+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रदेश ५ ले भदौभित्रै प्रदेश प्रोफाइल ल्याउने

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १८ गते १७:०६

१८ भदौ, बुटवल । प्रदेश ५ का समग्र क्षेत्रको तथ्याङ्कसहितको जानकारीमूलक दस्तावेज (प्रदेश प्रोफाइल) निर्माणमा प्रदेश योजना आयोग जुटेको छ ।

प्रदेश सरकारले बनाउने नीति, कार्यक्रम र योजनाका लागि महत्वपूर्ण पक्ष तथ्याङ्क हुने भएकाले प्रदेशभित्रका १२ वटै जिल्लाका महत्वपूर्ण तथ्याङ्क समेटेर प्रोफाइल बनाउन थालिएको हो ।

प्रोफाइलमा प्रदेशका १२ जिल्ला, ५२ निर्वाचन क्षेत्र र १०९ स्थानीय तहका जनसंख्या, क्षेत्रफल, शिक्षा, स्वास्थ्य रोजगारी, भौतिक पूर्वाधार, उद्योग, ब्यापार, उत्पादन, पर्यटकीय क्षेत्र, कृषि, बैंक तथा वित्तीय संस्था, वन, आवासलगायतका विषयमा तथ्यपरक जानकारी समेटिने प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले जानकारी दिए ।

यसअघि गत चैतमा सात वटा प्रदेशमध्ये सबैभन्दा पहिला ‘स्थितिपत्र’ सार्वजनिक गरेको प्रदेश सरकारले स्थितिपत्रमा छुटेका तथ्याङ्कलाई प्रोफाइलमा समेट्न लागेको छ । प्रोफाइल बनाउन असारदेखि शुरु गरिएको र हालसम्म ९० प्रतिशत काम पूरा भएको योजना आयोगले जनाएको छ ।

प्रोफाइलमा स्थानीय, प्रदेश सभा र प्रतिनिधिसभा चुनावको नतिजा समेत समेट्ने तयारी छ । प्रोफाइल तयार गर्दा केन्द्रीय तथ्याङ्क विभाग, संघीय र प्रदेश मन्त्रालय, जिल्लागत कार्यालयहरु, स्थानीय तहहरुबाट तथ्याङ्क संकलनको काम पूरा भएको र त्यसको तालिकीकरण (टेबुलेसन) भइरहेकाो श्रेष्ठले जानकारी दिए ।

‘सबैतिरबाट आवश्यक जानकारी र तथ्याङ्क लिने काम सकेर टेबुलेसनको काम भइरहेको छ, भदौभित्रै प्रोफाइल तयार गरेर सार्वजनिक गर्छौं’ श्रेष्ठले भने, ‘स्थितिपत्र बनाउँदा पनि प्रदेश ५ पहिलो भएको थियो, प्रोफाइल बनाउने काममा पनि हामी पहिलो हुन्छौं ।’

प्रोफाइल तयार भएपछि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माण र वजेट विनियोजन तथा तिनको कार्यान्वयनसमेत प्रभावकारी हुने योजना आयोगको विश्वास छ ।

प्रोफाइल बनेपछि प्रदेशभित्रका १२ वटा जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहहरुको पूर्वाधार विकास, आर्थिक विकास, मानव विकास सूचकांक, आयस्रोत, प्राकृतिक सम्पदा आदि सबैको यथार्थ तस्वीर आउने त्यसको आधारमा योजना छनोट र वजेट विनियोजन वैज्ञानिक र न्यायोचित ढंगले गर्न सकिने प्रदेश योजना आयोगकी सदस्य पुष्पा भुसाल लुईंटेलले बताइन् ।

प्रदेश ५ का १२ मध्ये ६ जिल्ला तराईमा र ६ जिल्ला पहाडमा पर्छन् । १२ जिल्लाको २०६८ को जनगणना अनुसार ४४ लाख ९९ हजार जनसंख्या रहेको छ । राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रबाहेक प्रदेशको क्षेत्रफल १७ हजार ८ सय १० वर्गकिलोमिटर रहेको छ ।

मानव विकास प्रतिवेदन २०१४ अनुसार प्रदेशका जनताको प्रतिव्यक्ति आय ९ सय ५० अमेरिकी डलर रहेको छ । यो प्रदेशमा करिब एक चौथाई जनता निरपेक्ष गरिबीको रेखामुनि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?