Comments Add Comment

मुलुकी संहिताको विरोध गर्दै सार्वजनिक यातायातमा हडताल

४ असोज, काठमाडौं । सार्वजनिक यातायात मजदुरहरुले तीन दिनदेखि देशभर गाडी चलाएका छैनन् । चाडबाडको समयमा गाडी बन्द गरिँदा यात्रुहरु मर्कामा परेका छन् । अत्यावश्यक सवारी साधनमा हडताल भइरहँदा पनि सरकारले यातायात सञ्चालनको कुनै पहल गरेको छैन ।

नयाँ मुलुकी संहितामा सजायँकाे कतिपय व्यवस्थामा विरोध गर्दै यातायात मजदुरहरु हड्तालमा उत्रिएका हुन् । तर, यो आन्दोलनको जिम्मेवारी औपचारिकरुपमा कसैले पनि लिएको छैन ।

कास्कीको पोखरामा कालो नम्बर प्लेटका बसहरू यातायात मजदुरहरूले चल्न दिएका छैनन् । गाडी नपाउँदा यात्रुहरु बसपार्कमा अलपत्र परेका छन् । हरियो नम्बर प्लेटका पर्यटक बसहरु भने चलिरहेका छन् ।

दाङमा टिकट काउन्टर खुल्यो, तर चलानी भएन

दाङमा यायातात समितिको टिकट काउन्टर खुलेपनि यातायात व्यवसायीले चलानी काटेका छैनन् । अधिकांशले आफ्ना गाडीहरु घरमा र ग्यारेजमा थन्काएका छन् । गन्तव्यमा जान चाहने यात्रुहरु बसपार्क क्षेत्रमा अलपत्र परेका छन् ।

सधैं व्यस्त रहने पूर्वपश्चिम राजमार्ग अन्तर्गतको दाङ खण्ड सुनसान छ । यातायात मजदुरहरुले भालुबाङमा गाडीहरुलाई रोक्ने गरेको स्थानीय बताउँछन् ।

तर, प्रहरी प्रशासनले गाडी सञ्चालनमा कुनै पहल नगरेको पत्रकार दशरथ घिमिरेले बताए । ‘गाडी नचलेको तीन दिन भइसक्यो तर स्थानीय प्रशासनले अहिलेसम्म कसैसँग छलफल, वार्ता गरेर गाडी चलाउने पहल गरेको छैन,’ घिमिरेले भने ।

आन्दोलन जारी, अगुवा अज्ञात

कैलालीबाट पनि लामो तथा छोटा दुरीका सवारी साधन चलेका छैनन् । स्थानीय प्रशासनले गाडी चलाउने विषयमा पहल गरेको छैन । बसहरु बसपार्कमा पार्किङ गरेर राखिएको छ तर गाडी चालकहरु कोही पनि सम्पर्कमा छैनन् ।

बिहीबार बिहान सुदूरपश्चिम यातायात व्यवसायी संघले सरोकारवालालाई छलफलका लागि बोलाए पनि कुनै निष्कर्ष ननिस्किएको अनलाइखबरकर्मी दीपक उपाध्यायले जानकारी दिए ।

बर्दिबासमा टेन्ट राखेर अवरोध

पूर्व क्षेत्रमा पनि सार्वजनिक गाडी नचलेको तीन दिन भइसकेको छ । चालकहरुले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दिवासमा टेन्ट गाडेर ठूला सवारी साधनहरुलाई रोक्ने गरेका छन् । धनुषाको जनकपुर क्षेत्रमा बसपार्कमा गाडीहरु थन्काइएका छन् ।

पूर्वी तराईलाई काठमाडौंसँग जोड्ने वीपी राजमार्ग, पूर्वपश्चिम राजमार्ग, बर्दिवास–औरही–जलेश्वर, जनकपुर–जलेश्वर सबै खण्डमा सार्वजनिक यातायातका साधन ठप्प छन् ।

विराटनगरमा भने चालकको आन्दोलनको प्रभाव खासै परेको छैन । विगतमा भन्दा कम सवारी चले पनि जनजीवन भने प्रभावित नभएको त्यहाँबाट अनलाइखबरकर्मी ध्रुव भट्टराईले जानकारी दिएका छन् ।

अहिलेको आन्दोलनको औचित्य छैन: मजदुर संगठन

नेपाल यातायात मजदुर संगठनले भने अहिलेको आन्दोलनको औचित्य नभएको जनाएको छ । यसको नेतृत्व आफूहरुले नगरेको र यसमा घुसपैठ भएको संगठनको भनाइ छ ।

संगठनका अध्यक्ष भीम राई ‘ज्वाला’ले भने, ‘अहिलेको अपराध संहितामा केही फेरबदल भए पनि चालक साथीहरु आत्तिनु जरुरी छैन । निर्दोष व्यक्ति जेलमै जानुपर्ने कन्डिसन छैन । अपराध संहितामा चालकलाई ५ देखि १२ वर्षसम्म जेल हाल्ने व्यवस्था पनि छैन ।’

उनले अघि भने, ‘तर यो आन्दोलनमा कुनै एउटा जिम्मेवार संस्था पनि छैन, कसले आयोजना गरेको भन्ने पनि छैन । यसको संस्थाको नाम के हो भन्ने पनि छैन । उहाँहरुले मागपत्र कहाँ राख्नुभयो भन्ने पनि छैन । त्यसकारण यो अनावश्यक ढंगले, अनर्गल ढंगले हुँदै नभएको ५ देखि १२ वर्ष जेल भनेर प्रचार प्रसार गरिएको छ ।’

नेपाल यातायात मजदुर संगठनले चालकको लापरवाही कसरी प्रमाणित हुन्छ भनेर आवाज उठाइरहेको उनले बताए । साथै दफा १६७ को व्यवस्था कार्यान्वयनमा आफूहरुले जोड दिइरहेको उनले जानकारी दिए ।

दफा १६७ मा चालकको काबु भन्दा बाहिरको कन्डिसनमा भएको दुर्घटनामा भएको क्षतिमा चालकलाई कुनै पनि दण्ड सजायँ हुने छैन भन्ने कुरा उल्लेख छ ।

उनले भने, ‘दफा १६७ लाई कार्यान्वयन गर्नुपर्छ भनेर सुरुदेखि आवाज उठाउँदै आएका हौं । र अर्को कुरा चालकको लापरवाही प्रमाणित कसरी हुन्छ त ? बरु त्यसमाथि एउटा छानबिन समिति बनाऔं । छानबिन गरेर दोषि देखियो भने कारवाही गरौं तर निर्दोष छ भने उसलाई छुटाउनुपर्छ भन्ने हाम्रो एउटा जोड रहँदै आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment