१८ भदौ, पोखरा । सुदूरपश्चिमको साँस्कृतिक पर्व ‘गौरा पर्व’ सोमबार पोखरामा पनि मनाइएको छ । प्रदेश ७ को डडेलधुरा, बैतडी, दार्चुला, डोटी, बझाङ, अछाम, बाँके, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा मनाइने मौलिक पर्व ‘गौरा पर्व’ पोखरामा पनि हर्षोल्लासपूर्वक मनाइएको हो ।
गौरा पर्व मनाइने प्रदेश ७ का विभिन्न जिल्लाबाट पोखरा आई बसोबास गर्नेहरुको साझा संस्था सुदूरपश्चिमाञ्चल सम्पर्क एवम् विकास समाज पोखराद्वारा आयोजित कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमका साथ भोजन गराइएको थियो ।
कार्यक्रममा सहभागीहरुले आपसमा शुभकामना साटासाट गर्नुका साथै सुदूरपश्चिमको मौलिक नाच देउडा सामूहिक नाचेका थिए । उक्त अवसरमा सुदूरपश्चिमकै अर्को मौलिक ‘छलिया नृत्य’समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सहभागीलाई गौरा पर्वमा खाइने गरिएको मास, मस्याङ, सानो केराउ, गहुँ र गहत गरी ५ प्रकारको गेडागुडी मिसाएर पकाइएको ‘विरुडा’ खुवाइएको थियो ।
प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले संस्कृति सम्पत्ति भएको बताउँदै यसको संरक्षणमा सबै जुट्नुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘संस्कृति हाम्रो सम्पत्ति हो, पूर्वजले ठूलो संघर्ष गरेर शुरु गरे, अब यो जोगाउनु हामी सबै दायित्व हो, किनकी यो पर्यटनको अभिन्न अंग हो ।’ उनले गौरा पर्वले सुदूरपश्चिमलाई भावनात्मक रुपमा एकताबद्ध बनाउन भूमिका खेलेको बताए ।
सुदूरपश्चिमाञ्चल सम्पर्क एवम् विकास समाज पोखराका अध्यक्ष नारायणसिंह गुरुङले जहाँ भए पनि संस्कार र संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले पोखरामा सामूहिक गौरा पर्व मनाइएको बताए । उनले जन्मथलो बिर्सन नहुने बताउँदै जो जहाँ छ त्यहाँबाट जन्मथलोका लागि सकेको सहयोग गर्न आग्रहसमेत गरे ।
प्रतिक्रिया 4