+
+

काठमाडौंको भित्तामा घर बनाउँदै हुनुहुन्छ ? दुईचोटि सोच्नोस् !

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २४ गते १२:०४

२४ भदौ, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका-५ तुसालमा अवैज्ञानिक ल्याण्डपुलिङ गरियो । तर, डाँडाको एउटा भाग नै भासिएकाले त्यहाँका कम्तीमा १५ घरपरिवार विस्थापित भए । भासिने क्रम अझै बढ्ने खतरा छ । भिरालो जमीनमा प्लटिङ गरेर बस्ती बसाल्नु अहिले आएर अभिशाप सावित भएको छ ।

अव्यवस्थित सहरीकरणले निम्त्याउने अनेकन समस्यासँगै जथाभावी गरिने प्लटिङ र हाउजिङ निर्माणले काठमाडौंलाई व्यवस्थित हैन, जोखिमयुक्त बनाउँदैछ ।

बढ्दो जनघनत्वका कारण काठमाडौं उपत्यकाको मुख्य शहरी क्षेत्रमा खाली जमीन भेट्नै मुस्किल पर्न थालेको छ । एक त समथर स्थानमा घडेरी पाउन पनि मुस्किल, अनि भएका जमीनको मूल्य पनि छोइनसक्नु । जसरी पनि काठमाडौंमै घर बनाउने सपना देखेकाहरुलाई काँठ क्षेत्रको जमीन विकल्प बनेको छ ।

सर्वसाधारणको यही मानसिकता बुझेर भू-माफियाहरु काँठ क्षेत्रका भिरालो जमीनमा प्लटिङको धन्दा चलाइरहेका छन् । सरकारले खेतीयोग्य जमीनमा प्लटिङ गर्न रोक लगाएपछि भूमाफियाहरुको आँखा भिरालो जमीनतर्फ गएको हो । सिंगै पाखो नै किनेर त्यसमाथि डोजर चलाउने प्रवृत्ति रोकिएको छैन ।

खानी तथा भूगर्भ विभागमा निमित्त महानिर्देशक सोमनाथ सापकोटाका अनुसार टुुसालको विपद यही प्रवृत्तिको कारण जन्मिएको हो ।

काठमाडौंमा खाली जमीन सकिँदै जाँदा विना मापदण्ड वरपरका डाँडापाखा नै मासेर घर बनाउने चलन बढेको छ । कंक्रिटको जंगल छाडेर प्राकृतिक जंगलको छेउमा घर बनाउने सपना देख्नेहरुलाई यस्ता काँठ क्षेत्रका प्लटिङ बरदान जस्ता लाग्छन् । तर, बास्तविकता भने त्यस्तो छैन । यसरी गरिएका प्लटिङले काठमाडौंमा विपदको जोखिम निम्ताउने सम्भावना उच्च छ ।

प्लटिङका लागि माटो उपयुक्त हो/होइन भन्ने परीक्षणसमेत नगरी भौगर्भिक जोखिम हुने स्थानमा पनि ठूला-ठूला वस्तीहरु बसालिँदैछन् । यसले काठमाडौंमा भविष्यमा ठूलो विपद ल्याउनसक्ने सापकोटा बताउँछन् ।

किन भासिँदैछ बस्ती ?

काठमाडौं आसपासका क्षेत्रमा ओरालो र भिरालो क्षेत्रमा जमीन पुरेर घर बसाउनु जोखिमयुक्त हुने खानी तथा भूगर्भ विभागको ठहर छ । विभागका निमित्त महानिर्देशक सापकोटाका अनुसार यस्ता क्षेत्रका जमीनमा अधीक मात्रामा बालुवाको वर्चश्व छ ।

‘उपत्यका निर्माणका क्रममा विगतमा यी क्षेत्रमा खोलाले बगाएर ल्याएका बालुवाको बर्चश्व छ । काठमाडौं तालको अवस्थामा रहँदा यी क्षेत्र किनारका रुपमा थिए । जुन क्षेत्र बालुवाको कमजोर तहले ढाकिएको छ’, सापकोटा भन्छन् ।

केही हजार वर्षअघि काठमाडौं उपत्यका एउटा ताल थियो । ताल कटाएर बनाएको शहर भएकाले यहाँको माटो कमलो छ । ठाउँ अनुसार यहाँ माटोको बनोट फरक छ । काँठ क्षेत्रको माटो बढी संवेदशनशील छ । जग्गा प्लटिङका नाममा काटेर पुरिएको घँडेरीमा बनाइएका घर भूकम्पका बेलामा पनि उच्च जोखिममा हुन्छन् ।

भिरालो जमीन प्लटिङ सकेर बेच्नासाथ माथिल्लो भागमा घर निर्माण सुरु हुन्छ, जसका कारण खँदिलो नभएको पुरुवा माटोयुक्त जमीनमा चाप पर्छ । फलस्वरुप बालुवाभित्रको जमिन भासिन्छ र प्लटिङ क्षेत्र जोखिममा पर्छ

अहिले काँठ क्षेत्रका बालुवालाई काटेर सम्याइँदै बस्ती विकास गरिँदैछ । भिरालो जमीनमा पुरिएको बालुवा वर्षामा बगेर जाने समान्य प्रक्रिया यो क्षेत्रमा चलिरहेकै छ ।

‘अडिएर बसेका यस्ता सम्वेदनशील क्षेत्रका बालुवा चलाउँदा बगेर समथर क्षत्रेतर्फ जाने क्रम तीव्र हुन्छ, जसले भुक्षयको खतरा बढाउँछ’, सापकोटा भन्छन् ।

‘यसै पनि भिरालो जमीनमा घर बनाउनु उपयुक्त हुँदैन । त्यसमाथि भिरालो जमीनमा पुरुवा माटो नखाँदिएपछि त्यसले स्वाभाविक रुपमै जोखिम बढाउँछ’, सापकोटा भन्छन् ।उनका अनुसार माटो काटेर, पुरेर प्लटिङ गर्दा जमीन सम्याएजस्तो देखीए पनि पुरिएका भित्री भागमा खाली ठाउँ अर्थात भ्वाङ पर्छन् । माटो खाँदिएको हुँदैन । प्लटिङ सकेर बेच्नासाथ माथिल्लो भागमा घर निर्माण सुरु हुन्छ, जसका कारण खँदिलो नभएको पुरुवा माटोयुक्त जमीनमा चाप पर्छ । फलस्वरुप बालुवाभित्रको भ्पाङ पुरिने गरी जमिन भासिन्छ र प्लानिङ गरिएको प्लटिङ क्षेत्र जोखिममा पर्छ ।

काठमाडौंका काँठ क्षेत्रका पहाडको भित्री भागमा कडा चट्टान छन् । तर, त्यसमाथि कमजोर बालुवा छ, जसलाई दोहन गर्दा जतिबेला पनि बिपत्ति निम्तिने खतरा हुन्छ ।

भिरालोका घर, छैन भर

भूकम्पीय दृृष्टिले काठमाडौं विश्वकै बढी जोखिमयुक्त क्षेत्र हो । सरकारले समथर क्षेत्रमा बसेका वस्तीका घरहरुलाई त मापदण्डमा राख्न नसकेका बेला काँठ क्षेत्रका घरमाथि निगरानी राख्नसक्ने अवस्था छैन ।

जसका कारण भवन निर्माणका आधारभूत मापदण्ड समेत पालना नगरी भिरालो क्षेत्रमा बनेका घरहरुले भविष्यमा कस्तो विपत्ति निम्त्याउने हुन् भन्ने टुंगो छैन । वैज्ञानिक दृष्टिकोणले ३० डिग्रीभन्दा भिरालो र माटो बग्ने क्षेत्रमा घर बनाउन अनपयुक्त मानिन्छ ।

तर, काठमाडौंका थानकोट, सुन्दरीजल, फर्पिङ, सीतापाइला, नागार्जुन, रामकोट, बालाजु, टोखा, बूढानीलकण्ठ, साँखु, किर्तिपुर, मातातिर्थ लगायतका क्षेत्रमा भीरालो जमिनमा प्लटिङ गरेर बस्ती बसाउने काम भइरहेको छ ।

काठमाडौंबाहेक भक्तपुरका भिरालो क्षेत्रमा पनि डोजर चल्ने क्रम रोकिएको छैन । भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकासहित चाँगुनारायण, सूर्यविनायक, मध्यपुर थिमी, नगरकोटका भिरालो क्षेत्रमा प्लटिङ गरेेर बस्ती बसाउने क्रम बढ्दो छ ।

यस्ता स्थानमा घर बनाएका र घडेरी जोडेकाहरुलाई टुसालको घटनाले पक्कै पनि झस्काएको हुनुपर्छ ।

धेरै क्षेत्रमा भिरालो स्थानमै हाउजिङहरु बनाइएका छन् । यस्ता हाउजिङमा घर किनेर बसेकालाई पनि ठूलो वर्षा भएको रातमा निन्द्रा नै गायव हुने अवस्था छ ।

कतिपय स्थानमा ठूलो पहिरोको छेवैमा पनि हाउजिङ र प्लटिङहरु खडा गरिएका छन् । पहिरोको रोकथामका लागि खासै खर्च गरिएको छैन ।

सामान्यरुपमा पर्खाल उठाएर माटो भर्दै घरहरु बनाइएका छन् । यस्तो अवस्थाले भौगर्भिक रुपमा कमजोर रहेको काठमाडौं वरपरका डाँडापाखामा कतिबेला कस्तो विपत्ति निम्तिने हो, ठेगान नभएको विज्ञ बताउँछन् । उनीहरुका अनुसार यस्ता क्षेत्रमा सामान्य भूक्षयदेखि ठूलो पहिरो जाने जोखिम उच्च हुन्छ ।

काठमाडौंमा जनसंख्या बढ्दै जाँदा तीव्र दोहनको कारण भूमिगत पानीको सतह पनि कमजोर हुँदै गएको छ । यसका कारण पनि पहाडको फेदीसम्म नै पानीको तह घटेको छ । पानीको सतह जति मुनि जाँदैछ, त्यति नै काठमाडौंको भूगर्भ कमजोर हुँदैछ । यही कारण वस्तीहरु भासिने खतरा पनि उच्च हुँदै गएको छ ।

भूकम्पलगायतका ठूला विपत्तिका समयमा जमीन चर्किनेलगायतको समस्या निम्तन्छ । समान्य भूकम्प नआउँदै वस्ती क्षेत्रमा धाँजा फाट्नुले जोखिम कुन हदसम्म बढेको छ भन्ने प्रष्ट्याउने जनप्रतिनिधिहरु पनि स्वीकार्छन् । उनीहरुको भनाइमा भिरालो जमिनमा जथाभावी तवरले बसेका वस्तीहरु विपद कुरिरहेका छन् ।

कंक्रिटको जंगल बन्ने खतरा

काठमाडौं वरपरका महत्वपूर्ण डाँडापाखासमेत मास्दै बस्ती विकास गर्दा जलाधार क्षेत्र समेत मासिने खतरा पनि छ । पूर्वाधार विज्ञ सूर्यराज आचार्य वातावरणीय दृष्टिकोणले समेत भिरालो क्षेत्रमा बस्ती बसाउन अनपयुक्त हुने बताउँछन् ।

‘काँठ क्षेत्रमा रहेको हरियाली मास्दै गए उपत्यका कंक्रिटको जंगल बन्नेछ । यत्रो जनघनत्व भएको क्षेत्रमा वरपरको हरियाली नहुँदा भविष्यमा उपत्यकामा भूक्षयको खतरा बढ्छ । भिरालो जमिनमा बस्ती बसाउँदा खानेपानी, ढल, यातायातलगायतका आधारभूत पूर्वाधार पुर्‍याउन समेत कठिन हुन्छ,’ उनी भन्छन् ।

माटोको प्रकृति, जमीनको बनोट बस्तीका लागि उपयुक्त रहे/नरहेको अध्ययन गर्नुपर्ने भए पनि त्यो नगरी भू-माफियाहरुले जथाभावी डोजर चलाएर पाखो सम्याउँदै घडेरीमा परिणत गर्ने गरेका छन् ।

अनाधिकृत रुपमा जथाभावी भिरपाखा मास्ने प्रवृत्ति बढ्दै गर्दा काठमाडौंको सौन्दर्यसमेत कुरुप हुँदै गएको छ । भौगर्भिक अवस्था हेरेर सरकारले यस्तो अवैज्ञानिक वस्ती बसाल्ने रोक्नुपर्ने विज्ञ आचार्य बताउँछन ।

‘हिउँदमा प्लटिङ गरेर घर बनाउने चलन छ,’ उनी भन्छन्, ‘बर्खा लागेपछि जमिन भासिन थाल्छ । अनि बल्ल हाम्रो होस् खुल्छ ।’

भू-उपयोग नीति दराजमै

०७२ सालको महाभूकम्पपछि सरकारले राष्ट्रिय भू-उपयोग नीति जारी गरे पनि त्यसको कार्यान्वयन भएकै छैन । भूउपयोग नीतिमा कुन ठाउँको जमीन कुन प्रयोजनका लागि उपयोग गर्ने भन्ने तोकिएको छ ।

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले राष्ट्रिय भूउपयोग आयोजना अन्तर्गत उपत्यकासहित २२ वटा तराईका र १० वटा पहाडका गरी ३५ वटा जिल्लाको भूउपयोग नक्सासमेत तयार पारेको छ । खानी तथा भूगर्भ विभागले पनि काठमाडौंमा कुन क्षेत्र वस्ती बस्न कति योग्य छन् भनेर नक्सा तयार गरेको छ । तर, यस्ता रिपोर्ट र नक्सा सरकारी दराजमै थन्किएका छन् ।

अध्ययन नभएका जिल्लाका हकमा पनि प्रकृतिका आधारमा जमिनको प्रयोजन छुट्टाउने काम भइरहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता जनकराज जोशी बताउँछन् । उनका अनुसार नापी विभाग अन्तर्गतको भू-उपयोग शाखाले जमिनको उपयोगिताका आधारमा वर्गीकरण गरिरहेको छ । तर, काम सकिएकै क्षेत्रमा पनि नीति लागू नगरिँदा काठमाडौं वरपरका क्षेत्रमा प्राकृतिक विपदको जोखिम बढ्दो छ ।

भूउपयोग नीतिअनुसार कृषियोग्य जमीन, आवासीय, व्यवसायीक, सार्वजनिक उपयोग, वन लगायतका गरी ११ वटा अलग-अलग भूउपयोग क्षेत्र कायम गरी वर्गीकरण गरिएको नापी विभाग नापी अधिकृत सुमीर कोइराला बताउँछन् ।

जस्तै, कृषि योग्य क्षेत्र भनी वर्गीकरण गरिएको क्षेत्रमा खेतीपातिबाहेक अन्य प्रयोजनका लागि उपयोग गर्न रोक लगाउने भूउपयोग नीतिको उद्देश्य हो । जुन उपयोगका लागि जमिन छुट्याइन्छ, त्यसमै मात्र प्रयोग गर्ने गरी यो नीति तयार छ । तर, नीतिअनुसार जमिनको उपयोग भएको पाइँदैन ।

संविधान अनुसार आफ्ना क्षेत्रका जमिनको उपयोगमा नियमन र कडाइ गर्ने अधिकार स्थानीय तहलाई छ । तर मन्त्रालयले तयार पारेको भू-उपयोग नीति र नक्सा अहिलेसम्म एकाध बाहेकका स्थानीय तहले अध्ययनसम्म गरेका छैनन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका, झापाको भद्रपुर नगरपालिकालगायतका केही स्थानीय तहले मन्त्रालयबाट नीति लिएर गएका छन् ।

केन्द्र र स्थानीय तहको बाझाबाझ

सुन्दर हरियाली क्षेत्र देखेर काँठ क्षेत्रमा घडेरी किनेका विशिष्ट व्यक्ति, धनाढ्य र सेलीब्रेटीहरुलाई अहिले पुर्पुरोमा हात लाएर बस्नुपर्ने अवस्था आएको छ

तयार भएका भू-उपयोग नक्साको प्रयोग विज्ञबिना सम्भव छैन । दक्ष जनशक्ति नहुँदा स्थानीय तहले लगेर कार्यान्वयनमा आउँदैन पनि ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता जोशी प्राविधिक सहयोग आवश्यक परे सहजीकरणका लागि स्थानीय तहमा विज्ञसहितको टोली पठाउन मन्त्रालय तयार रहेको बताउँछन् । भिरालो जमिनमा प्लटिङ गरेर बस्ती बस्न नदिन स्थानीय तहले नै रोक्नुपर्ने मन्त्रालयका अधिकारीको जवाफ छ ।

तर स्थानीय जनप्रतिनिधि भने केन्द्र सरकारले अधिकार नै प्रत्यायोजन नगरेको गुनासो गर्छन् । स्थानीय तहको निर्वाचन भएको वर्ष दिन बित्दा पनि कानुन नबन्दा काम गर्न समस्या आएको जनप्रतिनिधिहरुको दावी छ ।

धेरै स्थानीय तहले त भूउपयोग नीतिका बारेमासमेत अनविज्ञता प्रकट गरिरहेका छन् । यस्तोमा केन्द्र सरकारले स्थानीय तहलाइ सहजीकरण गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।

केन्द्र सरकारका कारण आफ्ना नगरभित्रका भिरपाखामा डोजर चल्दासमेत हात बाँधेर बस्नुपर्ने अवस्था जनप्रतिनिधिको गुनासो छ ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे आँट गरेरै अव्यवस्थित बसोबासका लागि भन्दै जथाभावी रुपमा प्लटिङमा रोक लगाइएको दावी गर्छन् ।

‘भूमाफियालाई प्लटिङमा रोक लगाए पनि व्यक्तिलाई रोक्नसक्ने अवस्था छैन, आफ्नो जमीन टुक्रा-टुक्रा पारेर अनेक बाहनामा बिक्री गर्दैछन्’, उनी भन्छन्, ‘कानुन बनाएर भू-उपयोग नीतिअनुसार नै अघि बढ्नेछौं ।’

चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी सहरी विकास मन्त्रालयबाट सिधै स्वीकृति लिएर आउने भएकाले प्लटिङमा रोक लगाउन नसकिएको बताउँछन् ।

‘पछिल्लो समय भने नक्सा पास भइसकेका जमीनबाहेकमा अर्को व्यवस्था नभइन्जेलसम्म नयाँ ठाउँमा प्लटिङ गर्न स्वीकृति दिइएको छैन’, उनी भन्छन् ।

नियमि विपरीत प्लटिङ गर्नेलाई कारवाही स्वरुप जरिवानासमेत तिराएको र अब मापदण्ड विपरीत घर बनाउनै नदिने उनको दावी छ ।

भू-माफियाको गैरजिम्मेवार धन्दाको चपेटामा परेको बुढानिलकण्ठ नगरपालिका पनि टुसालको घटनाले तर्सिएको छ । यस्तो बिपत्ति अन्यत्र पनि आइपर्ने खतरा रहेको बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धवप्रसाद खरेल बताउँछन् ।

‘जमीननै भासिने गरी डोजरले भिरपाखा खोतलेका छन्,’ उनी भन्छन्, ‘पहिरो खसेर पुल भत्किएको छ, बाटो भासिएका छन्, यस्ता वस्तीहरु विपद कुरेर बसेजस्तै अनुभूत हामीलाई भएको छ ।’

छिट्टै कार्यविधि बनाएर भूमिको उपयोगमाथि नियन्त्रण गर्ने उनको तयारी छ । बूढानीलकण्ठका भित्ता क्षेत्रमा माटोको सामान्य परीक्षणसमेत नगरी प्लटिङ गरेर तयारी पारिएका घडेरी किन्न होडबाजी नै चलेको थियो । सुन्दर हरियाली क्षेत्र देखेर सो क्षेत्रमा घडेरी किनेका विशिष्ट व्यक्ति, धनाढ्य र कयौं सेलिब्रेटीहरुलाई अहिले जमिन भासिन थालेपछि पुर्पुरोमा हात लाएर बस्नुपर्ने अवस्था आएको मेयर खरेल बताउँछन् ।

बुढानीलकण्ठको विपद् भिडियोमा हेर्नुस्

थप तस्वीरहरूः

तस्वीरः चन्द्र अाले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?