Comments Add Comment

‘मिस्टर भर्जिनदेखि रोजसम्म’: कन्सर्ट हिट, तर फिल्म…

हतारमा निर्माण गरिएको भए पनि हालै रिलिज भएको चलचित्र ‘रोज’ बाट राम्रै आशा राखिएको थियो । चलचित्रको प्रचारका लागि यसका नायक प्रदिप खड्का दुई नायिकाको साथमा विभिन्न शहरमा कन्सर्ट गर्न पुगे । कन्सर्टमा प्रदिपलाई हेर्न दर्शक ओइरिए । उनको गजबको क्रेज देखियो ।

तर, तिनै दर्शक पछि ‘रोज’ हेर्न हलसम्म आइदिएनन् । अहिले यो चलचित्र हलमा संघर्षपूर्ण तरिकाले चलिरहेको छ । कन्सर्टमा देखिएको जस्तो प्रदिपको क्रेज हलमा देखिएन ।

कसैले एउटा सफल प्रयोग गर्‍यो भने सबै त्यसैको पछि लाग्नु नेपाली चलचित्रकर्मीको रोग नै हो । पछिल्लो समय चलचित्रको पब्लिसिटीका लागि कन्सर्ट आयोजना गर्ने सिलसिला पनि रोगकै रुपमा फैलिएको छ । हरेकजसो चलचित्रले कन्सर्टलाई प्रचारको मुल अस्त्र बनाइरहेका छन् ।

कन्सर्टमा अहिले निर्माताले लाखौ खर्च गर्ने गरेका छन् । तर, अधिकांस चलचित्रले कन्सर्टबाट फाइदा उठाएको भने भेटिदैन । चलचित्र प्रचारको आ आफ्नै शैली हुन्छ । चलचित्रको बिषयवस्तु अनुसारको प्रचार शैलीले फाइदा गर्छ । म्यूजिकल लभ स्टोरी चलचित्रको कन्सर्ट ठिकै हो । तर, यहाँ त रुवाउने चलचित्र, एक्सन चलचित्र बनाउनेहरु पनि कन्सर्टकै पछि लागेका छन् ।

यो बर्ष त कन्सर्टको फेसन नै चलेको छ । बर्षको ५ महिनामा आधा दर्जन बढी चलचित्रले देशभर कन्सर्ट गरे । रोजभन्दा अगाड चलचित्र ‘मेरी मामु’ ले पनि देशैभरी कन्सर्ट गरेको थियो । कन्सर्टमा दर्शक राम्रै आएका थिए । तर, हलमा दर्शक आएनन् र चलचित्र एक सातामै अधिकांश हलबाट उत्रिएको छ ।

चलचित्र ‘चि मुसी चि’को कन्सर्टमा पनि दर्शक उर्लिएका थिए । यसका निर्माता र निर्देशक कन्सर्टमा दर्शकले कलाकारको प्रस्तुतिलाई बबाल भनेकौ भन्दै फुरुङ्ग थिए । तर, हलमा दर्शक आएनन् । चलचित्रले नराम्रो घाटा ब्यहोर्‍यो ।

चलचित्र ‘मिस्टर भर्जिन’को पनि कन्सर्ट भयो । चलचित्रका कलाकारको सेल्फी दर्शकको भीडमा गज्जबले देख्न पाइयो । तर, हलमा सुनसान भयो । चलचित्र चलेन ।

चलचित्र ‘भैरे’ले पनि देशभर कन्सर्ट गर्‍यो । कलाकारले सेल्फीमा आफ्नो स्टारडम देखाउन खोजे । तर, हलमा दर्शकको अवस्था विजोग देखियो ।

यी त उदाहरण मात्र हुन् । अहिले हरेक हप्ता काठमाण्डौ बाहिर कुनै न कुनै कलाकारको टिम प्रचारका लागि भन्दै कन्सर्ट गर्न पुगिरहेका छन् । दर्शकले कलाकारलाई आफ्नो अगाडि देख्न पाएका छन् । सायद, कन्सर्टले उल्टै कलाकारलाई सस्तो बनाएको त होइन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment