Comments Add Comment

उत्पादनमा किन जाँदैनन् लघुवित्त र सहकारी ?

माइक्रो फाइनान्सको अवधारणा अघि सारेर ग्रामिण बैंकलाई सबैको बैंक बनाएका मोहम्मद युनुसले सन् २००६ मा नोेवेल शान्ति पुरस्कार जिते । उनले आय आर्जनमा लागेका मानिसहरु होइन कि मगन्तेहरुलाई ऋण दिने परियोजना अघि सारे र तिनै मगन्तेहरुलाई रोजगारी पनि दिए । उनले सुरु गरेको परियोजनामा सुरुमा १ हजार मगन्तेहरुलाई रोजगारी दिने योजना थियो, जब परियोजना सञ्चालन भयो १ लाख मानिसहरुमा यो परियोजनामा सहभागी भए । प्रतिव्यक्ति ५ डलर ऋण दिएर सुरु भएको परियोजनाबाट कोही धेरै लाभान्वित भए भने तिनै मगन्तेहरु नै बढी लाभान्वित भए भने २५ हजार मगन्तेहरुले त आफ्नो माग्ने पेशा नै छाडिदिए ।

यो एउटा उदाहरण मात्रै हो, सबैले उदाहरणीय काम गर्छन् भन्ने पनि होइन । तर, हामीकहाँ सहकारी संस्थाहरु र लघुवित्तहरु पनि राम्रै संख्यामा छन्, तर यी संस्थाहरु उत्पादनमा र रोजगारी सिर्जनाको क्षेत्रमा संख्यात्मक रुपमा भएका वित्तीय संस्थाहरु पुँजी हुँदाहुँदै पनि जान नसक्नुको कारण चैं महत्वपूर्ण विषय हो ।

बंगलादेश र हामी करिब उस्तै अवस्थामा छौं । हामी कहाँ न्यून आय भएकाहरुको लागि काम गर्ने विभिन्न संघ संस्था अनि वित्तीय संस्थाहरु पनि छन्, तर ठोस काम चैं खोई त ? भन्ने अवस्था छ । खासगरी लघुवित्त र सहकारी संस्थाहरुले यो क्षेत्रमा अलि बढी काम गर्नु पर्ने हो, संस्थाको मोडल अनुसार ।

माइक्रोफाईनान्स बैंकर्स एसोशिएसनका अनुसार हाल देशभरमा लघुवित्त बैंकहरुले २१ सय ७५ शाखाहरुबाट २६ लाख ग्राहकहरुलाई सेवा दिइरहेका छन् । लघुवित्त बैंकहरुले आफ्ना ग्राहकहरुलाई ५९ अर्ब रुपैयाँ कर्जा लगानी गरिरहेका छन् भने उनीहरुबाट १७ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन पनि गरिरहेका छन् ।

यति धेरै सदस्य भएका संस्थाहरुले ती सदस्यहरुको आवश्यकताका आधारमा उत्पादनमा जाने हो भने बजारीकरणको खासै ठूलो जोखिम पनि रहँदैन, तै पनि एकाधबाहेकले कामै गरेका छैनन् भन्दा पनि हुन्छ । बचत परिचालन गर्न सहज र छिटो हुने हुँदा पनि कृषि, पर्यटन, उद्योग, साना तथा मझौला व्यवसायमा ठोस नतिजा निस्कने गरि काम गर्न अलमलिरहेको अवस्था छ ।

लघुवित्त आफैंमा स–साना पूँजी संकलन गर्ने तथा लगानी गर्ने संस्थाका रुपमा बुझ्ने गरिन्छ र यो हो पनि त्यहि । त्यस्तै सहकारी पनि समान आयस्तर भएकाहरु बीचको सहकार्यमा संचालन हुने वित्तीय संस्था हो । देशभरमा ३५ हजार बढी सहकारी र ४३ वटा लघुवित्त बैंक सञ्चालनमा छन् ।

त्यस्तै, सहकारी संस्थाहरुको अवस्था हेर्ने हो भने सहकारी संस्थाहरुसँग मात्रै ६३ अर्ब ५ करोड रुपैयाँ भन्दा बढी सेयर पुँजी नै छ भने बचत मात्र २ खर्ब २ अर्ब बढी पैसा छ । सबै सहकारीको तथ्यांकलाई मूल्यांकन गर्दा २ खर्ब बढी रकम सहकारीहरुले लगानी गरेका छन् भने सहकारीमा ६० लाख बढी आबद्ध भएको दावेदारी छ ।

तर, मूल प्रश्न हामी कहाँ यति धेरै लगानी कहाँ गयो ? कुन क्षेत्रमा गरेको लगानीले कति प्रतिशत प्रतिफल दियो ? कति मानिसको आयस्तरमा सुधार आयो ? कुन क्षेत्रले बढी प्रतिफल दियो ? लाभान्वित हुनेको संख्यामा वृद्धि भएर कति प्रतिशत पुनः त्यो पेशामा थपियो ? वा कुन व्यवसायमा जोखिम देखियो र जोखिमहरु के कारणले छन् भन्ने यकिन तथ्यांक न त राष्ट्र बैंकसँग छ, न त स्वयं सहकारी र लघुवित्तसँग नै छ । हामी कहाँ देखिएको मूल समस्या भनेकै यहि हो ।

सरकारले पनि प्राथमिकताको क्षेत्र निर्धारण गरेरै कृषि, पर्यटन र जलविद्युतलाई राखेको छ । झनै सहकारी ऐन २०७४ ले त सहकारी संस्थाहरु आपसमा मिलेर कुनै परियोजना सञ्चालन गर्न सक्ने र आफ्नै ब्राण्डमा सामान बिक्री गर्न सक्ने समेतको व्यवस्था गरिदिएको छ । तर, अभ्यासमा ती सहकारी संस्थाहरु आए वा आएनन् त्यो महत्वपूर्ण छ । प्राथमिकतामा परेका यी क्षेत्र भनेका दीर्घकालिन व्यवसायका क्षेत्र हुन् भने स्वरोजगारी र रोजगारी सिर्जना गर्ने राम्रा आधारहरु पनि हुन्, तर वित्तीय संस्थाहरुले गरेको लगानी यी क्षेत्रमा परे वा परेनन् ? यी सबै विषयको खास विवरण वित्तिय संस्थाहरुकै तथ्यांकमा मात्रै हुन सक्ला ।

हामी उत्पादनमुखी हुन नसक्दा हाम्रो व्यापार घाटा डरलाग्दो गरि चुलिँदो अवस्थामा छ । गत आर्थिक वर्षमा मात्रै हाम्रो व्यापार घाटा ११ खर्ब ६२ अर्ब रुपैयाँ रहेको छ भने कृषि क्षेत्रको आयात मात्रै १ खर्ब ६ अर्ब ४२ करोडको छ ।

पछिल्लो समयका केही गतिविधिहरु हेर्दा पनि बाह्य पर्यटनमा जाने नेपालीहरुको संख्या पनि बढ्दो छ, एशियन मुलुकमा भ्रमणका लागि मात्रै जाने नेपालीहरुको संख्या पनि लाखौंमा पुगिसकेको छ । तीनै सहकारी संस्थाहरु, लघुवित्त बैंकहरु पनि विभिन्न शीर्षकमा अवलोकन तथा भ्रमणका लागि विदेश जाने गरेका छन् । आन्तरिक पर्यटनमा चासो राख्ने र भ्रमण गर्ने नेपालीहरु पनि दिनानुदिन बढ्नै गइरहेको छ । तर, विदेशमा सिकेको सीप र ज्ञानलाई यहिँ प्रयोगमा ल्याउन वा लगाउन ती संस्थाहरु पनि रुमल्लिएको कुरा यथार्थ हो । बढ्दो आन्तरिक भ्रमणका पारखीहरुलाई आन्तरिक पर्यटनमा लगाउन वा उनीहरुको प्रवद्र्धनमा खेल्नुपर्ने भूमिकामा पनि हाम्रा सहकारी र लघुवित्तहरु साँचो अर्थमा भन्नुपर्दा चुकेकै हुन् ।

लघुवित्त तथा सहकारी संस्थाहरुका बीचमा केहि समानताहरु पनि छन् । दुवैखाले वित्तिय संस्थाहरुले ससाना पुँजी भएका वा भनौं कुनै धितोको जोरजाम गर्न नसक्ने समुदायमा सामुहिक जमानीका आधारमा समुह बनाई उनीहरुलाई उद्यमशील बनाउनका लागि लगानी बढाउनु पर्ने हो । यसैका लागि यी दुवै संस्थाहरुलाई सरकारले प्राथमिकतामा राखेको पनि हो । तर, कतिपय अवस्था हेर्दा ५ वटा सहकारी संस्थाहरुले एउटै व्यवसायीलाई लगानी गरेको छ भने ५ वटै संस्थाले उसलाई सदस्य भनेर गन्ती गरेको छ ।

यसरी दोहोरिएका सदस्यहरु जोडेर सायद सहकारी संस्थाहरुले ६० लाख सदस्य भनेको पनि हुनसक्छ भने लघुवित्तले २६ लाखलाई यसरी नै गणना गरेको छ । झनै बचत संकलनमा यस्तै अवस्था छ । सदस्यहरुको गणना गर्दा धेरै सहकारी वा लघुवित्तमा दोहोरिएका सदस्य कति होलान् ? यसको यकिन तथ्यांक सहकारी महासंघ वा अन्य विषयगत संघहरुसँग पनि छैन । हामी कहाँ तथ्यांकका आधारमा काम गर्ने शैलीको अझै विकास भैसकेको छैन ।

यसरी सहकारी संस्था र लघुवित्तका विषयमा लेख्दा ती संस्थाहरुले काम नै गरेनन् भन्न खोजेको भने अवश्य पनि होइन । सदस्यता विस्तार, गाउँ गाउँमा सहकारीमार्पmत भएका जागरण, पूँजी परिचालन, लगानी भएका छन् । एक कार्यक्रममा त नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का अध्यक्षले स्पष्टीकरण नै दिनु पर्‍याे । उहाँका अनुसार सहकारी संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरेकै कारण बैंकिङ पहुँचमा नभएका लाखौं मानिसलाई रोजगार र स्वरोजगार बनाएको छ ।

मोहम्मद युनुसले लाखौंलाई रोजगारी दिएर लघुवित्तको क्षेत्रमार्फत २५ हजार माग्नेहरुको पेशामात्रै होइन जिन्दगी नै परिवर्तन गराइदिए । उनले स्थापना गरेको ग्रामिण बैंकको ९७ प्रतिशत हिस्सा महिलाको छ भने हामीले गरिरहेको सहकारी र बैंकको लगानीबाट हामीले सोचेजस्तो प्रगति गरेका छौं कि छैनौं भन्ने विषय प्रमुख हो । युनुसकै शैलीमा हामी जानुपर्छ भन्ने पनि होइन, तर हामीले विकास गरिरहेको वित्तीय ढाँचा अनुसार हामीले दीगो लक्ष्य विकासमा योगदान दिन सकेका छौं कि छैनौं ? यो महत्वपूर्ण पक्ष हो । लाखौं सदस्यका बीच कुनै वस्तु उत्पादन गरेर बजारीकरण गर्न सकिने अवसरमा पनि हामी ध्यान पुर्‍याइरहेका छैनौं कि वा हामीले उत्पादनमूलक वा रोजगारी सिर्जना गर्ने क्षेत्रमा आफ्नो उपस्थिति कति देखाउन सक्यौं या सकेनौं ? एकपटक पुनर्विचार गर्ने पो हो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment