर सेवा थाल्ने योजनामा कम्पनी छ । पछि बस थपेर सेवा विस्तार गर्ने भनिएको छ ।

विद्युतीय बसका लागि चीनको सिचुवान गोहाङ अटोमोबाइलसँग सम्झौता भइसकेको कम्पनी बताउँछ ।

यस्तै गोर्खा इकोले पनि विद्युतीय बस ल्याउन प्रक्रिया थालिसकेको बताएको छ । तीन महिनाभित्र नै सेवा थाल्ने योजना कम्पनीको छ । कम्पनीले पहिलो चरणमा दुई वटा बस ल्याएर परीक्षण सञ्चालन गर्ने गृहकार्य भएको छ ।

गोर्खाले पनि चिनियाँ ब्राण्डकै बस ल्याउन लागेको छ । आउन लागेका बसहरु काठमाडौंभित्रै चलाउने योजना छ ।

यस्तै विद्युतीय बस ल्याउने लाइनमा मयुर यातायात पनि छ । पछिल्लो समयमा ठूला बसहरु ल्याएर सेवा दिइरहेको मयुरले विद्युतीय बस किन्न पनि प्रक्रिया अघि बढाइएको बताएको छ ।

मयुरले तत्कालै ४० वटा विद्युतीय बस ल्याउन गृहकार्य गरेको छ । त्यसका लागि बजेट छुट्याइसकेको कम्पनीका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए । दुई महिनाभित्रै सय वटा सार्वजनिक विद्युतीय बस ल्याइसक्ने श्रेष्ठ बताउँछन् ।

सबै कम्पनीले ल्याउन लागेका विद्युतीय बस ठूला आकारमा हुन् । ३५ देखि ४० सिट क्षमताका यि बसहरुभित्र आधुनिक प्रविधिबाट सुसज्जित गर्ने योजनामा कम्पनीहरु छन् ।

एलईडी टिभी, वाइफाई, जीपीएस लगायतका सुविधा राखेर यात्रुलाई सहज यात्रा गराउने दावी कम्पनीहरुको छ ।कम्पनीहरु आफैंले विद्युतीय बसका लागि चार्जिङ स्टेशनहरु बनाउदैछन् । कतिपयले हालै जग्गाको बन्दोबस्त गरेका छन् भने कतिपयले काम नै थालेका छन् ।

कम्पनीहरुले मात्रै हैन, लुम्बिनी विकास कोषले समेत पर्यटको प्रयोजनका लागि इलेक्ट्रोनिक्स बस भित्राउन प्रक्रिया अघि बढाएको छ ।

वातावरणीय दृष्टिले इलेक्टि्रक बस निकै महत्वपूर्ण मानिन्छन् । अहिले काठमाडौंमा गुड्ने अधिकांश सार्वजनिक बसले प्रदुषण मापदण्ड पूरा गरेका छैनन् ।

विद्युतीय बस धुवाँरहित हुने भएकाले तिनको प्रयोगबाट काठमाडौंको प्रदुषण एकतिहाइ कम हुने अध्ययनहरुले देखाएका छन् ।

प्रदुषणरहित शहरी वातावरणका लागि विद्युतीय बसलाई प्रोत्साहन काठमाडौं र ललितपुर महानगरको पनि योजना छ । यसका लागि साझालाई आवश्यक रकम दिन महानगरहरु तयार नै छन् ।

प्रदुषण करवापत सरकारले हाल इन्धनमा प्रतिलिटर ५० पैसा संकलन गरिरहेको छ । त्यसवापत कबिर पाँच अर्ब रुपैयाँ सरकारी कोषमा जम्मा भइसकेको छ । खर्च भने हुन सकेको छैन ।

उक्त रकमलाई सरकारले नगरपालिकामार्फत् लगानी गरेर विद्युतीय बस खरिदमा प्रोत्साहन गर्न सकिने साझा यातायातको सुझाव छ ।

अहिले भीआईपी सुविधासहितको विद्युतीय बसको मूल्य करिब दुई करोड रुपैयाँ पर्छ । सुरुमा महँगो पर्ने भए पनि मर्मत खर्च डिजेल गाडीको भन्दा निकै कम पर्ने वातावरणविद् तुलाधर बताउँछन् ।

‘ब्याट्रीमा १२ वर्षसम्मको ग्यारेन्टी पाइन थालेको छ । त्यसैले १०-१२ वर्षसम्म यो बसमा ठूलो खर्च लगाएर मर्मत नै गर्नुपर्दैन,’ तुलाधर भन्छन्, ‘यसले दिने फाइदा र सस्तो सञ्चालन खर्चका कारण यो निकै प्रभावकारी हुन्छ ।’

विस्तारै मुलुकमा विद्युतमा आत्मनिर्भरतातर्फ बढेको छ । र, पेट्रोलियम आयात कम गर्न पनि बिजुलीको खपत बढाउनु जरुरी हुनेछ । यसका लागि विद्युतीय बस बरदान सावित हुने विश्वास गरिएको छ ।

थुप्रै कम्पनी विद्युतीय बस ल्याउने तयारीमा रहेको बताउँदै गर्दा पहिलोपटक सुआत कसले गर्नेछ भन्ने हेर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment