Comments Add Comment

भरपेट खाएर मोटोपन घटाउने यस्तो छ उपाय

यो शीर्षक देखेर तपाईंलाई हाँस उठ्यो होला । किनभने, पेट चर्कनेगरी खाएरै धेरैजसो मोटोपनको समस्या खेपिरहेका छन् । मनलाग्दो खाना खाएपछि मोटोपन बढ्छ । मोटोपन बढेपछि के हुन्छ ? शरीर रोगहरुको घर बन्छ । कोलोस्टोर, मधुमेहदेखि उच्च रक्तचापसम्मले डेरा जमाउँछ ।

भुँडी पुट्ट बाहिर निस्केपछि शरीर पनि असुहाउँदिलो देखिन्छ । लुगा लगाएको राम्रो देखिदैन । हिँडडुल गर्न गाह्रो हुन्छ । सामान्य काम गर्दा पनि सास बढ्छ ।

अहिले धेरैजसो यस्तै समस्या खेपिरहेका छन्, मोटोपनको कारण ।

भुक्तभोगीहरुलाई थाहा छ, मोटाउन जति सजिलो छ, मोटोपन घटाउन त्यो भन्दा चार गुण बढी गाह्रो हुन्छ ।

मोटोपन कसरी घटाउने ? अहिले धेरैको टाउको दुखाईको विषय यही नै हो ।

जान्ने-बुझ्नेहरु भन्छन्, ‘मोटोपन घटाउनका लागि मुखमा ताल्चा ठोक्नुपर्छ ।’ खानाको कारण मोटाइने हो । खाना नै नखाएपछि कसरी मोटाउने ? उनीहरुको तर्क यस्तो हुन्छ । यस्तै तर्कमा विश्वास गर्नेहरु व्यापक रुपमा खानामा कटौती गर्छन् । खान मन लागेका कुरा खाँदैनन् । हरेक छाकमा गाँस घटाउँछन् । कतिले त छाक नै घटाउँछन् । दिनमा चार पटक खानेले दुई पटक खान्छन् । दुई पटक खानेले एक पटक खान्छन् ।

के खाना नखाएर मोटोपन घट्छ ?

जवाफ यस्तो हुनसक्छ, ‘खाना नखाएपछि मोटोपन घट्ने होइन, दुब्लोपन बढ्ने हो । मान्छे दुब्लो पातलो हुने हो ।’

दुब्लो पातलो हुनु र फिट एन्ड फाइन हुनु फरक हो । दुब्लो हुँदैमा कोही फिट हुन्छ भन्ने होइन । दुब्लो हुनु र स्लिम हुनु एकै होइन ।

साङ यो योञ्जन

मोटोपन नखाएर होइन, खाएर पो घटाउनुपर्छ ।

टन्न खाएर मोटोपन घटाउनुहोस्

मान्छेहरु भन्छन्, मोटोपन घटाउनका लागि खानेकुरा पनि घटाउनुपर्छ । तर, म भन्दै आएको छु, टन्न खाएर मोटोपन घटाउनुपर्छ ।

तर, यसमा एउटा सर्त छ ।

त्यस्तै खानेकुरा खानुपर्छ, जो शरीरले माग्छ । तपाईंको मन र मुखले मागेको कुरा खान थाल्नुभयो भने शरीरले धान्न सक्दैन । मनले माग्दैमा जतिपनि खानेकुरा, जे पनि खानेकुरा खाने होइन । खानेकुरा खाइरहँदा सोच्नुहोस् कि, यो मेरो शरीरका लागि हो ।
खानेकुरा शरीरको लागि हो भने भरपेट खाएर पनि फरक पर्नेवाला छैन । मैलें आफैंमा एउटा प्रयोग गरेको छु, मोटोपन घटाउने । नखाएर होइन, खाएर । म मजाले खाइरहेको छु र मेरो भुँडी पनि नरम हुँदै गएको छ । पेट ढुस्स फुल्ने, चाम्रो हुने समस्या छैन । यसका लागि मसँग केही तरिका छन् ।

यसमा लागि सलाद लगायत हरेक छाकमा केही कुरा मिलाउन जरुरी छ ।

तपाईंले आफ्नो खानेकुरामा धेरैभन्दा धेरैसलाद प्रयोग गर्नुहोस् । सलाद धेरैथरीका हुन्छन् । ननभेजमा पनि सलाद बनाउन सकिन्छ । मासुलाई उसिनेर सलाद बनाउने चलन छ । तर, हामीकहाँ ग्रीन सलाद बढी प्रचलित छ । काँचो खाने परिकारको सलाद हो यो । यसमा कांक्रा, मुला, चुकन्दर, गाँजर, बन्दा गोभी, सागपात मिलाउन सकिन्छ ।

हरेक विहान ब्रेकफास्टमा वा साँझ डिनरमा तपाई एक प्लेट सलाद खानुहोस् । सलाद खाएपछि त्यसले पाचन क्रियालाई सजिलो बनाइदिन्छ । यस्ता काँचो खानेकुरा पचाउन सजिलो हुन्छ । त्यसबाट कलेजोलाई कुनै भार पनि पर्दैन ।

जब भरपेट सलाद खानुहुन्छ, अरु कुरा खानमा मन जादैन । अब तपाईंको पेटमा जंकफूड लगायत अनावश्यक खानेकुरा अट्दैन । त्यसो भएपछि तपाईं स्वस्थ्य हुनुहुन्छ ।

मैले विगत केही समययता खानेकुराको रुपमा सलादको प्रयोग बढाएको छु । अहिले मेरो शरीरमा बेग्लै किसिमको हलुंगोपन अनुभव हुन थालेको छ । पेट नरम छ । भारीपन छैन ।

गाउँघरतिर गाई-बस्तुले सलाद खान्छ, शहरमा हामी जंकफूडले पेट भर्छौं । गाउँमा कांक्रा, फर्सी, इस्कुस, सागपात गाईलाई दिइन्छ । यता शहरियाहरु वेलामौकामा प्लेटभरी सलाद सजाएर खान्छन् । मुड चल्दा मात्र खाएर हुँदैन । नियमित रुपमा खानुपर्छ ।

हुन त म रेष्टुरेन्ट व्यवसायी हुँ । थरीथरीका परिकार बनाएर विक्री गर्छु । यी खानेकुराहरु पनि सन्तुलन मिलाएर खान जान्नुपर्छ । खान जान्यो भने, मोटोपन बढ्ने होइन घट्ने हुन्छ ।

कुनैपनि खानेकुरा अर्डर गर्दा त्यसमा सकेसम्म सन्तुलन मिलाउनुपर्छ । कुनै स्पाइसी खानेकुरा मगाउनुभयो भने थोरै सुप मगाउनुहोस् । त्यससँगै थोरै भेजिटेबल मगाउनुहोस् । सलाद मगाउनुहोस् । यी सबैथरी खानेकुरा मिलाएर खानुहोस् ।

खानेकुरा सेवन गर्दा न्युट्रेशनमा ध्यान दिनुहोस् । अर्थात पोषक तत्वमा । कुन खानेकुराबाट के पोषक तत्व मिल्छ भन्ने कुरा जान्नुभयो भने त्यही अनुसारको खानेकुरा मिलाउन सक्नुहुन्छ । यसरी शरीरलाई आवश्यक पोषक तत्व मिलाएर खाना खानुभयो भने तपाईंको शरीरमा अतिरिक्त बोसो जम्दैन । बोसो नजमेपछि मोटोपन बढ्ने कुरै हुँदैन ।

कार्बोहाइड्रेटका लागि चामल नै खानुपर्छ भन्ने छैन । यदी तपाईंले अर्को कुराबाट कार्बोहाइड्रेट पाउनुभयो चामल नै खानुपर्छ भन्ने छैन । अर्को कुरा मगाउनुहोस्, जसबाट प्रोटिन मिलोस् वा मिनरल्स मिलोस् ।

ठोस खानेकुरा जति खानुहुन्छ त्यो भन्दा बढी पेय पदार्थ पिउनुहोस् । जुस, सर्वत, दही, मोही, लस्सी, पानी पिउनुहोस् । बजारमा पाइने तयारी जुस भन्दा ताजा जुस पिउनुहोस् । घरमै कागती पानी मिसाएर सर्वत पिउनुहोस् ।

गाउँघरतिर आमाबुबाहरु तिर्खा लाग्नसाथ कागती पानी पिउँछन् । शहरका मान्छेहरु वियर वा कोक-फ्यान्टा खोज्छन् । कोक-फ्यान्टा, वियरले प्यास मेटाउने होइन, बरु शुद्ध पानी पिउनुहोस् ।

यसरी खानेकुराबाट पाइने पोषक तत्वको सन्तुलन मिलाउन जान्नुभयो भने तपाईंले भरपेट खाएर पनि मोटोपन घटाउन सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment