Comments Add Comment

मन्त्रीज्यू, सुनको अण्डा पार्ने कुखुरै काट्ने त हैन नि !

काठमाडौं एयरपोर्टको विकल्प चाहिन्छ, कसैले चाहिँदैन भनेको छैन । विकासलाई अघि लानुपर्छ । यहाँ केही विकास विरोधी छ जस्तो लाग्दैन । समस्या कहाँनेर छ भने एकतर्फी रुपमा हामीले वातावरणको कुरै नगरी विकास मात्रैको कुरा गरियो । विकासलाई पूर्वाधार विकास र आर्थिक विकाससँग मात्रै जोडियो । विकासका विभिन्न पाटाहरु हुन्छन् । सामाजिक विकास हुन्छ, आर्थिक विकास हुन्छ, हामी वातावरणसँग जोडेर दिगो विकासको कुरा गरिरहेका छौं ।

हामी समृद्धि भनेको आर्थिक रुपमा मात्रै समृद्ध हुनु मात्रै हैन । समृद्धि सबैलाई बाँड्नुपर्छ । समृद्धि भविष्यलाई पनि चाहन्छि । त्यसका लागि वातावरणलाई पनि ख्याल गर्नुपर्‍याे । वातावरण र विकास भनेकै सँगैसँगै जाने एउटै रथका दुईटा पांग्रा भनेजस्तै हो । यो नबुझ्दा समस्या आएको हो ।

हामी एयरपोर्ट बनाउँदैछ, यत्रो ठूलो एयरपोर्ट बनाउँदैछौं । वातावरणविद्हरुले २–४ वटा रुखको कुरा गर्छन् भन्ने गुनासो छ । त्यसो होइन । वातावरणको मुद्दा के छ ? अहिलेसम्म आइरहेको कुरा भनेको रुखको हो । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) हरेक प्रोजेक्टमा प्राविधिक र वित्तीय सम्भाब्यता अध्ययन गरिए जस्तै यो वातावरणीय असरको मूल्यांकन हो ।

अहिले प्रश्न उठाइएको छ । प्रश्न उठेपछि त्यसको विरोध गरिहाल्नुपर्दैन । लोकतन्त्रमा जनताले प्रश्न गर्नु भनेको स्वाभाविक हो । प्रश्न गरेन भने पो समस्या हुन्छ । विज्ञले प्रश्न गरेको झनै राम्रो । प्रश्न नगर्ने विज्ञ के काम ? जे–जे भने पनि ‘एस सर’ भन्ने विज्ञ हुँदैन

खुला छलफल भएन । कोठे रिपोर्ट बन्यो । अझ यो त कम्प्युटरभित्र मात्रै बन्यो कि भनेर पो देखियो । फिल्डमै पो गएनन् भन्ने आशंका छ । यत्रो ठूलो प्रोजेक्टको लागि त विस्तृत ईआईए रिपोर्ट बन्नुपर्ने हो ।निजगढ एयरपोर्टको ईआईए रिपोर्ट तयार छ । पहिलो समस्या त्यसमै छ । त्यो रिर्पोट तथ्यमा आधारित र गुणस्तरीय छैन । एउटा हाइड्रोपावरको रिपोर्टको अंश नै त्यसमै मिसिएको भनिएको छ । भनेपछि छर्लङ्गै भयो, रिपोर्ट बनाउने प्रक्रियामा पनि प्रश्न छ । रिपोर्ट बनाउँदा नै सबै विषयमा छलफल हुनुपथ्र्यो । सरकारले यस्तो रिपोर्ट बन्दैछ, यसमा ठूलो सार्वजनिक बहस हुन लागेको छ, आउनुस्, छलफल गरौं भनेको कहिल्यै सुनिएन । मैले चाँही सुनिनँ ।

रुखको मात्रै कुरा होइन, २४ लाख रुख काट्दा त्यसको वरपरको वातावरणमा कस्तो असर पर्छ ? त्यो भनेको त्यहाँको जीवजन्तुमा पर्ने असर हेर्नुपर्ने हो । त्यहाँ हात्तिको वास्थस्थान छ भनिएको छ । यो पर्सा वाइल्डलाइफ रिजर्भसँग जोडएको क्षेत्र हो । यसले त्यहाँको वाइल्ड लाइफ मुभमेन्टलाई असर पर्छ भनिएको छ । जीवजन्तुलाई के असर पर्छ भन्ने कुरा त ईआईएमा स्पष्ट आउनुपर्ने हो । अर्को त्यहाँको माटो र पानीलाई प्रत्यक्ष असर गर्छ । हामीलाई थाहा छ, त्यसै पनि तराईमा पानी सुकिरहेको छ । ट्युबेलमा पानी तल गएको गयै छ । तराईको जनसंख्या बढेको बढ्यै छ । हाम्रो आधा जनसंख्या त्यहीँ बस्छ । हाम्रो अन्न भण्डार पनि त्यही हो । त्यहाँको पानी त हाम्रो लागि निकै महत्वपूर्ण हो । त्यहाँ त्यत्रो रुख काट्दा त्यहाँको पानीलाई के असर पर्छ भनेर विस्तृत अध्ययन भएकै छैन । रुख काट्दा, एयरपोर्ट बनाउँदा शहर नयाँ बनाउँदा के असर पर्छ भनेर किन विस्तृत अध्ययन भएन ?

यत्रो ठूलो प्रोजेक्टलाई खेलाँचीको भरमा ईआईए एउटा पास गर्नुपर्छ, लौ न लौ एउटा बनाएर पास गरौं भनेर गरेको गरेको जस्तो देखियो । यहाँ ईआइएको प्रक्रिया सही रुपमा भएन र त्यसको रिपोर्ट पनि सही रुपमा आएन ।

दोस्रो समस्या कहाँ छ भने कति जग्गाको कति रुख काट्ने भन्ने नै टुंगिएन । ईआईएले ८ हजार हेक्टरको भनेको छ, मन्त्रीज्युले अस्ति २५ सय हेक्टर हो भन्नुभयो । ल्याण्डमार्कको रिपोर्टमा १३ सय भनिएको रहेछ, अन्योल नै अन्योल छ । वन कति काट्ने हो ?

एक दुई हेक्टरको फरक हो र ? यो त हजारौं हेक्टरको फरक भयो । विरोध भएपछि ८ हजार हेक्टरबाट २५ सयमा झर्‍याे । फेरि १३ सय हेक्टरको कुरा आएको छ । यदि ल्याडमार्कले १३ सय भनेको थियो भने हामी किन २५ सय भनिरहेका छौं ? त्यो पनि पहिलो चरणका लागि मात्रै हो भनिएको छ । ईआईएको रिर्पोटमा ८ हजार हेक्टर चाहिने र त्यसमा ८५ प्रतिशत भूभाग वनजंगलले ढाकिएको क्षेत्र भनिएको छ । के हो, के हो ?

अब संसारकै ठूला एयरपोर्टहरु हेरौं । चीन जस्तो देशको सबैभन्दा ठूलो एयरपोर्ट संघाईमा छ । त्यो ३ हजार ९ सय हेक्टरमा फैलिएको छ । हामीलाई चीनको सबैभन्दा ठूलो साइजको एयरपोर्टभन्दा पनि ठूलो साइजको किन चाहियो ? हामीले उत्तर मात्रै खोजेका हौं । त्यो अहिलेसम्म आएको छैन, यसकारण चाहियो भन्नुपर्‍याे ।

खाली रटान लगाइएको छ, एयरपोर्ट चाहियो–एयरपोर्ट चाहियो । म पनि भन्छु, चाहियो । नयाँ दिल्लीको इन्दिरा गान्धी जस्तो विशाल एयरपोर्ट २ हजार हेक्टरको छ । दिल्लीको भन्दा ४ गुणा ठूलो एयरपोर्ट किन चाहियो हामीलाई ?

व्यस्तताको हिसावले नै हेरौं । युरोपकै सबैभन्दा व्यस्त एयरपोर्ट हो, हिथ्रो एयरपोर्ट । त्यो पनि २ हजारभन्दा कम हेक्टरमै बनेको छ । संसारकै सबैभन्दा व्यस्त एयरपोर्ट कुन हो ? अमेरिकी एट्लान्टोको एयरपोर्ट । त्यो पनि २–३ हजार हेक्टरकै हो । ए बाबा ! संसारकै व्यस्त एयरपोर्ट हामी बनाउन खोज्दैछौं त ?

मान्छेले भनेका छन्, विकास गर्दा संसारकै राम्रो हुने गरी काम ताक्ने नि त ! ठिक छ ।

यो पनि पढ्नुहोस निजगढको जंगलले किन निम्त्यायो विकास र विनाशको विवाद ?

संसारकै व्यस्त एरलाइन्स भएकाले संसारकै व्यस्त एयरपोर्ट चलेको छ । एट्लान्टो एयरपोर्ट भनेको डेल्टा एयरको हब हो । डेल्टाको ९ सय वटा विमान छन् । हाम्रो वायुसेवा निकायको कति छ ? छैन नि त ! त्यहीअनुसार हुनुपर्‍याे । घाँटी हेरेर हाड निल्नुपर्छ भन्ने हाम्रो उखान नै छ । हाम्रो एयरलाइन्स चाँहि १०–१२ वटा विमान उडाउने, अनि विमानस्थल चाँहि २ हजार वटाका लागि बनाउने ?

हैन, हामी त ‘हब एयरपोर्ट’ बनाउने हो भन्छौं । हब बनाउनका लागि भारतले प्लेन त उडाउन दिनुर्‍याे नि त उसको आकाश माथिबाट । दिन्छ ? त्यो स्वीकृति लिएकै छैन ।

निजगढ एयरपोर्टको सम्भाब्यता रिपोर्ट २४ वर्ष अघि बनेको हो । जुनबेला प्लेनहरु प्राविधिक रुपमा लामो समय उडान भर्न सक्दैनथे । अहिले लगातार लामो समयसम्म लामो दूरीमा उड्ने प्लेनहरु आएका छन् । नेपालमै आएर किन रोक्छ प्लेन ? दोहाको प्लेन सीधै हङकङसम्म उड्छ । दोहाबाट अमेरिकासम्म सीधै उड्छ । नेपालमा आएर रोक्नुको उद्देश्य के हुन्छ ? कि त निजगढमा ठूलो पर्यटकीय आकर्षण हुनुपर्‍याे । निजगढमा तुरुन्त के बन्छ र ? फेरि सँगै नयाँदिल्लीमा त्यत्रो ठूलो विमानस्थल छ । अलिकति अघि जानेबित्तिकै बैंककको त्यति ठूलो विमानस्थल छ । सिंगापुर, मलेसिया, हङकङ सबै छन् । हामीले के देखाउन सक्छौं त हब बन्नलाई ?

यो वातारणीय पक्ष त होइन, तर त्योसँग जोडिने प्राविधिक पक्ष हो । हबमा विकास गर्न त हाम्रो अन्तर्राष्ट्रिय वायुसेवा पनि चाहियो, रुटमा पनि ठ्याक्कै पर्नुपर्‍याे, त्यही अनुसार व्यवस्थापन क्षमतादेखि कानुनी व्यवस्थाहरु सबै मिल्नुपर्‍याे । हबका रुपमा विकास गर्न उपयुक्त छ कि छैन भन्ने प्रश्न पनि छ । २४ वर्षअघि त्यो भनिएको हो । त्यसकै आधारमा आज आएर रुख काटौं भनिँदैछ ।

धेरैले सोधिरहेका छन्, सिमरा एयरपोर्टलाई अलिकति ठूलो किन नबनाउने ? जनकपुर पनि त्यहीँ सँगै छ । त्यसको जवाफ पनि आएकै छैन । सिमराभन्दा निजगढ १३–१४ किलोमिटर टाढा छ । निजगढका रोकिने प्लेन सिमरामा रोक्न किन सकिँदैन ? सिमरामा यत्रो एयरपोर्ट बनिसकेको छ, त्यसलाई विस्तार गरौं न त । सिमरा पनि विकास हुन्छ । नयाँ शहर किन बनाउनुपर्‍याे, सिमरालाई नै झकिझकाउको शहर बनाऔं न । सबै कुरा नयाँ चाहिन्छ भन्ने हैन । भएकोलाई लथालिंग छाडेर नयाँमै जानुपर्ने किन ? यो प्राविधिक प्रश्न हो ।

अब आर्थिक पक्ष पनि छँदैछ । यत्रो एयरपोर्ट बनाउन खर्च टन्नै लाग्छ । त्यो कहाँबाट आउँछ ? यत्तिकैमा रुख काटिहाल्नु र ? पहिला खर्च जुटाऔं न । सबै मिलेपछि रुख काटौंला । रुख काट्ने भनेको अन्तिम चरणमा हो । दुलाह दुलाही को हो नै थाहा छैन, भोज कहाँ जाने हो थाहा छैन, अब सुट सिलाउन के हतार ? रुख काट्नै किन हतारो ? त्यसैले शंका उत्पन्न भएको हो ।

ईआईएले एक रुख बराबर २५ विरुवा रोप्ने भनेको छ । कुल २४ लाख रुख काट्ने भनेको छ । सरकारले नै त्यो रिपोर्ट पास गरिसकेको छ । भनेपछि सरकारले ‘म गर्छु’ भनिसक्या छ । अब ६ करोड रुख त रोप्नुपर्छ । त्यो रुख कहाँ रोप्ने हो ? सरकारले भनोस् । कसरी रोप्ने हो, त्यो पनि भनोस् । अब रोप्न थाल्नुस् । काट्नलाई त कतिबेर लाग्छ र ? आजकल त मेसिनले गुटुटुटु १० मिनेटमा थुप्रै फाँड्छ ।

तर, याद रहोस्, एउटा रुख हुर्काउन १० वर्ष लाग्छ । त्यसैले १० वर्ष पछिको काम अहिले थालौं । रुख हुर्काउन सुरु गरिहालौं । ६ करोड रुख अहिले रोप्यौं र केही गरी यो विमानस्थल बनेन भने पनि १० वर्षपछि ६ करोड रुख हामीलाई नै भयो ।

तर, हाम्रो अनुभव के छ भने सरकारले गर्दैन । रिंगरोडमा जाबो १२ सय रुख काटेको थियो । रोप्छु भनेको थियो । खै त ? भएन ।

त्यसैले हाम्रो माग के हो भने, अध्ययनहरु जे हुनुपर्ने हो, त्यो राम्रोसँग होस् । ईआईए र अन्य अध्ययनहरु राम्रोसँग भएको छैन । यत्रो खर्बौंको लगानी गर्दा अलि राम्रोसँग अध्ययन हुनुपर्छ । वातावरणीय असरको सवाल गम्भीर छ । त्यत्रो तराईको पानीको स्रोतलाई कस्तो असर गर्छ ? त्यहाँको माटोलाई के असर गर्छ ? बाढी हरेक वर्ष आइरहेको छ, त्यसलाई प्रभाव गर्छ कि गर्दैन । मैले गर्छ भनेर ठोकुवा गरेको हैन, सम्बन्धित विज्ञसँग छलफल गरौं । गर्छ भने त्यसलाई सकेसम्म मिनिमाइज गरौं ।

निजगढको विकल्प पनि हेरौं । वित्तीय विश्लेषण पनि राम्रोसँग गरौं । गर्ने नै हो भने रुख रोपेर सुरु गरौं । त्यसपछि २४ लाख नै काटौं । कसैले एयरपोर्ट नबनाऔं भनेको छैन । चाहिन्छ र ? भन्ने प्रश्न चाँहि गरेका छौं । हामी भारतको इन्दिरा गान्धी एयरपोर्टसँग प्रतिश्पर्धा नगरौं क्या !

जानचाँहि अष्ट्रेलिया र अमेरिका जान खोज्ने, पायो भने त्यहीँको एप्पल फोन युज गर्ने, डिभी भरेको भ¥यै गर्ने, अनि अरुलाई पश्चिमाबाट गाइडेड भन्ने ? आफ्नो विवेकबाट गाइडेड हुने हो

कतिले भन्लान् किन नगर्ने ? उनीहरु कहाँ, हामी कहाँ ? हामी अहिलेभन्दा अलि राम्रो प्रयास अवश्य पनि गरौं । सिमरालाई विस्तार गरेर नै अहिलेभन्दा राम्रो गर्न सकिन्छ कि ?

२४ वर्षमा बाग्मतीबाट धेरै पानी बगेर गइसक्यो । धेरै नयाँ प्रविधि आइसक्या छ । त्यसलाई सोचेर गरौं । यहाँ त सिधै के देखियो भने २४ लाख रुख काट्यो भने यति पैसा आउँछ भन्ने हिसाव गरेर ल काटौं भन्या जस्तो भयो । हामीले बाहिरबाट हेर्दा त्यो बुझ्यौं ।

त्यो होइन भनेर सरकारले कन्भिन्स गर्‍याे भने राम्रो हुन्थ्यो । सरकारले हैन त भन्यो, तर, कुनै तार्किक डकुमेन्ट आएन । रुख काट्ने कुरा मात्रै आएको छ, रोप्ने त कुरै छैन । ६ करोड रुख रोप्ने हो भने चुरेमा ठाउँ छ । चुरेमा वन फँडानी भएको ठाउँमा रुखै–रुख रोपौं । चुरेलाई बचाऔं । चुरेलाई घना जंगल बनाएर जोगाऔं । यही निहुँले चुरेमा पनि घना जंगल बन्छ भने राम्रो हो । त्यसलाई हामी सपोर्ट गर्छौं । बिरोध गरेको होइन, प्रश्न गरेका हौं हामीले ।

प्रश्न त प्रक्रियामा पनि छ । पहिला त्यसको फिजिबिलटी स्टडी र डिटेल स्टडी गरेर वित्तीय व्यवस्थापन गरेपछि मात्र बल्ल काम थाल्ने हो । अहिले रुख काट्नलाई दुई वर्ष लाग्छ, काम सुरु गर्नुपर्‍याे नि भनिँदैछ । दुईवर्षमा कहाँबाट निर्माण सुरु होला ? अहिलेसम्म पैसा कहाँबाट आउने त टुंगो छैन । त्यत्रो खर्बौं रकम एउटा बैंकले ल लिनुस् भनेर दिन्छ ? जसले दिन्छ, उसले आफ्नो थप अध्ययन गराइहाल्छ । विश्व बैंकले नै गर्ने भयो भने पनि आफ्नो कन्सल्टेन्ट लगाएर अर्को स्टडी गराउँछ । प्राइभेट सेक्टर पनि त्यसै आउँदैन । उनीहरुले पनि १० पटक बिचार गर्छन् । हामीले प्राइभेट सेक्टरको लगानी हेरिसकेका छौं । सम्भावना भएको पश्चिम सेतीमा निजी क्षेत्र आउँछ भनेरै यो समय गयो ।

यस्तो अन्योल भएको एयरपोर्ट प्रोजेक्टमा कसैले हात हाल्यो भने राम्रो । तर, निजी क्षेत्रले लगानीको सुरक्षा खोज्छ, नाफा खोज्छ । सरकार आफैं कसरी गर्ने भन्ने नै क्लियर छैन । यसरी हेर्दा यो ८ हजार हेक्टर सकाइहालौं अनि देखाजायगा भन्ने हो कि ! त्यसो भयो भने त धेरै असर गर्छ ।

अहिले प्रश्न उठाइएको छ । प्रश्न उठेपछि त्यसको बिरोध गरिहाल्नुपर्दैन । लोकतन्त्रमा जनताले प्रश्न गर्नु भनेको स्वाभाविक हो । प्रश्न गरेन भने पो समस्या हुन्छ । विज्ञले प्रश्न गरेको झनै राम्रो । प्रश्न नगर्ने विज्ञ के काम ? जे–जे भने पनि ‘एस सर’ भन्ने विज्ञ हुँदैन ।

प्रश्न किन उठाइँदैछ भनेर बुझ्न जरुरी छ । मैले यो प्रश्न गरेर के पाउँछु र ? मेरो इन्ट्रेस्ट के छ र ? कसैलाई इन्ट्रेस्ट छ लाग्छ भने देखाइदिनुस् । न मैले यो एयरपोर्ट रोकेर पैसा पाउँछु, न मेरो परिवारले केही पाउँछ, सबैले देशको विकास चाहान्छन् । बनोस्, एयरपोर्ट ५ वर्षभित्रमै बनोस् । तर, संसारमा यस्ता एयरपोर्ट पनि छन्, जो विशाल त छन्, तर प्रयोगविहीन छन् । निजगढ सेतो हात्ती नबनोस् ।

अन्य देशको तथ्यांक देखाएर नेपाललाई ४४ प्रतिशत वन किन चाहियो भन्ने प्रश्न पनि कतिपयले गर्छन् । उत्तर हो, नेपालीहरुका लागि चाहियो । त्यसो भए त भुटानलाई ७५ प्रतिशत किन चाहियो त ?

नेपालमा कुन चाँहि त्यस्तो प्रकातिक स्रोत छ, जसका आधारमा हामी देश विकास गरौं । न हामीसँग पेट्रोलियम छ, न हामीसँग ठूला खानी छन् । हामीसँग भएको नै जलस्रोत, जंगल हो । त्यो अहिले नै काटेर फाल्ने हो भने हाम्रा भावी पुस्ता के खाएर बाँच्छन् ? हामीले अहिले चितवनको जंगल नकाटिक नै बेचिरहेका छौं । कसलाई ? पर्यटकहरुलाई । स्मार्ट त त्यो हो । जंगल पनि नकाट्ने, त्यसबाट पैसा पनि कमाउने ।

वन नै नकाटौं भनेको पनि होइन, वैज्ञानिक वन व्यवस्थापन प्रणालीमा आधारित भएर पुराना रुख काटौं, काठहरु बेचौं । म त्यसको पक्षमै छु । प्राकृतिक स्रोत प्रयोग गर्नुपर्छ र त्यसलाई दिगो रुपमा प्रयोग संरक्षण गर्नु भन्ने कुरा हो ।

हाम्रो देशमा अलि ठूलो पानी पर्‍याे  भने पहिरो जान्छ, बाढी आउँछ । हाम्रो हिमाल सबैभन्दा योंगेस्ट छ, भौगोलिक रुपमा । यहाँ प्राकृतिक रुपमा संवेदनशीलता बढी छ । अरु देशले वन फँडानी गरेर केही भएन भनेर नभनौं । हाम्रो र उनीहरुकोबीच फरक छ । हामी संवेदनशील क्षेत्रमा छौं ।

चुरे धेरै संवेदनशील क्षेत्र हो । खुकुलो माटो छ, त्यो बगेर जान सक्छ । र, हाम्रो विकासको स्थिति प्रकृतिमा निर्भर छ । मनसुनमा राम्रो पानी परेन भने खाडेरी लाग्छ, बाली नाली सखाप हुन्छ । प्राकृतिक प्रक्रिया बुझ्नुपर्छ ।

रुखहरु नकाटी विकास हुँदैन । म पनि मान्छु, त्यसैका लागि त ईआईए प्रक्रिया बनाएको हो । एउटा काटेर २५ वटा रोप्ने भनिएको छ । यो अलि बढी नै भयो कि जस्तो मलाई पनि लाग्छ । तर, २५ वटा मैले भनेको हैन, सरकारले भनेको हो । त्यसको १० प्रतिशत मात्रै भए पनि रोपौं । खाली कागजी प्रक्रिया मात्रै पुर्‍याएर हात बाँधेर नबसौं भनेको हामीले । वातावरण र विकासलाई सँगसँगै लैजानुपर्छ ।

विकास गर्दा केही विनास हुन्छ । तर, विनासलाई न्यूनीकरण गर्नुपर्छ । अहिले हामी ४४ प्रतिशत वन छ भन्छौं । त्यसलाई सखाप नै पार्ने हो भने धेरै समय लाग्दैन । यति धेरै छ, जे–जे गरेपनि हुन्छ भन्न पाइँदैन । त्यति वन हामी चाहिन्छ पनि । विश्व वातावरणमारुख काट्दा के असर पर्छ भनेर मैले भनेकै छैन, स्थानीय रुपमा हामीलाई पर्ने असर नै ठूलो छ ।

निजगढको हकमा अब सरकारले जनतालाई सुसूचित गर्नुपर्छ । यो ठूलो प्रोजेक्टको ईआईए रिपोर्ट अहिलेसम्म मैले देखेको छैन । ईआईए गुगलमा खोज्दा भेटिनुपर्‍याे । कानुनअनुसार पनि त्यो सार्वजनिक गर्नुपर्छ । किन नगर्‍या त ? सही नियतका साथ बसेर कुरा गरौं न । केही पनि यहाँ विकास विरोधी छैन ।

यो पनि पढ्नुहोस निजगढ विमानस्थलः तुरुन्तै बन्चरो लिएर जंगल पस्ने होइन

मैले थप अध्ययन गरौं भनेको १० वर्ष लगाएर गरौं भनेको हैन । पहिलो भन्दा अवस्था के चेन्ज भयो २–३ महिना लगाएर पुनरावलोकन गरौं । सम्बन्धित विज्ञहरुसँग बसेर छलफल गरौं । निजगढ सम्भव छ भने अघि लैजाँऔं । तर, जनतालाई आश्वस्त परौं । सरकार पनि कन्भिन्स हुनुपर्‍याे । डीपीआर पनि अघि बढाऔं । ईआईए पनि गुणस्तरीय भएन । भएका गल्ती सच्याएर ल्याउ त भन्न सकिन्छ नि । गल्ती हुँदा पनि चुप लागेर बस्न भएन ।

त्यसपछि प्रोजेक्ट कस्तो र कसरी बन्छ भनेर फाइनल गरेर रुख काट्न सुरु गरौं । रुख रोप्न चाँही अहिले नै सुरु गरे हुन्छ । त्यसै पनि रुख त रोप्नु नै छ । रुख रोपेर बेकार त हुँदैन । प्रोजेक्ट नबनेर बेकार भएछ भने फेरि काटौंला । यो भनेको ‘नो लस एक्टिभिटी’ हो, पैसा बैंकमा राखेजस्तै । रुख रोपेर हानी नै त हुँदैन । अन्तिममा काट्नैपर्छ भने काटौं । काट्न कितबेर लाग्छ र ? मेसिन लिएर छिर्नासाथ सखाप । अबको जमानामा बन्चरो लिएर रुख काट्ने त हैन नि । त्यसपछि एयपोर्टसँगै अरु के–के बनाउने हो बनाऔं । तर, सही तबर र तरिका गरौं ।

अहिले हामीले यो मुद्दा उठाउँदा त्यो राजनीतिक रुपमा नै आक्रमण गरेको भन्ठानिँदैछ । हामीले यो मुद्दा कुनै सरकारका विरुद्ध उठाएका हैनौं, एउटा सचेत नागरिकका रुपमा उठाएका हौं । ए,बी,सी,डी जसको सरकार भए पनि यो अवस्थामा मुद्दा उठाउनै पथ्र्यो ।

प्रश्न उठाउनु भनेको राम्रो हो भन्ने हाम्रो समाजले बुझेको छैन । हामीले बुझ्नुपर्छ । देश विकास सिमेन्ट र कंक्रिटले हुने हैन । देश विकास हुने ब्रेनले हो । तर्कले हो । जब कसैले प्रश्न गर्न थाल्छ, अनि बहस हुन्छ । कुनै मिठो होला, तितो होला । गन्थन मन्थन भएपछि नै गलत हुन लागे पनि सच्याउन सकिन्छ । प्रश्न उठाउनासाथ पश्चिमाबाट ‘गाइडेड’ भएको आरोप लगाएर कतिन्जेल प्रश्नबाट भाग्ने ?

यहाँ प्रश्न गर्नेहरु धेरै पश्चिमाबाट गाइडेड होलान् पनि । अहिले वातावरणको सवाल निकाल्नेहरु धेरै पश्चिमा मुलुककै छन् होला । तर, म त्यसलाई नराम्रो भन्दिनँ । राम्रो कुरामा गाइड हुनु राम्रै त हो । पश्चिमाबाट गाइडेड हुने बित्तित्तै नराम्रो हुन्छ र ? जब हाम्रो नेताहरु यहाँ डेमोक्रेसीका लागि लडिरहेका थिए, १२ बुँदे त दिल्लीमा भएको हैन ? काठमाडौंमा मेयर अहिले अमेरिका मै छन् । देशका प्रधानमन्त्री अर्को हप्ता कहाँ जाँदैछन् ?

संसार नै एउटा भिलेज भइसक्यो । एउटा ठाउँको कुरा अर्को ठाउँले सिक्नुपर्‍याे । त्यहाँबाट सिकेर आएर गर्‍याे भने राम्रो । गाइडेड हुनुपर्छ । तर, दिमाख चाँही आफैं लगाउनुपर्छ । पश्चिमाहरुले धेरै गल्ती गरेका छन्, उनीहरुले निकै राम्रो पनि गरेका छन् । त्यही हेरेर सिकौं ।

जानचाँहि अष्ट्रेलिया र अमेरिका जान खोज्ने, पायो भने त्यहीँको एप्पल फोन युज गर्ने, डिभी भरेको भर्‍यै गर्ने, अनि अरुलाई पश्चिमाबाट गाइडेड भन्ने ? आफ्नो विवेकबाट गाइडेड हुने हो ।

पश्चिम, पूर्व, उत्तर, दक्षिण जहाँबाट भए पनि आइडिया लिने नै हो । चीनबाट लियौं, भारतबाट लियौं । भुटानबाट लिए पनि हुन्छ । भुटान अहिले हामीभन्दा अघि गइसक्यो । भुटान आफ्नो ७५ प्रतिशत वन क्षेत्र देखाएर अघि बढेको छ । त्यहाँका मन्त्रीहरु हार्वड पढेर फर्केका छन्, आफ्नो देशका लागि काम गरेका छन् । उनीहरु पनि पश्चिमाबाटै गाइडेड छन् । थोरै भारतबाट होलान् ।

देशको हित कहाँ छ सोच्ने हो । हित सोच्दा कसैले हामीलाई गाइड गर्छ भने ‘नो प्रोब्लेम’ । निर्देशन गर्ने र मान्ने हैन, गाइड त अनुभव हुनेले नै गर्छ ।

हाम्रो वनजंगल सुनको अण्डा पर्ने कुखुरा हो । हामी एउटा–एउटा अण्डा लिने हो, कुखुरै काट्ने त हैन नि !

अहिले हाम्रो देशको वातावरणमा काम गर्नेहरु प्रायः पश्चिमा देशको आईएनजीओमा काम गर्छन् । कि त हामीले काम दिन सक्नुपर्‍याे । राम्रै हो, विश्वका गनिएका आईएनजीओमा नेपालीहरु काम गर्छन् । नेपालीहरु विश्व स्केलमा वातारण फिल्डमा काम गरिरहेका छन् । खुसीको कुरा हो । डलर नै कमाए पनि राम्रो भन्छु नि म । एक बाबा ! इन्टरनेशनल स्केलमा प्रतिस्पर्धा गरेर डलर कमाइरहेको छ भने उसलाई धन्यवाद दिनुपर्ने हो । त्यसलाई डलरवादी भन्ने हो र भन्या ?

अर्को प्रश्न उठेको छ, अमेरिका र युरोपका लागि आफ्नो विकास रोकेर नेपालले वन जोगाइदिनुपर्ने ? होइन, आफ्नै लागि जोगाउने, नेपालकै लागि बचाउने । नेपालको वन मासिँदा सबैभन्दा पहिला मर्ने अमेरिकन हैन । नेपाली हो । नेपालको यति सानो जंगल जोगाएर अमेरिकालाई ठूलो फरक पर्दैन ।

ब्राजिल र मलेसियाको वनमा उनीहरु धेरै चासो छ । नेपालको थोरै मात्र । प्राकृतिक विपदसँग लड्ने शक्ति अमेरिकाको बलियो छ, हाम्रो कमजोर छ । अहिले अमेरिकामा त्यति ठूलो आँधीमा १७ जनाको मृत्यु भयो । नेपालमा त्यो आउँथ्यो भने १७ सय जना मर्थे होला ।

बुझ्नुपर्छ, तराईको पानी सुक्दा कसलाई असर पर्छ ? उब्जनी कम हुँदा कसलाई असर पर्छ ? चुरेमा बाढी आउँदा हामी नै डुब्छौं । पहाडमा पहिरो खस्दा हामी नै पुरिन्छौं । यहाँ पर्यटक आउन छाडे भने हामी के बेचेर खाने ?

हाम्रो वनजंगल सुनको अण्डा पर्ने कुखुरा हो । हामी एउटा–एउटा अण्डा लिने हो, कुखुरै काट्ने त हैन नि ! हामी वन जंगल जोगाउनेले अन्तर्राष्ट्रिय स्तरमा पैसा दाबी गर्न सक्ने ‘रेड प्लस मेकानिज्म’ छ । हामी हाम्रो वन यति छ, यति रकम चाहियो भनेर नेगोसियसन गर्न जाऔं न डलरवादीलाई नै लिएर ।

त्यसैले सरकारले बुझ्नुपर्छ, विकास भनेको विद्यमान स्रोतको उचित उपयोग हो । स्रोतलाई नै मासेर गरिने विकासको के अर्थ ? निजगढको हकमा आवश्यकता, औचित्य र प्रभावलाई हेरेर उचित निर्णय होस् ।

(रविन्द्र घिमिरेसँगको कुराकानीमा अाधारित)

यो पनि पढ्नुहोस्

निजगढको जंगलले किन निम्त्यायो विकास र विनाशको विवाद ?

निजगढ विमानस्थलः तुरुन्तै बन्चरो लिएर जंगल पस्ने होइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment