Comments Add Comment

सुन्तली र निर्मलाका आमा: कतिञ्जेल धाउनु बाबै सिंहदरबार !

२९ भदौ, काठमाडौं । रामेछापकी सुन्तली तामाङ बलात्कारपछि मारिँदा १३ वर्षकी थिइन् । अहिले निर्मला पन्तका हत्यारालाई नसमातेको आरोप कञ्चनपुरका एसपी डिल्लीराज विष्टमाथि जसरी लागेको छ, उसबेला रामेछापका तत्कालीन डीएसपी सञ्जीव शर्मालाई पनि यसैगरी सुन्तलीका हत्यारालाई भगाएको आरोप लागेको थियो ।

सुन्तलीको बलात्कारपछि हत्या भएको ७ पुगेर ८ वर्ष लागेको छ । हत्यारालाई कारवाही गराउन सुन्तलीकी आमा डिल्लीमायाले निर्मलाकी आमा दुर्गादेवीको भन्दा सयौं गुणा बढी दुःख पाएकी थिइन् । अहिले निर्मलाकी आमाको पक्षमा प्रहरी प्रशाासनबाहेक सिंगै मुलुक एकजुट भएको छ । तर, डिल्लीमाया तामाङले लडेको न्यायको लडाइँमा उनी नितान्त एक्ली थिइन् ।

छोरीका बलात्कारी एवं हत्याराविरुद्ध न्यायको लडाइँ लड्दा डिल्लीमायाले आफ्नो थातथलो छाडेर विस्थापित नै हुनुपर्‍याे । बलात्कारी र हत्याराले पीडितलाई धम्की दिनु अनि प्रहरीले समेत पीडितलाई नभएर अपराधीलाई नै संरक्षण दिनुले डिल्लीमाया तामाङको जीवनमा न्याय मरेको समय थियो त्यो । उनको आवाज सुनिदिने त्यो बेला कोही थिएन ।

छोरीका हत्यारालाई कारवाहीको माग गर्दा उनको परिवारले थातथलो नै छाडेर बसाइँ हिँड्नुपरेको थियो । शायद अहिलेजस्तो बलात्कारविरुद्धको नागरिक आवाज त्योबेला चर्किएको भए डिल्लीमायाले न्याय पाउन ७ वर्ष कुर्नुपर्ने थिएन ।

रामेछापको उत्तरपूर्वी सैंपुको सिसन्धुसम्म मिडियाको पहुँच पुग्न पनि निकै समय लाग्यो । बलात्कारी र हत्यारा पक्राउ परेर पनि रामेछापका तत्कालीन डीएसपी शर्माले नै भगाएका थिए ।

सुन्तलीको बलात्कारपछि हत्या भएको करीव तीन वर्षपछि यो पंक्तिकार एक कार्यक्रममा रामेछाप पुग्दा डिल्लीमाया डाँको छाडेर रोएपछि हामीले सिंहदरवारलाई लल्कार्दै लेख्यौं– ओई सिंहदरबार, सुन्तलीलाई न्याय दे !

अनलाइनखबरमा डिल्लीमायाको क्रन्दन प्रकाशित भएपछि तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले तत्कालीन आइजीपी उपेन्द्रकान्त अर्याललाई कडा निर्देशन दिए । त्यसपछिमात्रै सुन्तली तामाङको हत्याकाण्डको फाइल खुल्यो ।

डिल्लीमायाको न्यायको लडाइँ गत वर्ष डीएसपी कुमोद ढुंगेल रामेछाप पुगेपछि सफल भयो । ढुंगेल आफैं खटिएर भारतको आन्दमान निकोबार टापुसम्म अभियुक्त श्याम राउतलाई खोज्दै पुगे । सुन्तलीका हत्यारा ७ वर्षपछि अन्दमानबाट पक्राउ पर्दा नेपाल प्रहरीको अनुसन्धान प्रणालीको वाहवाही भएको थियो त्यसबेला ।

अनलाइनखबरको निरन्तर फलोअप र डीएसपी सञ्जीव शर्माले बलात्कारीलाई भगाएको समाचार पुष्टि भएपछि मानवअधिकार आयोगको समेत सिफारिसमा उनलाई नेपाल प्रहरीबाट निलम्बन गरिएको थियो । तर, केही महिनामै डीएसपी शर्मालाई निलम्बन फुकुवा गरेर जिम्मेवारी दिइयो ।

सुन्तली तामाङका हत्यारालाई जोगाउन मुख्य भूमिका खेलेका डीएसपीलाई एसपीमा बढुवाको सिफारिस गरियो । तर, मिडियाकै कारण उनको बढुवा रोक्न प्रहरी प्रधान कार्यालय बाध्य भयो । किशोरी बलात्कार र हत्या जस्ता जघन्य अपराधका मुद्दामा नेपाल प्रहरीको नेतृत्वको संवेदनहीनताको सामान्य उदाहरण सञ्जीव शर्माको उन्मुक्ति र उनको बढुवा प्रयासलाई लिन सकिन्छ ।

राज्यले लड्नुपर्ने लडाइँमा आमाले आन्दोलन गर्नुपर्ने ?

८ वर्षअघि नै सुन्तलीहरुको पक्षमा र सुन्तलीका आमा डिल्लीमायाहरुको न्यायको लडाइँमा समाज जुरुक्क उठ्न सकेको भए आज निर्मलालाई न्याय माग्दै आमा दुर्गादेवी महेन्द्रनगरदेखि सिंहदरबारसम्म आइपुग्नुपर्ने थिएन । सुन्तली र निर्मलाहरुका लागि तीनका आमा होइन, राज्य लड्नुपर्ने हो । सुन्तली र निर्मलाको बलात्कारपछि हत्या राज्यविरुद्धकै फौजदारी अपराध हो ।

डिल्लीमाया र दुर्गादेवीहरुले हत्यारालाई कारवाही गरिदेऊ भनेर सत्ताको आँगनमा न्यायको भीख माग्दै हिँड्नुपर्ने अवस्थाले सिंगो समाजको शीर निहुराएको छ

डिल्लीमाया र दुर्गादेवीहरुले हत्यारालाई कारवाही गरिदेऊ भनेर सत्ताको आँगनमा न्यायको भीख माग्दै हिँड्नुपर्ने अवस्थाले सिंगो समाजको शीर निहुराएको छ । जसरी सुन्तलीको बलात्कारी हत्यारा पहिचान भएर पनि उसलाई कारवाहीको दायरमा ल्याउन डिल्लीमायाले ७ वर्ष संघर्ष गर्नुपर्‍याे, त्यही नियति दुर्गादेवीको हकमा पनि दोहोरिएको छ ।

छोरीका हत्याराको हुलिया दिँदै उनको परिवार भौंतारिएको छ तर प्रहरी अनुसन्धान कता छ ? निर्मलाको शव भेटिएको ठाउँबाट प्रमाण नष्ट गर्नेदेखि दाहसंस्कार गर्नेबेलासम्म प्रहरीको बलजफ्तीनै अनुसन्धानको पहिलो पाटो हो । यो प्रकरणको अनुसन्धान प्रहरीबाटै शुरु नगरी अपराधीसम्म पुग्न सकिँदैन भन्ने कुरा सामान्य मान्छेले त भन्छ भने प्रहरी नेतृत्वले नबुझेको कुरा होइन ।

निर्मलाको बलात्कारपछि हत्या भएको डेढ महिना पुगेको छ । तर, यो हत्या प्रकरणलाई झन्–झन् रहस्यमय बनाइँदैछ । अभियुक्त भनेर पक्राउ गरिएको व्यक्ति एक महिनापछि निर्दोष साबित भएर रिहा भएको छ । यो सम्पूर्ण प्रकरणमा पीडित परिवार र समाजले मात्र होइन, सरकारले समेत शंकास्पद भनेर निलम्बन गरिएका एसपी बिष्टमाथि अनुसन्धान भएको छैन ।

प्रहरीका दुई–दुईवटा छानविन टोली असफल मात्र भएका छैनन्, उनीहरुमाथि नै छानविनको माग गरिएको छ । निर्मला हत्या प्रकरणमा नेपाल प्रहरीको नेतृत्वमाथि नै प्रश्न उठिसकेको छ । निर्मलाको रगतको छिटाले प्रहरी संगठनको निधार लत्पतिएको छ । यसलाई पखाल्न आइजीपी सर्बेन्द्र खनालको तत्काल पहलकदमी चाहिएको छ ।

आइजीपीसँग अपेक्षा

के निर्मलाको हत्या प्रकरणको अनुसन्धान नेपाल प्रहरीको ल्याकतले नभ्याउने तहको हो ? कसैले पनि यो पत्याउन सक्दैन । यो हदसम्मको जघन्य अपराधका अभियुक्तको शक्ति नेपाल प्रहरी र सरकारलाई नै हल्लाउने होला त ? त्यो पनि पत्याउन सकिन्न ।

त्यसो भए डेढ महिनाभन्दा बढी भइसक्दा पनि अनुसन्धान नसकिने र प्रहरी बद्नाम हुने सिलसिला आइजीपी खनालका लागि सुहाउने कुरा होइन ।

नेपाल प्रहरीमा काबिल अफिसर मानिएका खनालको परीक्षा निर्मला प्रकरणमा भइरहेको छ । एक दुईजना अफिसर जोगाउन सिंगो प्रहरी संगठनको निधारमा कलंक बोकाउने काम आइजीपी खनालबाट हुन्छ भन्ने विश्वास अहिलेसम्म कसैले गरेका छैनन् । तर, घटनाक्रमहरुले प्रहरी अनुसन्धानलाई मात्र होइन, नेतृत्वलाई समेत अविश्वास गर्न थालेका छन् ।


जटिल प्रकारका अपराध अनुसन्धानमा सफलता पाएका र सिमाक्षेत्रका अपराधी विरुद्धको लडाइ जितेका आइजीपी खनालले निर्मलाका हत्यारासँग हार्नु भनेको नेपाल प्रहरी अपराधीसँग हार्नु हो । उनले जस्तोसुकै जोखिम मोलेर भने पनि निर्मलालाई न्याय दिएमात्र नेपाल प्रहरीको साख बच्नेछ । यति कुरा आइजिपीले बुझेका होलान् । यति गर्दा केही प्रहरी अफिसर जेल गएछन् भने पनि संगठनको प्रतिष्ठा बढ्नेछ, घट्ने होइन ।

डीएसपीकै संलग्नतामा भगाइएको रामेछापकी सुन्तली तामाङको बलात्कारी/हत्यारालाई अन्दमान निकोबार टापुसम्म पुगेर समात्न सक्ने नेपाल प्रहरीले एसपीको संलग्नतामा लुकाउन खोजिएको भनेर आरोपित निर्मलाको हत्यारालाई महेन्द्रनगरभित्रैबाट समात्न सक्दैन भनेर कसरी विश्वास गर्ने ?

सरकारले बुझोस्–सामाजिक विद्रोह निम्तिँदैछ

निर्मला प्रकरणमा देखिएको सत्ताको चरम वेवास्ता र अनुसन्धानमा भइरहेका नाटकीय घटनाक्रमले बिस्तारै सामाजिक आक्रोश बढाइरहेको छ । राज्यबाट न्या पाइदैन भन्ने निष्कर्षमा नागरिक पुगे भने त्यो आक्रोश बिस्तारै सामाजिक विद्रोहमा परिणत हुनेछ । अनुसन्धानमा यति धेरै प्रश्न उठ्दा पनि किन सरकार गम्भिर भएन ? प्रश्न यहिँनेर छ ।

निर्मला हत्या प्रकरण अब एउटी सामान्य किशोरीको जीवन र अस्मिता समाप्त गरिएको घटनामा सिमित रहेन । निर्मलाले न्याय नपाउनु भनेको यो देशका छोरी चेलीहरु सुरक्षित छैनन् भन्ने प्रमाणित हुनु हो । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलले कलंकाको भारी बोक्नुभन्दा अघि नै निर्मला हत्याकाण्डको सत्य तथ्य सार्वजनिक गरुन् ।

यदि निर्मला हत्यालाई यसै गरी रहस्यमय बनाउँदै जाने र अपराधी खुलेआम धम्की दिँदै हिँड्ने अवस्था कायम रहने हो भने नेपाल कम्युनिस्ट पार्टीले शासन सञ्चालन गर्ने नैतिक बैधानिकता गुमाउनेछ । त्यो कस्तो अभियुक्त हो, जसले सिंगो राज्यसत्ताभन्दा बलियो छ । एशियाकै तेस्रो ठूलो भनिएको नेपाल कम्युनिस्ट पार्टीको सरकारलाई समेत झुकाउने त्यो बलात्कारी को हो ?

अबको प्रश्न प्रहरी नेतृत्वबाट सरकार र नेकपाको नेतृत्वमाथि उठ्नेछ । पीडित परिवारले एसपी र डीएसपीका डिएनए जाँचको माग गरेका छन् । केही व्यक्तिमाथि उनीहरुले आशंका गरेका छन् । पीडितको आशंका र जाहेरीका आधारमा प्रहरीले शंकास्पद व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान थाल्न कसले रोक्यो ?

अपराध अनुसन्धानमा धेरै ठूला र जटिल मुद्दाहरुको समेत सफल अनुसन्धान गर्न सक्ने भनेर ख्याति कमाएको नेपाल प्रहरीको खुट्टा निर्मला हत्याकाण्डका अभियुक्त पत्ता लगाउन किन कामिरहेका छन् ? आजको मूल प्रश्न यही हो । के निर्मलाका आमा दुर्गादेवीले सुन्तलीका आमा डिल्लीमायाले जस्तै अझै धेरै वर्ष न्यायको लडाइ लड्नुपर्ने हो ?

यदि यो केसलाई सुन्तलीहरुको हत्याकाण्ड जस्तै सोचेको हो भने सरकारको ठूलो भूल हुनेछ । सुन्तलीका लागि लड्दा डिल्लीमाया एक्ली थिइन् । तर, निर्मलाको लागि लड्न लाखौं डिल्लीमायाहरु दुर्गादेवीको साथमा उभिइसकेका छन् । न्यायको यो आवाज विद्रोहमा परिणत भयो भने दुई तिहाईको सरकारले थेग्न सक्नेछैन ।

अहिलेको आवाज निर्मलाका हत्यारा विरुद्धको हो । न्यायको आवाजलाई सरकार विरुद्धको वा कम्युनिस्ट पार्टी विरुद्धको आन्दोलनका रुपमा परिभाषित गर्नु दुर्भाग्यपूर्ण हुनेछ । निर्मलालाई न्याय देऊ भन्ने आवाज सरकारलाई बलियो बनाउन उठेको हो ।

अपराधीलाई उन्मुक्ति दिइयो भनेचाहिँ त्यो आवाज सरकारविरुद्ध उठ्नेछ । त्यो आवाज सामाजिक विद्रोहमा परिणत हुँदा जनताले गुमाउने केही छैन । गुमाउने त सत्तामा हुनेहरुले नै हो । जनता जागे भने धेरै ठूला शासक र शक्तिसाली व्यक्तिलाई सडकमा ल्याउँछन्, निर्मलाका हत्याराको के कुरा ? सरकारले यो प्रकरणलाई सामान्य रुपमा अवश्य लिएको छैन होला भन्ने आशा गरौं ।

यो पनि पढ्नुहोस्
डिल्लीमायालाई छोरीले सपनामा भन्थिन्–आमा ! मलाई न्याय दिलाऊ है (भिडियोसहित)
निर्मलाका बुबाले रुँदै भने– प्रधानमन्त्रीले बबितालाई तगडा बनाइदिनुभो
निर्मला पन्तले न्याय नपाएको यो तीज !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment