Comments Add Comment

दर खान माइत हिँडेका चेली नारायणगढ मुग्लिन सडकमै अलपत्र

२६, भदौ, चितवन । भोलि हिन्दू नेपाली नारीहरुको ठूलो पर्व तीज । आज तीजको दर खाने दिन । दर खाने दिन साँझसम्म जसरी पनि माइत पुग्ने चेलीहरुलाई गए रातिदेखि नारायणगढ मुग्लिन सडकखण्डमा आएको पहिरोले अलपत्र पारेको छ ।

अविरल वर्षासँगै आएको पहिरोले करीव १७ घण्टासम्म सडक अवरुद्ध बन्दा तीजको दिन माइत हिँडेका चेलीवेटी बिलखबन्दमा परेका छन् । सडकमा सयौं सवारी साधान रोकिएका छन् भने, हजारौं यात्रुहरु बीच बाटोमा नै छन् ।

हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा नारायणगढ मुग्लिन सडक हुँदै माइत हिडेका चेलीहरु बीच सडकमा नै अलपत्र परेका छन् । गए रातिदेखिका सवारी साधन र यात्रुहरु वीच बाटोमा नै छन् ।

सोमबार रातिदेखि परेको मुशलधारे वर्षाको कारण नारायणगढ-मुग्लिन सडकको विभिन्न ठाउँमा पहिरो खसेपछि हजारौं सवारीसाधनहरु सडकमै रोकिएका छन् । लमजुङको भोर्लेटारबाट चितवनको भरतपुर बसेनीमा छोरी लिन आएकी सरिता पोखरेल तीजमा छोरी लैजान नपाएकोमा दुखित बनेकी छन् । विहानैबाट सडक बन्द हुँदा कतिबेला सडक खुल्ला र छोरी लैजाउँला भनेकी पोखरेलले यसपटकको तीज छोरी र ज्वाईसँगै मनाउनुपर्ने अवस्था आएको बताइन् ।

विषेश गरी तनहुँ, लमजुङ र गोरखाबाट चितवनमा चेलिवेटी लिन आउनेहरु अधिक छन् । गोरखाको पालुङटारबाट भरतपुरको हाकिमचोकमा सोमबार दिउँसो छोरी लिन आएकी सीता देवकोटा पोखरा बसपार्कमा दिनभर रुमल्लिइरहेकी थिइन् । उनले पहिरोले बाटो अवरुद्ध हुँदा यसपटक तीन मान्न नपाइने हो कि भन्ने चिन्ता लागेको बताइन् ।

देवकोटाले भनिन्, ‘माइतमा गएर दर खाएर मनाउने चाडमा दिनभर सडकमा नै अलपत्र परियो, सडक खुले पनि पानी पर्न नरोकिएकोले कतै बाटोमा पहिरोले किच्ने हो कि भन्ने डर लागेको छ ।’ सवारी लाइनको जाम भरतपुरको हाकिमचोक र नारायणगढको पुल्चोकसम्म आइपुगेको छ । पोखराबसपार्कमा सडक खुल्ने आशमा माइत हिँडेका सयौं चेलीहरु पर्खिरहेका छन् । माइत पुगेर दर खाने चेलीहरुको सपना अधुरो रहने सम्भावना बढाइदिएको छ ।

बाटो खुल्ने कतिबेला हो भनेर प्रहरी कार्यालयमा फोन गर्ने, पत्रकारहरुलाई फोन गरेर सर्वसाधारणहरुले सोधिरहेका छन् ।

कतिबेला खुल्छ सडक ?

नारायणगढ-मुग्लिन सडकको सत्र किलो, चारकिलो, गाईघाट र जलबिरेलगायतको ठाउँमा रातिदेखि पहिरो खसेको छ । जलबिरे र कालीखोलाको पहिलो हटाएर सडक एकतर्फी सञ्चालन भए पनि अन्य ठाउँमा भने पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चारकिलोमा सबैभन्दा ठूलो पहिरो आएको छ । माथिबाट पहाड नै झरेकोले पहिरो पन्छाउन निकै समस्या भएको आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । उनका अनुसार आज दुईतर्फी सडक खुलाउन सम्भव छैन । ‘चारकिलोमा एकतर्फीसम्म गर्न सकिन्छ कि भनेर प्रयास गरिरहेका छौं’ खनालले भने ‘काम गर्न नै समस्या भैरहेको छ ।’

चितवनका प्रहरी प्रमुख एसपी सुशिलसिंह राठौंरले सानातिना पहिरा पन्छाए पनि चारकिलोमा गएको पहिरो पन्छाउन अझै २ देखि ३ घण्टा लाग्ने बताए । उनले भने, ‘वान वे गर्नको लागि नै अझैं २ देखि ३ घण्टा लाग्छ, टु वे हुनका लागि त आज गाह्रो छ । ‘

बीचबाटोमा रोकिएका सवारी साधान र यात्रुहरुले चाहेमा भरतपुरतर्फ ल्याउन पनि प्रहरीले सहजीकरण गर्ने उनले बताए । प्रहरीले नवलपरासी, हेटौंडा लगायतका विभिन्न स्थानमा सवारीसाधानहरुलाई रोकिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment