१८ भदौ, विराटनगर । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले ठेक्काको पेश्की लिएर समयमै काम नगर्ने ठेकेदार सांसद् भए पनि सरकारले नछाडने दृढता व्यक्त गरेका छन् । कानूनभन्दा माथि कोही पनि नहुने भन्दै उनले समयमै काम सकेर इमान्दारिता देखाउन निर्माण व्यवसायीहरुलाई आग्रह गरे ।
‘कानूनभन्दा माथि कोही छैन, काम नगर्ने ठेकेदार सांसद् नै भए पनि सरकारले छुट दिँदैन’, विराटनगर विमानस्थलमा सोमबार स्थानीय सञ्चारकर्मीसंग कुराकानी गर्दै मन्त्री महासेठले भने ।
उनले पप्पु कन्ष्ट्रक्सनको कामबारे संसदमा समेत कुरा उठेकाले सरकारले यसलाई गम्भीरतापूर्वक लिएको बताए । मन्त्री महासेठले पप्पु कन्ष्ट्रक्सन कम्पनीमा सांसद् हरिनारायण चौधरीले आफनो संलग्नता नरहेको बताए पनि यसबारे सरकारले छानबिन गर्ने प्रतिबद्धता जनाए ।
पप्पु कन्ष्ट्रक्सनले निर्माण गरेका अधिकांश आयोजनाको गुणस्तरमाथि प्रश्न उठेको छ । ठेकेदारबाट राजनीतिमा छिरेका हरिनारायण चौधरीले पप्पुको स्वामित्व कागजीरुपमा छाडेर छोरालाई हस्तान्तरण गरेका छन् ।
आयोजनाको ठेक्का लिएर समयमै काम नगर्ने केही ठेकेदारको बदमासीका कारण निर्माण क्षेत्र नै बदनाम भएको भन्दै उनले गल्ती गर्नेमाथि कारबाही गर्नुको विकल्प नभएको बताए ।
उनले समयमै काम नगर्ने मुलुक भरका १ सय ४२ ठेकेदार कम्पनीलाई १ करोडदेखि ५ करोडसम्म कार्वाही स्वरुप जरिवाना गरिएको जानकारी पनि उक्त अवसरमा दिए । त्यसैगरी यातायतको सेन्डिकेट हटाउन नचाहने २ सय ४५ कम्पनीको बैंक खाता रोकेर सम्पत्ति शुद्धीकरण आयोगले छानविन गरिरहेको बताए ।
प्रतिक्रिया 4