+
+

भुटानमाथि शानदार जितपछि प्रशिक्षकले भने : मेरो योजना काम लाग्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २२ गते १:३०

२१ भदौ, काठमाडौं । साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ४-० ले हराएपछि प्रशिक्षक बालगोपाल महर्जनले आफूले बनाएको योजनाले काम गरेको बताएका छन् ।

खेलपछि प्रतिक्रिया दिँदै उनले भने, ‘भुटानविरुद्ध मैले बनाएको योजना राम्रो भयो । खेलाडीहरुले मैले भनेजस्तो नै गरे । राम्रो मेहनत गरे । तालमेल देखियो ।’

पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएको नेपालले बिहीबार भुटानलाई खेलभर दबावमा राखेको थियो । प्रशिक्षक महर्जनले कप्तान विराज महर्जनसहित, नवयुग श्रेष्ठ र भरत खवासलाई सुरुवाती ११ मा नराखी ४-२-३-१ को शैलीमा खेलाएका थिए ।

भुटानविरुद्ध अनन्त तामाङ, सुनील बल, भरत खवास र निराजन खड्काले गोल गरे । खेलको २१ औं मिनेटमा नै अनन्तको गोलले अग्रता लिएको नेपालका लागि ७० औं मिनेटमा सुनिलले दोस्रो गोल गरेका थिए ।

भुटानी खेलाडी निमा वाङ्दीले निराजनलाई डी एरियामा फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । त्यससँगै वाङ्दीले दोहोरो पहेंलो कार्ड पाएपछि भुटान १० खेलाडीमा सीमित भएको थियो । विमल घर्तीमगरले पेनाल्टी सदुपयोग गर्न नसके पनि रिवाउण्डमा आएको बललाई सुनील बलले गोलमा परिणत गरेका थिए ।

त्यसपछि खेलको ७७ औं मिनेटमा अञ्जन विष्टको ठाउँमा मैदान छिरेका भरत खवासले त्यसको दुई मिनेटपछि सेन्टर नजिकैबाट एक्लै अगाडि बढाएको बललाई उत्कृष्ट प्रहार गर्दै नेपाललाई ३-० ले अघि पुर्‍याए ।

भुटानलाई लगातार दबावमा राखेको नेपालले ८८ औं मिनेटमा चौथो गोल गर्‍यो । नेपालका लागि ८८ औं मिनेटमा निराजन खड्काले गोल गरेर ४-० ले जिताए ।

नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार बंगलादेशसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?