Comments Add Comment

वडाअध्यक्षले मृत्यु भइसकेकाको भत्ता बुझेको भन्दै उजुरी

२६ भदौ, रौतहट । रौतहटको माधवनारायण नगरपालिकाले २० वर्षअघि नै मृत्यु भइसकेका मानिसको नाममा पनि वृद्धभत्ता वितरण गरेको खुलेको छ ।

वडा नं. ६ मा जनप्रतिनिधिकै मिलेमतोमा सामाजिक सुरक्षा भत्ताबापतको ९ लाख ७७ हजार ६०० रुपैयाँ मृत्यु भइसकेका व्यक्तिको नाममा वितरण गरेको भनी हिनामिना भएको खुलेको हो ।

मृत्यु भइसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षाको रकम दुरुपयोग गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरीसमेत परेको छ । वडाअध्यक्ष राजीवकुमार यादवकै मिलेमतोमा सामाजिक सुरक्षाको रकम हिनामिना भएको भनी स्थानीय हरिनारायण यादवले प्रशासनमा उजुरी दिएका छन् ।

वडामा मृत्यु भइसकेका ४० जना भन्दा बढीको नाममा भत्ता लिएर वडाअध्यक्ष यदव र वडासचिव मनोजकुमर झाले हिनामिना गरेको स्थानीयको आरोप छ । मृत्यु भइसकेका व्यक्तिको नाममा भत्ता निकासा भए पनिसम्बन्धित परिवारजनले भने रकम हात पारेका छैनन् ।

मृत्यु दर्ता प्रमाण पत्र बनाइसके पछि परिवारजनका कुनै सदस्यले रकम भत्ता नबुझेको र कीर्ते हस्तारक्षर गरेर सचिव तथा जनप्रतिनिधिहरुले रकम कुमल्याएको आरोप स्थानीयको छ ।

३० वर्ष पहिले नै मृत्यु भइसकेको व्यक्तिको नाममा समेत वडा कार्यालयले यसवर्ष पनि भत्ता बाँडेको छ । दुई दशक पहिले नै मृत्यु भएका बुझावन गिरीको नाममा समेत भत्ता बाँडिएको उल्लेख गरिएको छ भने माधुरी देवी, योगेन्द्र महतो, राधा बैडा, बिन्दा महतो लगायत ४० भन्दा बढी मृत्यु भएकाहरुले रकम बुझेको भरपाई वडा कार्यालयले राखेको छ ।

आफूहरुले गाउँका बुझावन गिरीलाई कहिल्यै नदेखेको बताउदै स्थानीय हरिनारायण यादवले भने ‘म जन्मिनु भन्दा पहिले नै मृत्यु भइसकेको व्यक्तिलाई समेत वडा कार्यालयले अझै भता बाँडिरहेको रहेछ ।’

कीर्ते हस्तारक्षर गरेर वडा अध्यक्ष यादवले सबै रकम हिनामिना गरेकोले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको हरिनारायण यादवले बताए । दलित बालबालिकाको लागि आउने बालपोषण भतामा समेत वडा अध्यक्षले भ्रष्टाचार गरेको आरोप स्थानीयको छ ।

यसैगरी २०७० सालमै मृत्यु भएका पञ्चलाल साह तेलीले पनि अहिलेसम्म सामाजिक सुरक्षा भत्ता बुझिरहेको वडा कार्यालयको तथ्याङ्कले देखाएको छ । मृतक साहका छोरा उपेन्द्र साहले भने ‘बुवाको नाममा पाँच वर्षदेखि रकम कसले बुझिरहेका छन खोजबिन हुनुपर्छ ।’

वडा अध्यक्ष राजीवकुमार यादवले आफूहरुलाई नगरपालिका कार्यालयले उपलब्ध गराएको तथ्याङ्कको आधारमा भत्ता वितरण गरेको बताए ।

आफू वडा अध्यक्षका रुपमा निर्वाचित हुनुभन्दा पहिले नै बनेको तथ्याङ्ककै आधारमा भत्ता बाँडिएकोले आफूले रकम हिनामिना नगरेको उनको जिकिर छ । केही मृतकको नाममा समेत भत्ता बाँडिएको स्वीकार गर्दै उनले गलत तथ्याङ्कका कारण वडा कार्यालय अहिले दोषी देखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment