Comments Add Comment

भुटानविरुद्ध नेपालको शानदार जित, सुनील बल चम्किए

२१ भदौ, बंगलादेश । साफ च्याम्पियनसिपमा नेपालले भुटानमाथि शानदार जित हात पारेको छ । समूह चरणको दोस्रो खेलमा भुटानविरुद्ध ४-० को जित निकालेको नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना कायमै छ ।

तर, बिहीबार नै भएको अर्को खेलमा बंगलादेशले पाकिस्तानलाई १-० ले पराजित गर्दै अन्तिम खेलमा घरेलु टोलीलाई हराउनै पर्ने दबाव नेपालमाथि थपिएको छ ।

राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा नेपालले भुटानलाई खेलभर दबावमा राखेको थियो । प्रशिक्षक बागोपाल महर्जनले सुनिल बललाई सुरुवाति ११ मा खेलाउँदा कप्तान विराज महर्जनसँगै भरत खवास र नवयुग श्रेष्ठलाई बेञ्चमा राखेका थिए ।

उनको त्यो राणनीति सफल देखियो । सुमनले एक गोल गरे भने दुई गोलमा उनको योगदान रहृयो । प्लेमेकरका रुपमा देखिएका उनको भूमिका मिडफिल्डमा पनि प्रभावकारी थियो ।

खेलमा अग्रता भने २१ औं मिनेटमा नै अनन्त तामाङको गोलबाट अग्रता लिएको थियो । उनले सुनिल बलले प्रहार गरेको कर्नरकिकमा गोल गरेका थिए । बाँकी तीन गोल भने दोस्रोमा भुटान १० खेलाडीमा सिमित भएपछि सम्भव भएको हो ।

भुटानी खेलाडी निमा वाङ्दीले निराजन खड्कालाई डी एरियामा फल गरेपछि नेपालले पेनाल्टी पायो भने वाङ्दीले दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड पाएर बाहिरिए । तर, स्ट्राइकर विमल घर्तीमगर पेनाल्टीमा चुके ।

उनको प्रहारलाई भुटानका गोलरक्षकले पञ्च गरेपनि रिवाउण्डमा आएको बललाई सुनीलले गोलमा परिणत गरे । सुनिलको यो राष्ट्रिय टिममा पहिलो गोल हो ।

खेलको ७७ औं मिनेटमा अञ्जन विष्टको ठाउँमा भरत खवास मैदान प्रवेश गरे । त्यसको दुई मिनेटपछि नै मैदानको मध्यभागबाट बल अघि बढाएका उनले एक्लो प्रयासमा गोल गर्द नेपाललाई ३-० को अग्रता दिलाए ।

भुटानलाई लगातार दबावमा राखेको नेपालले ८८ औं मिनेटमा चौथो गोल गर्‍यो । नेपालका लागि निराजन खड्काले हेड गोल गर्दै ४-० ले जिताए ।

नेपालले भुटानको पोस्टमा गरेका २८ प्रहारमा १३ प्रहार पोस्टको दिशामा थिए । भुटानको ८ प्रहारमा २ प्रहार मात्रै सही दिशामा थियो । खेलमा ६३ प्रतिशत समय बलमा नियन्त्रण बनाएको नेपालको भुटानको तुलनामा पास एक्युरेसी पनि राम्रो थियो ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आफ्नो योजना सफल भएको प्रतिक्रिया दिए । उनले भने, ‘हामीलाई जित्नै पर्ने दबाब थियो । पाकिस्तानसँग खेल्दा भएको गल्तीलाई सच्याएर खेल्यौं ।’

बिराजको कीर्तिमान

खेलको ८४औं मिनेटमा मैदानमा छिर्दै विराजले सर्वाधिक क्याप जित्ने खेलाडी बने । दिनेश राजवंशीको स्थानमा मैदानमा छिरेका उनले ६९ क्याप जित्दै नेपाली फुटबलमा रेकर्ड राख्न सफल भए ।

यसअघि उनले पाकिस्तानसँगकै खेलमा नेपालको सर्वाधिक क्याप खेल्ने राजुकाजी शाक्यको ६८ क्याप बराबरी गरेका थिए । भुटानसँगको खेलबाट राजुकाजीलाई विराजले उछिनेका हुन् ।

अन्तिम खेल जित्नै पर्ने दबाव

समूह चरणको अन्तिम खेलमा नेपालले शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । तर, बिहीबार पाकिस्तानलाई १-० ले हराएको बंगलादेशको ६ अंक भइसकेको छ ।

अर्कोतिर नेपाल समान ३ अंक जोडिसकेको पाकिस्तानले कमजोर टिम भुटानसँग खेल्नेछ । त्यसैले अघिल्लो चरणमा स्थान बनाउन अब नेपाललाई जित्नै पर्ने दबाव छ ।

मुख्य प्रशिक्षक महर्जनले अबको लक्ष्य बंगलादेशलाई पराजित गर्नु भएको बताए । ‘अब समूह चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशलाई पराजित गर्दै सेमिफाइनलमा पुग्ने हाम्रो लक्ष्य हो’ उनले भनेका छन्, ‘खेल निकै चुनौतिपूर्ण हुनेछ । तर, हामी जितको लागि खेल्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment