Comments Add Comment

छोराले धोका दिएपछि ‘गंगामायाको मुद्दा’ कमजोर

२५ भदौ, काठमाडाैं । सरकारी साक्षी नै अदालतमा उपस्थित नभएपछि गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याकाण्डको न्याय निरुपण कमजोर बनेको छ । आमा गंगामायाको अनसन तोडाउने क्रममा सरकारले हत्या आरोपी छविलाल पौडेललाई पक्राउ गरी अदालतमा बुझाएको थियो । पौडेल सोमबार जेलमुक्त भएका छन् ।

कृष्णप्रसादको हत्या भएको भनी किटानी जाहेरी दिने उनका दाजु अर्थात गंगामायाका जेठा छोरा नुरप्रसाद अधिकारी चितवन अदालतमा वयान दिन नगएपछि आइतवार चितवन जिल्ला अदालतले पौडेलसहित १२ अभियुक्तलाई सफाइ दियो । सफाइ पाएको भोलिपल्ट पौडेल डिल्लीबजार कारागारबाट छुटेका हुन् ।

सरकारी साक्षीका रुपमा नुरप्रसादलाई आमा गंगामायासहित अधिकारकर्मीहरु सुबोध प्याकुरेल, कनकमणि दीक्षित लगायतले साक्षी बकपत्रका लागि अदालत गइदिन पटक-पटक आग्रह गर्दा पनि उनले अश्वीकार गरेका थिए ।

जसले जाहेरी दियो र जो सरकारी साक्षी हो, उही अदालतमा उपस्थित नभएपछि मुद्दा कमजोर भएको महान्यायाधिवक्ता अग्नि खरेलले अनलाइनखबरलाई बताए ।

‘जसको जाहेरीको भरमा म्याद तामेल भएको छ, जो हाम्रो सरकारी साक्षी हो, उही नगइदिएपछि मुद्दा कमजोर भयो’ खरेलले भने, ‘महान्यायाधिवक्ताको हिसाबले म उनको वकिल हो, तर उनले हामीलाई साथ दिएनन् ।

महान्यायाधिवक्ता खरेलले दीक्षित, प्याकुरेल लगायतसँग पहल गरेर प्रहरीमार्फत नुरप्रसादलाई आमासँग भेटाएका थिए । नुरप्रसाद बाबु नन्दप्रसादको अनसनकै बेलादेखि फरार भएका थिए । उनलेत्यो बेला सरकारसँग सम्झौता गर्न नमानेकै कारण नन्दप्रसादको अनसनमै ज्यान गएको एक अधिकारकर्मीले अनलाइनखबरलाई बताए ।

नुरप्रसादले प्रचण्ड र बाबुराम भट्टराईलाई जेल नहालेसम्म अरु मुद्दाको प्रक्रिया नाटकमात्र हो भन्दै सरकारलाई असहयोग गरेको मानवअधिकारकर्मीहरुको गुनासो छ । अदालतमा दाजुका हत्यारा विरुद्ध साक्षी बकपत्र दिन नगएका नुरप्रसादले फेसबुकबाट चितवन जिल्ला अदालतको फैसलासँगै अब प्रचण्ड र बाबुरामविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा जाने बाटो खुलेको टिप्पणी गरेका छन् ।

नुरप्रसादले २ वर्षअघि बाबु र आमालाई अनसन राखेर सरकारसँग ५ करोड रुपैयाँ बार्गेनिङ गरेका थिए । क्रममा केपी ओली नेतृत्वको सरकार गठनपछि गंगामायाको अनसन तोडाउने क्रममा एक करोड रुपैयाँ उपलव्ध गराइसकेको छ । सरकारले एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेपछि नुुरप्रसाद नाटकीयरुपमा प्रहरीमार्फत आमासमक्ष प्रकट भएका थिए ।

यसपटक जिल्ला अदालतमा वयान दिनका लागि उनलाई आमाले धेरै आग्रह गर्दा पनि अश्वीकार गरेको स्रोतले जनाएको छ । ‘आमाले समेत यस्तो कुलंगार छोरो कसैको नहोस् भनेर हामीसँग दिक्दारी पोखिन्’ एक अधिकारकर्मीले भने ‘महान्यायाधिवक्ताले हामी आफैं प्रमाण होइनौं, सरकारको साक्षीका रुपमा तिमीले बयान देऊ भन्दा पनि नुरप्रसादले मानेनन्’ ।

आमा र उनलाई साथ दिइरहेका अधिकारकर्मीले भनेको समेत नुरप्रसादले नमानेपछि उनको नियत राम्रो नदेखिएको सरकारी वकिलको ठम्याइ छ । जसलाई साक्षी राख्यो, जसले जाहेरी दियो, उसैले वयान नदिएपछि मुद्दा कमजोर भएको उनीहरुको भनाइ छ ।

आमाबाबुलाई अनसन राखेर दाजुको मुद्दा देखाउँदै पैसा कमाउने नियत नुरप्रसादमा शुरुमै प्रकट भएकाले आफूहरु पन्छिएका अर्का मानवअधिकारवादीले बताए । आमालाई अनसन राखेर मुद्दा आफ्नो पक्षमा फैसला हुँदैन भन्ने बुझेका नुरप्रसादको नियत दाजुको हत्यारालाई कारवाही गराउने भन्दा पनि पैसा कमाउन केन्दि्रत देखिएको उनले बताए ।

अब पुनरावेदन हुन्छ ?

चितवन जिल्ला अदालतबाट कृष्णप्रसाद हत्यामा आरोपितमध्ये फरार रहेका रुद्र आचार्य बाहेक छबिलालसहित अन्य १२ जनाले सफाइ पाएका छन् । अब यो फैसलाविरुद्ध सरकारी वकिल पुनरावेदनका लागि उच्च अदालतमा जाने बाटो पनि अझै पनि छ । तर, सरकारी साक्षी नुरप्रसादले नै धोका दिएपछि पुनरावेदन गर्ने वा नगर्ने भन्ने बारेमा टुंगो छैन ।

महान्यायाधिवक्ता अग्नि खरेलले जिल्ला अदालतको फैसलाको पूर्णपाठ प्राप्त भएपछिमात्र पुनरावेदन जाने विषय टुंगो लाग्ने बताए । जाहेरवालासमेत रहेका साक्षी अदालतमा उपस्थित नभइदिँदा पुनरावेदनमा जाने कन्टेन्ट कमजोर भएको उनले बताए ।

महान्ययाधिवक्ता खरेलले अनलाइनखबरसँग भने- सरकारी साक्षी नुरप्रसाद अधिकारी अदालत गएर सम्पुष्टि गरिदिएको भए हामीलाई पुनरावेदनमा जान सजिलो हुने थियो । अब फैसलाको पूर्णपाठ हेर्छौं, अदालत कसरी यो निश्कर्षमा पुगेको हो भन्ने कुरा हेरेपछिमात्रै थप भन्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment