Comments Add Comment

पोखरा प्रिमियर लिगको प्रसारण अधिकार हिमालय टीभीले किन्यो

२९ भदौ, काठमाडौं । आसन्न पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताका सबै खेल हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच आयोजक क्वीन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार टेलिभिजनले ३ वर्षसम्म नगद र खेल सामग्री गरी कुल ३ करोड ७० लाख रुपैयाँ पीपीएललाई दिनेछ ।

यो नेपाली क्रिकेटमा भएको सबैभन्दा ठूलो राशीको प्रसारण अधिकार सम्झौता मानिएको छ । सम्झौताअनुसार पीपीएलको टीभी तथा सम्पूर्ण डिजिटल प्रसारण अधिकार भने हिमालय टेलिभिजनमा हुनेछ ।

खेलाडी अक्सनदेखि नै टेलिभिजनले पीपीएलको लाइभ सुरु गर्नेछ भने डिजिटल प्लेटर्फममा अनलाइनखबर डट कमको मोबाइल एपमा हेर्न सकिनेछ ।

कार्यक्रममा टेलिभिजनका अध्यक्ष भुसालले प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्न आवश्यक पर्ने सबै सामग्रीको व्यवस्था गरेर मात्रै सम्झौता गरिएको जानकारी दिए । उनले भने, ‘नेपाली क्रिकेटको विकास गर्नका लागि पीपीएलसँग सम्झौता गरेका छौं । लाइभका लागि सबै सामग्रीको व्यवस्था भइसकेको छ ।’

क्वीन्स इभेन्ट्सका प्रबन्ध निर्देशक लामाले प्रत्यक्ष प्रसारणको लागि हिमालय टिभीलाई धन्यवाद दिँदै अब छिट्टै खेलाडीको अक्सन हुने जानकारी दिएका छन् ।

कार्यक्रममा उपस्थित नेपाली क्रिकेटका कप्तान पारस खड्काले नजिकिँदै गरेको टि-ट्वान्टी विश्वकप छनोट प्रतियोगितालाई यसले टेवा पुग्ने विश्वास ब्यक्त गरे । कप्तान खड्काले भने, ‘नेपाललाई चिनाएको शहर पोखरामा क्रिकेट हुने कुराले सबैलाई उत्साहित बनाएको छ । टि-ट्वान्टी विश्वकप नजिकिँदो अवस्थामा छ । पीपीएलले विश्वकप छनोटका लागि एकदमै मद्दत गर्नेछ ।’

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आगामी कार्तिक ९ देखि २० गतेसम्म प्रतियोगिता हुँदैछ । टी-२० फम्र्याटमा हुने प्रतियोगितामा ६ वटा फ्रेन्चाइज टिमले भाग लिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment