१८ भदौ, काँकडभिट्टा । झापाको काँकडभिट्टास्थित रियाज मिनी क्यासिनोबाट हराएको ११ लाख ९३ हजार रुपैयाँसहित क्यासिनोकै एक कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-६ बस्ने मिलन श्रेष्ठ छन् ।
‘कम्प्युटरको सीपीयूभित्र रकम लुकाएर राखेको अवस्थामा मिलनलाई आइतबार पक्रेका छौं,’ जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी दिपेन्द्र कुमार बस्नेतले अनलाइनखबरसँग भने ।
मिलनलाई चोरी मुद्दाअन्तर्गत कारवाही अगाडि बढाइएको उनले जानकारी दिए ।
क्यासिनो खेल्न आउनेहरुले दिएको टिप्सलाई संकलन गरेर राखिएको रकम हो त्यो । हरेक दिन संकलित टिप्स एउटा बाकसमा जम्मा गरेर सीसीटिभीको निगरानीमा राख्ने र महिना मरेपछि क्यासिनोका कर्मचारीहरुले बाँड्ने गर्दथे । तर, अघिल्लो महिनाको रकम हराएको खबर पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
‘अनुसन्धानको क्रममा सीसीटीभीको तार चुँडाएको पाइएपछि चोरीमा प्राविधिक कर्मचारीहरुकै संलग्नता रहेको हाम्रो अनुमान थियो,’ डिएसपी श्रेष्ठले भने, ‘मिलन भन्ने त्यहीँकै कर्मचारीले आफ्नो कम्प्युटरको सीपीयूभित्र लुकाएर राखेको रहेछ ।’
प्रतिक्रिया 4