Comments Add Comment

नेपाल प्रहरीलार्इ एशियाकै उत्कृष्ट बनाउने आर्इजीपी खनालको दावी

१८ भदौ, वीरगञ्ज । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई एशियाकै उत्कृष्ट बनाउने प्रतिबद्धता गरेका छन् ।

नेपाल प्रहरी दक्षिण एशियाली स्तरमा उत्कृष्ट रहेको बताउँदै उनले अझै उत्कृष्ट बनाउने र अरु देशले अनुकरण गर्ने अवस्थामा पुर्‍याउने दावी गरे ।

वीरगञ्ज महानगरपालिकामा रहेको वडा प्रहरी कार्यालय बिर्ताको नवनिर्मित ५ तल्ले भवनको उद्घाटन समारोहमा आइजीपी खनालले जनताले अनुभूत गर्न सक्ने गरी शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएका छन् ।

अपराध नियन्त्रणसँगै बचेको समय सामाजिक अभियानमा लगाउनसमेत उनले प्रहरीलाई निर्देशन दिएका छन् ।

प्रहरी संगठनको कार्य सम्पादन उत्कृष्ट हुनुपर्ने बताउँदै महानिरीक्षक खनालले त्यसमा आम नागरिकको सहयोग र सहकार्यको आवश्यकता समेत औंल्याए । ‘जनताले शान्ति सुरक्षाको अनुभूति गरुन, न्याय पाउन भन्ने हाम्रो प्राथमिकता हो । सोचेको जस्तो उपलब्धी त भएको छैन,’ उनले भने, ‘आम जनताले प्रहरी प्रशासनको सेवा साह्रै राम्रो छ भन्ने अवस्थामा नआएसम्म राम्रो मान्न सकिन्न ।’

महानिरीक्षक खनालले अघि भने, ‘तीनै तहको सरकारसँग मिलेर शान्ति सुव्यवस्था कायम राख्न, जनताले अनुभूति गर्नेगरि न्याय सम्पादनमा सघाउन, समृद्ध मुलुक निर्माणमा प्रहरीसँगठन सरोकारवालासँग हातेमालो गर्दै अघि बढ्न तयार छ ।’

सबै स्थानीय तहसम्म प्रहरी युनिट पुर्‍याउने अभियानमा प्रहरी संगठन लागि परेको पनि उनले जानकारी दिए । ‘३३ वटा स्थानीय तहमा प्रहरी युनिट थिएन, त्यसमध्ये आधा भन्दा बढी स्थानीय तहमा युनिट स्थापना भईसकेको छ,’ महानिरीक्षक खनालले भने, ‘प्रहरी युनिट धेरै खडा गर्ने र धेरै प्रहरी भर्ना गरेर मात्रै पनि शान्ति सुव्यवस्था कायम हुने हैन । एकले अर्कोलाई सहयोग गरेर अघि बढ्नुपर्छ ।’

नयाँ मुलुकी संहिताले धेरै विषयहरुलाई अपराधको संज्ञा दिएकोले प्रहरी संगठन झनै जिम्मेवार भएर अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको उनको भनाइ छ ।

लुकेको इच्छा पूरा गर्न खोज्दा समस्या आउने गरेको बताउँदै प्रहरी महानिरीक्षक खनालले सबैको उद्देश्य समाज राम्रो बनाउने हो भने मिलेर अघि बढ्न कसैले नरोक्ने उनको भनाइ छ ।

महिला हिंसा, लागू औषधविरुद्ध सामाजिक अभियान सञ्चालन गर्न उनले मातहतका अधिकारीहरुलाई निर्देशन समेत दिए ।

यस्तो बन्यो वडा प्रहरी कार्यालयको भवन

वडा प्रहरी कार्यालय विर्ताको भवन साँघुरो र जीर्ण अवस्थामा पुगेपछि २०७२ साल मंसिर ८ गते सार्वजनिक खरिद ऐन २०६३ र नियमावली ६४ मा भएको व्यवस्था अनुसार प्रहरी प्रधान कार्यालय आवास तथा भौतिक परियोजना महाशाखाले भवन निर्माणका लागि ठेक्का आव्हान गरेको थियो ।

भण्डार थोटुङ्ग निर्माण सेवा वागबजार काठमाडौंले ठेक्का हात पार्न सफल भयो । २०७२ साल फागुन १६ गते भएको सम्झौता अनुसार निर्माण कम्पनीले मूल्य अभिवृद्धि करसहित २ करोड ५४ लाख २ सय ७२ रुपैयाँको लागतमा आरसीसी फ्रेम स्ट्रक्चर अवधारणामा पाँच तल्लो कार्यालय तथा ब्यारेक भवनको निर्माण गरिएको हो ।

भवनको भुइँ तल्लामा नागरिक सहायता कक्ष, अपराध अनुसन्धान तथा कारबाही शाखा, एटेच शौचालयसहित महिला तथा पुरुष हिरासत कक्ष तथा सेवाग्राहीका लागि महिला तथा पुरुष शौचालयको व्यवस्था छ ।

पहिलो तल्लामा कार्यालय प्रमुख कक्ष, आर्थिक प्रशासन शाखा, प्रशासन शाखा, हात हतियार भण्डारण कक्षा साथै महिला प्रहरी आवास रहेको छ । भवनको दोस्रो तल्लामा प्रहरी जवान आवास तथा डाइनिङ हलसहितको भान्छाको व्यवस्थापन गरिएको छ ।

तेस्रो तल्लामा प्रहरी हवल्दार तथा जुनियर प्रहरी अधिकृतको आवास, चौथो अर्थात अन्तिम तल्लामा कार्यालय प्रमुख आवासको व्यवस्था गरिएको छ ।

सबै कोठामा प्रयाप्त प्रकाश र हावाको उपयुक्त नापका आल्मुनियमका झ्यालहरु, भवनको बीच भागमा खुल्ला स्पेस, राखिएको छ भने प्यासेज तथा भर्‍याङमा मार्बल र भुइँमा टायल ओच्छयाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment