Comments Add Comment

डिल्लीमायालाई छोरीले सपनामा भन्थिन्–आमा ! मलाई न्याय दिलाऊ है (भिडियोसहित)

गृहमन्त्री शर्मालाई प्रश्न– बलात्कारी/हत्यारालाई भगाउने डिएसपीमाथि के कारवाही हुन्छ ?

१३ असार, काठमाडौं । डिल्लीमाया तामाङ नेपाली समाजकी यस्ती अभागी आमा हुन्, जसले छोरीको अस्मिता र सुन्दर जीवन लुटिँदा समेत आँशु झार्नु शिवाय केही गर्न सकिनन् ।

०००

…सुन्तली तामाङहरु दिनदिनै बलात्कृत हुन्छन् र मृत्युवरण गर्न पुग्छन् । तर दूरदराजका गरीवका छोरीहरुको जीवनको कुनै मूल्य छैन । अभागी आमा डिल्लीमायाहरुका आँशुको अर्थ छैन ।

०००
बलात्कारका घटना बढे भनेर गोहीका आँशु चुहाउनु वा माइतीघर मण्डलामा मैनबत्ती बाल्नुको कुनै अर्थ छैन । सरकारले साँच्चै पाइला चाल्ने हो भने डिल्लीमायाका आँशु पुछ्ने हिम्मत गरोस्, अपराधीहरु वरिपरि नै छन् ।

०००

तीन वर्षअघि रामेछाप र ओखलढुंगालाई सीमा बनाएर बग्ने लिखु नदी किनाराको डेटलाइनबाट माथिका पंक्ति लेखिएको थियो अनलाइनखबरमा । आफ्नी छोरी सुन्तलीलाई बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई तत्कालिन डिएसपी सन्जिव शर्माले नै भगाएपछि डिल्लीमायाले आफ्नो पीडा छाति पिटी–पिटी रुँदै सुनाएकी थिइन् हामीलाई ।

यदि सुन्तलीको बलात्कारपछि हत्या नहुँदो हो त आज उनी २० वर्षकी जवान युवतीका रुपमा हाम्रो समाजमा भेटिने थिइन् । १४ वर्षको उमेरमा २०६८ माघ ५ गते घाँस काट्न गएका बेला सिसन्धुको जंगलमा आफ्नै छिमेकी श्याम राउतले बलात्कारपछि हत्या गरेका थिए ।

राउत पक्राउ परे तर तत्कालिन डिएसपी सन्जिव शर्माले अभियुक्तलाई अनुसन्धान नै नगरी रिहा गरे । अभियुक्तको परिवारले त्यसपछि डिल्लीमायाको परिवारलाई गाउँमा बस्न दिएन । रक्षक नै भक्षक भएपछि डिल्लीमाया काखे नानी बोकेर बिस्थापित भइन् । यसै क्रममा भेटिएकी थिइन् उनी न्यायको लडाइ लड्दालड्दै ।

सोमबार नेपाल प्रहरीले सुन्तलीको हत्या र बलात्कारका अभियुक्त श्याम राउतलाई काठमाडौंमा सार्वजनिक गर्दा डिल्लीमाया पनि रामेछापका डिएसपी कुमोद ढुंगेलसँगै नेपाल पुलिस क्लबमा भेटिइन् । प्रहरीको भरोसा गर्न छाडिसकेकी डिल्लीमायालाई अहिले आएर लागेको छ– सबै पुसिल अफिसर भ्रष्ट र बेइमान हुँदैनन्, जनताको पीडामा साथ दिनेहरु पनि छन् ।

४ वर्षअघि सैपूको फेदीमा भेटिँदा उनले हामीसँग भनेकी थिइन्– छोरी सुन्तली हरेक राति सपनीमा आउँछे र भन्छे– आमा मलाई न्याय दिलाऊ । मलाई नमार, बाँच्न चाहान्छु भनेर धेरै रोएँ आमा तर उसले मलाई धेरै दुःख दिएर मर्‍यो  । मलाई न्याय दिलाएरमात्र थकाइ मार है आमा । छोरीले सपनामा आएर भनेको ‘मलाई न्याय दिलाऊ है आमा’ भन्ने शब्दले डिल्लीमायालाई ५ वर्षसम्म लखेटिरह्यो ।

 

न्यायका लागि कहाँसम्म गइनन् ? केसम्म गरिनन् ? सिंहदरवारमा पुगेर मुख्य सचिवसँग रोइन् । नक्साल पुगेर आइजिपीको सामुन्ने रोइन् । अदालतमा न्यायाधीशको इजलासमा रोइन् । पत्रकारका सामुन्ने धित खोलेर रोइन् । अन्ततः उनको आँशु पुछ्न डिएसपी कुमोद ढुंगेल अग्रसर भए । एउटा डिएसपीले आँशु दिए, अर्का डिएसपीले खुसी ।

हो, छोरीले सपनामा आएर गरेको आग्रह पूरा भएकोमा डिल्लीमायाले युद्ध जितेको अनुभव गरेकी छन् । तर अझै एउटा धोको बाँकी नै छ– बलात्कारीलाई भगाउने र मुद्दाको अनुसन्धान गर्न लिखु खोलोको खेत पास गरिदेऊ भन्ने डिएसपी सन्जिव शर्मा दासलाई कारवाही गराउने ।

पहिलो पटक लिखु खोला किनारमा भेट्दा डाँको छाडेर रोएकी डिल्लीमाया यसपटक भृकुटीमण्डपमा प्रहरीको पत्रकार सम्मेलनमा भेटिँदा लडाइ जितेको बिजेताका रुपमा प्रस्तुत भइन् ।

उनले आफ्ना मनका वह रोक्न सकिनन् र यसरी पोखिन्

डिएसपी सन्जिव शर्माले बलात्कारी हत्यारालाई कारवाही नगरी भगाएपछि प्रहरीसँग विश्वास टुटिसकेको थियो । यसपाली प्रहरी दिवसको दिन रामेछापका नयाँ डिएसपीलाई मेरो कहानी सुनाएँ । तपाईको हल्लीचल्ली छ, मलाई न्याय दिनुस् भनेँ । उहाँले छातीमा हात राखेर बचन दिनुभएको थियो आज पूरा गर्नुभयो ।

मेरो बच्चाको रगत र मेरो आँशुले हत्यारा र उसको संरक्षकलाई जीवनभर पिरोस्, अनि मेरी छोरीको आत्मालाई न्याय दिने डिएसपीको जीवनभर राम्रो होस् । सबै पुलिस घुसमा बिक्ने हुँदा रहेनछन् । राम्रा पुसिल पनि हुँदा रहेछन् ।

त्यतिबेलाको डिएसपी सन्जिव शर्मा दासले मलाई बोक्सीको जस्तो व्यवहार गरेर प्रहरी चौकीको कुनामा राख्यो । हत्यारालाई ज्वाँइ जस्तो सम्मान गरेर राख्यो । मैले छोरीको न्यायका लागि लड्दा सारा सम्पत्ति सकेँ तर आज सन्तोषको सास फेर्दैछु ।

डिएसपीले हत्यारालाई छाडेपछि २०६९ सालको शुरुमै श्याम राउतको दाजु प्रदीप राउतले ६४ ओटा मोटरसाइकलमा गुण्डा लगेर हामीलाई ५ दिनभित्र गाउँ नछाडे सबै परिवारलाई खोलाको किनारमा बिलाइदिने धम्की दियो । हतियारसहित आएका गुण्डालाई डिएसपी सन्जिव शर्मा दासले इलाका प्रहरी कार्यालय धोबीले रोक्न खोज्दा नरोक्नु भनेको हो ।

६ महिनासम्म विस्थापित भएर सिन्धुलीको माइखोलामा ढुंगामा नाबालक छोरालाई राखेर गिटी कुटेँ । मेरै छोरीको हत्या भयो, मैलाई हत्याराले गाउँमा बस्न दिएनन् । छोरीले सपनामा आएर रोएपछि न्यायको लडाइ लड्छु भनेर गाउँ फर्किदै थिएँ ।

खुर्कोट पुलमा त्यहिँ डिएसपी सन्जिव शर्मा दास भटियो । उसले डिल्लीमाया दिदी बसाई सर्नुभयो कि के हो भनेर सोध्यो । मैले तपाईले गर्दा म बिस्थापित भएँ भनेर जवाफ दिएँ । उसले अनि त्यो लिखु खोलाको खेत चाहिँ के गर्नुभयो भन्यो । मैलै विस्थापित भएपछि के गर्नु भनेर जवाफ दिएँ । उसले त्यसो भए अब आउँदा त्यो खेत मेरो नाममा पास गरिदिनुस् भन्यो ।

डिएसपीले मेरी छोरीको हत्या र बलात्कारलाई कतिसम्म गिरेर टिप्पणी गरेको थियो । अहिले सम्झिँदा पनि डर लाग्छ । ‘केटी पाए जसले पनि गर्छ’ भन्ने घिनलाग्दो कुरा डिएसपीको मुखबाट सुनेको हुँ । मुद्दा मामिला र न्यायको लडाइमा लाग्दा सबै घरखेत सकियो । एउटा अंश बन्दकी दिएकी छु ।

अब अरु त केही छैन, यो हत्यारालाई जेल होस् । अनि त्यो डिएसपीलाई पनि कारवाही होस्, यतिमात्र छ अब बाँकी । किनकी मेरी छोरी त अब फर्केर आउँदिन तर उसको आत्माले शान्ति पाउनेछ ।

गृहमन्त्रीलाई प्रश्न

नेपाल प्रहरीको विशेष टोलीले सुन्तलीको बलात्कारपछि हत्या गर्ने २४ वर्षीय श्याम राउतलाई भारतको अण्डमान निकोबार टापुबाट लखेट्दै भैरहवाबाट पक्राउ गरिसकेको छ । सुन्तलीकी आमा डिल्लीमायाले डिआइजी गणेश केसीसहित उच्च प्रहरी अधिकृत समक्ष तत्कालिन डिएसपी सन्जिव शर्मा दासले अभियुक्तलाई भगाएको र खेत घुस मागेको बताएकी छन् ।

डिआइजी केसीले शर्मालाई यसअघि नै बिभागीय कारवाही स्वरुप सरुवा गरिएको जवाफ दिएका छन् । अब प्रश्न उठ्छ– हत्या र बलात्कार जस्तो जघन्य अपराधका अभियुक्तलाई पक्राउ गरेर बिना अनुसन्धान भगाउने डिएसपी शर्मामाथि कारवाही हुन्छ कि उनले उन्मुक्ति पाउछन् ? गृहमन्त्री जनार्दन शर्मा र आइजिपी प्रकाश अर्यालका सामू यो प्रश्न डिल्लीमायाको मात्र होइन सबैको हो ।

भिडियो हेर्नुहोस्


यो पनि पढ्नुहोस् 

सुन्तलीले न्याय पाइन्, बलात्कारपछि हत्या गर्ने अभियुक्त ५ वर्षपछि अण्डमान टापुमा समातिए

ओई सिंहदरबार, सुन्तली तामाङलाई न्याय दे !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment