Comments Add Comment

भरतपुरका पार्टी प्यालेस र होटलमा दिनदिनै दर

२०, भदौं, चितवन । देशका शहरी क्षेत्रहरुमा तिजको रौनक पार्टी प्यालेस र होटलहरुमा केन्द्रित हुँदै गइरहेको छ । चितवन पनि यसबाट कसरी अछुतो रहन सक्थ्यो ? तीज आउन एक साता बाँकी रहँदा चितवनको भरतपुरका अधिकांश पार्टी प्यालेस र होटलहरु अग्रिम बुकिङ भइसकेका छन् ।

सबैभन्दा बढी बुकिङ भदौं २३ गते शनिवारका लागि छ । यस दिनमा कसैले नयाँ कार्यक्रम गर्न चाहे ठाउँ पाउन सक्ने अवस्था छैन । अनलाइनखबरले भरतपुरका केही पार्टी प्यालेसमा दर खाने कार्यक्रमका लागि ठाउँ उपलब्ध हुन्छ कि भनेर सोधेको प्रश्नमा अधिकांश पार्टी प्यालेसले बुकिङ भैसकेको बताए ।

विभिन्न महिला समूह, आमा समुह, सहकारी, संघसंस्था आदिले तीजअघि नै आलोपालो दर खाने कार्यक्रम गर्दै आएका छन् । जिल्लामा पार्टी प्यालेस खुल्ने क्रम बढेसँगै दर खाने कार्यक्रम पनि बढ्दै गएको छ । भरतपुर आसपास क्षेत्रमा मात्रैं दुई दर्जनभन्दा बढी पार्टी प्यालेस सञ्चालनमा छन् । कतिपय खुल्ने क्रममा छन् ।

भरतपुरको मलेवा पार्टी प्यालेस तीजको दर खाने कार्यक्रमका लागि भदौ २४ गतेसम्म बुकिङ भैसकेकोे छ । यस्तै, भरतपुर ७ मा रहेको होलिडे पार्टी प्यालेसले पनि २२ र २३ गतेसम्म नयाँ कार्यक्रम गर्न नसकिने जनाएको छ । पार्टी प्यालेसका सञ्चालक शिव कार्कीले दर खाने कार्यक्रमका लागि प्रि-बुकिङ भएको बताए ।

होलिडेकै जस्तो अवस्था छ, भरतपुरकै वेलकम पार्टी प्यालेसको पनि । सञ्चालक लालबहादुर थापाले भदौ २३ गतेसम्म नयाँ कार्यक्रम गर्न नसकिने बताए । उनले एक साता अघिदेखि नै दरका लागि बुकिङ भएको जानकारी दिए । पार्टी प्यालेसहरुले तीजका बेलामात्रैं लाखौं रकम कमाउने गरेका छन् ।

बढ्दो विकृति

तीजको अघिल्लो दिन राति दर खाने परम्परा भए पनि हिजोआज भने तीज आउनु १५ दिन अघिबाटै दर खान थालिन्छ । यस्तो संस्कृतिले हुनेखाने र हुँदा खानेहरुका बीचमा खाडल फराकिलो पार्दै छ ।

दाईभाईले दिदीबहिनीलाई घरबाट माइतमा लगेर दर खुवाउने, चेली र माइतीका बीचमा सुख-दुःख साटासाट गर्ने, गीतबाटै पीरब्यथाहरु पोख्ने तीजको मौलिक प्रचलन हो । तर, आधुनिकताको चेपुवामा परेर यसमा विकृति बढ्दै गएको महिला अभियन्ताहरुको धारणा छ ।

महिला अधिकारकर्मी तथा कवि सरिता तिवारी तीजका गीतमा पनि छाडापन बढ्दै गएको बताउँछिन् । उनी भन्छिन्, ‘पछिल्ला वर्षहरुमा तीज अझ भडि्कलो र खर्चिलो हुँदै गएको छ, धेरै पैसा खर्च गर्ने संस्कृति मौलाएको छ, जुन राम्रो होइन ।’

उनले पहिला पहिलाको तीज पर्वमा देखिएको सिर्जनशीलता अहिले मदैं गएको भन्दै चिन्ता व्यक्त गरिन् । पार्टी प्यालेस, रेडिमेड गीत र गरगहना प्रदर्शन तीजका पर्याय बन्दैछन् । चितवनमा पछिल्लो समयमा कतिपय मानिसहरुको अस्वभाविक आय वृद्धिका कारण कारण दैनिक दर खाने चलन पनि मौलाएको छ । संघ संस्थाहरुले समेत यसमा नै बल दिएका छन् ।

प्रशासनको निष्प्रभावी चेतावनी

जिल्लामा एक दशकअघि तीजको विकृति निकै बढेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी स्वर्गीय नरेन्द्रराज शर्माले सामाजिक सुधार ऐन २०३३ मा टेकेर भड्किला तीज गीत प्रतियोगिताहरु नगर्न, पुरस्कार नराख्न, पार्टी प्यालेसहरुमा भिडभाड नगर्न, गरगहना प्रदर्शन नगर्न सार्वजनिक सूचना जारी गरेका थिए । प्रजिअ शर्माको अभियान कडाईका साथ लागू भएपछि धेरैजसो पार्टी प्यालेसहरु झिंगा धपाएर बस्ने अवस्थामा पुगे भने, ठूला राशीका पुरस्कार राखेर प्रतियोगिता गर्ने आयोजकहरु चिल्लीबिल्ली भए । तीजका गीतहरु छायाङ्कन गर्ने, स्थानीय टेलिभिजनमा प्रसारण गर्ने क्रम पनि रोकियो । त्यो क्रम केही वर्षसम्म चल्यो ।

तर, पछिल्लो समयमा फेरि पुरानै विकृतिहरु फर्किएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले हरेक बर्ष सार्वजनिक सूचना जारी गरेर झारा टार्ने गरेको छ । अनुगमन पटक्कै गरेको देखिदैन । जिल्लाका होटल र पार्टी प्यालेसहरुले स्थानीय पत्रिकाहरुमा विज्ञापन नै दिएर तीजका कार्यक्रम गर्न अफर गरिरहेका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले तिजका कार्यक्रम नै नगर्नु भन्न नमिल्ने बताए । यद्यपि पार्टी प्यालेसहरुको अनुगमन गर्ने उनको भनाई छ ।

चितवनका प्रहरी प्रमुख एसपी सुशिलसिंह राठौरले तीजमा नाममा मौलाएको बिकृति रोक्न प्रहरी प्रशासनले कदम चाल्ने बताउँछन् । मर्यादाभित्र बसेर मौंलिक परम्पराहरुलाई जोगाउँदै चाडपर्व मनाउनुपर्नेमा अहिले छाडापन हावी भएको उनको भनाइ छ ।

‘हामी पार्टी प्यालेसहरुको पनि अनुगमन गर्छाैं,’ एसपी राठौरले भने, ‘पछिल्लो समयमा तिजको मौंलिक परम्परा र संस्कृतिमाथि नै धावा बोल्ने काम हुँदै आएकोले त्यसलाई रोक्न महिलाहरु पनि लाग्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment