Comments Add Comment

इन्टु मिन्टु लन्डनमाः नयाँ गातामा पुरानो किताब

निर्देशक– रेनेशा वान्तवा राई

कलाकार- साम्राज्ञी राज्यलक्ष्मी शाह, धिरज मगर, सरुक ताम्राकार

अवधी- २ घण्टा २४ मिनेट

जेनरा- लभस्टोरी

लभस्टोरी फिल्म निश्चित सूत्रमा बाँधिएको हुन्छ । वैशालु युवक र युवतीबीच आकस्मिक भेट, झुकाव, प्रेमालाप र द्वन्द्व । त्यही द्वन्द्वमा रुमल्लिदै अगाडि बढेको कथाले अक्सर  दुई ढंगबाट विट मार्छ । एक ट्रेजेडी, दोस्रो ह्याप्पी इन्डिङ ।

दर्शकले कथा कहाँ पुगेर टुंगिन्छ भन्ने लगभग अनुमान गर्न सक्छन् । तर, यस्तो भेउ नदिई कथामा ‘ट्वीस्ट’ ल्याउनु र दर्शकको संवेदनासँग खेल्न सक्नु निर्देशकको सफलता हो । अहिले चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ की निर्देशक रेनेशा वान्तवा राई यही परीक्षामा छिन् ।

यस्तो छ कथा

नामबाटै थाहा हुन्छ, यो कथा बेलायतको राजधानी शहर लन्डनको सेरोफेरोमा छ । मिन्टु अर्थात मिरा (साम्राज्ञी राज्यलक्ष्मी शाह) एक उच्च मध्यम वर्गिय परिवारकी छोरी हुन्, जो लन्डन घुम्न गएकी छिन् । उनका बाबु मिस्टर शर्मा (दिलभूषण पाठक) बेलायतस्थित नेपाली दुतावासका अधिकारी हुन् ।

लन्डनमा मिराको अनायसै भेट हुन्छ, लन्डनमै हुर्किएका युवक इन्टुु उर्फ इशान (धिरज मगर)सँग । उनीहरुबीच घनिष्ठता हुन्छ । लन्डनको चमकदमकमा वेपरवाह रमाउँछन् दुवै । अन्ततः प्रेममा परेर उनीहरु छुटिनै नसक्ने अवस्थामा पुग्छन् ।

मिन्टुका बुवाले आफ्नी छोरीको बद्लिदो मनोदशा बुझेर त्यसको समाधानको खोजीमा लाग्छन् । त्यसपछि कथामा थुप्रै उतारचढाव आउन थाल्छ । अब इन्टु र मिन्टुबीचको सम्बन्ध के हुन्छ ?

यही उत्सुकताले डोहोर्‍याउँदै २ घण्टा २४ मिनेटको कथाले विट मार्छ ।

सबल पक्ष

फिल्मले दर्शकलाई ब्रिटिश आर्मीबाट अवकाशप्राप्त नेपालीका दोस्रो पुस्तासँग साक्षात्कार गराउँछ । जुन पुस्ता लन्डनको चमकदमकमा रमाइरहेको छ । लन्डनको आधुनिक जीवनशैली, सुकिला सडक, लोभलाग्दा बिल्डिङलाई राम्ररी फ्रेमिङ गरिएको छ ।

लन्डनको हावापानीमा हुर्किएका तन्नेरीको शैली, लवज हुबहु उतार्ने प्रयास गरिएको छ । यसमा थोरबहुत उनीहरुको मनोविज्ञान पनि प्रतिविम्बित हुन्छ ।

सामाग्री र धिरजको केमेस्ट्री गजबको छ । धिरज बेलायतमै हुर्किएका हुनाले उनलाई आफ्नो भूमिकामा न्याय गर्न सहज भएको छ । सबैखाले दृष्यमा उनी स्वभाविक देखिएका छन् । साम्राज्ञीको भूमिकामा खासै नयाँपन नभए पनि अभिनयमा निखार भेटिन्छ ।

इन्टु र मिन्टुको भेट, रोमान्स, प्रेम, ठाकुठुकलाई कृतिम बन्न दिइएको छैन । इन्टुका साथी न्युसन (बिबेक लिम्बु) को उपस्थिती गजब छ । उनमा भरपुर सेन्स अफ ह्युमर प्रयोग गरिएको छ । उनको बोल्ने ढंग र काम गर्ने तरिकामा बेग्लै मिठास पाइन्छ ।

पात्रको मनोभावनालाई पनि सजिब ढंगले उतारिएको छ । अक्सर लभस्टोरीमा एकजना भिलेनको रुपमा उतारिन्छ र त्यसलाई डरलाग्दो देखाउने प्रयास गरिन्छ । यो पुरातन फर्मूलाबाट जोगिएको छ । आफ्ना छोरीका खातिर स्वभाविक रुपमा पिताको चिन्ता हुन्छ र त्यही चिन्ताले छोराछोरीको खुसी लुट्छ भन्ने कुरालाई सहज ढंगमा पेश गरिएको छ ।

फिल्मको अर्को सबलता पक्ष भनेको संवाद हो, जो सटिक र पात्र अनुरुप सुहाउँदो छ । अनावश्यक शब्द थोपरिएको छैन । त्यस्तै पात्र पनि चाहिनेभन्दा बढी छैनन् । हसाउन वा रुवाउनका लागि अतिरञ्जित प्रयास गरिएको छैन । गेटअप, कस्ट्युम डिजाइन, मेकअपमा एकदम ध्यान दिइएको छ । फ्रेममा समेटिएका दृश्यहरु बनावटी लाग्दैन । क्यामेरा एंगल, फ्रेमिङमा उस्तो तडकभडक छैन । आवश्यक्ता अनुसार क्यामेरा चलाइएको छ । पाश्र्व ध्वनी सही छ ।

फिल्मको अर्को सवल पक्ष संगीत पनि हो । यसमा रहेका गीत-संगीत खासगरी युवा पुस्ताका लागि रुचीकर छन् ।

कमजोरी 

फिल्मको कथामा नयाँपन छैन । वर्षौदेखि हेर्दै आएको कथालाई नयाँ आवरणमा पेश गरिएको छ । फिल्म हेर्दै जाँदा दर्शकले कथा कहाँबाट मोडिन्छ भन्ने कुरा लगभग अनुमान गर्न सक्छन् । कौतुहलता जगाउने मोडहरु त्यती छैनन् ।

परिवेश र पात्र उही भए पनि कथामा नयाँपन खोज्न सकिन्थ्यो, जसले फिल्म अवधीभर दर्शकमा कौतुहलता पैदा भइरहोस् । सपाट प्रेम कथा छ, त्यसमै दुई नवजवानको मिलन-विछोड समेटिएको छ ।

प्रेमको कथा धेरै तन्किएको छ, जो पटक्कै आवश्यक छैन । थुप्रै दृश्य बेकारका छन् । धिरज र सामाज्ञीको रोनाधोनाले दर्शकलाई दिक्क पार्न सक्छ ।

कोरियोग्राफीमा आफूलाई चिनाइसकेकी रेनेशाको यो पहिलो निर्देशकीय प्रयास हो । पहिलो फिल्मबाट उनले राम्रै सम्भावना देखाएकी छन् । फिल्मको साजसज्जा निकै राम्रो छ । विषयवस्तुमा अलि बढी घोत्लिएको भए उनको प्रयास अझ सार्थक हुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment