+
+

स्कुले विद्यार्थीलाई रकेट सिकाउने स्वयंसेवी अभियान

दिवाकर प्याकुरेल दिवाकर प्याकुरेल
२०७५ भदौ १८ गते ११:२७

गर्मी मौसमको एक दिउँसो । ललितपुरको भैँसेपाटीमा रहेको बालकुमारी प्राथमिक विद्यालयका विद्यार्थीहरू चार बजेको घण्टीको प्रतीक्षामा छन् । उनीहरूलाई कुन बेला घर जान पाइएला र आनन्द होला भन्ने छ । बिहान १० बजेदेखि उनीहरूले आठ जना ‘झ्याउँलाग्दा’ मास्टरहरूको अनुहार पालैपालो हेरिसकेका छन् । हरेक जना आउँछन्, किताब पल्टाउँछन्, केही वाक्य भट्याउँछन्, विद्यार्थीलाई यसो गर र उसो गर भनेर आदेश दिन्छन् अनि फर्कन्छन् । साँच्चै नै थकाइ लाग्ने दिनचर्या छ यी कलिला केटाकेटीको ।

अन्तिम घण्टी कुर्नेमध्ये कक्षा छ र सातका केही विद्यार्थीमा भने अर्कै खालको उत्साह छ । हुन त उनीहरू पनि कति बेला चार बज्ला भन्ने प्रतीक्षामा छन्, तर घर जाने कुनै हतारो छैन । कारण, उनीहरूले खोजेको रमाइलो विगत केही महिनादेखि स्कुलमा नै उपलब्ध हुँदै आएको छ ।

न्युटनको चाल सम्बन्धी तेस्रो नियमको प्रयोग गरेर उनीहरूले एउटा रकेट बनाएका छन् । आज उनीहरूको रकेट उडाउने कार्यक्रम छ । त्यसैले आजको उनीहरूको प्रतीक्षा अन्य दिनको भन्दा व्यग्र छ ।

चार बजेको घण्टी बज्नासाथ उनीहरूको ‘कार्यशाला’ सुरु हुन्छ । प्रशिक्षक सुनिल थापाले पानीको बोतल, खोया, भिनेगर प्रयोग गरी सिसाकलमका खुट्टाले अड्याइएको रकेटबारे जानकारी दिन्छन् । बोतललाई अलिकति हल्लाउँछन् र उल्टो पारेर राख्छन् । अब एक छिनमा रकेट उड्ने बताउँदै उनी आफ्ना विद्यार्थीलाई एक छिन कुर्न लगाउँछन् ।

तर एक छिनसम्म पनि रकेट उड्दैन ।

थापाले थाहा पाइहाले कि खोयाको बिर्कोले राम्रोसँग काम गरेनछ अनि भिनेगर चुहिएछ । उनी बिर्कोलाई प्लास्टिकले बेरबार पार्छन् र फेरि पुरानै अवस्थामा राख्छन् । यस पटक भने करिब २० सेकेन्डभित्रै रकेट उड्छ । दुई तलामाथिको छानामा पुग्छ ।

विगत दुई महिनादेखि हप्ताका पाँच दिन, प्रतिदिन दुई घण्टा, यस्तै रमाइलोमा बित्दै छ यी छ बालक र चार बालिकाहरूको जिन्दगी ।

आफूलाई गैरसरकारी संस्थाका रूपमा विकास गर्न चाहाने ड्रिमक्याचर नेपाल नामको एक युवा समूहले यी विद्यार्थीका लागि नियमित ‘कार्यशाला’ चलाइरहेको छ ।

के हुन्छ त यो कार्यशालामा ?

कार्यशालामा हप्ताको दुई दिन विज्ञान, प्रविधि, इन्जिनियरिङ्, कला र गणितको सीपलाई संयुक्त रूपमा प्रयोग गर्न सिकाइन्छ, जसलाई ती विधाका अङ्ग्रेजी शब्दका सुरुका अक्षर मिलाएर ‘स्टिम’ भन्ने नाम दिइएको छ । बाँकी दुई दिन कम्प्युटर कक्षा हुन्छ । एक दिन कागज लगायत वरिपरि सहजै उपलब्ध हुने सामग्रीबाट विभिन्न कलात्मक सामग्री बनाउन सिकाइन्छ, जसलाई उनीहरूले ‘डु इट योरसेल्फ (डिआइवाई)’ भनेका छन् ।

समूहका संस्थापकमध्ये एक सुरज कार्कीका अनुसार आजका बालबालिकाको आवश्यकता तथा अपेक्षालाई परम्परागत शिक्षण विधिले सम्बोधन गर्न नसक्ने भएकाले उनीहरूले यो कार्यक्रम सुरु गरेका हुन् । त्यसैले विद्यार्थीहरूलाई शिक्षकले पढाउने नभई, आफैँ पढ्ने वातावरण दिनुपर्ने उनको भनाइ छ । त्यसका लागि हरेक सिकाइ क्रियाकलाप रमाइलो हुनु जरुरी छ ।

रकेट उडाउने क्रियाकलाप स्टिम सत्रको एउटा भाग हो । कम्प्युटर कक्षामा हाल ती विद्यार्थीहरू जाभा प्रोग्रामिङ् सिकिरहेका छन् । यो कुरा सामान्य नेपाली बालबालिकाका लागि त के दिनको अधिकांश समय कम्प्युटरमै बिताउने धेरैले पनि जानेका हुँदैनन् ।

“भर्खरै उनीहरूले जाभा स्क्रिप्ट प्रयोग गरी विभिन्न आकार र आकृति बनाउन सिकेका छन्,” प्रशिक्षक प्रतीक कार्की भन्छन्, “अब म तिनलाई कसरी अझ आकर्षक बनाउने भनेर सिकाउँदै छु ।” डिआइवाई अन्तर्गत अर्की प्रशिक्षक सृष्टि श्रेष्ठ भने फुट्न आँटेका चुरालाई प्रयोग गरेर कसरी ड्रिमक्याचर (एक प्रकारको सजावट सामग्र्री) बनाउन सकिन्छ भनेर सिकाउँदै छिन् । यदि बालबालिकाले यो सीपमा विशेष चासो देखाए भने भविष्यमा यसलाई व्यावसायिक बनाउन सक्ने उनको दाबी छ ।

‘प्रचारबाजी होइन’

यी बालबालिकाले बनाएको रकेट भोलि चन्द्रमामा पुग्ने खालको होइन । त्यसै गरी यहाँका एक विद्यार्थीले एउटा ड्रोनको नमुना तयार पारेका छन् । यो ड्रोन पनि भोलि आकाशमा उडिहाल्ने खालको होइन । भनेपछि यो सब प्रचारबाजी मात्र हो त ?

“हाम्रो कार्यशाला सकिएपछि यी विद्यार्थीहरू वैज्ञानिक बनेर निस्किन्छन् भनेर हामीले दाबी गरेकै छैनौँ । तर हामी भन्न चाहान्छौँ कि किताब पढाएको भरले विज्ञान पढाउन सकिँदैन । विज्ञान भनेको हाम्रो दैनिक जीवनसँग एकदमै गाँसिएको विषय हो र विद्यार्थीहरूले यसलाई जीवन र जगत्सँग नजोडेसम्म विज्ञान सिक्न सक्दैनन्,” कार्की प्रष्ट पार्छन् ।

“आज हामी विद्यार्थीलाई पाठ्यपुस्तकभित्र थुनेर राख्न सक्दैनौँ । भोलि बजारमा उपलब्ध हुने आकर्षक रोजगारीका अवसर सुनिश्चित गर्न ती पुस्तक पर्याप्त छैनन्,” उनी भन्छन्, “किताबै मात्र पढेका विद्यार्थी भोलि अदक्ष कामदारका रूपमा विकसित हुने सम्भावना रहन्छ र तिनीहरू जे काम पाइन्छ त्यही गर्न बाध्य हुन्छन् ।”

उनी अझै थप्छन्, “परम्परागत शिक्षण विधिले विद्यार्थीलाई आकर्षित गर्न छाडिसकेको छ । विद्यार्थी नियमित आऊन् अनि पढाइ पूरा गरेपछि मात्र स्कुल छाडून् भन्ने चाहना हो भने हामीले कक्षाकोठामा गर्ने क्रियाकलाप बदल्नुपर्छ ।”

यस कार्यक्रम गर्नुभन्दा अगाडि उनको समूहले यसै स्कुलमा एक सर्वेक्षण गरेको थियो । “त्यस बेला हामीले के पत्ता लगायौँ भने विद्यार्थीहरू आफूलाई पढाइने पाठबाट खुसी छैनन् । धेरै विद्यार्थीलाई कम्प्युटरमा खेलिने खेलबारे खुबै चासो रहेछ, तर ती कसरी बन्छन् भन्ने कुरा त परै जाओस्, तिनलाई कसरी खेल्ने भन्ने समेत थाहा रहेनछ ।”

कार्कीले नेपालको शैक्षिक क्षेत्रमा काम गर्न थालेको सात वर्ष भएको छ । यसबीचमा उनले करिब चार ओटा संस्था चाहारेका छन् । उनको समूहका अन्य साथीहरू पनि आ–आफ्ना क्षेत्रमा सक्रिय रूपमा काम गर्दै छन् । आफूले विगतका वर्षहरूमा सिकेका कुरालाई प्रयोग गरी आफूले देखेको सपना सामूहिक रूपमा पूरा गर्न समूह स्थापना गरेको उनीहरू बताउँछन् ।

यी युवाले चलाएको कार्यशालामा हाल सहभागी भइरहेका बालबालिका यो शैक्षिक वर्षको अन्त्यसम्म कार्यक्रममै रहन्छन् । त्यसपछि उनीहरूलाई कस्तो कार्यक्रम दिने वा नयाँ बालबालिकासँग काम गर्ने भन्ने निर्णय गरिनेछ । “तर यो कुनै निश्चित समय सीमा भएको ‘प्रोजक्ट’ भने होइन,” मुख्य प्रशिक्षक थापा भन्छन्, “हामी सकेसम्म लामो समयसम्म निरन्तरता दिनेछौँ । अझ यसलाई विस्तार पनि गर्ने छौँ ।”

लक्ष्य

थापाले आफ्नो कार्यक्रमलाई सकेसम्म लामो समयसम्म निरन्तरता दिने र विस्तार गर्ने बताउनुको कारण हो उनीहरूको लक्ष्य केही महिना वा वर्षमा एउटा स्कुलमा कार्यक्रम गरेर पूरा हुने खालको होइन ।

“हाम्रो अन्तिम लक्ष्य भनेको विद्यार्थीहरूलाई उनीहरूसँग भोलि उद्यमी बन्ने बाटो पनि छ भन्ने कुरा महसुस गराउनु हो । भोलि सबै जना जागिर खोज्दै हिँडेर हुँदैन नि । आखिर कोही न कोही न जागिर दिने मान्छे पनि बन्नुपर्छ,” कार्की भन्छन् ।

आज आफ्नो कार्यशालामा हुँदै आएका सबै गतिविधिले विद्यार्थीहरूलाई त्यसैतर्फ उन्मुख गराएको उनको दाबी छ ।

“नेपालका सबै विद्यालयले बुझून् कि उनीहरूले आज विद्यार्थीलाई दिइरहेको शिक्षा पूर्ण शिक्षा होइन । परम्परागत शिक्षण विधिले आजका विद्यार्थीलाई आकर्षित गर्न छाडिसकेको पनि उनीहरूले बुझ्नुपर्छ किनकि आजका धेरै विद्यार्थी भोलि जागिर खान होइन, जागिर सिर्जना गर्न चाहान्छन्,” उनको दाबी छ ।

यो समूहलाई थाहा छ कि यस्तो अभियानमा संलग्न उनीहरू मात्र एक्ला होइनन् । “हामीलाई थाहा छ धेरै संस्थाहरूले हाम्रोजस्तै काम गरिरहेका छन् । हामीलाई हामी अरूभन्दा फरक भनेर दाबी गर्नु पनि छैन । बरु हामीजस्तै अरू संस्था हुनु हाम्रा लागि खुसीको कुरा हो,” बालबालिकालाई सिकाउने कतिपय कुरा आफूले यस्तै अन्य संस्थाबाट जानेर आएको बताउँदै श्रेष्ठ भन्छिन्, “हामी उनीहरूसँग साझेदारी गर्न चाहान्छौँ । हामीले एकअर्कालाई प्रतिस्पर्धीका रूपमा हेर्नुहुन्न ।”

“हामी सँगै हिँड्यौँ भने हाम्रो सिर्जनात्मकता बढ्छ । हामीसँग धेरै स्रोत हुन्छन् । तर तिनका लागि थोरै खर्च गरे पुग्छ,” उनको तर्क छ ।

स्वयंसेवाले धान्ला त ?

यो समूहले गर्न खोजेको कामका लागि एकदमै धेरै स्रोतसाधन आवश्यक पर्ने देखिन्छ । हाल उनीहरूले गरेजस्तो कार्यक्रम एउटा स्कुलमै नियमित चलाउन पनि टन्नै पैसा लाग्छ । शिक्षाको मूल प्रवाहमै यस्तो विधि अपनाउनु त झन् अहिलेका लागि आकाशको फल नै हो । कुनै पनि गैरसरकारी संस्थाले सोच्न सक्ने कुरा होइन यो ।

आफ्नो समूहले यो कुरालाई राम्रोसँग बुझेको कार्कीको दाबी एक ठाउँमा छ, तर समूहले हाल गरिरहेकै क्रियाकलापका लागि पनि भरपर्दो आर्थिक स्रोत छैन । आफ्ना शुभचिन्तकबाट प्राप्त केही हजार रुपैयाँका भरमा कार्यक्रम चलिरहेको छ ।

“हामीलाई एक जनाले ३० हजार रुपैयाँ दिनुभएको छ । हाल अमेरिकामा रहेका एक साथीले आफ्ना चार ओटा पुराना ल्यापटप दिएका कारणले नै हाम्रा विद्यार्थीले कम्प्युटर प्रयोग गर्न पाएका छन् । एकदुई हजार रुपैयाँ दिनेहरू पनि छन्,” कार्की बताउँछन् । उनी आफैँले पनि यो कार्यक्रमका लागि २० हजार रुपैयाँ खर्च गरेका छन् ।

धेरै पैसा जुटाउनु आफ्नो ठाउँमा छ । हाल यो समूहको ध्यान भएको पैसा कसरी जोगाउने भन्ने कुरामा पनि छ । त्यसैले उनीहरूको हालसम्मको जम्मा खर्च ६० हजार रुपैयाँभन्दा तलै छ ।

मासिक खर्च १५देखि २० हजार हुने गरेको छ । “मुख्य प्रशिक्षक हप्ताको पाँचै दिन आउने र हरेक दिन दुई घण्टाभन्दा बढी नियमित काम गर्ने भएकाले हामी उनलाई नियमित तलब दिन्छौँ । तर यो पनि मासिक पाँच हजार रुपैयाँ मात्र हो,” कार्की भन्छन्, “बाँकी प्रशिक्षकहरू हप्ताको एक वा दुई दिन मात्र आउनुहुन्छ । उहाँहरूले बिना तलब काम गरिरहनुभएको छ ।”

त्यसभन्दा बाहेक सहभागी विद्यार्थीलाई खाजा खुवाउन महिनाको १० हजार रुपैयाँजति खर्च हुने गरेको छ । विद्यार्थीहरू दिउँसोभरि स्कुल बस्दा भोकाएको र थाकेको हुने हुनाले खाजा खर्च भने घटाउन नमिल्ने उनको भनाइ छ ।

आर्थिक स्रोत जुटाउनका लागि समूहले निकट भविष्यमै एउटा अभियान सञ्चालन गर्न लागेको छ । श्रेष्ठका अनुसार डिआइवाई कक्षामा बालबालिकाले बनाएका ड्रिमक्याचर, किरिङ् र कागजका सामग्रीलाई बेचेर पनि केही स्रोत जुटाउन सकिन्छ ।

“आगामी हिउँदमा चितवनका केही ठुला स्कुलका धनी बालबालिकाका लागि यस्ता सीप सिकाइदिन भनेर पनि हामीलाई प्रस्ताव प्राप्त भएको छ,” कार्की भन्छन्, “हामीले यसबाट पनि ५० हजारदेखि एक लाख रुपैयाँ जुटाउने उद्देश्य राखेका छौँ ।”

तत्कालै कुनै अन्तर्राष्ट्रिय संस्था तथा ठुला दाताका अगाडि हात पसार्ने चाहना समूहको छैन । यसका सदस्यहरूलाई के लाग्छ भने आफ्नो समुदायमा सकारात्मक परिवर्तन ल्याउने जिम्मेवारी उनीहरूकै हो । अनि यो जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गर्नेमा पनि उनीहरू ढुक्क छन् ।

“स्वयंसेवाले नै हाम्रो अभियान चल्छ भन्ने कुरामा म ढुक्क छु,” कार्कीले यसो भनिरहँदा थापा थप्छन्, “हाम्रो उद्देश्यप्रति हामी प्रतिबद्ध छौँ । हामीलाई साथ दिने साथीहरू हुनुहुन्छ । पैसाभन्दा ठुलो कुरा प्रतिबद्धता नै हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?