+
+
Shares

पत्रपत्रिकाः गृहमन्त्रीको स्वेच्छाचारी कार्यशैली, सरकार रक्षात्मक

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १७ गते ७:३५

१७ भदौ, काठमाडौं । आइतबार काठमाडौंमा प्रकाशित पत्रिकाहरुमा फरक फरक समाचारले प्रमुख स्थान पाएका छन् ।

नागरिक दैनिकले विदेशी स्वार्थमा मुलुकी संहिता ल्याइएको मुख्य समाचार छ । उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका राममनोहर यादवको हिरासतमै मृत्यु भएको, कर्णाली सरकारको काम सुस्त रहेको लगायतका समाचारलाई नागरिकले पहिलो पृष्ठमा समेटेको छ ।

अन्नपूर्ण पोष्ट दैनिकले सात दिनमा ६ बलात्कार, अधिकांश आफन्तबाटै शीर्षकको समाचारलाई प्रमुख स्थान दिएको छ । नेकपाका नेता विदेश भ्रमणमा व्यस्त हुँदा पार्टीको कामकाज प्रभावित भएको समाचार पनि महत्वका साथ पहिलो पृष्ठमा प्रकाशित छ । नेताहरु माधवकुमार नेपाल र रक्षामन्त्रीसमेत रहेका नेता ईश्वर पोखरेल विदेशमा रहेको तथा नेकपा अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ विदेश जाने तयारीमा रहेको समाचारमा उल्लेख छ ।

कान्तिपुर दैनिकमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रसूतिगृहमा गर्भवतीको चाप थेग्न नसक्दा चिकित्सक हैरान भएको समाचार छ । ‘एकै बेडमा ३ गर्भवती’ शीर्षकको समाचारमा लेखिएअनुसार प्रतिष्ठानको प्रसूति विभागमा दैनिक क्षमता ३० जनाको मात्र छ । तर चौबीस घण्टामा ६० जनादेखि ८० जनासम्म प्रसूतिका लागि आउने गरेका छन् ।

यसैगरी विमस्टेक सम्मेलनमा समुद्रसँग पहाडलाई जोड्न पहल भएको, यति एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध भएको लगायतका समाचार पनि छन् ।

कान्तिपुरको दोस्रो पृष्ठमा सांसदले निजी काममा विदेश जाँदासमेत कूटनीतिक राहदानी अर्थात् रातो पासपोर्ट प्रयोग गर्न पाउने गरी कानुन बनाउन चलखेल थालेको समाचार पनि छ ।

कारोबार दैनिकमा नागरिक उड्डयन प्राधिकरणका कर्मचारीलाई ५९ करोड बोनस बाँड्ने प्रयास असफल भएको, बिमस्टेक ग्रीड कार्यान्वयनमा भारतकै भर पर्नुपरेको लगायतका समाचारहरु छन् ।

राजधानी दैनिकमा नेकपामा तल्लो तहका संगठन गठन नहुँदै सामानान्तर कमिटी सिफारिस भएको समाचार छ । एकताका लागि गठन भएको कार्यदलले विधि, प्रक्रिया मिच्दै निषेधको राजनीति गरेको भन्दै असन्तुष्ट पक्षले काठमाडौं जिल्लामा समानान्तर कमिटी सिफारिस भएको समाचारमा उल्लेख छ ।

सरकार रक्षात्मक

आइतबार प्रकाशित हुने हिमालनेपाल साप्ताहिकको मुख्य समाचार भने एउटै खालको छ । दुवै पत्रिकामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’को कार्यशैलीमा प्रश्न उठाइएको छ ।

नेपाल साप्ताहिकमा गृहमन्त्रीको स्वेच्छाचारी कार्यशैलीले सरकार रक्षात्मक बन्दै गएको समाचार छ । ‘स्वेच्छाचारी गतिविधि, अपरिपक्व नेतृत्व’ शीर्षकको विशेष समाचारमा गृहमन्त्री बादलले थुप्रै प्रचारात्मक काममा हात हालेर प्रचारमा आए पनि नतिजा भने शून्य रहेको उल्लेख छ ।

३३ किलो सुन काण्डको अनुसन्धान टुंगोमा नपुगेको, सिण्डिकेट भौतिक पूर्वाधार मन्त्रालयको भए पनि गृहमन्त्रीले हात हाल्दा अन्तर मन्त्रालय विवाद भएको, वन मन्त्रालयको अधिकार क्षेत्रमा रहेको प्रदूषण जाँच गर्नसमेत सडकमा ओर्लिएको लगायतका विषयमा आलोचनात्मक टिप्पणी नेपाल साप्ताहिकले गरेको छ ।

समाचारमा लेखिएअनुसार गृहमन्त्रीको गल्तीका शृङ्खला यत्तिमै रोकिँदैन । बीर अस्पतालका वरिष्ठ सर्जन भोजराज अधिकारीलाई मन्त्रालयमै बोलाएर गलत स्वास्थ्य रिपोर्ट बनाउन दबाव दिएको, पूर्वसहकर्मी विप्लव माओवादीका प्रवक्ता प्रकाण्डलाई सर्वोच्चले रिहा गर्न आदेश दिएलगत्तै पुनः पटक-पटक पक्राउ गरेको, बहिर्गमित लडाकू लेनिन विष्टलाई विदेश जान रोक लगाएको लगायतका विषय पनि उठान गरिएको छ ।

हिमाल साप्ताहिकले पनि देशमा कानुनी राजको प्रत्याभूति गराउने गृह मन्त्रालय विधि र व्यवस्थासँगै दुई तिहाइ बहुमतप्राप्त सरकारमाथि समेत संकट बन्न थालेको उल्लेख गरेको छ ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत समानुपातिक मत %
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?